Comments Add Comment
No ads found for this position

कोर बैंकिङ प्रणालीको समस्या कसरी समाधान गर्ने ?

२४ वैशाख, काठमाडौं । गत साता नबिल बैंकका एक ग्राहक अर्बपति बनेको समाचार भाइरल बन्यो । नेपाली बैंकहरुका कमजोरीले यस्ता समस्या पटक-पटक हुने गरेको छ ।

एकातिर ब्यावसाय बिस्तारको प्रतिस्पर्धा, अर्कोतर्फ सिक्दै, जान्दै गरेको अवस्थाले नेपाली बैंकहरु जोखिमपूर्ण सञ्चालन प्रकृयाबाट गुज्रीरहेको देखाउँछ । प्रविधिमैत्री भएर व्यवसाय विस्तार गर्नुपर्ने प्रतिस्पर्धाकाबीच दक्ष जनशक्ति र प्रविधिगत कमजोरी बैंकहरुको साझा समस्या बनेका छन् ।

हलचल मच्चाउने समस्याहरु 

२०७४ भदौसम्म नेपाली बैंकका एटीएम बुथबाट अरुका खाताको रकम निकाल्ने १५ जना विदेशी पक्राउ परे । उनीहरुको साथबाट ८८ लाख नेपाली रुपैयाँ र करिब एक हजार वटा एटीएम कार्ड बरामद भयो ।

केही महिनाअघि काठमाडौंका सञ्जय कुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकको खातामा ७८ हजार नेपाली रुपैयाँ जम्मा गरेर ७८ हजार अमेरिकी डलर झिके । ऋणमा डुबेका श्रेष्ठले जति नेपाली रकम जम्मा गर्‍यो, बैंकिङ प्रणालीबाट त्यत्ती नै डलर झिक्न सकिने त्रुटी उपयोग गरेको प्रहरीको कन्द्रीय अनुसन्धान ब्यूरो बताउँछ ।

गत साता डा. सान्तोष नेपालको खातामा नबिल बैंकबाट बिना पूर्व जानकारी २३ अर्ब ७५ करोड रुपैयाँ जम्मा हुन पुग्यो । उनले बेलैमा बैंकलाई खबर गर्दा केही घण्टामा गल्ति सच्चियो ।

पूर्व बैंकर अनलराज भट्टराई बैंकिङ प्रणालीमा दिनहुँ देखिने कैयौं समस्यामध्ये केही ठूला घटना मात्र सञ्चार माध्यममा आउने बताउँछन् । उनका अनुसार, दिनहुँ सयौं ग्राहक र बैंकहरु एटीएमले पैसा नदिने, क्रेडिट कार्ड बिलिङ नहुने लगायतका समस्यामा पर्ने गरेका छन् ।

नेपालका बैंकहरु प्रविधिमैत्री भएर सिक्ने चरणमा रहेकाले यस्तो समस्या देखापरेको भटराई बताउँछन् । ‘दक्ष जनशक्तिको अभावदेखि प्रविधि भित्र्याउनसम्मका समस्या छन्’, उनी भन्छन्, ‘विदेशमा बनेका सफ्टवेरको कन्ट्रोल कमाण्ड बैंकहरुको क्षमताभन्दा बाहिर हुँदा पनि समस्या पर्ने गरेको छ ।’

यी कारणहरुले गर्दा बैंकहरु सञ्चालन जोखिममा छन् । ‘कुनै बेला नेपालका बैंकहरु ऋणलाई चुनौती मान्थे’, अर्का पूर्वबैंकर भरतराज ढकाल भन्छन्, ‘अहिले सहज प्रविधिले जोखिम बढाएको अवस्था छ ।’

बैंकहरु प्रविधिमैत्री बनेर सिक्ने अवस्थामा रहेका बेला स-साना छिद्रमा समस्या खडा गर्ने हृयाकरहरुले नेपाललाई निशाना बनाएको ढकाल बताउँछन् ।

नेपाल बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र प्रताप शाह आफ्नो कार्यकालमा प्रविधिगत चुनौतीसँग जुधेको सम्झन्छन् । उनका अनुसार, मानवीय हेलचेक्र्याईंबाट हुने गल्ति तत्काल क्षति नपुर्‍याउने खालका हुन्छन्, तर प्रविधिको गलत कमाण्डले तत्कालै ठूलो समस्या ल्याउँछ । उनी भन्छन्, ‘दक्ष प्राविधिकको अभाव र सिकारु अवस्थाका सफ्टवेयर अहिलेका समस्याका कारक हुन् ।’

साझा समस्या कसरी चिर्ने ?

पूर्व सीईओ शाह आफ्नो कार्यकालमा नेपाल बैंकको बैंकिङ समय सकिनेबित्तिकै हृयाकरको पहुँच नपुगोस् भनेर बैंकलाई पूर्णरुपमा इन्टरनेटविहीन बनाउने गरेको सम्झन्छन् ।

‘प्रविधिमा आधारित भएर अगाडि नबढी सुखै छैन, तर कहिलेकाँही प्रविधिले नै मानिसलाई कमाण्ड गरिदिन्छ’, शाह भन्छन्, ‘दक्ष जनशक्ति र पूरै प्रविधिमैत्री वातावरणबिना यो समास्या टर्दैन ।’

पूर्व बैंकर भट्टराई आइटीको प्रयोग र आइटी अडिटमा नियामक निकाय शक्तिशाली बन्नै पर्ने बताउँछन् । सबै बैंकले आफ्नो सीबीएस (कोर बैंकिङ प्रणाली) मा पुनरविचार गर्नुपर्ने भट्टराईको सुझाव छ । नेपाल राष्ट्र बैंकले पनि प्रविधिको नियमित अडिट गर्नैपर्ने उनी बताउँछन् ।

‘सेवा विस्तार गर्नुपर्ने दबावमा टिपिएका अर्धदक्ष कामदारका कारण पनि बैंकिङ समस्या बढेको छ’, भट्टराई भन्छन्, ‘उनीहरुलाई सिप सिकाएर मात्र काममा लगाउँदा समस्या घट्छ ।’

पूर्व बैंकर ढकाल नेपालका बैंकहरुको उच्च तहमा प्राविधिक जनशक्ति नपुग्नुलाई पनि समस्या देख्छन् । उनका अनुसार, बैंकहरुमा समस्या पहिचान र समाधानको निर्णय गर्ने पदीय हैसियतमा प्राविधिक जनशक्ति पुगेको छैन ।

‘बैंकहरु आन्तरिक समस्या समाधानमा चनाखो बन्नु पर्‍यो, राष्ट्र बैंकले पनि सुरक्षाको एकीकृत उपाय खोज्नु पर्‍यो’, ढकाल भन्छन्, ‘काल पल्किसकेकाले जोखिममा आधारित सुपेरीवेक्षण गर्न राष्ट्र बैंकले ढिला गर्नु हुँदैन ।’

कोर बैंकिङ प्रणाली मजबुत बनाउन राष्ट्र बैंक के गर्दैछ त ? यो जिज्ञासा राख्दा बैंकका प्रवक्ता नारायण प्रसाद पौडलले भने, ‘यस विषयमा तपाईंलाई ठ्याक्कै जानकारी दिने सूचना अहिले मसँग छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment