Comments Add Comment
No ads found for this position
सांस्कृतिक बहस :

भात फाल्ने ‘साना किसान’ को ठूलो अविवेक !

'कर्णालीमा कुपोषण छ, काठमाडौंमा अन्न फालिन्छ'

गत फागुन १६ गते साना किसानको राष्ट्रिय सम्मेलन भएको थियो । कार्यक्रम याक एण्ड यति होटेलमा भएको थियो । त्यसमा पोषण, प्राङ्गारिक मल र स्वास्थ्यसम्बन्धी एक कार्यपत्रमा मलाई आफ्नो विचार  प्रस्तुत गर्न बोलाइयो ।

आफ्नो प्रस्तुतिपछि खाना खाने बेला भयो । म तोकिएको ठाउँमा पुगेँ । म त्यहाँ उभिएर एकछिन् हेरेपछि मेरो मनमा लाग्यो- के यो साँच्ची नै साना किसान धरतीपुत्र धरतीपुत्रीहरुको सम्मेलन हो त ? मलाई त विश्वास नै लागेन । किनभने, प्रायः सबैले अनेकथरिका खाना प्लेटभरि लिएका थिए र खान नसकेर फ्यालेका थिए । खानापछि गुलियो, केक, हलुवा, आइसक्रिम पनि त्यतिकै फ्यालिएको थियो ।

आयोजकसँग बुझ्दा झण्डै एक हजार साना किसानको भेला त्यहाँ बोलाइएको थियो र प्रतिप्लेट दुई हजार  रुपैंयाँ बराबरको खाना सबैले खाइरहेका थिए । साना किसान, प्रस्तुतकर्ता र अन्य व्यक्ति आदि सबै गरेर १ हजार २ सय जनाले खाएको खाना प्लेटमा हेर्दा ५० प्रतिशत  खानाचाहिँ खेर गएको थियो ।

कतिपयले त ६० प्रतिशतभन्दा बढी खाना छाडेका थिए । मैले आर्थिक दृष्टिकोणले त्यो फ्यालेको हिसाब गरेँ । यदि प्रत्येक व्यक्तिले २ हजारको  प्लेटमा खाना लिएर आधा फ्याल्यो भने त्यसले एक जहार रुपैयाँको नोक्सान गरेको थियो  ।  एक हजार व्यक्तिले उक्त सम्मेलन दुई दिनसम्म गरेका थिए । यो दुई दिनमा दिनको सम्मेलनमा प्रतिप्लेट १ हजार २ दुईका दरले हिसाव गर्दा २० लाख ८० हजारको  खाना फ्यालियो ।

मेरो मनमा अचानक साना किसानको अनुहार देखा पर्‍यो । साना किसान त्यो हो, जसले अन्नलाई माया गर्छ । साँच्ची नै साना किसानहरु यो सम्मेलनमा आएका भए अन्नलाई यसरी फ्याँक्न सक्थे होलान् ?

एक-एक मुठी धान उब्जाउन, एक पाथी आलु फलाउन, एक माना दाल उब्जाउन, एक मुठी हरियो धनियाँ उमार्न कति शारीरिक मेहनत, पानी, मल आदिको जरुरत पर्छ भन्ने उनीहरुले बुझेका हुन्छन् । घरतीका छोराछोरी साना किसानहरुले के साँच्ची नै त्यसरी हृदयहीन भए खाना फ्याल्न सक्थे होला त ?

म किसान त होइन । तर, गाउँघरमा जादाँ किसानको मेहनत देखेकी छु । मेरी मावलकी हजुरआमा र मामा पनि किसान थिए । मेरी हजुरआमा धान र तोरीको गेडागेडा एक-एक गेडा पनि खेत र आँगनबाट उठाँउथिन् । अति गरीबीबाट उठेकी मेरी हजुरआमा वास्तवमा धेरै वर्षपछि ठूला किसान भएकी थिइन् । भारतको उत्तर प्रदेशको लखिमपूर गाउँमा मामाको ठूलो ‘हवेली’ बनेको थियो । तर, आफ्नो जीवनको चरम गरीबीमा साना-साना छोराछोरीलाई खुवाउन नपाउँदाको दुःखले गर्दा मेरी बज्यैले हामी नातिनातिनालाई पछि पनि भातकोे एक दाना पनि खेरा फाल्न दिन्न थिइन् ।

बालकालमा सिकेको त्यो कुरा मेरो जिन्दगीमा ठूलो पाठ बनेको छ । तर, साना किसानले नेपालमा चाँहि त्यस्तो पाठ सिकेनन् ।

केही महिनाअघि मकवानपुर जाँदा एक सानो चिया पसलमा लेखेको देखेँ । ‘कृपया खानेकुरा खेर नफाल्नु होला  ।’ त्यो देखेर मलाई निकै रमाइलो लाग्यो । अब चिया पसलका मालिकहरुलाई पनि खाना खेर फ्याल्नु हुन्न भन्ने सचेतना आइसकेछ भन्ने ठानेँ ।

अपशोच, ५ तारे होटेलमा व्यवस्थापन पक्ष र ठूला-ठूला गुठीका भोज गर्ने मानिसहरुलाई अझै चेतना आएको छैन भन्ने बुझ्न यस्ता सम्मेलनहरु सहयोगी हुँदै आएका छन् । साना किसानको सम्मेलनमा सायद ५ तारे होटलमा यसै गरी लेखिएर राखिएको भए २८ लाखको खाना खेर जादैँन थियो  कि ?

केही महिनाअघि त एक नेवार साथीले कुल देवताको पूजा गरेको उपलक्षमा नेवारी तरिकाले सबै लहरै बसेर खाने भोजमा बोलाइन् । त्यस भोजमा एकैसाथ सयजना जति मानिसले एकैपटक खान थाल्यौं ।

‘नेवारी भोज अनुसार २८ थरिको व्यञ्जन हुनुपर्छ । नत्र भोज आउने मानिसले कुरा काट्छन्’ मलाई निम्ता गर्ने तुलाधर दिदीले भनेकी थिइन् । २८ थरिको खाना कसरी पकाउने होला, कसरी खाने होला भनेर म मनमनै सोचिरहेकी थिएँ । चिउरा तरकारी अचार विभिन्न थरिका मासु साग, आदि परिकार थपिँदै थए ।

मेरा एकजना परिचित ड्राइभर रामकृष्ण श्रेष्ठले भनेका थिए, ‘नेवारी भोजमा जान त मन लाग्छ, तर खाना फ्याँकिएको देख्दा मन कटक्क हुन्छ । खाना फ्यालेन भने लोभी भनिन्छ ।’

उसै पनि अल्पहारी म, धेरैथरिका परिकारले म चाँडै अघाएँ । यति धेरै परिकार बनाएपछि त थोरै थोरै पो हालिदिनुपथ्र्यो भनेर मनमनै सोच्दै गर्दा अचानक खानेकुरा थपिदिए । मैले भयो भयो, पुग्यो पुग्यो, भन्ने शब्दको कुनै अर्थ रहेन । मैले हेर्दाहेर्दै मेरो भागमा साग, करेलाको अचार, मुलाको अचार थपिइसकेका थिए । भागमा परेको कुरा, फ्याँक्न सकिनँ । जबरजस्ती भए पनि खानै पर्‍यो । चिउरा त खानै सकिएन  । मैले नाइँ भन्दाभन्दै हालिएको चिउरा र तरकारी  खेर गएको देखेर मेरो मन कट्कै काटिएको थियो । जबरजस्ती खानुपर्‍यो ।

रामकृष्णझैँ म पनि प्रतिनिधि पात्र हुँ, जसलाई भोजन फ्यालेको मन पदैँन । तर, त्यो दृश्य हेर्न बाध्य हुनुपर्छ ।

पश्चिमी देशको नक्कल गर्ने हामीले खाना नफ्याल्ने उनीहरुको बानीचाहिँ अँगाल्न सकेेका छैनौं । अमेरिका वा युरोपमा होटलमा जाँदा, खाना जाँदा पनि खाना यदि बढी भयो भने प्याकेटमा हालेर घर लैजाने पद्दति छ

ब्ााहिर, अरुले गरेको पार्टी वा भोजमा केही गर्न सकिँदैन । तर घरघरमा यस्ता नियमविरुद्ध जनचेतना फैलाउन सकिन्छ ।  हाम्रो घरमा मैले खाना फ्याल्न पाइन्न भन्ने कठोर नियम बसाएकी छु । जसलाई घरका सदस्यले राम्रोसँग पालना गरिदिएका छन् ।

अरुलाई देखाउन नै भोजमा दशौँथरिको खानेकुरा बनाउने गरिन्छ । ती परिकार थालमा राखेपछि  २/३ गाँस खाँदाखाँदै भरिसक्छ । नथपि उठ्ने कुरा भएन । अनि फेरि थपी-थपी दिएका खाना खाने पेटमा ठाउँ नै कहाँ हुन्छ र ?  सबैथरिको खानेकुरा एकै प्लेटमा राख्न खोजिन्छ । खान सकिन्न । हृदयहीन भएर फ्यालिन्छ ।

मूल खानापछि सलाद, जेरी, केक गाँजरको हलुवा, लालमोहन, आदिको व्यवस्था हुन्छ । सबै डेजर्डहरु पुनः प्लेटभरि हालिन्छ । पहिले नै अघाएको पेटमा मिठाइ र सलाद राख्दा पुनः फ्याँक्नुपर्ने अवस्था आउँछ । यसरी पहिले ५० प्रतिशत फ्याँकिएका खानेकुरा पछिल्लोपटक २५ प्रतिशतभन्दा बढी खेर गइरहेको सजिलै देख्न सकिन्छ ।

त्यसमाथि पनि निम्तालुहरुले चिसोे पेय पदार्थ र खाजा फालेको हिसाबै छैन ।

कतिपय भोजमा त ३/४ वर्षका बालबालिकालाई पनि अभिभावकले प्लेटभरि खाना लिइदिन्छन् ।  तर त्यो बालकको पेटमा त कति पो भोजन अटाउँछ ? ५/७ गाँस देखाएपछि बालकको पेट र मन दुवै अघाउँछ । तर,  त्यो खाना  फ्यालेर बच्चालाई अझ गुलियो खानाका लागि तयार गरिन्छ अनि मिठाइहरु पनि फ्यालिन्छ ।

यस्ता नानीलाई कोच्याए खाना चाहने अभिभावकले  सुदुरपश्चिम र कर्णालीका कुपोषित बालबालिकाले खान नपाएको र उनीहरुको पीडा अनुभव गरिदिन सकेको भए ?

हामीकहाँ यसरी खाना फ्याल्नुहुन्न भने संस्कृतिको विकास अझै हुन बाँकी छ । कतिपय कुरामा पश्चिमी देशको नक्कल गर्ने हामीले खाना नफ्याल्ने उनीहरुको बानीचाहीँ अँगाल्न सकेेका छैनौँ । अमेरिका वा युरोपमा होटलमा जाँदा खाना जाँदा पनि खाना यदि बढी भयो भने प्याकेटमा हालेर घर लैजाने पद्दति छ । नेपालमा चाँही अझै होटलमा जाँदा यसरी खाना बढी भए लिएर जाने चलन छैन । मैले चाँहि गर्छु । भोलिपल्ट ‘बासी’ भए पनि झन मीठो हुन्छ ।

मकवानपुर चिया पसलेले ‘खाना नफाल्नु होला, चाहिनेजति मात्र लिनुहोला’ भन्ने लेखेर झुण्ड्याउने साहस ठूला ठूला होटलवालाहरुले पनि गरेदेखि सबैको बुद्धि आउँथ्यो कि ?

अन्न भनेका देवता हुन् र यिनको सम्मान गर्नुपर्छ भनेर हजुरआमाले सिकाउनुभएको थियो ।  भोजनको अभावमा शरणार्थीहरु कसरी तड्पिन्छन् ? राजमार्गमा बसका यात्रुहरुको खान नपाएको र भोजनको अभावमा, सुत्केरीको दूध नआएर शिशु छटपटिएको, दूध खान नपाएर मरेका घटनाहरु सुनेर पनि हामी खाना फ्याल्छौँ भने हाम्रो मानवीय विवेक खोई ?

खाना फ्याले ठूलो मान्छे रहेछ भनेर मानिसहरुले औंल्याउँछन् भनेर गर्व गर्न हो वा सानैदेखि बालबालिकालाई कहिले खानेकुरा नफ्याँक्नु पनि धर्म हो भनेर सिक्ने र सिकाउने ? महोदय, यति पढिसकेपछि त बिहे, भोज वा पार्टी जाँदा प्लेटमा पहाडै जस्तो गरी खान लिनुहुन्न होला नि होइन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment