Comments Add Comment
No ads found for this position

‘हुप्रचौरमा थप भौतिक संरचना नलादौं’

१८ वैशाख, काठमाडौं ।  हेटौंडा शहरको इतिहासका राम्रो जानकार मानिन्छन् केदारप्रसाद न्यौपाने । उनी ऐतिहासिक सम्पदा संरक्षणका अभियान्ता पनि हुन् ।

उनलाई अहिले हेटौंडाको हुप्रचौरमा व्यवसायिक सटरसहितको प्यारफिट राख्ने योजना पटक्कै चित्त बुझेको छैन । अनलाइनखबरसँगको कुराकानीमा उनले हुप्रचौरलाई थप भौतिक संरचना बोकाउन नहुने बताए ।

साँघुरिदै गएका खुल्ला मैदानमा प्याराफिट र सटर बनाउँदा थप संकुचित हुने उनको भनाइ छ । न्यौपानेको भनाइ उनकै शब्दमाः

हुप्रचौर हेटौंडाको प्रतिष्ठा मात्रै हैन, पहिचानको आधारभूमि पनि हो । हेटौंडमा घर छ भनेपछि जसले पनि सोध्छ, हुप्रचौरबाट कतापट्टि?

यो सानो चौर हो, बडेमाको रंगशाला होइन । तर, हेटौंडाले सानो दुःखले जोगाएको सार्वजनिक सम्पत्ति होइन । जनताले लडेर जोगाएको साझा सम्पत्तिमाथि अतिक्रमण सह्य हुँदैन ।

हुप्रचौरको महत्व थाहा पाउन यसको विगतमा फर्किनुपर्छ । हेटौंडामा आवादी नहुँदै राजा त्रिभुवनले यो चौर रहेको क्षेत्रमा विभिन्न व्यक्तिलाई हुकुम प्रमांगीमार्फत जग्गा दिएका थिए । त्यतिबेला विभिन्न दरवारीया कर्मचारीले त्रिभुवनबाट जग्गा पाए । जग्गा पाउनेमध्ये एक थिए त्रिभुवनका साथि बटुककृष्ण श्रेष्ठ । हेटौंडाको माछापालनभन्दा माथि र कान्तिराजपथभन्दा पूर्वतर्फको क्षत्रेमा यस्तो हुकुप्रमांगीबाट जग्गा वितरण भएको थियो ।

बटुककृष्ण श्रेष्ठलाई राणाखलकले मन पराउँदैनथ्यो । पहिले नेपालबाट लखेटिएका थिए । कोलकत्ता र पटना पुगेर जडिबुटीको ब्यापार गर्थे । तर, उनी ऋणमा डुबे । उनले दिल्लीमा पुगेर राजा त्रिभुवनलाई भेटे । राजाले श्रेष्ठलाई नेपाल फर्किएपछि केही सहयोग गर्ने वचन दिएका थिए ।

प्रजातन्त्रको उदयपछि श्रेष्ठ नेपाल फर्किएर फेरि राजालाई भेटे । राजाबाट २०१० मा हुकुम प्रमांगीमार्फत जग्गा वितरण हुँदा उनले पनि पाए ।

२०११ सालमा भिषण बाढी आयो । खाली जमिनमा सुकुम्बासी र हुकुमबासी दुबैको आँखा पर्‍यो । त्यसपछि हेटौंडामा आवादी बाक्लिन सुरु भयो ।

यो क्षेत्र खुला अवस्थामा रहँदै आवादी बढ्न थालेपछि यहाँ किसान र जमिनदारबीच विवाद भइरह्यो । यहाँ हालिएका झुप्राहरुमा पटक-पटक हात्ति लगाएर किसान, मजदुर गरिब परिवारलाई लखेटिन्थ्यो । हात्तिले कतिको अंगभंग गरिदिन्थे ।

दरबारको आडमा हुने चरम दमनका कारण पनि यहाँ पञ्चायती व्यवस्थाविरोधि माहोल बन्यो । कम्युनिष्टहरुको दबादबा बलियो भयो ।

२०२३ सालमा हेटौंडामा हात्ती लिएर आएका सरकारी फौजसँग स्थानीयको ठूलो भिडन्त भयो । त्रिभुवन राजमार्ग ४८ घण्टा बन्द भयो । काठमाडौंमा सामान जानै रोकिदिएपछि हेटौंडाको रणनीतिक महत्व झनै बढ्यो ।


त्यतिबेलाका गाउँ पञ्चायत अध्यक्ष बासुदेव रिजालले यो स्थानमा व्यवस्थित आवादीका लागि काम गर्ने सोच बनाए । त्यसका लागि योजना बनाउने जिम्मेवारी मसहितको टिमलाई दिइयो । हामीले काठमाडौंमै पुगेर विभिन्न व्यक्तिको सहयोग लिई योजना बनायौं ।

१२४ बिगाहा क्षेत्रफलमा व्यवस्थित शहरीकरणका लागि जग्गा अधिग्रहण भयो । प्रचलित मूल्यभन्दा बढी तिरेर पनि जग्गा लिइयो । त्यही व्यवस्थित शहर बनाउने योजना अन्तरगत हुप्रचौरका लागि १० विगाह जमिन छुट्याइयो । त्यतिबेला सबै काटेर बिक्री गरौं भन्नेहरु धेरै थिए । त्यत्रो चौर चाहिँदैन भन्ने गर्थे उनीहरु ।

तर, हामीले यति खुला जमिन शहरका बीचमा चाहिन्छ भनेर अडान लियौं । उनीहरुलाई बुझाउन हम्मे-हम्मे परेको थियो । धेरै संघर्ष गरेर त्यसलाई बचाएका थियौं ।

अहिले हुप्रचौरमा प्याराफिट र त्योसँगै सटर निर्माणको कुरा सुनिएको छ । चौरको सुरक्षा र संरक्षण हुनैपर्छ । त्यसमा विवाद जरुरी छैन । तर, बल्ल-बल्ल जोगाएको हुप्रचौरलाई अब थप संरचना र प्याराफिट बोकाउन जरुरी देख्दिनँ ।

हाल हुप्रचौरको एक भागमा खेलकुद विकाससहित कार्यालयहरु राखिएको छ । हामीले छुट्याएको हुप्रचौरको जमिनमा पनि सभागृह बनाउने भनेर वर्षौंदेखि अलपत्र छोडिएको छ ।

हप्रचौर विहान बेलुकी टहलिने हेटौंडेलीका लागि सुरक्षित र सजिलो स्थल हो । यहाँ अग्ला प्याराफिट बनाउन जरुरी छ जस्तो लाग्दैन । विपत्तिका बेला यस्ता चौरको महत्व कति हुन्छ भन्ने महाभूकम्पमा नै देखियो ।

शहरमा आवादी बढिरहेको छ । बजारको नजिकै भएको एउटा खुला स्थानलाई पनि कमाई खाने भाँडो बनाउनु हुँदैन । खेलकुदको विकासका लागि त हेटौंडामा अरु खेल मैदान पनि छन् । शहरको बीचमा योजनाबद्ध रुपमा राखिएको खुला चौरलाई प्याराफिट हालेर रंगशाला बनाउनुपर्दैन । गौरीटारमै सरकारले रंगशाला बनाइरहेकै छ । त्यसमा लगानी गर्दा हुन्छ ।

हुप्रचौरलाई कुनै पनि बाहनामा यो भन्दा बढी खुम्च्याउनु हुँदैन । हेटौंडाको गहनाको रुपमा रहेको यो चौरमा पनि सटकर हालेपछि यसको हविगत के हुन्छ ?

घेरेर सटर हालिदिएपछि त्यहाँ मान्छेको आवत-जावत बढ्छन्, भीडभाड हुन्छ । फोहोर बढ्छ । थुक्नेदेखि पिसाव फेर्ने काम पनि चौरपट्टी नै फर्किएर हुन्छ ।

यो त हेटौंडा शहरको मुटु हो, यसलाई मुटुकै रुपमा जोगाउनुपर्छ । हुप्रचौरबाट कमाइ गर्ने र त्यसलाई कतै लगानी गर्ने योजना बनाउनु हुँदैन । यो चौर व्यवसायिक हैन, सार्वजनिक महत्वको हुनुपर्छ ।

हिजो यो चौरमा लागि लड्दै गर्दा अहिलेका मुख्यमन्त्री पनि टुलुटुलु हेरिबसेका थिए । मेयरको पनि भूमिका थिएन । उनीहरुलाई पनि यसको महत्व र गरिमा थाहा थिएन ।

अहिले बजेट नै छुट्याएर हुप्रचौर साँघुरो पार्ने काम गर्नु खोज्नु एकदमै गलत छ । खुला स्थानमा क्रंकिट थप्ने कामले गतिलो नतिजा हुँदैन । यो चौर योजनावद्ध हेटौंडा विकासको नमूना स्थल पनि हो ।

खेल क्षेत्रको विकास गर्न अरु मैदान विकल्पमा छन्, तर हुप्रचौरको विकल्प हेटौंडाभित्र उपलब्ध छैन, अब हुन पनि सक्दैन । यसलाई जसरी पनि जोगाउनुपर्छ ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment