Comments Add Comment
No ads found for this position

सशस्त्र विद्रोह समाजवादको बाटो हुन सक्दैन

Photo Credit : फाइल तस्वीर

समाज र राजनीतिको अटुट सम्वन्ध हुन्छ । त्यसैले समाजको गतिलाई राजनीतिले समात्नु सक्नुपर्छ । सामाजिक मनोविज्ञान विश्लेषणविनाको राजनीति माझीविनाको नाऊ जस्तै हो, जो जतिबेला दुर्घटना हुन सक्छ । संसारमा यस्ता धेरै राजनीति आन्दोलनहरु भएका छन्, जुन आन्दोलनहरुवाट समाजले उपलब्धी कम क्षति धेरै ब्यर्होनुपरेको छ । उदारहणका निम्ति सन् १९६६ देखि दस वर्ष चलेको चिनियाँ सांस्कृतिक क्रान्तिमा भएको क्षतिको चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुबाटै आलोचना हुँदै आएको छ ।

समाजको आमूल परिर्वतन आवश्यक मात्र होइन, समयको मागअनुसार अनिवार्य छ । त्यसका निम्ति समाजको विद्यमान अवस्थाको वस्तुनिष्ट समीक्षासहितको प्रभावकारी सिद्धान्त, नीति र कार्यक्रमको अनिवार्य हुन्छ ।

क्रान्तिको बाटोबारे लेनिनको भनाइ छ, क्रान्ति गर्नु भनेको विद्रोहलाई कलापूर्ण ढंगले सञ्चालन गर्नु हो । अन्त्यसम्म जाने दृढ निश्चिय छैन भने विद्रोहसँग कहिल्यै खेलवाड नगरे हुन्छ ।

नगिन्द्र शाही

आत्मरतिका निम्ति जेजस्तो ब्याख्या गरे पनि अपवादबाहेक सम्झौतामा व्यवस्थापन भएका विश्वका ठूला ठूला क्रान्तिको फेहरिस्थ केलाउँदा समाज रुपान्तरणका निम्ति उपलब्धी कम, क्षति धेरै भएको पाइन्छ । त्यसको प्रमुख कारण भनेकै मानव समाजको अधिकतम आवश्यकताकोे विश्लेषण गर्न नसक्नु हो । सिद्धान्तको शास्त्रीय नक्कल र नेताको ब्यक्तित्वको प्रभावमा वा प्रतिशोधमा परेर गरिएका क्रान्ति र आन्दोलनहरुले मानव समाजलाई दुखः पीडा र परनिर्रभता बाहेक अरु केही दिन सकेका छैनन् ।

मार्क्सवाद विश्वका अधिकांश जनताले आत्मसात गरेको दर्शन हो । वास्तवमै समाजवाद र साम्यवादविना सबै जनताले न्याय पाउने कुरा झुटो मात्र होइन, असम्भव छ । त्यसैले समाजवाद र साम्यवाद मानव समाजको उन्नति, प्रगति र सम्रग विकासका निम्ति आवश्यक मात्र होइन, अनिवार्य छ ।

मार्क्सवादले भनेझैं जबसम्म मानव आश्यकताका आधारमा पुँजीको न्यायोचित वितरण हुँदैन, तबसम्म साजमा यो वा त्यो हिसावले विभेद भै नै रहन्छ । जबसम्म राजनीतिले पुँजीलाई जनताको आवश्यकतााका निम्ति न्यायोचित वितरण गर्ने ल्याकत राख्दैन, त्यँहासम्म मार्क्सले कल्पना गरेको समाजवाद साकार हुँदैन । समाजवाद र साम्यवादी व्यवस्था सम्भव छ । तर, सर्वहारा वर्गको अधिनायकत्व भएको साम्यवादी समाज विरोधाभाषी छ । यो विषयमा विश्वका कम्युनिस्टहरुमा विगतदेखि वर्तमानसम्म आन्तरिक अन्तरविरोध चल्दै आइरहेको छ ।

मार्क्सवाद विश्वका सबै कम्युनिस्टका निम्ति सर्वस्वीकार्य भए पनि क्रान्तिको कार्यक्रम र कार्यनीतिको सन्र्दभमा विगतदेखि वर्तमानसम्मका संसारमा रहेका सबै कम्युनिस्ट पार्टीहरुमा एकमत भएको देखिँदैन । सर्वहारा, श्रमजीवी वर्गको हितका निम्ति वैज्ञानिक सिद्धान्त माक्र्सवाद एक निर्विकल्प सिद्धान्त हो । यसको रक्षा, विकास र प्रयोगमा विश्व कम्युनिष्टहरुमा आन्तरिक एकतामा एकवद्धता नहुँदा मानव समुदायले लिनुपर्ने उपलब्धी लिन सकेको छैन ।

मार्क्सवादी सिद्धान्त विश्वबन्धुत्वको वकालत गर्छ । तर, कम्युनिस्ट पार्टीका नेताहरुको सत्तामोहका कारण विश्व कम्युनिस्ट आन्दोलन टुटफुट र विभाजनमा विभक्त हुँदै आएको छ । यसो हुनुको पहिलो कारण हो,जडता र शास्त्रीय चिन्तन । समाजको आमूल परिवर्तनका निम्ति बलप्रयोगकै अनिवार्यता सधैं हुन्छ भन्ने मान्यता अहिलेसम्म एकखाले कम्युनिस्ट पंक्तिले त्याग्न नसक्नुले कम्युनिस्ट आन्दोलन आलोचना विषय बन्दै आइरहेको छ ।

दोस्रो कारण हो एकदलीयता र भूमण्डलीकरण । अहिले समाजका आधारभूत आवश्यकतादेखि जनताको चेतना स्तरमा मात्रात्मक र गुणात्मक दुवै हिसाबले धेरै फेरबदल भएको छ । शक्तिसम्पन्न अमेरिका, रुस, चीन, बेलायत र फ्रान्सलगायतका राष्ट्रहरुले हातहतियारको ब्यापार गरे पनि एक अर्कामा प्रयोग गर्ने रणनितिमा ब्यापक परिर्वतन गरेको पाइन्छ ।

विश्वमा अस्थायी, स्थायी क्पाम्पमा बसिरहेका अमेरिकी सेनाहरु अफगानिस्थानलगायत देशहबाट फिर्ता हुनु यसको उदाहरण हो । ती देशहरु वस्तु उत्पादन गरेर, प्रविधिको अथाह विकास गरेर, भाषा, सांस्कृति अन्य देशहरुमा अनुशरण गराएर आफ्नो साम्राज्य कायम गर्ने रणनीति अख्तियार गरेको देखिन्छ ।

प्राकृतिकरुपले नै मानव बहुयामिक हुन्छ, किनकि मानवसँग चेतना छ । धनी, गरीब, बुझ्ने र नबुझ्ने कुरा विद्यमान समाज अनुरुपको विश्लेषण हो । चेतनाको वास्तविकता र विशेषता जन्मजात बहुरंगी हुन्छ । यही सत्यलाई आत्मसाथ गर्दै चेतनामाथि नियन्त्रण गर्नु नै अहिलेका शक्तिसम्पन्न राष्ट्रहरुवीच होडबाजी चलिरहेको छ ।

यही कुरालाई मध्यनजर गर्दै तेङ स्याओ पिङको पुनरोदयसँगै चीनको आर्थिक नीतिमा सन् १९७६ पछि भूमण्डलीकरण भयो । फलस्वरुप आज विश्वमा दिन दो गुना, रात चौगुना आर्थिक परिर्वतनको दिशामा चीनले उल्लेखनीय फड्को मारिरहेको छ । चीनको वर्तमान समाज र त्यहाँको राजनीति एकदलीय भए पनि चिनियाँ समाजको माग र आवश्यकता अनुसार आर्थिक स्वतन्त्रता भएकाले जनतालाई स्वीकार्य भएको छ ।

नेपालको आन्तरिक राजनीति परिर्वतनको श्रृंखला सर्वभाववाट पे्ररित हुँदै परिर्वतनको विन्दुमा पुगेको छ । २००७ सालयता वामपन्थी र दक्षिणपन्थीले थालनी गरेका हिंसात्मक हुन् वा अहिंसात्मक दुबैखाले राजनीतिक आन्दोलनको व्यवस्थापन लोकतान्त्रिक पद्दतिमा भएको छ । यसको अर्थ हो, हिंसाको राजनीति र एकदलीय व्यवस्था नेपाली जनताको मनोविज्ञान विपरीत कुरा हुन् ।

त्यसैले, सशस्त्र बल प्रयोगकै सिद्धान्त अख्तियार गरेर समाजवाद हुँदै साम्यवादसम्मको यात्रा गर्ने कुरा नेपालमा मात्र होइन, यो विश्वभरिका कम्युनिस्टका निम्ति चुनौती मात्र होइन, तत्काल असम्भव छ ।

मानवजातिको सम्रग हितका निम्ति समाजवादी समाज आवश्यक मात्र होइन, अनिवार्य भए पनि अहिले विश्वमा उदारवादीहरु हावी छन् । पुँजीको सतप्रतिशत हिस्सा केही सीमित ठूला देश र केही सीमित पुँजीपतिहरुको नियन्त्रणमा छ । उत्पादन प्रणालीमा र उत्पादन भएका वस्तुहरुको मूल्य निर्धारण राज्यले नभई बजारले गरिरहको छ । बजार, पुँजी र पुँजीपतिको साम्राज्य कमजोर केही व्यक्तिले केही थान हतियार उठाएर सम्भव हुँदैन । यसो गर्दा समाजवादीहरु कमजोर र साम्राज्यवादीहरु बलिया हुने खतरा नै रहन्छ ।

यही कुरालाई बुझ्दै विश्वमा ठुलो जनसंख्या भएको कम्युनिस्ट समाजवादी देश चीन, भियतनाम र लाओसले अर्थनीतिमा ब्यापक सुधारसहित उत्पादन, प्रविधिको विकास गर्दै पुँजीवादी देशहरुसँगको प्रतिस्पर्दामा श्रेष्ठता हासिल गर्दै सिद्धान्तको रक्षा र विकास गरिराखेका छन् ।

त्यसैले विश्व अनुभवको समीक्षा गर्दै नेपालका कम्युनिस्टहरुले अँगालेको कम्युनिस्ट लोकतान्त्रिककरणको बाटो हुँदै जनमतको माध्यमवाट राज्यसत्ताको सञ्चालन गर्ने मान्यता नै २१ औं शताब्दीमा मार्क्सवादको सिर्जनात्मक प्रयोग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment