Comments Add Comment
No ads found for this position

सपनाको गन्तव्य दुनै

पहिले गाडी नपुगेको जिल्ला भनेर चिनिन्थ्यो डोल्पालाई, तर नेपाली सेनाले बाटो खोलिदिएपछि यो परिचय अब पुरानो भएको छ । यसै वर्षदेखि डोल्पा सदरमुकाम दुनै सडक सन्जालमा जोडिएको छ । यसपटक डोल्पाको दुनैसम्म जसरी पनि जाने योजना बनाएँ मैले । दुनै नजिकका गाउँमा त पहिले पनि पटकपटक पुगेर फर्किएको थिएँ ।

यसपटक भने दाङबाट मोटरसाइकल चढेर दुनैसम्म पुग्ने योजना बनाएँ। फागुन ११ गते विहानै दाङ सदरमुकाम घोराहीबाट राप्ती लोकमार्ग हुँदै एक्लै दुनैको यात्रा शुरु गरेँ ।

पश्चिमी वायुको प्रभावले अघिल्लो दिनसम्म पानी परेकाले विहानको मौसम सफा थियो । त्यसैले सल्यानको रागेचौरबाट नै हिमाल देखिन थाल्यो । यो बाटोमा सात-आठ वर्षसम्म यात्रा गर्दा सल्यानको रागेचौरबाटै हिमालको दृष्य मेरो लागि नौलो थियो ।

सल्यानबाट देखिएको हिमाल

हिमाली हावाले चिसोपन दिन शुरु गरिसकेको थियो । करिब दुई नबज्दै पश्चिम रुकुमको सोलाबाङ बजार पुगें । यहाँदेखि डोल्पा पुग्न दुई वटा बाटो प्रयोग गर्न सकिन्छ । छिनखेतको बाटो छोटो भएपनि डाँडामा उक्लिनुपर्ने अनि लगातारको वर्षा र हिमपात हुने खतरा देखेर मध्यपहाडी लोकमार्ग नै मेरो रोजाइमा पर्यो ।

वर्षा र हिमपात चुनौति नै थियो मेरो डोल्पा यात्राका लागि । तर, जसरी पनि दुनै पुग्ने मेरो चाहनाका लागि जस्तोसुकै चुनौति पनि सामना गर्ने आँट पलाएको थियो । झरी र हिमपातले निरन्तरता पाइसकेको थियो । डोल्पाको गन्तव्य सहज थिएन । भर्खरै खुलेको सडकको प्रतिकूलयात्रा त थियो नै, प्रतिकूल मौसम थप समस्या बनेको थियो तर पनि यात्रा अघि बढ्यो ।

ढुङ्गा खस्नसक्ने साँघुरो बाटो यहाँको ठूलो चुनौति हो । पहिलो दिन म जाजरकोटको तल्लुबगर पुगें, जुन नलगाढ नगरपालिकामा पर्दछ । तल्लुबगर पुग्न केही महिना पहिले रुकुम आठबिसकोट नगरपालिकाको चिसापानीबाट जाजरकोट नलगाढ नगरपालिका दल्लुको भेरी नदीमा बेलिब्रिज बनेको रहेछ । यसले डोल्पा पुग्न केही सहज भएको छ । पुल बनेपछि नेपालगन्ज जाजरकोटदेखि मालबाहक ट्रक र बस तल्लुबगरसम्म पुग्दा रहेछन्, जसले गर्दा तल्लुबगरमा चाहलपहल देखिन्थ्यो ।

डोल्पाको एक गेट । यहाँ क्याराभान फिल्ममा थिन्लेले घोडा दौडाएको दृष्य सुटिङ गरिएको थियो ।

यहाँसम्म म पहिले धेरै पटक पुगिसकेको छु । यसपटक पुल थपिएको छ, योबाहेक मेरा लागि पुरानै दृश्य थिए । तर, त्यही पुलका कारण तल्लुबगर बजारको पहिचान धेरै बदलिसकेको रहेछ । पुल नबन्दासम्म राडीदेखि झोलुङे पुलबाट मानिस ओहरदोहर गर्थे ।

जाजरकोटमा पर्ने तल्लुबगरदेखि डोल्पा पुग्न डोल्पाको सिमाना नपुगुञ्जेल रुकुम भएर जानुपर्दछ । तल्लुबगरमा झोलुङे पुल तरेर रुकुम आठबिसकोट नगरपालिकाको गोतामकोटको काखमा रहेको बजार पुगिन्छ । यहाँदेखि डोल्पा जाने सडक र गोतमकोटको ठूलो गाउँजाने सडक छुटिन्छ । गोतामकोटतर्फ जान झण्डै ३० मिनेटको ८ किलोमिटर उकालो यात्रा गर्नुपर्दछ, जहाँ म पहिले पुगिसकेको छु । यसपटक भने डोल्पाको सदरमुकाम दुनैसम्म पुग्ने ध्याउन्नमा छु । यसपटकको मेरो गन्तव्य नै दुनै हो, जहाँ म पहिलोपटक पुग्दैछु ।

गोतामकोटबाट दामाचौर, ज्यामिरे हुँदै म ढाडथला पुगें । यहाँ जाजरकोट तल्लुबगरका ६ जना स्थानीयबासी पनि तीनवटा मोटरसाइकलमा चढेर दुनै जाँदै गरेका भेटिए । सँगसँगै जाने कुरा गरेर अब चार वटा मोटरसाइकलमा सात जना अघि पछि हुँदै हिँड्यौ । बाटोमा सानो खोला भेटियो, जसलाई खोलीबगर भनिँदो रहेछ । खोलीबगरदेखि नजिकै भेरी नदी छ ।

भेरीमा र्‍याफ्टिङको मजा लिइरहेकाहरु

भेरीमा र्‍याफ्टिङको सम्भावना हेर्न होला सायद दुई जना एकल र्‍याफ्टिङ गर्दै रिम्ना जाँदै गरेका भेटिए । र्‍याफ्टिङको तस्विर र भिडियो कैद गरेर हामी अगाडि बढ्यौं । अलिपर सुन्दर बस्ती भेटियो, जुन मनकाबगर रहेछ । अहिलेसम्म उत्तरतर्फ गएको बाटो अब भने पूर्व लाग्दैछ ।

केहीबेरमा त्रिवेणी बजार आयो, यहाँ पुग्दा मध्यान्नको करिब १२ बजेको थियो । यहाँदेखि केहीपर दुई दिन पहिले ढुङ्गे पहिरो खसेर ट्याक्टर नै पुरेर ड्राइभर घाइते भएका रहेछन् । स्थानीयको सहायताले ट्याक्टर निकाले पनि बाटो बन्द रहेछ, जसका कारण ट्याक्टरहरु त्रिवेणी बजारमै रोकिएका थिए ।

हामी केहीबेर यो बजारमा रोकिएपछि नास्ता खाएर अघि बढ्यौं । त्रिवेणी पार गरेपछि बल्ल डोल्पा सुरु हुन्छ । जाजरकोट, रुकुम र डोल्पा जिल्लाको संगमभन्दा हुन्छ यो नदी किनारको बजारलाई ।

त्रिवेणी बजार

त्रिवेणी पार गरेपछि डोल्पाको खदाङ बजार भेटिन्छ, जुन डोल्पा प्रवेशद्वार हो । यहाँदेखि अगाडि करपगाड बजार छ, जुन बजार नजिकै भेरी नदीमा झोलुङ्गे पुल छ । यहाँबाट अगाडि बढेपछि श्रीबिण्डे पुगियो । यहाँसम्म म गत वर्ष नै पुगेको थिएँ । अब यहाँदेखि भने मेरोलागि नौलो बाटो थियो ।

ढुंगामा धान राखेर काठको मुंग्राले हानेर कुट्दै गरेका डोल्पालीहरु बाटोमा भेटिए । डोल्पामा मिल त छैनन् नै, ढिकी पनि नभएको तथ्य यो दृष्यबाट बुझ्न सकिन्थ्यो ।

ढुंगामा धान कुट्दै डोल्पाका युवतीहरु

यहाँका जनतामा पक्की घर बनाउने कुनै सौख देखिदैन । हुनेखानेहरुका पनि एक तलाका माटोले छापेका घर छन् । यातायातका साधन सन्चालनमा आएपनि दैनिक उपभोग्य सामाग्री घोडा खच्चरबाट बोकाउने बाध्यता हटेको छैन ।

श्रीबिन्डेदेखि अगाडि सिउडेनी भन्ने ठाउँ छ । त्यहाँ अझै पनि भेरी नदीमा तुइनबाट समान वारिपारी गर्दै थिए हरिचन्द्र बुढा । झल्याँस्स सम्झें प्रधानमन्त्रीको सम्वोधन, अघिल्लोपटक नै प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले देशभरिका तुइन हटाउने प्रतिबद्धता जनाएका थिए । तर, यहाँ अझै पनि तुइन बाँकी नै रहेछ । सिउडेनी पारिपट्टिको फोई गाउँ आवतजावत गर्ने र समान ओसारपसार गर्ने माध्यम तुइन नै रहेछ ।

तुइनबाट नदी तर्दै एक पुरुष

डोल्पा शुरु भएदेखि नै त्रिपुरासुन्दरी नगरपालिका शुरु हुन्छ । यो स्थान यही नगरपालिकाको वडा नम्बर ४ रहेछ । डोल्पा नपुग्दासम्म ठूलीभेरी नदीको किनारै किनार हिंड्नुपर्छ । एकातर्फ भीर, अर्कोतर्फ भेरी नदीको तीर । त्यही भएर होला सडक किनारमा धेरै गाउँ देखिदैनथे । डाँडाको अलि माथि-माथि भने ठूला ठूला गाउँ सडकबाट देख्न सकिन्थ्यो तर पुग्न भने धेरै समय लाग्ने ।

सिउडेनी गाउँको दक्षिणतर्फको डाँडामा अनौठो प्रकृति देखिन्थ्यो । सर्पाकारको यो ठाउँ देखाउँदै स्थानीयले सर्पले यो गाउँ खाइसकेर गएको किवदन्ती सुनाए । त्यसैले यो फुई गाउँमा थोरै मात्रै घरहरु रहेको उनीहरुको भनाइ थियो । साँचिकै हेर्दा हिंडेको सर्पको आकृति नै देखिन्छ यहाँ । यसैलाई अलि बढी प्रचारप्रचार गरेर पर्यटकीय गन्तव्यबनाउन सकिने आधार पनि देखियो ।

सर्पको जस्तै आकृति देखिने पहाड

यहाँदेखि केहीबेरमै त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र भएको स्थान त्रिपुरा बजार पुगियो । यतिबेला करिब दिउँसोको तीन बजिसकेको थियो । यहाँ पुग्दा पानी पर्न लागेजस्तो मौसम प्रतिकूल बन्दै थियो । बाटोमा भेटिएर मसँग त्यहाँसम्म पुगेका साथीहरु त्यही बसे । यहाँदेखि दुनै पुग्ने मेरो लक्ष्य टुटेको छैन ।

पुनः भेरी नदीको झोलुङे पुल तरेर पारिपट्टी लागियो । पुलबाट घोडाहरु ओहोरदोहोर गरेको दृश्य रोचक देखिन्थ्यो । अहिलेसम्म डोल्पा शुरु भएदेखि त्रिपुरासुन्दरी नगरपालिकाको भूभागमा हिँडेको थिएँ ।

अब भने भेरी नदी पार गरेर अलि अगाडि बढेपछि ठूलीभेरी नगरपालिका शुरु भयो । यो नगरपालिकाको वडा नम्बर ३ मा पर्दो रहेछ डोल्पा सदरमुकाम दुनै । यहाँदेखि करिब ४५ मिनेटको यात्रा पछि दुनै पुगियो, जुन मेरो यो यात्राको सपनाको गन्तव्य थियो ।

दुनै त भेटियो तर सम्पर्क भएका साथीसँग टेलिफोन सम्पर्क नभएपछि कहाँ बस्ने भन्ने अन्योलले सतायो ।

डोल्पा सदरमुकाम दुनै बजार

डोल्पा सदरमुकाम दुनैमा केही दिनदेखि विद्युत सेवा रहेनछ । यहाँ रहेको जैरीगाड जलविद्युत् आयोजनाको नहरमा पहिरो गएकाले विद्युत आपूर्ति बन्द भएको रहेछ । त्यसैले मोबाइल सेवा पनि घामसँगै अस्ताउँदो रहेछ । सानो बजार भएकाले खोज्दै जाँदा साथी भेटाएँ । दिनभरिको कच्ची सडकको यात्राले थाकेको म दाङकै साथी पदमले तय गरिदिएको होटलमा बसें ।

दुनै बजारको वरिपरिको डाँडामा हिउँद शुरु भएदेखि नै हिउँ पर्दोरहेछ । लगातार परेको हिउँले सेताम्मे बनेका छन्, पाखा, पखेरा र पहाडहरु । अर्को दिन बिहान सबेरै उठेर साथी पदमसँग दुनै बजार हेर्न अग्लो ठाउँमा पुगें ।

दुनै सदरमुकाम भएर पनि सुनसान थियो । हरेक पहाडी जिल्ला सदरमुकामको अहिले यस्तै अवस्था छ । राज्य पुनर्संचनासँगै सबै अधिकार स्थानीय तहमा गएपछि पहाडी जिल्ला सदरमुकामहरूको अवस्था दुनैजस्तै बनेको म पुगेका जति जिल्लामा देखेको छु ।

ठूली भेरी नदीको किनारमा दुनै बजार

दुनै नजिकैको सुलिगाड भन्ने ठाउँ रहेछ, त्यसदेखि उत्तरतर्फ झन्डै डेढ दिनको पैदल यात्रापछि पुगिदो रहेछ, देशकै प्रमुख पर्यटकीयस्थल फोक्सुण्डो ताल । मेरो समय कम भएकाले त्यसतर्फ जाने प्रयास नै गरिनँ । बिहान करीब ९ बजेतिर यस पटकको मेरो सपनाको गन्तव्य दुनै छाडें ।

जुफाल बजार

दुनैबाट फर्कंदा जुफाल बजार र जुफाल विमानस्थल हेर्ने बिचार गरेर त्यतैतिर लागें । त्रिपुरा र दुनै बीचको भागबाट बाटो छुटि्टएको छ जुफाल जाने । डोल्पामा सडक भर्खरै पुगे पनि दुई वटा विमानस्थल छन् जुफाल र पहाडा । पहिले सञ्चालनमा रहेको पहाडा बिमानस्थल गाह्रो भएकाले जुफालमा नयाँ विमानस्थल बनेको रहेछ । जुफाल बनेपछि पहाडा विमानस्थल बन्द भएको छ ।

जुफाल विमानस्थल

जुफाल बिमानस्थल सदरमुकाम दुनैदेखि करिब ११ किलोमिटर दक्षिण पश्चिमको आग्लो भागमा छ । यहाँ नेपालगञ्जदेखि दैनिक तीन-चार उडान हुने रहेछ । दुनैभन्दा अग्लो स्थानमा छ जुफाल विमानस्थल । त्यसैले दुनैमा हिउँ नपर्दा पनि जुफालमा पर्दोरहेछ ।

हिमाल तथा पहाडी भूभागको सुन्दर मनोरम दृश्य यहाँका मुख्य आकर्षण हुन् । वरिपरि हिमश्रृंंखलाले घेरिएको सुन्दर डोल्पा पदयात्राका लागि निकै चर्चित छ । हिमाली र पहाडी जनजीवन, हिमाली संस्कृति एवं रितिरिवाज बुझ्न पनि यो उपयुक्त स्थल हो ।

माटोले छाएका घर

माटोले छाएका परम्परागत घर यहाँको अर्को आकर्षण हो । यहाँका हिमचुचुराहरूले पर्यटकलाई हाँसेर स्वागत गरेझैं लाग्छ । पूर्वमा मुस्ताङ र चीनको तिब्बत, पश्चिममा मुगु र जुम्ला, उत्तरमा तिब्बत, दक्षिणमा जाजरकोट, रुकुमपश्चिम, रुकुमपूर्व र म्याग्दी जिल्लाको बीचमा रहेको भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा स्वर्गबाट झरेको एउटा टुक्रा जस्तो छ ।

जुफालबाट केहीबेरमै त्रिपुरा सुन्दरी पुगिन्छ । त्रिपुरा बजारमा गत वर्षका स्याउ डोकामा राखेर बजार लगिरहेका मानिसहरु भेटिए । त्रिपुरा सुन्दरी नगरपालिका ४ स्याउका लागि निकै चर्चित रहेछ ।

त्रिपुरा सुन्दरी भगवतीको मन्दिर

नेपालकै सबभन्दा बढी स्याउ फल्ने ठाउँ हो रहेछ यो गाउँ । पाँच रुपैयाँ दाना स्याउ त्यही बिक्री हुँदो रहेछ । यही बजारको नजिकै त्रिपुरा सुन्दरी भगवतीको मन्दिर छ ।

डोल्पा प्राकृतिक सांस्कृतिक मात्रै नभइ धार्मिक हिसाबले पनि महत्वपूर्ण हो भन्ने यो देखिन्छ यो मन्दिरबाट । भारत सरकारले निर्माण गरिदिएको त्रिपुरासुन्दरी मन्दिर डोल्पा जिल्लाको प्रसिद्ध धार्मिकस्थल मानिन्छ । बौद्ध स्तुपा र गुम्बाहरु पनि अनिगिन्ती देख्न सकिन्छ डोल्पामा । आफैँमा सुन्दर र प्राकृतिक सम्पदाले भरिपूर्ण छ डोल्पा ।

त्रिपुरा बजारमा स्याउका ग्राहक कुर्दै स्थानीय

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment