Comments Add Comment
No ads found for this position

अंश अंशमा पूर्ण बनेका सनुप

१० जेठ काठमाडौं । साध्य बुझ्न लागिपरेको साधकले कति साधना गरेपछि पूर्णता पाउला ? जवाफमा यसै हो भन्न गाह्रो छ, तर गायक सनुप पौडेललाई बुझ्दा हर दिन गम्भीर भएर प्रयास गर्नु नै साधनाको पूर्णता हो भन्ने थाहा लाग्छ ।

शरीर, मन र बुद्धिले संगीतको आन्तरिक यात्रामा सनुप यसरी लागे कि उनी संगीत प्रेमीबाट संगीत साधक बने । निरन्तर प्रयास र संगीतमा गरेको ‘योग’ र ‘तप’ ले अहिले सनुपको उपस्थिति पूर्ण लाग्छ । स्वरको जादुले मनसम्म छोइन्छ । संगीतमा घटौं सोचमग्न बनाइदिन्छ ।

सनुप आमासँगै भजन गुनगुनाउँदै हुर्किए । विद्यालयमा साथीहरुसँग ‘ब्याण्ड’ बनाएर गीत गाउने लहडले छोयो । अरुका गीतमा स्वर भर्दै जाँदा संगीतमा प्रेम बस्यो । आलोकाँचोमै एल्बम निकाल्ने रहर पनि पूरा भयो । ती लहड, रहर र प्रेमले यति साधना पायो कि उनी अहिले संगीतमा डुबेका भेटिन्छन् ।

सनुप ‘अश्वमेधा’ गीती एल्बम बोकेर भारत सिलोङको बसाइँ छाडेर २२ वर्षअघि २२ वर्षको उमेरमा नेपाल छिरेका थिए । त्यसपछि पनि उनको साधनाले नयाँनयाँ अध्याय भेट्दै गयो । जसले अंशअंश गर्दै उनको परिचयले पूर्णता पायो । केही वर्षअघिसम्म संगीत जमातभित्र मात्रै परिचित उनी अहिले जनजनको मनमा छन् ।

परिवारको साथले संगीत

परिवारको साथ नपाएर आफ्नो कलाकारितालाई अघि बढाउन नसकेकाहरु धेरै छन् । तर गायक सोनुपको हकमा ठिक उल्टो छ । खेलकुदमा रुचि भए पनि परिवारकै प्रेरणाले उनी गायनमा लागे ।

भारतको सिलोङ, मेघालयमा जन्मिएका सनुप आमाले पाठपूजामा भजन गाउँदा सँगै गुन्गुनाउँदै हुर्किए । उनको पहिलो गुरु नै आमा बनिन् । आमाले नै उनको स्वरको पहिलो जादु सुनेकी हुन् । भन्ने गर्थिन्, ‘बाबु, तिमी संगीत सिक्नु है । राम्रो गाउन सक्छौं ।’

सनुप कक्षा १० मा पुगेकै थिएनन् । त्यो समय सिलोङमा ब्यान्ड बनाउने लहड चलेको थियो । सनुप लगायतको टीम मिलेर एक ब्यान्ड स्थापना गरे । नाम राखे, ‘यम्मी गाइज’ ।

कभर गीतहरु गाउने यस ब्यान्डले पछि निकै लोकप्रियता पनि पायो । उनले त्यही बेला नै संगीतमा धेरै कुरा बुझे । सनुप भन्छन्, ‘त्यो ब्यान्डमा अरु दाइहरु हुनुहुन्थ्यो । उहाँहरुबाट धेरै सिक्न पाएँ ।’

ब्यान्डमा सिकेको कुरा र घरबाट मिलेको साथले सोनुपमा संगीत संयोजन गर्ने आँट पलायो । उनले केही गीतहरु बनाए पनि ।

टि–सिरिजले जगायो भोक

सनुप स्नातक पढ्दै थिए । त्यसताका टि–सिरिजमा एक सांगीतिक कार्यक्रम आउथ्यो । जसले नव प्रतिभालाई प्रोत्साहित गर्न केही समय अभ्यास गराउथ्यो । सनुपले पनि आफ्नो संगीत टि–सिरजमा पठाए ।

उनी छनोट भए । मुम्बई बोलाइयो । उनी गए । केही समय अभ्यास गरे । तर, अन्तिम पाँचबाट उनी फालिए । यद्यपि, सोनुप दुःखी भएनन्, किनकी त्यहाँबाट बाहिरिँदा सनुपले धेरै कुराहरु सिकिसकेका थिए । उनको स्वरको प्रशंसामा बुझ्नेहरु भन्थे, ‘तिमी संगीत सिक ।’

त्यसैले सनुप सिलोङ फर्किएर संगीत सिक्न लागे । उनले बंगाली गुरु शुक्ला धामसँग शास्त्रीय संगीत सिक्न थाले । सनुपको स्वरको प्रशंसा गुरु पनि गर्थे । उनी भन्ने गर्थे, ‘तिम्रो स्वर माझिएको छ । संगीत र यसको प्राविधिक कुरा बुझ्यौ भने पुग्छ ।’

शुक्ला गुरुसँग संगीत सिक्न आउनेहरु प्रायः बंगाली संगीतको सौन्द्रर्यबोध, लौकिकता र मानवीय भावना मिसिने ‘रवीन्द्र संगीत’ सिक्थे । त्यसपछि सनुपले गुरुको ३० मिनेट समय पाउँथे । त्यतिबेलासम्म उनी छेउमा बसेर अरुले रवीन्द्र संगीत गुनगुनाएको सुनिरहन्थे ।

एकदिन उनले रवीन्द्र संगीत गुनगुनाएको गुरुले देखे । सनुपको छेउमा आएर गुरुले सोधे, ‘तिमीले रवीन्द्र संगीत गाइरहेको थियौ ?’

छेउमा बसेर सुन्दासुन्दै केही जानेको सनुपले गुरुलाई बताए । सनुपको कुरा सुनेर गुरुले रवीन्द्र संगीतमा गीत गाउन लगाए । उनले राम्रोसँग पूरा गीत सुनाए । गुरु दंग थिए । सनुप भन्छन्, ‘एउटा नेपाली केटाले राम्रोसँग बंगाली गीत गाएको सुनेर गुरु छक्क पर्नुभएको थियो ।’

सनुपको क्षमता देखेर गुरुले रवीन्द्र संगीतमा बंगालीहरुसँग मिसाएर प्रतिस्पर्धा गराइदिए । सनुप प्रथम भए । उनी भन्छन्, ‘सायद, मेरो गुरुको प्रेरणाले नै होला, मैले जित्न सकेको ।’

काठमाडौं आएर संगीत यात्रा

सनुपले सिलोङबाटै स्नातक सकाए । स्नातक सकिएपछि २२ वर्षको उमेरमा स्नातकोत्तर पढ्नका लागि नेपाल आए । त्रिचन्द्र कलेजमा भर्ना भए ।

नेपाल आउँदा उनी खाली हात आएका भने थिएनन् । आफ्नो झोलामा ब्यान्डमा हुँदै रेकर्ड गराएको गीतको एल्बम बोकेका थिए । सनुप भन्छन्, ‘म पहिलो ब्यान्ड छोडेर अर्को ‘अश्वमेधा’ नामको ब्यान्डमा थिएँ । त्यहाँ हुँदा रेकर्ड गराएको एल्बम ‘अश्वमेधा’ बोकेर म नेपाल आएको थिएँ ।’

सनुप त्रिचन्द्रमा भर्ना त भए तर, पढ्न सकेनन् । सिलोङको वातावरणमा पढिरहेका उनलाई नेपाली क्याम्पसको माहोलमा आफूलाई घुलमिल गराउन गाह्रो भयो । त्यसैले उनले पढाइ छोडिदिए । त्यसपछि केही वर्ष काठमाडौंमा भौतारिरहे । भविश्यमा के गर्ने भन्ने नै उनको दिमागमा थिएन । तर चिन्ता भने थियो ।

शिक्षक बन्ने सोच बनाए । पत्रिकामा काठमाडौं युनिभर्सिटी अन्तरगत ‘एथ्नोम्युजोकोलोजी’ पढाइको लागि भर्ना खुला गरेको विज्ञापन देखे । सनुप त्यसलाई पछ्याउँदै काठमाडौं विश्वविद्यालयसम्म पुगे र भर्ना पनि भए ।

काठमाडौं विश्वविद्यालयबाट नै उनको संगीतको नयाँ अध्याय सुरु भयो । संगीतलाई अझ नजिकबाट बुझ्न थाले । गाउनु वा संगीत गर्नु मात्र संगीत होइन भन्ने उनलाई ज्ञान भयो । चार वर्षसम्म कक्षा लिएका सनुप भन्छन्, ‘त्यो त मेरो लागि छुट्टै संसार थियो । ४ वर्षमा कति सिकेँ त्यो मूल्याङ्कन गर्नै सकिन्न ।’

स्नातकोत्तर पढ्न विभिन्न देशमा छात्रावृत्तिको लागि परीक्षा दिए । तर कतै पनि सफल नभएपछि प्रयास गर्नै छोडे । भन्छन्, ‘अब यो हुँदैन भन्ने लागेपछि यसमा समय खर्चिनु हुन्न भन्ने भयो ।’

नेपालमै अवसर कुरिरहेका सनुपका लागि सेन्ट मेरिज स्कूलमा संगीत शिक्षकको जागिर नयाँ खुड्किला बन्यो । त्यहाँ २००५ बाट उनले विद्यार्थीहरुलाई संगीत सिकाउने र आफूले पनि नयाँ कुरा बुझ्न थाले । उनी भन्छन्, ‘सेन्ट मेरिज जस्तो स्कूलको नियमले मलाई पनि केही सिकाउँछ भन्ने लागेर त्यहाँ गएँ ।’ जहाँ सनुप अहिले पनि पढाइरहेका छन् ।

चर्चाको अरुचि

१५ वर्ष लामो मास्टरी जीवनमा सनुपलाई बेला–बेला दिक्क नलागेको होइन । ‘सधैं एउटै कुराहरु पढाउँदा कहिले काहीँ निष्प्राण भएको जस्तो लाग्थ्यो । तर, विद्यार्थीहरुले कुनै कुरामा आफूसँग सल्लाह लिँदा भने मन फुरुङ्ग हुन्छ, त्यसकै लागि त काम गरिरहेको छु’ उनी भन्छन् ।

सनुपले पढाएका धेरै विद्यार्थीहरु अहिले राम्रो स्थानमा पुगिसकेका छन् । तर, उनीहरु त्यति चर्चा खोज्दैनन् । सनुप जस्तै । आखिर उनकै विद्यार्थी न परे ।

हुन पनि सनुप मिडियाबाट टाढै बस्न रुचाउँछन् । बाहिर आएर बोल्यो भने आफ्नो केही गुमाइरहेको अनुभूति हुन्छ रे उनलाई ।

भन्छन्, ‘म कसरी यहाँसम्म आएको छु मलाई मात्र थाहा छ । त्यो कुरा सबै मिडियामा भनेर मलाई हलुका बन्न मनै लाग्दैन । त्यसैले खासै चर्चामा ध्यान छैन ।’ आफ्नो कुराहरुको बहाव मिडियामा आयो भने आफू काम गर्न नसक्ने सनुप बताउँछन् । उनी भन्छन्, ‘म त मेरो फोटो दिनदिनै मिडियामा देखेँ भने आफैँ इरिटेट हुन्छु ।’

हुन पनि कलाकारले कामभन्दा बाहिर ध्यान दिँदा राम्रो काम दिन नसक्ने उनलाई लाग्छ ।

सनुपले काठमाडौं विश्वविद्यालयमा संगीत सिक्न सुरु गरेपछि पहिलो गीत रेकर्ड गराएका थिए । त्यही गीतले नै उनले नचाहेको केही चर्चा साथीहरुमाझ पायो । जुन गीत गृहकार्य पूरा गर्न लेखिएको थियो ।

सनुप भन्छन्, ‘काठमाडौं विश्वविद्यालयमा पढ्दै गर्दा हामीले एकदमै आधारभूत कुराहरु सिकिरहेका थियौं । त्यही समय सरले हामीलाई गीत कम्पोज गर्ने काम दिनुभएको थियो । मैले कम्पोज गरेर सरलाई सुनाएँ । उहाँ पनि खुसी हुनुभयो । साथीहरुले पनि रेकर्ड गर्न सुझाए । त्यसैले पनि मैले ‘पहिलो पिरती’ बोलको गीत रेकर्ड गराए ।’

अहिलेसम्म कति गीतमा स्वर दिए उनैलाई याद छैन । उनी आफूलाई मन परेको गीत र आफूले सिर्जना गरेको गीतलाई मात्र टिपोट गरेर राख्छन् । उनी भन्छन्, ‘मलाई राम्रो लागेका गीतहरु मात्र मेरो टिपोटमा अटाएका छन् । अब सार्वजनिक भएका, नभएका, राम्रो नराम्रो सबै गीत जोड्ने हो भने पुग्यो होला एक सय जति ।’

तीन ‘टर्निङ प्वाइन्ट’

सनुप आफ्नो संगीत यात्रा फेरिन कुनै एउटा मात्रै कारण छ भन्ने मान्दैनन् । हुन पनि जीवनमा भेटिएका उचाइमा एउटै खुड्किला मात्रै पनि हुँदैन नै । सनुप पनि धेरै कुराको सहयोगमा आफू अहिलेको स्थानमा पुगेको बताउँछन् ।

उनको संगीत यात्राको पहिलो ‘टर्निङ प्वाइन्ट’ ‘सम्झना आइदिन्छ’ बोलको गीत हो । जुन गीत सफल थियो । यसअर्थमा कि त्यही गीतले सनुपको छाप संगीत जगतमा प¥यो । त्यसपछि उनले केही समय विश्राम लिए । त्यही बेलै भेटिएका थिए संगीतकार कालिप्रसाद बास्कोटा । उनीहरु भेटमा जहिल्यै संगीतमा नै रहेर कुराकानी गर्थे ।

त्यही फुर्सदको समयमा चलचित्र ‘मालतीको भट्टी’ को कुरा आएको थियो । उक्त चलचित्रमा कालीप्रसादले संगीत दिए, सनुपले स्वर भरे । त्यहीँबाट सनुप र कालीप्रसादको चलचित्रको संगीतमा पनि सहकार्य सुरु भयो ।

त्यसको केही समयपछि चलचित्र ‘मञ्जरी’बाट उनीहरुलाई अवसर आयो । मञ्जरीमा पनि कालीप्रसादको संगीतमा सनुपले आवाज दिए । मञ्जरीमा समावेश गरिएको गीत ‘दैव हे’ निकै चर्चित बन्यो । यसै गीतबाट सनुपले धेरै समर्थक कमाए । सनुप भन्छन्, ‘यो गीत मेरो जीवनको अर्को टर्निङ प्वाइन्ट बन्यो ।’

नेपालमा सुरु भएको गायन रियालिटी शो ‘नेपाल आइडल’ पाहुनाको रुपमा पुग्दा पनि सनुपले ‘दैव हे’ गीत नै पाए । उनी प्रतिष्पर्धी निशान भट्टराईको ‘आइडल’ बनेर त्यहाँ पुगेका थिए । सनुप र निशानले संयुक्तरुपमा गाएको दैव हे गीतले नै जनजनको मनमा उनको छाप झनै गाढा भयो ।

त्यसपछि सुरु भएको अर्को गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ मा त सनुप ‘कोच’ को भूमिका नै देखिए । जसले चर्चा नचाहने सनुपलाई हर दिन चर्चाको वरिपरि राखिरह्यो ।

सनुप भन्छन्, ‘भ्वाइसको कोच बनेर पनि मैले धेरैको माया पाएको छु । अझ धेरैले मलाई चिन्नुभएको त्यहाँबाट पनि हो ।’

अब ‘द भ्वाइस अफ नेपाल’ को दोस्रो सिजनमा आफू हुने नहुने थाहा नभए जस्तै अगाडिका दिनमा के हुन्छ सनुपलाई थाहा छैन । तर यति थाहा छ, जे हुन्छ संगीतकै वरपर हुन्छ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment