Comments Add Comment
No ads found for this position

बहसः चलचित्रको सौन्दर्य के हो ?

चार निर्देशकलाई ७ साझा प्रश्न

‘चलचित्र मनोरञ्जनात्मक र सांस्कृतिक समृद्धिका लागि बन्नुपर्छ’

चलचित्रको राष्ट्रिय नीतिमा यसै भनिएको छ । चलचित्र एक मनोरञ्जनात्मक एवं सांस्कृतिक उत्पादन हो भन्ने यसको आशय हो । तर, अहिले चलचित्रको वहस फरक दिशामा मुखरित भइरहेको पाइन्छ ।

एकाथरी भन्छन्, ‘चलचित्र फगत मनोरञ्जन हो ।’ उनीहरुको बुझाईमा जसरी हुन्छ मनोरञ्जन गराउनु नै चलचित्रको ध्येय हो । अर्काथरी भन्छन्, ‘चलचित्र एक कला हो । सन्देश सम्प्रेषणको माध्यम हो ।’

आपसमा बाझिएका यी विचारहरुसँगै अहिले नेपाली चलचित्रको गति र गन्तव्य पनि अस्पष्ट हुँदै गएको छ । यसै मेसोमा हामीले अहिलेका चल्तापूर्जा निर्देशकसँग केही सैद्धान्तिक प्रश्न राखेका छौं, जसले चलचित्रको विविध पक्षलाई समेट्छ ।

१. सिनेमा कसका लागि बनाउने ?

उज्जवल घिमिरे – दर्शकका लागि ।

झरना थापा – दर्शककै लागि त हो नि ।

दीपाश्री निरौला – चलचित्र भनेको सतप्रतिशत दर्शकको लागि हो ।

दीपेन्द्र लामा – चलचित्र भनेको मेकरले आत्मसन्तुष्टिको लागि बनाउने हो । आफूलाई चित्त बुझेपछि आˆनो दर्शक चिन्नुपर्छ र व्यापारिक आँकलन गर्नुपर्छ । यदि आˆनो सन्तुष्टिको लागि कम दर्शक आउनेछन् भने पनि त्यसमा खुसी हुन सक्नुपर्छ ।

२. चलचित्र निर्मातालाई व्यापारी वा उत्पादक मान्ने कि सर्जक ?

उज्जवल घिमिरे – मेकर पूर्णरुपमा सर्जक हैन । उ व्यापारी पनि हो । त्यहाँ कला पनि जोडिएको हुन्छ । यसले व्यापार पनि गर्छ र सन्देश पनि दिन्छ ।

झरना थापा – सबैभन्दा ठुलो कुरा भनेको निर्माता व्यापार गर्न नै आउने हो । यहाँ कोही निर्माता छैन जसले आफू डुबेर समाजमा सन्देश दिन्छु भनेर आएको होस् । त्यसैले म त भन्छु यो व्यापार पनि हो । निर्देशकले पनि व्यापारिक पाटोलाई हेर्न जरुरी छ । उसले आफ्नो दर्शकलाई सृजनात्मकरुपमा मनोरञ्जन पनि दिइरहेको हुन्छ । अर्को कुरा, मैले चलचित्र बनाउन छोडेँ भने मेरो पछाडि काम गर्ने सयौं टेक्निसियन बेरोजगार हुन्छन् । पत्रकार पनि वेरोजगार हुन सक्छन् ।

दीपाश्री निरौला – हैन, व्यापारिक हिसाबमा पनि हामीले हेर्न जरुरी छ । मनोरन्जन र व्यापार दुबै यसमा समेटिएको हुन्छ । त्यसैले मेकरलाई सर्जक पनि भन्न सकिन्छ ।

३. सिनेमा मनोरञ्जन मात्र हो कि सांस्कृतिक उत्पादन  पनि ?

उज्ववल घिमिरे – फिल्म कलात्मक मनोरञ्जनको माध्यम हो । यसमा कुनै न कुनै हिसाबमा सांस्कृतिक पक्षलाई समेटिएको हुन्छ । हामीले हाम्रो कला-संस्कृतिलाई मात्र स्थान दिनुपर्छ भन्ने छैन् । हाम्रो संस्कृतिलाई प्रबर्द्धन गर्दा धेरै राम्रो हो, तर सबै एउटै हुन्छ भन्ने पनि हुन्न । यहाँ हुन सक्ने र स्वीकार्य संस्कृतिलाई हामीले स्थान दिन सक्छौँ ।

झरना थापा – चलचित्र मनोरञ्जन मात्र पनि हैन । चलचित्रमा सामाजिक तथा सांस्कृतिक विषयलाई पनि उठाइएको हुन्छ ।

दीपाश्री निरौला – सुरुमा त चलचित्र भनेको पूर्ण मनोरन्जन नै हो । तर, त्योसँगै सांकृतिक कुराहरुलाई पनि समेट्न जरुरी हुन्छ ।

दीपेन्द्र लामा – चलचित्र मनोरञ्जनकै माध्यम हो । तर, हाँस्ने मात्र मनोरञ्जन हैन । रुने, डराउने, तर्सिने पनि मनोरञ्जन हो, जसले दर्शकलाई सिरिङ्ग बनाउँछ ।

४. चलचित्रको सौन्दर्य के हो ?

उज्जवल घिमिरे – चलचित्रको सौन्दर्य भनेको सबै विधा हुन् । कथा, पटकथा, अभिनय, म्युजिक, फोटोग्राफी हरेक कुराले चलचित्रलाई सुन्दर बनाउने हो । अझ भनौँ प्रस्तुती नै चलचित्रको मुख्य सौन्दर्य हो ।

झरना थापा – चलचित्रको सौन्दर्य कथा वा विषयबस्तु नै हो । चलचित्र हेर्दा विषयवस्तुले नै दर्शकलाई पूरा अवधि होल्ड गर्नुुपर्छ । त्योसँगै संवाद, संगीत, कमेडी सबै कुराहरुलाई पनि त्यसमा समेट्न जरुरी छ ।

दीपाश्री निरौला – चलचित्रको सौन्दर्य भनेको आफू आफूले फिल गर्ने कुरा हो । तर, म भन्छु चलचित्रको सौन्दर्य भनेको कथा, पटकथा र संवाद नै हो ।

दीपेन्द्र लामा – सौन्दर्य भन्ने बित्तिकै हिरोइन वा लोकेशन भन्ने बुझिएला तर त्यो मात्र हैन । चलचित्रमा त कुरुप, गरिव, भत्किएको ठाउँलाई पनि सुन्दर देखाउन सकिन्छ । सबैभन्दा ठुलो सौन्दर्य भनेको कथा, पटकथा र प्रस्तुती नै हो ।

५. सिनेमाको शक्ति के हो ?

उज्जवल घिमिरे – चलचित्रले समाज बदल्ने सामथ्र्य राख्छ । यसले समाजलाई पूरा परिवर्तन गरिदिन सक्छ । उदाहरण हेरौँ न, हामी देशका विभिन्न स्थानमा बोलिने भाषा बुझ्दैनौं । तर, हिन्दी भाषा नबुझ्ने कमै छौँ होला । त्यो पनि सिनेमाको शक्तिले नै हो ।

झरना थापा – चलचित्रको शक्ति भनेको नै त्यसको कथा र विषयबस्तु हो जस्तो लाग्छ ।

दीपाश्री निरौला – चलचित्रको शक्ति धेरै नै हुन्छ । मैले सुनेको थिएँ, शिक्षा नीतिमा पनि ‘छक्का पन्जा ३’ को प्रभाव परेको छ । त्यसैबाट पनि यसको शक्ती थाहा पाइन्छ नि ।

दीपेन्द्र लामा – चलचित्रको शक्ति धेरै नै छ । यसले कुनै पनि मान्छेको जीवन परिवर्तन गरिदिन सक्छ । यसको शक्तिको कुनै पनि मापक यन्त्र नभए पनि समाजमा त्यसको धेरै प्रभाव हामीले देखेका छौँ ।

६. चलचित्रले भन्ने कथा कस्तो हुनुपर्छ ? कहाँ खोज्ने त्यस्तो कथा ?

उज्जवल घिमिरे – चलचित्रले भन्ने कथा प्रभावकारी, दर्शकले पत्याउने र कनेक्टिभ हुनुपर्छ । हामीले यहाँको पुराना कुरालाई मात्र उठाएर हुन्न । नयाँ भित्रिदै गरेका कुराहरुलाई पनि त हामीले कथा बनाउन सक्छौँ ।

झरना थापा – हामीले भन्ने कथा हामीले भोगिरहेको कुरा भए राम्रो । जुन खोज्न पनि गाह्रो छैन ।

दीपाश्री निरौला – हामीले आफ्नो मन र दर्शकको मनको कथा भन्न जरुरी छ । जहाँ दर्शकले चलचित्रको पात्रमा आफूलाई देखोस् । त्यस्तो कथा त हामीसँग जति पनि छन् ।

दीपेन्द्र लामा – हामीले स्थानीय कथा भन्न जरुरी छ । चाहे त्यो शहरको होस् वा गाउँको । त्यहाँ अहिलेको समयको पनि भन्न सकिन्छ, पहिलेको समयको पनि भन्न सकिन्छ । तर, त्यहाँ हाम्रो कला-संस्कृतिलाई जोडियो भने त्यो गज्जब हुन्थ्यो ।

७. एउटा फिल्म मेकरलाई समाजशास्त्रको ज्ञान हुनुपर्छ वा नभए पनि फरक पर्दैन ?

उज्जवल घिमिरे – फिल्म मेकर मात्र हैन, जोकोहीमा पनि समाजशास्त्रको ज्ञान हुन पर्छ । तर, यहाँ सबैमा त्यो ज्ञान छ भन्ने अवस्था छैन ।

झरना थापा – समाजशास्त्रको ज्ञान त हुनै पर्छ । नत्र राम्रो कसरी चलचित्र बन्न सक्छ र !

दीपाश्री निरौला – मेकरले समाजलाई बुझेको हुनुपर्छ । चलचित्रको पात्र बनाउँदै गर्दा त्यसको परिवेशलाई पनि विषेश ध्यान दिन जरुरी छ । उसले लगाएको पोशाक र बोलीको लवजलाई पनि हामीले विषेश ध्यान दिनुपर्छ ।

दीपेन्द्र लामा – मेकरले समाजशास्त्रको विषयमा धेरै ज्ञान राख्नुपर्छ । उसले आˆनो समाजलाई बुझेको छैन, भने उसको चलचित्र राम्रो हुँदैन । चलचित्रको पात्रको विषयमा सबै पक्षहरु सामाजिक, राजनीतिक कुरालाई पनि ध्यान दिनुपर्छ । टेक्निकल भन्दा यो नै बढी महत्वपूर्ण हो । यदी पत्रलाई न्याय दिन सकेन भने टेक्निकल रुपमा राम्रो भए पनि उ फेल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment