Comments Add Comment
No ads found for this position

९१ बर्षमा पनि किन तन्दुरुस्त भैरव रिसाल ?

अझै पनि युवा जोश, उत्सुकता र गतिशिलता

आफ्नो जमानाका चर्चित पत्रकार भैरव रिसाललाई कसैले ‘बाजे’ वा ‘अंकल’ भन्ने हिम्मत गर्दैनन् । समकालिन पत्रकार, छोराछोरी मात्र होइन, नातीले समेत ‘दाई’ भन्छन् ।

जबकी उमेरको हिसाब-किताब लगाउने हो भने उनी सय बर्षको छेउमा पुगिसके । अर्थात ९१ बर्षका भए ।

नेपालीको औसत आयु ७१ बर्ष । उनले यो आयु पुरा गरेर नयाँ जीवन बाँचिरहेका छन् । यत्तिका उमेरमा पनि उनको अनुहारको ओज उस्तै छ । तेजिलो एवं चम्किलो । आवाज उत्तिकै गह्रौ छ । अविछिन्न घण्टौ बोल्न सक्छन् । आँखामा पावरवाला चस्मा लगाउनु परेको छैन ।

यी त भए, शारीरिक कुरा । मानसिक रुपमा उनी अझ कलकलाउँदो छन् । वैंशालु । जवान । त्यही कारण त उनी पाको भएर पनि ‘युवा’ छन् । उनको व्यवहार, प्रवृत्ति, सोंच, शैली सबैमा युवापन झल्कन्छ ।

पाको तर युवा

ओशो भन्छन्, ‘युवा त्यो हो, जसमा उत्साह हुन्छ । जाँगर हुन्छ । जोश हुन्छ । उर्जा हुन्छ । उमंग हुन्छ । गतिशिलता हुन्छ ।’

युवा हुनु भनेको उमेरको कुरा होइन । ओशोको भनाई अनुसार ‘युवा’ एक मानसिक र शारीरिक अवस्था हो । ९० वा १०० बर्षका व्यक्ति पनि युवा हुनसक्छ, यदि उनको मन र तनमा युवा-तत्व समाहित छ भने । ठिक यसैगरी लक्का जवान व्यक्ति पनि बुढो हुनसक्छ । ओशोले भनेका छन्, ‘हामीकहाँ धेरैजसो मान्छे जन्मदै बुढो जन्मन्छन् ।’

केही समयअघि अनलाइखबरसँग गफिदै गर्दा पत्रकार भैरव रिसालले केही यस्ता प्रसंग सुनाए, जसले उनमा ‘युवापन’ झल्कन्थ्यो ।

हालै मात्र उनलाई एक विद्यालयमा वक्ताको रुपमा निम्तो गरिएछ । तर, विद्यालयमा गएर के बोल्ने ? उनलाई सकस भयो । आफुलाई विश्वास गरेर वक्ता बनाएपछि केही त यस्तो कुरा भन्नैपर्‍यो, जो सुरुचीपूर्ण र उपयोगी होस् । अहिलेको पुस्ता के सुन्न चाहन्छ ? उनीहरु के कुरामा रुची राख्छन् ? साथसाथै उनीहरुलाई के कुरा सुनाउनु पर्ने खाँचो छ ?

उनले यावत् कुराका लागि आफ्नी नातिनीलाई गुरु बनाए । नातिनीसँग सबै कुरा बुझेरै उनी मञ्चमा उभिए । पाको व्यक्तिको खरो, तार्किक र उपयोगी कुरा सुनेर विद्यार्थीहरु रमाएछन् ।

यसको अर्थ के भने, यत्तिका उमेरमा पनि नयाँ कुरा सिक्नुपर्छ भन्ने उत्सुकता छ उनमा । चाहेको भए उनी आफ्ना विगतका कथाहरु सुनाउन सक्थे । तर, अहिलेका पुस्तालाई के कुराको खाँचो छ भन्ने कुरा नातिनीबाट सिकेर उनले त्यसमा अभ्यास गरे ।

यत्तिका उमेरमा पनि रिसाल नयाँ कुरा जान्न र बुझ्न उत्तिकै उत्सुक छन्, जति वैंशालु उमेरमा थिए ।

कुनैबेला उनी यस्ता लेख लेख्थे, जसले राज्यसत्ता हल्लाईदिन्थ्यो । यस्तै लेखले उनलाई जेलसम्म पुर्‍याएको छ । लेख्न त उनले जीवनकालमा कति लेखे कति । उनकै बारेमा पनि कैयौं अखाबारमा लेखिए । तर, आफ्ना सानोतिनो लेख प्रकाशित हुँदा पनि उनी अझै फुरुंग हुन्छन् । उत्साहित हुन्छन् । अर्थात उनीभित्रको खुसी र उमंग आजपनि उस्तै छ, जो करियरको पूर्वाद्धमा थियो ।

उनी जाँगरिला छन् । अहिले पनि उनी कलम र कपी लिएर निरन्तर लेखिरहन्छन् । खोज गरिरहन्छन् । केही न केही गरिरहन्छन् । निस्त्रिmय बस्दैनन् । युग अनुसार आफुलाई कसरी परिमार्जन गर्ने र प्रस्तुत गर्ने भन्ने कुरामा सर्तक रहन्छन् । अर्थात उनी गतिशिल छन् ।

उनी रसिक छन् । हाँसोठट्टा गरिरहन्छन् । सबैसँग रमाइलो गर्छन् । बोलीमा कुनै शिथिलता छैन । उत्तिकै जोश छ । उनी सफाचट छन् । चटक्क मिलेको लुगाफाटो लगाउँछन् । सफासुग्घर बस्छन् । नियमित नुहाउँछन् ।

केही सिक्नुपर्छ, केही जान्नुपर्छ, केही गर्नुपर्छ भन्ने भावनाले उनलाई यो उमेरमा पनि बुढो हुन दिएको छैन । ओछ्यानमा पर्न दिएको छैन ।

सक्रिय र नियमित जीवन

भैरव रिसाल आजको उमेरसम्म पनि किन बुढो नभएको ?

यसको जवाफ हो, उनी सक्रिय छन् । गतिशिल छन् । सकारात्मक छन् । चिन्तामुक्त छन् । नियमित छन् ।

उनी योग गर्न छुटाउँदैन् । अझैपनि प्राणायाम गर्छन् । उठ्ने र सुत्ने तालिका नियमित छ । बर्षौदेखि उनले आफ्नो शरीरलाई यसरी अभ्यस्त बनाएका छन् कि, ठिक समयमा सुत्ने, ठिक समयमा उठ्ने ।

१० बजेभित्र सुत्छन् । बिहान ५ बजेअघि उठ्छन् । उठ्नसाथ चिसो पानीले एकसारे नुहाउँछन् । नुहाएपछि योगाभ्यास गर्छन् ।

योगाभ्यास पछि चिया पिउँछन् । खान हुने सबै कुरा खान्छन् । अर्थात खानयोग्य । जाँड, रक्सी, धुमपान केहीपनि गर्दैनन् । धेरै खाँदैनन् । राम्ररी चपाएर खान्छन् । उनको पेट अझै खराब भएको छैन । खुट्टा तगडा भएसम्म उनले गाडी चढ्न रहर गरेनन् । काठमाडौंमा त उनी धेरैजसो पैदल नै हिँड्थे । कार्यलय र घर आउजाउ गर्दा फटाफट हिँड्थे ।

यस किसिमको जीवनशैलीले पनि उनलाई बुढो हुन दिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment