Comments Add Comment
No ads found for this position

कम्युनिस्ट पार्टीका ७० वर्ष : हिङ बाँधेकाे टालो !

“नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता, अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ ।”

२२ अप्रिल, सन् १९४९ मा भारतको कलकत्ता (कोलकता)स्थित श्याम बजारमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले जारी गरेको पहिलो पर्चामा भनिएको हरफ हो यो । यो हरफले नेपालको कम्युनिष्ट पार्टी वर्गीय मुक्तीकै लागि स्थापना भएको हो भन्ने कुरा झल्काउँछ । स्वतन्त्रता ‘हुने खाने’ वर्गका लागि मात्रै होइन, ‘हुँदा खाने’ वर्गका लागि पनि आवश्यक हो भन्ने सन्देश दिएको यो नारा ७० वर्षपछि अहिलेको सत्तासीन नेपाली कम्युनिस्ट पार्टीका लागि कति सान्दर्भिक छ भन्ने बिषय अलि जटिल छ ।

पुष्पलाल श्रेष्ठ महासचिव रहने गरी नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी श्रेष्ठ संस्थापक भएर ७० बर्ष पहिले गठन भएको पार्टी आज सत्तामा, प्रतिपक्षमा, सडकमा र सशस्त्र बिद्रोहमा छ । अर्थात् चारैतिर कम्युनिस्ट मात्रै छ, गैरकम्युनिस्टहरुले न त प्रतिपक्षको भूमिका खेल्नु परेको छ, न सडकमा टायर बालिदिनु परेको छ, न वन्दुक उठाउनु परेको छ, न सत्ता चलाउनु परेको छ, सवै काम कम्युनिस्टहरु आफै गर्दैछन् । “पहाड, पर्वत, खोलानाला जग्गाजमीन सबको, मालिक हामी दास बनौं किन हिस्सा सबमा सबको” भन्ने उद्घोषका साथ मजदुर, किसान र श्रमजीवी जनताको राज्य व्यवस्था स्थापना गर्ने, राणासँग सम्झौता होइन क्रान्ति गर्ने, सामन्ती शासन व्यवस्था उन्मूलन गर्दै अंग्रेज, अमेरिकी साम्राज्यवाद र भारतेली एकाधिकारवादी पुँजीवादको शोषण उत्पीडनबाट देशलाई मुक्त गर्दै नेपालमा नयाँ जनवाद स्थापना गर्ने उद्देश्यले स्थापना भएको कम्युनिस्ट पार्टी यो सात दशकमा कति पटक, कति चिरामा चोइटियो र कति पटक कति गुटहरुको मिलन भयो भन्ने कुराको हिसाव “वाम बिश्लेषक” हरुले गरुन् । तर सामन्तवाद, साम्राज्यवाद विरोधी नेपाली क्रान्तिको दिशा अवलम्वन गरेको कम्युनिस्ट  अभियान अहिले कुन बिन्दुमा पुग्यो भन्ने कुराको समीक्षा हुनु जरुरी छ ।

गाउँतिर एक उखान छ ‘हिङ नभएपनि हिङ बानेको टालो त हो नि !’ यो उखान खासगरी उहिलेका साहुँकार, हजरी, लखपतिहरुले धाक लाउन प्रयोग गर्ने गरेको पाइन्छ । बिस्तारै यसलाई अरुले पनि ठट्टाको रुपमा प्रयोग गरेको पाइन्छ ।

यो ७० वर्षीय यात्राका क्रममा नेपाली कम्युनिस्ट आन्दोलन हिङ नरहेको कुरामा कसैको बिमति छैन । राजा महेन्द्रको २०१७ सालको कदमको बिषयमा बिवाद र फुट सुरु भएको कम्युनिस्ट पार्टी चीनलाई मान्ने कि रूसलाई मान्ने, नीति प्रधान मान्ने कि नेतृत्व प्रधान मान्ने, सशस्त्र बिद्रोह गर्ने कि शान्तिपूर्ण संघर्ष गर्ने, एक पदीय हुने कि बहुपदीय हुने जस्ता बिषयमा पटक पटक बिभाजन भयो । हुँदाहुँदा पार्टीभित्रको अनुशासनहीनता समेत पार्टी फुटको कारण बन्यो । नेपाली कम्युनिस्टहरूले साम्यवादमा विश्वास गर्ने भने पनि त्यसैमा शंका उठ्ने गरी पार्टी फुटाउँदै गए। कहिले आफ्नै नेतामा विश्वास गरेनन् कहिले पार्टीको सिद्धान्तमै शंका गरे।

२०१० मा भएको पार्टीको पहिलो महाधिवेशन मनमोहन अधिकारीलाई पार्टीको महासचिवमा निर्वाचित गर्‍यो । २०१४ सालको दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव बने। कमरेड रायमाझी सुरूदेखि नै राजालाई मानेर अघि बढ्नुपर्छ भन्नेमा थिए।२०१७ साल पुष १ गते जब राजा महेन्द्रले शासनसत्ता हातमा लिएर निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि रायमाझीले त्यसको स्वागत गरे। पुष्पलाल, मोहनविक्रम सिंह र तुलसीलाल अमात्य र मनमोहन अधिकारीे रायमाझीको विपक्षमा उभिए । रायमाझी कालान्तरमा राजदरबार पसे।उनलाई कम्युनिस्टहरुले “राजाको कम्युनिस्ट” भन्ने आरोप पनि लाए । पुष्पलाल तुलसीलाल अमात्य, मोहनविक्रम सिंह र मनमोहन अधिकारीजस्ता नेताहरु पनि क्रमशः त्यतिखेरका शक्तिशाली कम्युनिस्ट राष्ट्रलाई हेर्ने बिषयमा विभाजित हुँदै गए ।

टुट-फुट, गुट-उपगुट र आरोप-प्रत्यारोपले २०२३ सालसम्म कम्युनिस्ट पार्टी लगभग अवसानको अवस्थामा आइसकेको थियो अर्थात् टालोमा बाँधेको हिङ बिस्तारै सकिने अवस्थामा पुग्यो । २०२८ सालको झापा बिद्रोहले नेपाली कम्युनिस्ट आन्दोलनमा एक प्रकारको तरङ्ग सिर्जना गर्‍यो । भलै त्यतिवेलाका योद्धाहरुले त्यो बिद्रोह गलत भएको महसुस गरेका छन् तर, त्यो बिद्रोहले फुटेको कम्युनिस्ट पार्टीलाई एक वनाउन नसकेपनि कम्युनिस्ट आन्दोलनलाई एक तहको उचाइमा पुर्‍यायो ।

सिपी मैनालीले पञ्चायत फाल्न झापा विद्रोह चलाए। उता मोहनविक्रम सिंहले पञ्चायतका साथसाथै भारतीय विस्तारवाद र सामन्तवादविरुद्ध पनि आन्दोलन गर्ने भन्दै आफ्नो गुट वनाई रहे ।यी दुई समूहबीचको गहिरो “ध्रुवीकरण करिब-करिब ५ दशकसम्म रहृयो। २८ सालदेखि आजसम्म यी दुई समूह आन्तरिक रूपमा दर्जनौँ पटक फुटे दुईचार पटक जुटे पनि।

नेपाली कम्युनिस्ट आन्दोलनको यो ७० वर्षे अवधि हेर्दा अब आन्दोलनमा नयाँ प्रयोग गर्नु पर्ने केही पनि बाँकी छैन । दुई-दुई पटक सशस्त्र बिद्रोह भएको छ । पटक पटकका शान्तिपूर्ण आन्दोलनहरुमा आफूलाई कम्युनिस्ट भन्ने समूहहरु अग्र स्थानमा रहेका छन् । सडक आन्दोलनमा कम्युनिस्टहरु अव्वल भए । संसदीय निर्वाचनमा अल्पमतको सरकार चलाउने, सत्ताका लागि मण्डले, प्रतिगामी, भ्रष्ट सबैसँग मिल्ने देखि दुई तिहाई बहुमतको सरकार चलाउने सम्मका सबै अभ्यास भइसकेका छन् । ‘सत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ’ भन्ने जडसुत्रबादी वामपन्थी मान्यता दुई-दुई पटक असफल भइसकेपछि फेरि बन्दुककै नाल प्रयोग गर्ने जमर्को हुँदैछ । हुन त राजनीतिको ‘बार्गेनिङ्ग प्वाइण्ट’ को रुपमा पनि बन्दुकलाई लिन सकिएला तर पनि अव बन्दुकको नालबाट सत्ता प्राप्त गर्ने कुरा न्यून सम्भावनाको बिषय हो ।

सत्ता प्राप्तिका लागि राजनीतिमा हुने सबै हत्कण्डाहरु नेपाली कम्युनिस्ट आन्दोलनले प्रयोग गरिसकेको छ । अब नयाँ प्रयोग गर्नु पर्ने केही बाँकी छैन । यो प्रयोगको दौरानमा कम्युनिस्टहरुमा ‘कम्युनिस्टपन’ कति रह्यो ? भन्ने कुराको हिसाव किताब हुनु जरुरी छ । ‘हिङ’ त नेपालका कुनै पनि कम्युनिस्टहरु रहेनन् नै तर, हिङ बानेको टालो कति रह्यो भन्ने कुरा हो । जसरी हिङको आफ्नो गुण हुन्छ, आफ्नो बिशेषता हुन्छ, गन्ध हुन्छ, त्यो हिङ बानेको टालोमा हुँदैन । तर पनि हिङ बानेको टालोमा केही समयसम्म हिङको गन्ध रहन्छ । त्यसैगरी विश्व कम्युनिस्ट आन्दोलनको आफ्नो लक्ष छ, बिशेषता छ, चरित्र छ, गुण छ । नेपालको कम्युनिस्ट पार्टीमा पनि स्थापनाकालमा त्यो थियो । त्यो गुण, चरित्र, लक्ष, बिशेषता त अब रहेन नै तर, त्यसको असर अहिलेको कम्युनिस्ट पार्टीमा केही छ कि पुरै सकियो भन्ने कुरा हो । जसरी हिङ बानेको टालो धोइदिँदा हिङको गन्ध हराएर जान्छ, त्यसरीनै सरकारमा जाँदा कम्युनिस्ट पार्टी धोइयो, अर्थात् कम्युनिस्ट पार्टीभित्रको कम्युनिस्पटन हराउँदै गयो ।

सत्ताका नेतृत्वकर्ता कमरेडहरुले ००६ सालको पार्टीको उद्घोष र अहिलेका गतिबिधिहरुलाई एक पटक तुलना गर्ने पो हो कि ! पार्टीभित्र अनुशासनहीनता कायम गरेर, पुराना र ईमानदार कार्यकर्ताहरुलाई या त पार्टी छोड्न या फेरि निष्क्रिय बस्न बाध्य बनाएर, पदमा पुगेका नेता कार्यकर्ताहरुले भ्रष्टाचार गरेर, गुटयुक्त संगठनबिहीन पार्टी चलाउने चेष्टा गरेर स्थापना कालमा भनिए जस्तो मजदुर, किसान र श्रमजीवी जनताको राज्य व्यवस्था स्थापना गर्न सकिन्छ ? वर्गीय मुक्तिसहितको समाजबाद स्थापना हुन सक्छ ? अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकारवादी पुँजीवादको शोषण उत्पीडनबाट देशलाई मुक्त बनाउन सकन्छ ? कदापी सकिँदैन । भाषण गर्नु, आश्वासन दिनु, जनतामा उत्साह जगाउनु, सपना देखाउनु राम्रो कुरा हो । यो अन्यथा हुँदै होइन तर, ति आश्वासन, त्यो उत्साह, त्यो सपना पूरा गर्नेतर्फ शून्य गतिबिधिले कसरी काम हुन सक्छ ।

संघीय सरकार दुई तिहाई बहुमतको, सात प्रदेशमध्ये ६ प्रदेशमा आफ्नै सरकार, दुई तिहाई भन्दा बढी स्थानीय तहमा आफ्नै सरकार । यतिबेला पनि आफ्नो विचार, आफ्नो भावना र आफ्नो सिद्धान्तउन्मुख क्रियाकलापहरु हुँदैनन् भने अनि कसरी कम्युनिस्ट पार्टी हो भनेर बिश्वास गर्नु ? जता हेर्‍यो उतै भ्रष्टाचार देखिन्छ । जता सुन्यो उतै अनियमितता छ । हिङ बानेको टालो सबै धोइएर पो यस्तो अवस्था आएको हो कि !

हुन त सत्ताको नेतृत्व गर्न पाएपछि सवैको हालत त्यसै हुने रहेछ । २०४६ राजनीतिक परिवर्तनपछि सत्तामा आएको नेपाली कांग्रेसलाई मण्डलेकरण हुन धेरै समय लागेन । २०५१ मा पहिलो पटक सत्ता चलाउदा आफुलाई वचाएर राखेको एमालेलाई २०५४ सालतिर कांग्रेसीकरण हुँदै मण्डलेकरणमा पुग्न पनि कुनै समस्या भएन । १० वर्षे सशस्त्र बिद्रोहबाट आएको माओवादी २०६५ मा सत्तामा पुग्दा एमालेकरण, कांग्रेसकरण हुँदै मण्डलेकरण हुनमा ९ महिना पनि लागेन । यो सत्ता भन्ने चिज नै यस्तै रहेछ ।

यद्यपी कम्युनिस्ट आन्दोलनले यो ७० वर्षे अवधीमा कुनै उपलब्धी गरेन भन्ने कुरा गलत हुन्छ । १०४ वर्षे जहाँनिया राणाशासनको अन्त्य, जनमत संग्रह, २०४६ सालको आन्दोलन, २०६२/०६३ को जनक्रान्ति, संबिधानसभामार्फत नयाँ संबिधान निर्माण, गणतन्त्रको स्थापना कम्युनिस्टहरूले सञ्चालन गरेको सामन्तवाद बिरोधी राजनीतिक आन्दोलनकोे सफलता हो । पाँच जनाले सुरु गरेको कम्युनिस्ट आन्दोलनमा आज झण्डै ७० प्रतिशत मतदाताको संलग्नता रहेको छ । कम्युनिस्ट आन्दोलनको विकासका क्रममा नेपाली मौलिकतामा आधारित नेपाली क्रान्तिको जनवादले शान्तिपूर्ण जनआन्दोलनलाई दिशाबोध गरेको छ

। जनताको बहुदलीय जनवाद (जबज) को प्रयोगबाट नै नेपालमा शान्तिपूर्ण तवरले युगान्तकारी परिवर्तन भएको यस सन्दर्भमा जनताको बहुदलीय जनवादको सिद्धान्त नेपाली क्रान्ति सम्पन्न गर्ने मौलिक सिद्धान्तको रूपमा विकास भएको छ । कम्युनिस्ट आन्दोलनको यस अवधिमा प्राप्त उल्लेखित उपलब्धिले पार्टी स्थापनाका क्रममा राखिएका राजनीतिक उद्देश्य हासिल गर्न एकहदसम्म सफलता प्राप्त भएको छ ।

तर, आफू सत्तामा भएका बेला, आफूले देशको र जनताको नेतृत्व गरेका बेला जनताले महसुस गर्ने गरी, जनताका आधारभूत आवश्यकताहरु पुरा हुने गरी काम हुनु जरुरी छ । नाम ‘कम्युनिस्ट ‘ काम अपराधिक भयो भने यसले कुनै अर्थ राख्दैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment