Comments Add Comment
No ads found for this position

दुई चार मान्छेले झोलाभरि पैसा राखेर देश उँभो लाग्दैन

हामी विश्वकै गरिब मुलुकमध्ये एकका नागरिक । अझै कहिलेसम्म यही अवस्थामा बाँचिरहने ? या देशलाई यत्तिकै छाडेर मर्ने ? छैन हामीमा कतै रगत ? हामी एक दुई जना धनी भएर तमाम समस्याको समाधान होला ? यस्ता प्रश्न मेरा मन मस्तिष्कमा सल्बलाइरहन्छन् ।

दुई–चार जना मान्छेले झोला भरि–भरि पैसा राखेर पक्कै देश उँभो लाग्दैन । अब यसमा बहस गरौं । यदि हाम्रै पालामा समृद्ध देश बनाउने हो भने त्यो बहस गर्न ढिला भइसकेको छ ।

पहिलो बहस हाम्रो सार्वजनिक वित्त प्रणालीका बारेमा गरौं । यसमा चाटर्ड एकाउन्टेन्ट (सीए) हरुको पनि ठूलो भूमिका हुन्छ । सीएहरुले नै नक्कली भ्याट बिल छपाइदिन्छन् भन्ने सुनिन्छ । त्यसैले नेपालको सार्वजनिक वित्तलाई पारदर्शी बनाउन प्रविधि उपलब्ध छ, भ्रष्टाचारीलाई पहिचान गर्न सम्भव छ ।

अब नेपालले ‘ब्लकचेन एकाउन्ट सिस्टम’ ल्याउनुपर्छ । यसले एउटा क्रान्ति नै गर्छ । अरुले सुरु गरिसके । यसले ब्यापक रुपमा भइरहेको करको दुरुपयोगलाई रोक्छ । कुन मन्त्रालयमा, कुन प्रोजेक्टमा कति पैसा खर्च भयो, कुन ठेक्का कति पैसामा दिइयो, हरिभक्त शार्मले कति कर तिर्‍यो, कति पैसा कमायो ? यावत् कुरा निगरानी गर्न मिल्ने ब्लकचेन टेक्नोलोजी हाम्रो सार्वजनिक बित्त प्रणालीमा ल्याउन सकियो भने ब्यापक रुपमा नेपाल अगाडि जान्छ ।

तर, हाम्रो सरकारभित्र अर्थनीति नबुझ्ने मान्छेहरु उच्च तहमा हुनुहुन्छ । समस्या धेरै छन् । यहाँ ब्लकचेन टेक्नोलोजी सुरु गर्न प्रत्येक नेपालीको पहुँचमा इन्टरनेट हुनुपर्छ । पहुँच मात्रै पुगेर पनि हुँदैन, गुणस्तर पनि सुधार्नुपर्छ ।

हाम्रो सोचमा नीतिमा दरिद्रता भयो । त्यसलाई नसुधारी देश माथि जाँदैन । हामीले जति मिठा कुरा गरे पनि प्रविधिलाई पछ्याएनौं भने हाम्रो जीवनकालमा नेपाल गरिब नै रहन्छ ।

राजनेता र कर्मचारी प्रशासनबीच अहिले ‘मौन युद्ध’ छ । यसलाई पनि सुधारिएन भने जुनसुकै पद्धति ल्याउनुस् नेपाल गरिब नै रहन्छ । वास्तविकतालाई समाना नगर्ने हो भने देश माथि जाँदैन । नेपालमा काम नगरी खानेको ठूलो जमात तयार भएको छ । त्यसले काम गरेर खानेको जसरी पनि खुट्टा तान्छ ।

नाफालाई जग्गा र घर, सुनमा दबाएर राख्नुपर्ने भयो । उद्योगमा राखेपछि त देखिन्छ । त्यसैकारण काम नगरी सम्पत्ति जम्मा गरेर राख्नेहरुको जमात तयार भयो । यसलाई त कतै न कतै सम्बोधन गर्नुपर्छ । अहिले उद्योगमा रहेका समस्यालाई हटाउँदै लैजानुपर्छ, त्यो भनेको कानुनी सुधार हो ।

नेपालमा ३६ वटा कानुन छन्, जसमा नेपालका उद्योग व्यवसायलाई गरी खान गाह्रो हुनेगरी प्रावधान राखिएका छन् । कतिपय कानुनहरु म जन्मिनुभन्दा पहिलाका हुन्, मै बुढो हुन थालिसकेँ । ती पुराना कानुनको सन्दर्भ नै गइसक्यो । तीन–चारवटा संविधान हामीले फालिसक्यौं तर, व्यवसाय गरेर खानेलाई उचित वातावरण नदिने कानुन जस्ताको तस्तै राखियो । नेताहरुलाई यो सुधार्ने फुर्सदै नै छैन ।

यो देशका सम्भावना भनेर साध्यै छैन । भाषण गरेर कहिल्यै सकिँदैन । हामीले काम गरेर खाने प्रवृत्तिलाई बढावा दिनका लागि, सम्भावनालाई सदुपयोग गर्नका लागि चारवटा क्षेत्र छन्, जसलाई हामी भविष्यमा उपयोग गर्न सक्छौं । हेल्थ केयर सेक्टरलाई ध्यान दिनुपर्छ । पानीको सदुपयोगलाई ध्यान दिनुपर्छ । लघु उत्पादनमूलक क्षेत्रमा पनि ध्यान दिनुपर्छ । पर्यटन त भइहाल्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment