Comments Add Comment
No ads found for this position

उपेन्द्र सुब्बाको पहिरन चर्चाः दसैंको एकथान दौरा सुरुवाल

पहिरन लगाउने आ-आफ्नै रंग र ढंग हुन्छन् । पहिरनको रंग र रोजाइमा पनि मान्छे अनुसार विविधता हुन्छ । कसैलाई चहकिलो पहिरनमा ठाँटिन मनपर्छ, कसैलाई गाढा । कसैलाई भड्किलो पहिरन मनपर्छ, कसैलाई भलाद्मी ।

मान्छेले आफ्नो रुची, स्वभाव, प्रवृत्ति, पेशा-कर्म अनुसार पनि पहिरन धारण गरिरहेका हुन्छन् । अतः यहाँ कवि, लेखक, कलाकार उपेन्द्र सुब्बाको पहिरन शैली र परिहनबारे विगतका किस्सा प्रस्तुत गरिएको छ ।

उपेन्द्र सुब्बाको दौरा सुरुवाल

उपेन्द्र सुब्बालाई शहरले दुई भिन्न पाटोबाट चिनेको छ, एक कलाकारको रुपमा, अर्को कविको । फिल्म ‘कवड्डी’ यी झांक्री पहिरनका सौखिन होइनन् । उनलाई एकसरो आङ ढाक्न पाए पुग्छ । स्टाइलिस बन्नुपरेको छैन ।

यद्यपी शहरमा सबैले चिन्छन् । जथाभावी लगाएर हिँड्न भएन । यसो आफुले जानेजति मिलाएरै लगाउने प्रयास गर्छन् । धेरैजसो जिन्स र टिसर्टमा ठाटिन्छन् ।

बाल्यकालमा भने उनी दौरासुरुवाल नै लगाउथे । चलनै त्यस्तै थियो । दशैंको छेकमा घरमा दर्जी बोलाएर सिलाएको । एक पटक सिलाएपछि बर्षदिनलाई पुग्ने । अर्थात त्यही लुगा लगाइरहनुपर्ने, विद्यालय जाँदा होस् वा हाटबजार घुम्न जाँदा ।

सानै छँदा उनी आफ्नो गाउँ पाँचथरबाट झापा झरे, दौरा सुरुवाल लगाएर । लिम्बु गाउँमा हुर्के बढेकका उनी झापा के झरेका थिए, आफु जस्तै साना फुच्चेहरुले घेरा हालिहाले । दौरा सुरुवाल लगाएका निख्खर गाउँले केटो देखेपछि उनीहरुलाई अनौठो लागेछ । कसैले दौराको फेरो समाते, कसैले तुना । उपेन्द्रलाई न हाँस्नु, न रुनु भयो ।

साँझ उनी बेस्सरी रोए । बुवालाई भने, ‘म पनि अब पाइन्ट सर्ट लगाउने ।’

झापामा उनले आफुजस्तै दौरा सुरुवाल लगाउने मान्छे त्यती देखेनन्, खासगरी आफ्नो दौतरी । बुढापाका बाहेक अरु कसैले दौरा सुरुवाल नै नलगाउने ।

उनले आफु पनि दौरा सुरुवाल नलगाउने निधो गरे र पाइन्ट सर्ट सिलाइयो । अब उनी दौरा सुरुवाल उतारेर पाइन्ट सर्टमा ठाँटिए ।

टिमिक्क तुनाले बाँधेर दौरा सुरुवाल लगाउने मान्छेलाई पाइन्ट सर्ट खुकुलो लाग्यो । फुस्किहाल्छ कि जस्तो । न इजार छ, न तुना । कति असजिलो ?

उनलाई लाज पनि लाग्यो, असहज पनि । पाइन्ट सर्टमा ठाँटिएर हिँड्नै गाह्रो भयो । जसै गाउँ पुगे, उनको फूर्ति बेग्लै । पाइन्ट सर्टमा ठाँटिएका उनको फुर्ति कुनै शहरियाको भन्दा कम थिएन ।

दसैंको लुगा

अहिले जस्तो छानीछानी लुगा लगाउने चलन थिएन । रेडिमेड लुगा पनि नपाइने । बजारबाट थानको कपडा ल्याउनुपर्ने । घरमा नै दर्जी बोलाएर लुगा सिलाइन्थ्यो । र, यस्तो अवसर भने दसैंको बेला मात्र जुर्ने ।

त्यसबेलाका क्षण सम्झदै सुब्बाले अनलाइनखबरसँग भनेका थिए, ‘मेरो बाउको लुगा किनाई चाहिं खराब क्या । एउटै खाले कपडा हुन्थ्यो, दौरा त्यसैको, सुरुवाल त्यसैको, इस्टकोट त्यसैको, भरसक टोपी पनि त्यसैको ।’

आखिर जे भएपनि नयाँ लुगा लगाउन पाइने आशामा उनीहरु फुरुंग हुन्थे । लुगा सिलाइरहेका दर्जीका वरीपरी झ्याम्मिएर बस्थे ।

उपेन्द्र सम्झन्छन्, ‘त्यसबेला लुगाको हरर बास्ना आउँथ्यो, कति मिठो । अहिलेपनि बजारमा यसो सुँघिहेर्छु, बास्ना आउँदैन त । अहिलेको लुगाहरु पहिलेको जस्तो बास्ना नआउने हगी ।’

नयाँ लुगा लगाएर फूलपाती जानुपर्ने । आमाले तेल लगाइदिने । मस्तसँग । चिल्लो चाप्लो भएर फूलपाती मेला भर्न गएको छोरो र्फकदा धुस्रोमुस्रो हुने । धूलो टासिएर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment