Comments Add Comment
No ads found for this position

कामदारको डायरीः मालदिभ्सको टापुमा नेपाली !

मालदिभ्सका हजारौं नेपालीबारे सरकार बेखबर

उही त हो, सबैको समस्या-गरीबी अनि बेरोजगारी । मेरो पनि उस्तै समस्या थियो । त्यसैले मैले पनि विदेश पस्ने सोच बनाएँ । ठूलो देश जाने आफ्नो हैसियतले भेटेन । र, म खाडी मुलुक जाने विचार गर्दै थएँ । तर, सोच्दै न सोचेको देश मालदिभ्स जाने मौका मिल्यो ।

कता कताबाट माल्दिभ्समा बस्ने एकजना नेपाली दाइसँग सम्पर्क भयो । उनले एक कम्पनीको भिसा पठाइदिए । टापु नै टापु भएको देश भनेर माल्दिभ्सका बारेमा स्कूलमा पढेको थिएँ । तर, मलाई यथार्थ खासै केही थाहा थिएन ।

भिसाको सबै काम सम्पन्न गरेर काठमाडौंबाट माल्दिभ्सका लागि दुबईको जहाज चडेर उडें । पहिलो उडान भएकाले मनभित्र कताकता डर पनि थियो । अनि नयाँ देश नयाँ ठाउँ भएकाले डराउनु स्वभाविकै पनि थियो ।

स्कूल पढ्दा सामाजिक किताबमा एसियाका देशहरु अनि सार्क राष्ट्रका देशबारे पढ्दा माल्दिभ्सका बारे पनि पढेको थिए ।

टापु नै टापु भएको देश । समुऽ नै समुऽ भएको देश । तर, देख्न भने पाएको थिएन । टापु नै टापु भएको देश भन्नाले पहाड-पहाड भएको देश होला अनि ठूलै सहर होला यस्तै यस्तै सोच्दै जहाजको सिटमा बसेको थिए ।

दुबईबाट फ्लाईट चार घण्टा लगाएर माल्दिभ्सको अन्तराष्ट्रिय एयर्पोटमा ल्याण्ड भयो । जब जहाज ल्याड हुने बेला माथि आकाशबाट माल्दिभ्समा हेरिन्थो, तब साँचिकै डरलाग्दो रहेछ । पुरै भूभाग पानी नै पानीले भरिएको देखिने । जमीनको भाग कतै नदेखिने । कतै यो जहाज पनि पानीमै खस्ने त होइन भन्ने मन भित्र छुट्टै डर पैदा हुन्थ्यो ।

माल्दिभ्स एयरपोर्टमा झरियो । मेरो कम्पनी राजधानी मालेमा थियो । जब म माल्दिभ्समा झरें, तब मैले सोचेको देश र मैले वास्तविक पाइला टेकेको देश निकै फरक पाएँ ।

एयरपोर्टको चारैतिर समुन्द्र मात्र छ । सानो एयर्पोट तर पनि व्यवस्थित रहेछ । जमीनबाट केही भाग तल नै पानी नै पानी रहेछ । एक छेउबाट हेर्‍यो अर्को छेउसम्म पानी मात्र देखिन्छ । पानीमा पानीजहाजको भिडभाड हुने रहेछ । जसरी नेपालका सडकमा गाडीहरूको भिडभाड हुन्छ ।

हाम्रो देश नेपालमा एक ठाउँबाट अर्को ठाउँ जान सडक यातायात प्रयोग गरिन्छ भने माल्दिभ्समा पानी जहाजको प्रयोग गरिने रहेछ ।
एयरपोर्टबाट दश मिनेट पानीजहाजको यात्रापछि राजधानी माले आइपुगियो । माले पनि सानो टापु रहेछ । साँघुरो बाटो नजिक-नजिक बिल्डिङ । मान्छेको अधीक भिड हुने ठाउँ रहेछ ।

हुन त राजधानी भएर होला, सबै ठाउँका मानिस मालेमा कामको सिलसिलामा आउने रहेछन् । तर, नेपालमा जस्तो मालेमा गाडी देख्न भने पाइने रहेनछ । यहाँ प्रायः सबैको मोटरसाइकल हुने रहेछ । ट्याक्सी भने चढ्न पाइने ।

फुर्सदमा नबस्ने, घरमा खाना नखाने

माले आएसँगै कम्पनीमा काम गर्न थालें । हाल माल्दिभ्सको राजधानी मालेमा बस्न थालेकै दुई वर्ष हुन थाल्यो । धेरै-थोरै यहाँका बारमो जानकारी अाफ्नो डायरीमा लेख्न मन लाग्यो । ताकि अन्य साथीभाइले पनि पढ्न बुझ्न सकुन् र देखेजस्तै महसुस गर्न सकुन् ।

मालेको चारैतिर समुऽ मात्र छ । त्यो पनि जमीनबाट केही तल । कतै समुन्द्र नै जमीनको सतहमा आउने हो कि जस्तो लाग्छ ।

यहाँका धेरै मान्छेहरु काला वर्णका छन् । काममा बढी ध्यान दिन्छन् । फुर्सदमा बस्दैनन् । प्रायः यहाँका धेरै मान्छेले धुम्रपान गर्ने रहेछन् । कफी, सुपारी बढी मात्रामा खाने रहेछन् । घरभन्दा बढी होटलमा पिजा, बर्गरजस्ता चिज खाँदा रहेछन् । माल्दिभ्समा आफूभन्दा साना हुन् वा आफूभन्दा ठूला, प्रायः सबैले नामले नै बोलाउने रहेछन् ।

माल्दिभ्सको राजधानी मालेबाट नजिक पर्ने टापुमा हुलमाले, तिलाफुसी, हुलहुले एयरपोर्ट अनि भिलिगिल्ली रहेछन् । लगभग बाह्र सयजति यस्तै टापुहरु रहेको यहाँका मान्छे बताउँछन् । तर, सबै टापुमा मान्छेको बसोबास रहेनछ ।

तीन लाख जनसंख्या, समुन्द्रमा रिसोर्ट

माल्दिभ्सको जनसंख्या जम्माजम्मी ४ लाख जति छ । सन् २०१६ को गणनामा यस देशको जनसंख्या ४ लाख १७ हजार ४९२ देखाइएको छ ।
यहाँको प्रमुख आयस्रोत भनेको नै माछा र पर्यटन व्यवसाय रहेछ । यहाँ थुप्रै समुद्रमा रिसोर्टहरू छन् ।

म नेपालमा हुँदा माल्दिभ्समा नेपाली छैनन् होला भन्ने सोचेको थिएँ । यसको कारण थियो, माल्दिभ्समा कामदारका लागि विज्ञापन कतै बज्दैनथ्यो, छापिँदैनथ्यो । तर, यहाँ मैले सोचेको जस्तो रहेनछ । माल्दिभ्समा लगभग ६ हजारजति नेपाली कामदार रहेछन् । तर, यहाँ नेपालको दूतावास भने छैन ।

नेपाली महिला कामदार धेरै

पुरूषको तुलनामा नेपाली महिला धेरै रहेछन् । उनीहरू घरेलु काममा यहाँ आउने रहेछन् । यहाँको कानूनले महिलालाई धेरै सम्मान गर्ने रहेछ । महिला दिदीबहिनी पनि धेरै नै खुसी भएको देख्न पाइन्छ यहाँ । अन्य खाडी मुलुकमा जस्तो आजसम्म कुनै नेपाली पुरूष वा महिलाले दुःख भोक्नुपरेको सुनिएको छैन ।

यहाँ घरमा काम गर्न नेपाली महिलालाई अति रूचाइँदो रहेछ । नेपाली पुरूषले भने कार ड्राइभिङ, कुक, वेटर र सेक्युरिटी गार्डजस्तो काम गर्दा रहेछन् ।

चारैतिर समुऽ नै समुऽ छ । माल्दिभ्स साँच्चै अनौठो देश रहेछ । धेरैको मुखबाट माल्दिभ्स छिट्टै डुब्छ रे भन्ने सुनिन्छ । तर, यहाँको विकास र यहाँका जनतालाई देख्ने हो भने यो सबै भ्रम हो जस्तै लाग्छ ।

मदिरा निषेध, अरू देशबाट आएका मान्छे धेरै

केही दशक अगाडि यहाँका जनता नरीवलको पानी खाएर मात्र बस्थे रे । पछि यति छिटो विकसित देश बन्यो कि यहाँका जनता अचम्म पर्छन् । यहाँ डलर पनि चल्ने रहेछ । यहाँको भाषा दीवेही रहेछ । तर, प्रायः सबैले इङग्लिस बुझ्ने र बोल्ने गर्दा रहेछन् ।

मालेबाट चारैतिरको भाग समुऽ जोडिएकोले साँचिकै हेर्न लायक देखिन्छ । ठाउँ एकदम सानो भए पनि यहाँको सरकारले खेल्नका लागि चौर, बस्नका लागि पार्क र कसरत गर्नका लागि जिमघरहरु निःशुल्क उपलब्ध गराएको छ ।

माल्दिभ्समा रक्सीजन्य पदार्थ बिक्री वितरण हुँदैन । यहाँको जनसंख्या भन्दा धेरै त अन्य मुलुकबाट कामका लागि आएका मान्छेको जनसंख्या छ ।

माल्दिभ्सका नेपाली बारे सरकार बेखबर

माल्दिभ्समा काम गर्ने नेपालीलाई खासै नेपाल सरकारले चासो दिएको पाइँदैन । कति नेपालीलाई त माल्दिभ्समा पनि नेपाली छन् भन्ने थाहा छैन ।

यहाँ काममा आउन नेपालबाट मेनपावर प्रयोग हुँदैन । यहाँ थुप्रै नेपाली दलालहरु छन्, उनीहरूले आˆनो इच्छाअनुसार पैसा तोकेर भिसा नेपाल पठाएर नेपाली कामदार यहाँ भित्रयाउँछन् ।

भिसाको पैसा भने मनलाग्दी लिइन्छ । बेरोजगार नेपालीहरु जतिसुकै तिरेर पनि माल्दिभ्स आउन बाध्य छन् । अन्य मुलुकलाई जस्तो नेपाल सरकार र नेपाली मिडियाले माल्दिभ्समा काम गर्ने नेपालीको बारे कुनै चासो दिएको देखिँदैन ।

यहाँ नेपाली-नेपाली मिलेर नयाँ वर्ष, दशैं, तिहार जस्ता पर्वहरू मनाउछँन् । तर, नेपालमा कसैलाई थाहा हुँदैन । नेपालका मिडियामा यस्ता समाचार कहिल्यै अएका पनि छैनन् ।

माल्दिभ्सको हावापानी एकदम राम्रो छ । सधैं एकनास हुन्छ । यहाँ वर्षभरि नै ठूलो मात्रामा विदेशी पर्यटक आउँछन् ।

साँचिकै माल्दिभ्स एक रमाइलो र घुम्न लायक ठाउँ रहेछ । के थाहा, समुऽबाट थोरैमात्रै माथि रहेको टापुमा कुनै दिन पानीले डुबाएर पुरै समुन्द्र मात्रै रहन पनि सक्छ ! र, यसको नाम निसाना नै मेटिन पनि सक्छ । र, हामी सबै डुब्न पनि सक्छौं !
(चितवनका पराजुली हाल माल्दिभ्समा बस्छन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment