Comments Add Comment
No ads found for this position

के नेपाली कांग्रेस कोमिन्ताङ हो ?

कांग्रेसको हालत : भन्न पनि नहुने, नभनी पनि नहुने

नेवारीमा एउटा भनाइ छ ‘धायन मजुल, खंलायन मजुल’ अर्थात भन्न पनि नहुने, नभनी पनि नहुने । नेपाली कांग्रेसको आजको अवस्था ठ्याक्कै त्यस्तै छ । पछिल्लो निर्वाचनको हारबाट विचलित कांग्रेस नेतृत्वले कार्यकर्ताको गिरेको मनोवल उठाउने कार्यक्रम सार्वजनिक गर्नै सकेन ।

निर्वाचनमा हार र जित स्वाभाविक प्रकृया हुन् । तर, बारम्बार सिहंदरबारको मात्र सपना देखेर त्यसैको मात्र खेतीमा कांग्रेस नेतृत्व लाग्दा जनताले कांग्रेसका लागि सिहंदरबार धेरै टाढा पुर्‍याइदिए । निर्वाचनको महासंग्राममा होमिँदै कांग्रेसले संगठित रुपमा जनताको एजेण्डा उठाउन त सकेन नै, न त उसले विधिसम्मत टिकट वितरण नै गर्न सक्यो ।

हिजो जनताको पक्षमा गरेका कामको फेहरिस्थसमेत प्रस्तुत गर्न सकेन । विभाजित मनस्थितिमा जनताका वीचमा गएको कांग्रेसको हकमा परिणाम आजकै जस्तो अवश्यंभावी थियो । एउटा राजनीतिक दल निर्वाचनमा जाँदा कम्तिमा २० वर्षको मुलुक सञ्चालनको मार्गचित्र प्रस्तुत गर्नुको सट्टा कथित ज्योतिषीको भविष्यवाणीको सहारा लिन पुग्दा निर्वाचनमा आउने परिणाम यही नै थियो ।

पार्टीको महासमिति तथा केन्द्रीय समितिले समीक्षासम्म गर्न नचाहेको निर्वाचन समीक्षाको कुरो छाडौं, विरासतबाट प्राप्त इमानमै दाग लाग्ने गरी केन्द्रीय समितिले महासमितीको म्यान्डेट उल्ट्याएबाट कांग्रेसको ओरालो यात्रामा सितिमिति ब्रेक लागि हाल्ने स्थिति अझै देखिँदैन । यहाँनेर माथिको नेवारी भनाइको सान्दर्भिकता देखिन्छ ।

बैशाख ६ गते नेपाल विद्यार्थी संघको ऐतिहासिक स्वर्ण महोत्सव थियो । नेपाली कांग्रेसको इतिहासमै केन्द्रिय समितीविहीन नेविसंघको स्थापना दिवस विभिन्न स्थानमा विभिन्न मोर्चाले एक आपसमा आरोप प्रत्यारोप गर्दै मनाए । लाजै नमानी निर्वाचित समिति भंग गर्न पुगेको पार्टी नेतृत्वलेसमेत एउटा कार्यक्रममा पुगेर तदर्थ समिति छिटै बन्ने घोषणा गरे !

सुदर्शन आचार्य

पार्टी पुरै तदर्थवादमा चल्न थालेको यो एउटा सानो दृष्टान्त हो । प्रेस युनियन, किसान संघ, दलित संघजस्ता दर्जनौं संगठनहरु लथालिंग बनाइएकै समयमा उनीहरुकै कार्यक्रममा पुगेर सरकारका विरुद्ध आन्दोलनमा होमिन निर्देश गरिनुलाई मजाक बाहेक अरु ठान्न सकिन्न ।

प्रतिवन्धित समयमा पनि चलायमान बन्न सक्षम कांग्रेसको संगठन अहिले निस्प्रभावी छ । प्रश्न उठेको छ– किन आज कांग्रेस निरीह छ ? कांग्रेसले मुलुक र पार्टीका लागि तय गर्नुपर्ने एजेण्डा सकिएकै हुन् त ? यी र यस्ता प्रश्नको गम्भीर समीक्षा जरुरी छ ।

कांग्रेसको नेतृत्वदायी पुस्ता त थाक्यो होला नै, तर, कांग्रेस पार्टीकै माध्यमबाट मुलुकमा परिवर्तन ल्याउने अठोटका साथ राजनीतिमा होमिएका मझौला र युवा पुस्ताका कृष्णप्रसाद सिटौलादेखि कल्याण गुरुङसम्म, गगन थापादेखि गुरु घिमिरे हुँदै प्रदीप पौडेलसम्म, विश्वप्रकाश शर्मादेखि बद्री पाण्डेसम्म, उमाकान्त चौधरीदेखि मञ्जित ताम्राकारसम्म अनि डिला संग्रौलादेखि धना खतिवडा हुँदै सुजाता परियारसम्म कांग्रेसमै आफ्नो भाग्य र भविश्य देख्ने नेतामा छाएको सन्नाटाचाँहि बुझी नसक्नुको देखिन्छ । आज मुलुकभित्र देखिएका दर्जनांै बेथितिका वीचमा पनि आश लाग्दा नेताहरु वैचारिक हस्तक्षेपमा उत्रन नसक्नुलाई सामान्य मान्न सकिन्न ।

युवा/विद्यार्थी र तरुणहरु पार्टी नेतृत्वको गोटी बन्ने र पार्टी नेतृत्वचाँहि सत्ताकै इसारामा चल्ने स्थितिबाट नअलग्याइने हो भने नेपाली कांग्रेसलाई इतिहासको अध्ययनको विषय बनाउन ‘प्रजापरिषद’सँगै इतिहासकै दराजमा थान्को लगाइदिए हुन्छ ।

कांग्रेस सभापतिमा शेबहादुर देउवाको चयनसँगै आम मानिसमा पार्टीलाई सत्ताकै भाषमा पुर्‍याइन्छ भन्ने जुन प्रकारको शंका थियो, त्यो शंकाले लगभग मूर्त रुप लिइसकेको छ । पार्टी प्रतीपक्षमा खुम्चँदा पनि सत्ताकै वरिपरि घुम्ने र घुमाइने प्रवृत्तिले जति नै जागरण नामको ‘कलेवर’ लगाइए पनि पार्टीमा पुर्नजागरण सम्भव देखिन्न ।

निर्वाचनका माध्यमबाट बहुमतका आधारमा सत्तारुढ बन्न/बनाउन नसक्ने तर, बालुवाटारको डिनर र शीतलनिवासको दिवाभोजमा दिन रात रमाउने प्रवृत्तिले कांग्रेस बन्ने भनेकै कोमिन्ताङ हो भन्ने सन्देश दिएको छ ।

सिर्जनशील युवाको विदेश पलाएन रोकिएको छैन । न्यायालयसम्म पार्टीको निर्वाचनमा समेत कार्यकर्ताले अस्वीकार गरेका ब्यक्तिलाई पुर्‍याइँदैछ । प्रधानमन्त्रीमा जनताको नेता बन्ने सोचभन्दा पनि राज्यका महत्वपूर्ण अंग/निकाय आफैं मातहत ल्याएर ‘राजा’ बन्ने सपना पलाएको छ । यस्तो बेलामा संसददेखि सडकसम्म राज्यद्वारा सिर्जित भयावहका विरुद्ध वैचारिकरुपमा आँधीबेहरी ल्याउन सक्षम हुनुपर्ने प्रतीपक्षी कांग्रेस उल्टै आफैंद्वारा सिर्जित गोलचक्करको भँुवरीमा फस्न पुगेको छ । दैनिकजसो थुनिन थालेका पत्रकारका विषयदेखि पार्टीमा लेवी बुझाउने ‘क्याडर’ को धमाधम संबैधानिक निकायमा हुँदै गरेका नियुक्तिसम्म देखिएको कांग्रेसको मौनताका पछाडि सत्तासँगको सौदावाजीको अनुमान लगाउनेहरुलाई बल पुगेको छ । कांग्रेसले यसको जवाफ भोलिको पुस्तालाई दिनै पर्छ । इतिहासले माग्नेछ कांग्रेस नेतृत्वसँग यी र यस्ता प्रश्नहरुको जवाफ ।

महासमिति बैठकबाट पनि ब्युँझन सकेन कांग्रेस, तीन कोइरालाले एकै भयौं भन्दा पनि हाँस्ने बाहेक तरंग देखिएन कांग्रेसमा । पुनः पार्टी सभापति मै हुन्छु भनेर देउवाले भन्दा पनि सञ्चार माध्यमका लागि ‘स्कुप’ बन्न सकेन । धर्मको सहारा लिँदा पनि रक्तसञ्चार पैदा भएन कांग्रेसमा । यी र यस्ता विषयले आजको युगको प्रतिनिधित्व गर्न सक्दैन ।

करिव ५५ जिल्लाका सभापतिहरुले सच्याउन खोज्दा पनि कांग्रेस सच्चिन तयार भएन भनेपछि अब कांग्रेस सञ्चालनको मार्गचित्र युग सुहाउँदो बनाउन पार्टीमै भविश्य देख्ने पुस्ताका लागि दबाव परेको छ ।

हो, गर्विलो इतिहास छ कांग्रेसको । तर, आगामी २५/५० वा १०० वर्षमा नेपाललाई कहाँ पुयाउने ? कस्तो बनाउने ? जनताले कांग्रेससँग यो मार्गचित्र चाहेका छन्, न कि इतिहास । राजनीतिक परिवर्तनका नाममा दर्जनौं पटक परिवर्तनको झण्डा उचाल्न र सफलतामा पुर्‍याउन सफल कांग्रेसले अब आर्थिक माध्यमबाट मुलुकको मुहार फेर्ने मार्गचित्र प्रस्तुत गर्न सक्दा मात्रै कांग्रेसको इतिहास जीवन्त रहन सक्ला । अन्यथा, मोर्चा मोर्चामा विभाजित कांग्रेसको रुपान्तरण पनि मोर्चामै सीमित हुनेछ ।

००७ सालमा समयभन्दा धेरै अगाडि र क्रान्तिकारी थियो कांग्रेस । ०४६ देखि ०६२/०६३ सम्म कांग्रेस र समय सँगसँगै रह्यो । तर, ०७६ मा आइपुग्दा समयभन्दा उदेकलाग्दो तरिकाले कांग्रेस पछाडि परेको छ । यसैबाट थाहा हुन्छ, कांग्रेसको गति । आजका मितिमा मुलुकलाई सही बाटोमा डोर्‍याउन सक्षम हुनुपर्ने कांग्रेस नै हो । कांग्रेस सक्षम हुदाँमात्र मुलुकले सही बाटो लिने छ ।

तर, आज समयअनुसार कांग्रेसले आफ्नो दृष्टिकोण निर्माण गर्न नसक्दा अरु त अरु, तत्कालीन राजा ज्ञानेन्द्रसमेतले गणतन्त्रमाथि छड्के आँखा लगाउन थालेका छन् । दोष ती नेताहरुकै हो, जो विचार र उमेर ढल्कदै जाँदा पनि शक्तिमै रहने महत्वकांक्षामा रमाउन पुगेका छन् ।

रंगभेदी आन्दोलनका नेता नेल्शन मण्डेलादेखि नेमकिपाका नेता नारायणमान बिजुक्छेसम्मले समयको गति बुझेर नेतृत्वमै बसिरहने चाहना परित्याग गरिदिए । तर, कांग्रेस नेतृत्व कार्यक्रमविहीन पार्टी बनाएर आगामी कार्यकालमा समेत नेतृत्वमै बसिरहन रुचाउँदैछ ।

नेपाली राजनीतिका सर्वाधिक अग्ला व्यक्तित्व वीपी कोइरालाले निर्माण गरेको कांग्रेसलाई आज कोटरीमा रुपान्तरण गरिएको छ । आदर्श र नैतिकता भन्ने विषय जब कुनै पनि राजनीतिक दलमा गौण मानिन्छ, तब प्रष्ट भए हुन्छ, त्यो दलको ढीलोचाँडो विघटन अवश्यंभावी छ । हिजोको माओवादीको एमालेमा पलायनसँगै हिजोको प्रजातान्त्रिक कांग्रेसको नेपाली कांग्रेसमा विलय त्यसैको दृष्टान्त हो ।

कांग्रेस पार्टीले किसुनजीको कालखण्डपछि प्राविधिक रुपमा नेतृत्वत पायो । तर, नेता पाएन । पार्टी स्वयंम परिवारका सदस्यहरुको व्यवस्थापन गर्ने कम्पनीमा रुपान्तरण हुँदै गयो । पार्टीभित्र बेथितिका चाङ भएकै कारण आन्तरिक सकस बढ्दै जाँदा पार्टीमा युवा आकर्षणसमेत घट्न पुग्यो ।

वीपीले परिकल्पना गर्नुभएको प्रजातान्त्रिक समाजवादका नाममा काठमाण्डौमा आलिसान महल जोड्न थालियो । बालुवाटारै बिक्री हुदाँ समेत कांग्रेस बोल्न नसक्ने भयो । प्रस्तावित निर्वाचन आयुक्तलाई सोधिएको प्रश्नको जवाफ नेकपाका सांसदले दिँदा समेत निष्पक्षताको त्यो विषयले कांग्रेसलाई छोएन । एउटा हवाई सपनाको काल्पनिक योजनामा करोडौं खर्चेर उदघाटन नामको तामझाम राज्यद्वारा गरिँदा राज्यलाई खबरदारी गर्नुपर्ने कांग्रेस १०/८ जना चलायमान युवायुवतीलाई पार्टी प्रवेश गराउन दुई–दुई थान हेलीकप्टर चार्टड गरेर गिनीजबुकमा नाम लेखाइँदैछ । सत्ता र प्रतिपक्षको चाल ढाल हेर्दा लाग्छ उनीहरु दुबै सत्ता सञ्चालन र प्रतीपक्षका नाममा ‘पुतलीको बिहे’ को खेल खेल्दैछन् । राज्य र प्रतीपक्षको यही पुतलीको खेलकै कारण संबिधान विरोधी शक्तिले बल आर्जन गर्दै गरेका हुन् ।

संबैधानिक परिषदमा विपक्षी दलका नेताको उपस्थितिलाई लोकतन्त्रमा अनिवार्य शर्त मानिन्छ । तर , नेकपा निर्मित कम्युनिष्ट सरकार लोकतन्त्रको न्युनतम मान्यता रुपी त्यो अभ्यासको खिलापमा देखा पर्यो । उता विपक्षी दलपनी स्वस्थानी व्रतकथाको प्रसादझै आफ्नै नातागोताको खुद्रे जागिरका निम्ति सत्तासँग सौदावजी गर्न पुग्दा राज्यद्वारा सिर्जित बेथितिका विरुद्ध संसद, सडक र न्यायालय कहीँ पनि जाने जाँगर देखाएन ।

पार्टी नेतृत्व सामु पार्टीका मझौला र युवा नेताहरुले भन्न नसकेको सत्य कुरा के हो भन्दा बरु ‘तपाईकी सासूलाई राजदुतबाट फिर्ता गर्न लगाउनुस् तर, राज्यद्वारा गरिएका बेथितिको विषय तपाइकी सासूको राजदुत पदसँग साट्न सकिन्न’ भन्लान् देउवासामु भन्ने नै हो । तर, न त नेताहरुले देउवा सामु यो कुरा भन्न सके, न त पारिवारिक घेराबाट उम्केर यो विषय देउवाले बोल्न नै सके ।

सम्पति जोगाउनै धौधौ भएका कारण हुन सक्छ, सत्तासामु प्रष्टरुपमा दृष्टिकोण राख्नै नसक्ने विभाजित मनस्थितिको आजको कांग्रेसमा आमूल परिवर्तन बेगर कांग्रेसलाई एक नम्बरको जनताको पार्टी बनाउन सम्भव छैन । गुन्यु चोलीदेखि गुटका गन्थनसम्म फाइभ स्टारमै गर्न रुचाउने यथास्थितिको कांग्रेसबाट जनताका एजेण्डाको सम्बोधन सम्भवै छैन । नाम वीपीको जप्ने तर, सपना बीबी (श्रीमती) को पूरा गर्न उद्दत कांग्रेसबाट यथास्थितिमा आशा राख्नु पनि बेकार हो ।

नयाँ दृष्टिकोण, उर्जा र भावी कार्ययोजना सहितको सवल कांग्रेसले मात्रै मुलुकलाई नेतृत्व दिन सम्भव छ । कांग्रेसले सरकारका बारे चिन्ता लिन जरुरी छैन । किनकि बालुवाटारमा ‘बा’ भन्दै निहुरिएर जाने वाहेकलाई प्रवेश निषेध गरिएकाले सत्ता आफैंले सत्ताको आयु छोट्याउदैछ ।

समस्या त बूढानीलकण्ठ दरबारभित्रै छ, जहाँ दाहिने हात अञ्जुली बनाएर निधारतिर लग्दै ‘दर्शन हजुर’ भन्ने बाहेकलाई विरलै प्रवेश दिने गरिएको छ । समाजवादी भनिएको पार्टीमा यो ‘दर्शन हजुर’ भन्ने प्रवृत्तिले कि त कांग्रेसको विकल्प खोजेको छ, अन्यथा पार्टीभित्र ठुलै आँधीबेहेरी निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment