Comments Add Comment
No ads found for this position

जाँच्नुहोस् त तपाईं युवा कि बुढो ?

हामीकहाँ अक्सर नेता/मन्त्रीको अगाडि ‘युवा’ जोडिन्छ । अर्थात युवा नेता फलानो । उमेर छिप्पिसकेको हुन्छ । शरीर जीर्ण हुन्छ । बुढ्यौलीले गाँजिसकेको हुन्छ । तर, पनि हामी भनिदिन्छौ, युवा नेता फलानो ।

तर, विशेषण जोड्दैमा कोही युवा हुँदैन । युवा नाम होइन, शारीरिक अवस्था हो । युवामा जोश हुन्छ, जाँगर हुन्छ, उर्जा हुन्छ, फूर्ति हुन्छ, शिल्प हुन्छ, इच्छा हुन्छ, तत्परता हुन्छ, गतिशिलता हुन्छ । युवा भनेको त यस्तो पो !

तर, हामी नामले युवा पुकारिन चाहन्छौ । नेता मात्र होइन, अरु सबै ‘युवा’ भनिन र देखिन चाहन्छ । जबकी यो चाहेर मात्र हुँदैन । युवा हुनका लागि युवाको प्रवृत्ति हुनुपर्छ । युवाको जोश हुनुपर्छ । युवा अवस्था हुनुपर्छ ।

युवा हुन नपाई बुढ्यौलीतिर

हाम्रो जीवन चाहि उदेगलाग्दो छ । हामी ८, १० बर्षको उमेरसम्म बालक हुन्छौ । त्यसपछि किशोरवय रामरी भोग गर्न नपाउँदै हामी वयस्क हुन्छौ । अर्थात अनेक किसिमको समस्या, उल्झन, बन्धनले हामीलाई बुढो बनाउन थाल्छ । हाम्रो मस्तिष्क, शरीर उस्तो रहँदैन, जस्तो युवावयमा हुनुपर्ने हो ।

हामी जीर्ण हुन्छौ । रोगी हुन्छौं । कमजोर हुन्छौ । शिथिल हुन्छौं ।

हामीसँग केही गर्ने उत्साह र उमंग नै हुँदैन । हामी त केवल भविष्यसँग भयभित भएर बसेका छौ । भोलिका दिनमा दुःख पाइएला कि वा कुनै समस्या आइलाग्ला कि भनेर आजैदेखि हामी रक्षात्मक अवस्थामा बसेका छौ । हामीसँग चुनौती छैन । चुनौतीसँग जुध्ने हिम्मत छैन । तब हामी कसरी युवा ?

हामी नेता-मन्त्रीको पछि लागेर बसेका छौ । शक्ति र सत्ताको चाकडी गरेका बसेका छौ । यसको मतलब हामी आफै असक्षम छौ र अरुसँग दयाको भिख मागिरहेका छौ । अरुसँग आफ्नो करियरको, प्रतिष्ठाको, भविष्यको भिख मागिरहेका छौ । जब हामी आफै केही गर्न सक्षम छैनौ भने कसरी हामी युवा ?

आज हामी लुटेर, ढाँटेर, चोरेर, छलकपट गरेर खाइरहेका छौ । अर्थात हामीसँग केही गर्ने शिल्प र सिर्जनसिलता छैन । हामी आफ्नै रचनात्मक क्षमतासँग विश्वास गर्दैनौ । जब हामीसँग खुवी एवं दक्षता छैन, तब कसरी युवा ?

हाम्रो पारिवारिक संरचना, सामाजिक व्यवस्थाले पनि हामीलाई बुढो बनाएको छ । अझ बुढो त हाम्रा राजनीतिक कु-संस्कारले बनाइदिएको छ । यही कु-संस्कारको कारण भ्रष्टचार मौलाएको छ । नाताबाद, कृपावादले मलजल पाएको छ । यस्तो दलदल र विसंगतीले हामीलाई युवापनमा रमाउन दिदैन । उमेर नपुग्दै आर्थिक बोझले थिचिदिन्छ । त्यही कारण हामी विदेशमा पैसासँग पसिना साट्न जान बाध्य छौं ।

यस्ता थुप्रै कारक तत्व छन्, जसले हामीलाई युवावयमा बाँच्न दिएको छैन । खासमा भन्ने हो भने, हामी युवा हुन नपाई वयस्कतर्फ ढल्कन्छौ र चाडै बुढ्यौलीमा ।

नेपालको औसत आयु ७२ बर्ष पुगेको छ । र, यसमध्ये धेरैजसो अवधी त हामी व्यक्तिगत समस्या, पारिवारिक बोझ, सामाजिक उल्झन आदिले थिचिएर गुजार्छौं । युवा हुनै पाउँदैनौ ।

युवापन र उमेर

तपाईं कति बर्ष पुग्नुभयो ? २५, ३०, ४०, ५५ ?

यो उमेरमा तपाईं कस्तो हुनुहुन्छ ? कति जोशिलो हुनुहुन्छ ? कति उर्जावान हुनुहुन्छ ? कति उत्साहित हुनुहुन्छ ? कति जाँगरिलो हुनुहुन्छ ?

सायद तपाईंले यी प्रश्नहरुको सकारात्मक जवाफ दिनुहुने छैन । किनभने तपाईंमा युवापनको रंग उडिसकेको हुनसक्छ । युाव जस्तो हुनुपर्ने, त्यस्तो नहुन सक्छ ।

किन ?

किनभने हामीमा जागरणको कमी छ, चेतनाको कमी छ । हामीमा उत्साहको कमी छ, हामीमा उत्सुकताको कमी छ । त्यही कारण हामी बुढो हुँदैछौ । बुढो हुनु कुनै उमेरसँग सम्बन्धित कुरा मात्र होइन । यदि कोही बुढो हुन्छ भने त्यसमा उमेर मात्र उसको कारक हुँदैन । यो मानसिक अवस्था हो र शारीरिक पनि ।

कुनैपनि व्यक्ति जीवनभर युवा रहन सक्छ । अर्थात उनले आफ्नो पुरा आयुको अधिकांश हिस्सा युवा जस्तै बनेर विताउन सक्छ । यस्तो कुन अवस्थामा हुन्छ भने जबसम्म तपाईं उत्साहित र उत्सुक रहनुहुन्छ । तपाईंमा सपना र संभावना बाँकी रहन्छ । यसका लागि उमेरको कुनै छेकबार हुँदैन ।

तपाईंसँग केही गर्ने सपना हुनुपर्छ र त्यही सपनालाई प्राप्त गर्ने तत्परता हुनुपर्छ । तपाईं गतिशिल हुनुपर्छ र तपाईं उर्जावान हुनुपर्छै । तपाईं जोशिलो हुनुपर्छ र तपाईं रचनात्मक पनि हुनुपर्छ । यी गुण र प्रवृत्ति जबसम्म रहिरहन्छ, तबसम्म तपाईं बुढो हुनुहुन्न ।

जबसम्म तपाईंका सपनाहरु सकिदैनन्, जबसम्म तपाईंका उत्सुकताहरु मेटिदैनन्, जबसम्म तपाईंको उत्साह सेलाउँदैन, तबसम्म त तपाईं युवा नै रहनुहुन्छ ।

तर, दुःखलाग्दो हामीले आफ्नो युवापन गुमाएका छौ । हामीसँग युवापन नै छैन । नेता, मन्त्रीहरुलाई युवा भनेर विशेषण झुड्याएका छौ । तर, उनीहरु त जीर्ण, शिथिल र कमजोर छन् । उनीहरुमा युवाको कुनै गुण छैन । हामीमा पनि ।

युवा कसरी हुने त ? युवापन कसरी फर्काउने त ?

यसका लागि तपाईं, हामीमा तत्परता हुनुपर्छ । गतिशिलता हुनुपर्छ । आकंक्षा हुनुपर्छ । जोश र जाँगर हुनुपर्छ । उत्सुकता र उत्साह हुनुपर्छ । तब हामी युवा रहन्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment