Comments Add Comment
No ads found for this position
विचार :

संसदमा केपी ओलीको ‘रियालिटी चेक’

संसदीय परम्परामा बर्सेनि सरकारले आफ्नो बजेट पेश गर्नु अगाडि सरकारको नीति तथा कार्यक्रम पेश गरिन्छ । यसपटकको नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको शब्द ‘मेरो सरकार’ले धेरै चर्चा र बहस सिर्जना गर्‍यो । सदनमा प्रतिपक्षका सांसदहरुले जमेर सरकारको नीति तथा कार्यक्रमको आलोचना गरे । वाचाल प्रधानमन्त्रीले आफ्नो सरकारको नीति तथा कार्यक्रमको रोष्टमबाट बचाउ पनि गरे । तर, प्रतिपक्षका पूरक प्रश्नका उत्तर दिने बेला प्रधानमन्त्रीले लय बिराउन पुगे ।

दुई तिहाइको दम्भले फुलेका प्रधानमन्त्रीले जुन हिसाबले प्रतिपक्ष कांग्रेसले एकपछि अर्को गर्दै पूरक प्रश्न गर्दा आफूप्रति लक्षित खरा र ‘टु द पोइन्ट’ प्रश्नहरू सुने, प्रश्नको उत्तर दिनभन्दा पहिले नै उनी क्रोधित र आक्रोशित ‘मुड’ मा पुगिसकेका थिए । आफूउपर लागेका प्रश्न र आरोपलाई ठट्यौली पारामा उपेक्षा गर्ने बानी परेका ओलीलाई कांग्रेसका सांसदको प्रश्नको फोहरा र वर्षा सैह्य भएन । हुन सक्छ, प्रधानमन्त्री ओली हतारोमा थिए होलान् वा प्रश्नका उत्तर दिनुपर्ने जटिलताबाट तर्सिएका थिए होलान् ।

प्रधानमन्त्रीले रोष्टमबाट फ्याट्ट बोली हाले– आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी प्रश्नको जवाफ प्रस्तुत गर्छु ।’ ‘निम्छरो’ शब्दले सम्मानित सदनमा प्रधानमन्त्रीले प्रतिपक्षका प्रश्नलाई लेबल लगाइदिएपछि कांग्रेस सांसदले कुराको चुरो पक्री हाले ।

शंकर तिवारी

प्रतिपक्ष बेञ्चको अन्तिम लहरबाट मीन विश्वकर्माले सुरु गरेको ध्यानाकर्षणको प्रस्तावले सदनको माहोल अर्कै बन्यो । प्रधानमन्त्रीले बोल्दै गर्दा नेपालको संसदमा यसरी पहिलोपटक सुरुवातमै गैरसंसदीय भाषा बोलेको आक्षेप खेप्नु पर्‍यो ।

सभामुखले तत्काल यो समस्या सुल्झ्याउन सक्थे, आफ्नो अधिकार प्रयोग गरेर । तर, उनले त्यो जरुरी ठानेनन् । प्रधानमन्त्री चिप्लिएपछि प्रधानमन्त्रीलाई जोगाउने नाममा यसरी सभामुखले निष्पक्षताको दुहाइ दिँदै दुई तिहाइ सरकारको सेवक/दासको दर्जामा आफूलाई दर्ज गरे ।

जनचासोको चिकित्सा शिक्षासम्बन्धी विधेयक संसदमा गत हिउँदे अधिवेशनमा पेश गर्दा पनि सभामुखले सत्ताको भक्ति गरेका थिए । उनले त्यो चित्र र चरित्र सदनको अपमानद्वारा समेत दोहोर्‍याए ।

संसदीय व्यवस्था भनेकै सदनमा मर्यादित शैलीमा बहस गरेर जनचासोको सम्बोधन गर्ने विधि हो । त्यसैले सदन वा संसद् एक शक्तिशाली संस्था र पद्दति हो । संस्थाका रुपमा सदनको मर्यादा सभामुख वा प्रधानमन्त्रीको व्यक्तित्वभन्दा माथि हुन्छ र हुनुपर्छ । संसदको मर्यादा जोगाउने दायित्व संसदको नेताका हिसाबले सभामुखकै हुन्छ । आफ्नो पदीय मर्यादामा बसेको सभामुखका लागि प्रधानमन्त्री, प्रतिपक्षी दलको नेता वा कुनै सांसद सबै बराबर हुनुपर्छ ।

प्रधानमन्त्रीलाई लाग्छ– प्रत्येक प्रश्नको जवाफ दिनुपर्छ । सके राम्रो, नभए ओठे जवाफ । त्यसो गर्दा फ्याट्ट उखान टुक्का आए त झन् दिव्य भइहाल्यो । ओलीलाई गज्जवको भ्रम छ, कुराले भए पनि चिउरा भिज्छ

संसदमा बोल्दा जब कुनै पनि सम्मानित सदस्यले लय बिराउँछ, त्यसलाई सच्याउने पहिलो दायित्व सर्वथा सभामुखको नै हुन आउँछ । जुन सदनमा प्रधानमन्त्रीले नै लय बिराउँछ भने सचेत प्रतिपक्षले सभामुखलाई त्यो कुरा ध्यानाकर्षण गराउँछ र गराउनु पनि पर्छ ।

हो, प्रधानमन्त्रीले बोल्दा संसद् सदस्यले हल्ला गर्न पाइँदैन । जब प्रधानमन्त्री बोल्दा संसदको गरिमा कुल्चन्छ, तब अचेत सभामुखलाई सचेत कसैले गराइदिनै पर्छ । मीन विश्वकर्माबाट सुरु भएको त्यो विरोध प्रतिपक्षी नेता शेरबहादुर देउवा उठ्दा सिंगो प्रमुख प्रतिपक्ष सदनमा खडा थियो । र, सदनको नियम हो, प्रतिपक्षको एक मात्र सदस्य विरोधमा उठ्नेबित्तिकै सदनको काम–कारवाही अगाडि बढाउनु हुँदैन ।

सभामुख महरा आफ्नो आसनमा बसेर निर्लज्जतापूर्वक यस्तो बेला सदनको कारवाही अगाडि बढाइरहेका छन् । सदाबहार प्रतिपक्ष पार्टी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले व्यंग्य गर्दासमेत सभामुख होसमा आउँदैनन् । गणतान्त्रिक नेपालको पहिलो सदनको तेस्रो सत्र यसरी प्रहसन कक्ष बन्न पुगेको छ ।

प्रतिपक्षी नेता प्रदीप गिरीले सदनलाई शब्दले धेरै फरक पार्छ, लक्षणा, अभिधा र अभिव्यञ्जनाले फरक कुरा भनिरहेका हुन्छन् भन्दै प्रधानमन्त्रीले र सरकारले यो कुरामा ध्यान दिनुपर्‍यो भनेर गम्भीर शैलीमा घुमाउरो कटाक्ष गरेका थिए । मेरो गोरुको बाह्रै टक्का गर्ने प्रधानमन्त्रीले यसरी हेक्का नपुर्‍याउँदा सदनमा प्रतिपक्षबाट लञ्जित हुनुपर्‍यो ।
अघिल्लो वर्ष कांग्रेसले भुलवश सरकारको नीति तथा कार्यक्रमको प्रस्तावमा समर्थन गर्न पुगेको थियो । त्यो भुललाई लिएर पार्टी पंक्तिभित्र प्रमुख सचेतक बालकृष्ण खाँणको चर्को आलोचना पनि भएको थियो । आफ्नो प्रशंसा मात्रै सुन्न बानी परेका प्रधानमन्त्री ओली कांग्रेसले योपटक पनि सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्नेमा ढुक्क भएका रहेछन् ।

तर, सदनमा कमजोर ठानिएको प्रतिपक्ष एकाएक जागेर आएपछि प्रधानमन्त्री ओली अत्तालिएका मात्र होइनन्, पछिल्लो ‘रियालिटी चेक’मा कमसल सावित भएका छन् । प्रधानमन्त्री ओलीले हाम्रो प्रतिपक्षका साथीहरुको प्रश्न गर्ने जाँगर देखेर उत्साहित भएको छु भनेर विषयान्तर नगरी निम्छरो प्रश्न भन्दै प्रतिकार गर्ने कोसिस गरेपछि सदनमा अप्रिय घटना भयो । ‘निम्छरो’ प्रकरणले प्रधानमन्त्री वजन घटाइदिएको छ ।

प्रधानमन्त्रीलाई लाग्छ– प्रत्येक प्रश्नको जवाफ दिनुपर्छ । सके राम्रो, नभए ओठे जवाफ । त्यसो गर्दा फ्याट्ट उखान टुक्का आए त झन् दिव्य भइहाल्यो । ओलीलाई गज्जवको भ्रम छ, कुराले भए पनि चिउरा भिज्छ । भिजाउनुपर्छ । मदन भण्डारी प्रतिपक्षी नेताका हैसियतले कांग्रेसतर्फ संकेत गर्दै भन्थे– कुराले चिउरा भिज्दैन । सत्तापक्ष वा प्रधानमन्त्रीको कुराले त झन् चिउरा भिज्दै भिज्दैन । सरकारको काम र उपलब्धिले मात्रै चिउरा भिज्छ ।

दुई तिहाइ बहुमत दिएका जनताले प्रधानमन्त्री केपी शर्मा ओली विपक्षीका सवालका अगाडि तिल्मिलाएको देखेर निको मानिरहेका छैनन् । गतसाल सदनको पहिलो सत्रमा गगन थापाले भनेजस्तै जनता सरकारको उपलब्धि खनखन नगदमा देख्न चाहन्छन् । जबसम्म सरकारका उपलब्धि खनखन नगदमा देखिन्न, त्यसरी नै प्रधानमन्त्री प्रत्येक पटक रियालिटी चेकमा असफल हुँदै जान्छन् ।

आगे सदनमा प्रतिपक्षी कांग्रेसले दिएको रियालिटी चेकबाट पाठ सिक्ने, नसिक्ने जिम्मा प्रधानमन्त्रीको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment