Comments Add Comment
No ads found for this position

प्रदेश २: यसकारण कांग्रेसको कमजोर प्रदर्शन

११ असोज, काठमाडौं । फूलपातीको बिहानीपख कांग्रेस नेता/कार्यकर्तालाई हर्षित बनाउने खबर आयो, कलैयाबाट । बारा सदरमुकाम रहेको कलैया उपमहानगरमा मेयर र उपमेयर दुवैमा कांग्रेसका उम्मेदवार विजयी बने ।

सबै दशैंको ‘मुड’मा रहेका बेला आएको जितको खबरले खुशीको सञ्चार गराउनु अस्वाभाविक थिएन । तथापि, प्रदेश २ मा कांग्रेसको विगत फर्किएको रुपमा यसलाई अर्थ्याउनु अतिशयोक्ति हुनेछ । किनभने, उक्त प्रदेशका आठ जिल्ला नै हुन्, जसले ०६२/६३ को आन्दोलन अघिसम्म कांग्रेसको जगको काम गर्दै आएका थिए ।

त्यसो त, जनकपुरका कांग्रेस नेता विमलेन्द्र निधिले आफ्नो प्रदेशमा पार्टीलाई सय सिट जिताउने घोषणा नै गरेका थिए । तर, उनको घोषणाले सार्थकता पाउन सकेन, कांग्रेस त्यसको आधाभन्दा कम तहमा समेटिन पुग्यो ।

निधिको घोषणा विशाल पहाडहरुको बीचमा बसेर ठूलो स्वर निकालेजस्तो मात्र देखियो । ती विशालतालाई नाघेर बाहिर निस्किएको देखिएन, उनको आवाज । र, मधेसका मतदाताले उनलाई पत्याएको पनि देखिएन ।

जस्तो : निधि स्वयं आफ्नो निर्वाचन क्षेत्रबाट बाहिर निस्किन सकेनन् । अझ, जनकपुर उपमहानगरमा करिब १० हजार मतअन्तरमा पराजित भए कांग्रेस उम्मेदवार, जुन ऐतिहासिक पराजय हो । निधिको गाउँ नगराइनमा मात्र कांग्रेसले नतिजा सहजै आफ्नो पक्षमा पारेको देखियो । अर्थात्, उनी धनुषाको पनि होइन, गाउँका नेताका रुपमा मात्र प्रकट भए, यस निर्वाचनमार्फत् ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढालेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल सरकार निर्माणमा निधि ‘किङ मेकर’को रुपमा झुल्किए । सरकारमा उनी पनि उपप्रधान तथा गृह मन्त्रीको भूमिकामा रहे । र, आफैंलाई सरकार ठान्न थाले ।

उपप्रधानमन्त्रीको वरियता विवाददेखि प्रहरी महानिरीक्षक नियुक्तिमा उत्पन्न किचलोमा उनी नै मुख्य पात्र थिए । प्रहरीको बढुवा र सरुवामा उनले चलखेल नगरेको ठाउँ देखिएन । गृहमन्त्रीको रुपमा बदनामी बोकेर उनी बाहिरिए । कतिसम्म भने उनलाई थुमथुम्याउन पार्टी सभापति शेरबहादुर देउवाले ठूलै मिहिनेत गर्नु परेको थियो ।

जब चुनाव आयो, निधि मधेसका मानिसका रुपमा प्रकट भए । समय घर्किइसकेको थियो, मधेसमा उनको बोली सुन्ने फुर्सद मतदातालाई भएन । फेरि उनी सरकार नै बन्ने थिए र मधेसले अहिले स्थानीय जनप्रतिनिधि खोजेका थिए, सरकार होइन ।

‘प्रदेश २ मा संख्या ठूलो देखिए पनि कांग्रेस पराजित भएको छ,’ मधेस विश्लेषक चन्द्रकिशोर झा भन्छन्, ‘अरु भन्छन् एमालेले लुज गर्‍यो । म भन्छु, होइन कांग्रेसले लुज गर्‍यो ।’

प्रदेश २ मा गुटबन्दीका आधारमा टिकट वितरण भएको आरोप नौलो होइन । किनभने, अन्य ६ वटा प्रदेशको परिदृष्य पनि त्यसभन्दा फरक थिएन । मधेसमा निधिमाथि टिकट बेचविखन गरेको आरोप पनि लाग्न थालेको छ । यो चाहीं नौलो विषय हो । किनकि, टिकटको बेचविखनबाट सय सिट हात पार्नु स्वैर-कल्पनाको विषय मात्र थियो ।

यद्यपि, केन्द्रीय सदस्य महेन्द्र यादव सबै आरोप गलत रहेको बताउँछन् । ‘महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री निधि र १३ जना केन्द्रीय सदस्य बसेर टिकट वितरणको निर्णय लिइएको हो । यसमा कुनै चलखेल भएको छैन,’ उनी भन्छन्, ‘जसजति आफू लिने र अपजस अर्काको थाप्लामा हाल्ने प्रवृत्तिचाहीं गलत हो ।’

यादवको तर्क जेसुकै रहे पनि टिकट वितरणमा चरम असन्तुष्टीका कारण धनुषाकै लक्ष्मीनिया, मुखियारपट्टि मुसर्नियामा कांग्रेसकै उम्मेदवार बागी उठेका थिए । स्वतन्त्र उम्मेदवारी दिएर पार्टीका उम्मेदवारलाई हराउने कांग्रेस नेता/कार्यकर्ता प्रशस्त देखिए । यादव भन्छन्, ‘अन्तरघात मात्र होइन, खुल्लमखुला घात गरे साथीहरुले । त्यसैले चुनावी नतिजा लक्ष्य नजिक पुग्न सकेन ।’

त्यस्तो अवस्थामा पनि प्रदेश २ मा कांग्रेस ठूलो दल बन्नुलाई उनी मतदाताको सदासयताका रुपमा लिन्छन् । भन्छन्, ‘यो कांग्रेसको बिचार र रणनीतिको सफलता हो ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आठ वटै जिल्लामा पुगेर चुनावी अभियानमा सामेल देखिए । तर, कांग्रेसको शीर्ष नेतृत्वले गाउँमा त के जिल्ला सदरमुकाममा पनि जमेर उपस्थिति देखाउन सकेन ।

यही सेरोफेरोमा चुनावी रणनीति पनि फिका देखियो कांग्रेसका लागि । मधेसलाई आकर्षित गर्नसक्ने चुनाव नाराकै अभाव खड्कियो, नेता/कार्यकर्तामाझ । संविधान संशोधन विधेयकका पक्षमा संसदमा मतदान गरेको कुराले स्थानीय तह निर्वाचनमा फरक पारेको देखिएन । मतदातामाझ त्यस मुद्दालाई बिक्री गर्न कांग्रेस नेताहरु सक्षम देखिएनन् ।

प्रदेश २ का आठ जिल्लाको अवनतीको चक्रमा प्रत्यक्ष रुपमा कांग्रेस जोडिन्छ । ०१५ सालदेखि मधेसमा कोही थियो भने त्यो कांग्रेस नै हो । ०५६ सालको आम निर्वाचनसम्म पनि कांग्रेसलाई तिनै आठ जिल्लाले बलियो भरथेग गरेका थिए ।

०६३ सालको परिवर्तनपछि जब मधेसका बासिन्दाले आफूहरु ठगिएको बुझे, कांग्रेसले आफ्नो आधारभूमि गुमाउन पुग्यो । त्यही ठगिएको महशुसको तुष्टी प्रदेश २ को स्थानीय तह निर्वाचनमा पनि मतदाताबाट प्रकट भएको छ, यसपालि ।

यस पटकको निर्वाचनमा गैरराजनीतिक चरित्रका व्यक्तिहरु प्रभावी देखिए । पैसावाल, व्यापारी, कारोबारी र हातखुट्टा नभई मुख चलाएर जीवीकोपार्जन गर्नेहरुको प्रभाव देखिएको विश्लेषकहरु बताउँछन् । उनीहरुको भनाइ मान्ने हो भने कांग्रेसको चरित्र त्यही विन्दुमा स्खलित भयो ।

स्वाभाविक थियो, प्रदेश २ को निर्वाचनमा एमाले, माओवादी र मधेस केन्द्रित दलहरु नभई कांग्रेसले हार्‍यो । कांग्रेसका सामु जितको खुशी मनाउने कुनै बहाना दिएन, प्रदेश २ ले ।

उदाहरण हो, रौतहट सदरमुकाम गौर नगरपालिका । त्यसको ठीक सीमापारि ००७ सालको क्रान्तिको बिगुल बजेको वैरगनिया पर्छ । त्यही गौरले ००७ सालको क्रान्ति सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । त्यस्तो ऐतिहासिक थलोमा कांग्रेसले मेयरका उम्मेदवार पनि खडा गर्न सकेन ।

झा भन्छन्, ‘कांग्रेस पारम्परिक मतदाताको मायामा मात्र सीमित देखियो, तिनै मतदाताले कांग्रेसको इज्जतसम्म राखिदिए ।’

उनको बुझाइमा मधेसका बासिन्दाले नभई कांग्रेसले उनीहरुलाई छाडेको परिणाम हो, स्थानीय तहमा उक्त पार्टीको लज्जास्पद प्रदर्शन । ००७ सालदेखि साथमा रहेको जनमत जोगाउन नसक्नु नै कांग्रेसको कमजोरी देखा परेको छ ।

यी सबै परिदृष्यका बावजुद कांग्रेसले सातै प्रदेशको समग्र लोकपि्रय मतका आधारमा आफूलाई फेरि पनि एक नम्बर दलका रुपमा उभ्याएको छ । जनप्रतिनिधिको संख्याका आधारमा एमालेभन्दा पछाडि परेको कांग्रेससामु आसन्न प्रतिनिधि र प्रदेश सभाका निर्वाचनमा उक्त लोकप्रिय मत जोगाउने चुनौती देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment