Comments Add Comment
No ads found for this position

कथा : सम्बन्धको रंग

घडीले ६ बजेको अलार्म लगायो । अलार्मभन्दा निकै अगाडि बासेका कुखुराले पनि उसलाई बिउँझाएका त थिए । तर उसले त्यतिखेर उठ्न जरुरत ठानिन अनि घडीकै भर परेर निदाउने चेष्टा गरी र निदाई पनि ।

आज अफिस बिदा । त्यसैले पनि ओछ्यान छोड्न मन लागेको छैन उसलाई । एकछिन ऊ त्यसै ओल्टो कोल्टो गर्दै पल्टिरही । केहीबेरपछि बिस्तारै उठी र लथालिङ्ग भएको कपाल दुई हातले जुरोमा समेट्दै झ्यालमा उभिई ।

राति अबेर भएको थियो रिर्पोट बनाउँदा बनाउँदै । बाँकी छ, उसले पूरै लेखेर सकेकी छैन । निद्राले आँखा खोल्न दिएन । अझ हिजो त ऊ थिएन । ऊ भएको भए त दुई अक्षर पढ्न पनि उसलाई गाह्रो हुन्थ्यो । उसलाई सम्झिनेबित्तिकै अघिसम्म झ्यालको बाहिर देखिएको उज्यालो घामको प्रकाश बादलले ढाकेजस्तै भयो । ती बगैँचाका पूmल हाँस्दाहाँस्दै रोएजस्तै लागे; चिसो हावाले दुर्गन्ध उडाएर नाकमा ठ्वास्स ल्याएको अनुभूति भयो । जीउ सिरिङ्ग भयो ।

यो नैराश्य दिन–प्रतिदिन बढिरहेको छ । उसको सम्झनाले मात्र पनि मनमा बलिरहेको दियो झयाप्प निभेर अन्धकार हुन्छ । हातखुट्टा एकाएक कुँजिएजस्तै हुन्छन् । आफसे आफ मुख सुक्छ ।

साँच्चि तपश्वी कति खुम्चिएर बाँचेकी छ । यो जागिर खान अनुमति दिएको कुरालाई पनि धन्य मान्न बाध्य छे । शायद राम्रो तलब भएकोले लोभिएर त होला । अन्यथा दुईमान्छेसँग उभिएको देख्न नसक्ने विचित्रले कसरी यो ठाउँ–ठाउँ डुलिहिँड्ने पेशा स्वीकाथ्र्यो !

ऊ झ्यालनिर स्टुल राखेर बसी । बार्दलीमा चारो खाइरहेका दुइ–चार जोडी भँगेरा स्टुलको आवाजले भुर्र उडेर बगैँचाछेउको अम्बाको हाँगामा गएर बसे । सोँची– तर्सेर बाँच्न को चाहन्छ ? चारोभन्दा प्रिय स्वतन्त्रता हुन्छ ।

उसले प्रेमविवाह गरेकी एउटा बौद्धिक पुरुष छनौट गरेर । बाबु–आमाको रोजाइमा धेरै परे पनि उसको रोजाइमा मात्र ऊ परेको । न सम्पत्ति न खानदान न जाति न त रूप, मात्र उसले आर्जन गरेको शिक्षा हेरेकी ।

ऊ गोल्ड मेडलिस्ट थियो । पास गरेको एकै वर्षमा उपप्राध्यापकमा नाम पनि निकालेको । वर्षांै सँगै बसेजस्तो, एउटै विचार, मिल्दो बानी आपूmले चाहेजस्तै । साँच्चै कसरी वर्ष दिनसम्म त्यस्तो अभिनयलाई निरन्तरता दिन सक्यो उसले ! बिहेको हातको मेहन्दीसँगसँगै अभिनय पनि फितलिँदै गयो । मेहन्दीको रङ उडेजस्तै खुइलिएर जान थाल्यो सम्बन्धको गाढापन । असली रूपमा त सुन मोरेको फलाम भयो ऊ ।

मानसिक यातना त शारीरिक भन्दा पनि बढि पीडादायक हुदोरहेछ जुन उसले हरेक पल भोगेकी छ । हेराइमा लवाइमा बोलाइमा खालि शँका रोप्छ विचित्र । दाजुभाइ, काका, मामा मित्र सहकर्मी कोही पनि पुरुषसँग बोल्दा मात्र पनि उसलाई जोडेर दोषी बनाइदिन्छ ।यस्ता नाताहरूसँग सँधै टाढिएर कसरी चल्छ जीवन । प्रत्येक पल आरोपित भएर यो सम्बन्धको डोरीमा कति घस्रिइरहनू ।

सानो–साना कुरामा सन्किन्छ ऊ । चियामा कम पत्ती पर्दा होस् अथवा तरकारी पीरो बनिदिँदा यस्तै–यस्तै हुन्छन् निहुँ खोज्ने कारणहरू । ‘ध्यान कोमाथि थियो ? कसलाई सम्झेर बस्दा बिगार्छेस् काम ?’ जतिबेला पनि यिनै वाक्य दोहोर्‍याउँछ ।यो कुनै मानसिक समस्या त होइन विचित्रको । तपस्वीका मनमा एकै चोटि हजारौं विचार आउछन् ।

सरू पोखरेल

एक्कासि सम्झिन्छे उसका धोइदिनुपर्ने कपडा । भरे त्यही कुरामा ऊ झाँेक्किन्छ । हतार–हतार लुगाका चाङबाट उसका मैला कपडा छानेर भिजाउछे ।अरु काम भन्दा पहिले त्यही निप्ट्याउन खोज्छे ।कपडामा लागेका धुलो र दाग पखाल्दै सोच्छे । यो मैलाजस्तै बगेर गए कस्तो हुन्थ्यो विचारमा लागेको फोहोर !

तपश्वीको उत्प्रेरणाले धेरैले न्याय पाएका छन् । हिंसाबाट आफूलाई मुक्त गराएकाछन् । अरुलाई दिने आत्मबल आफ्नो लागि साँच्न सकेकी छैन उसले ।अरुका लागि लठ्ठी बन्न सक्छे तर आफ्ना लागि उभिन गोडा काँप्छन् उसका । ऊ एउटी सामाजिक अभियन्ता हो । तर आफ्नै घरभित्र स्वर भासिन्छ उसको ।

मोवाइल बज्यो । कपडा पखाल्दै गरेका हात पुछेर उठाई । लोग्नेको रहिछ ।

‘घरमा छैनस् कि क्या हो ?’हकारेको आवाज आयो ।

– ‘घरमै हो घरधन्दामा ।’

‘कि अरू नै धन्दामा ?’ नमीठो व्यङ्ग्यले बिझायो, तर ऊ मौन रही ।

‘ल्याण्डलाइन किन उठ्दैन? मोवाइलमा कल हेर्, कति पटक गरेँ !’

‘किन र ?’प्रश्न गरी ।

‘को छ घरमा अरू ?’

‘कहिले को आउने गर्‍या छ र ?..यसपाली अलिकति झर्केर बोली ।

. तपाईं कहिले आउने ?’

उत्तर नदिई फोन काटिदियो ।

शायद आज पनि ऊ आउँदैन । खाली आफ्नो शङ्का निवारणका लागि फोन गरेको उसले ।

उसलाई आमा भेट्न मनलाग्यो । आमाकी ऊ त्यति एक सन्तान । बाबा बितिसकेका । उनी छोरी भेटेपछि छुट्न नपरोस्जस्तो गर्छिन् ।

ओहो, भोलिसम्म त जसरी पनि रिर्पोट बुझाउनुपर्छ । फटाफट घरको काम सकेर आफूलाई रिर्पोटमा योगस्थ बनाई ।

यसपालि ऊ निकै विकट गाउँमा पुगेकी थिई । महिला हिंसाविरुद्ध जनचेतनाको कार्यक्रम लिएर । उसको संस्थाबाट ऊ र स्वयम्बरलेनेतृत्व गरेका थिए । स्वयम्बर उसलाई ‘दिदी’ भन्छ । भन्ने मात्र होइन, दिदी नै मान्छ । उनीहरूले सातदिने कार्यक्रम सकाएर अस्ति मात्र फर्केका थिए ।

उसले सरर रिर्पोट पढी ।आफूले अगाडि बढाएको अभियान प्रति गौरव मानी।उसैका कारण जीवन बदलिएका पात्रहरु एक एक सम्झी । अरूको स्वरलाइ चर्को बनाउन सक्ने उसकोउर्जा आफूसम्म आइपुग्ने बेला सधैँ सेलाउछ । सम्बन्ध बचाउने कोशिसमा आत्मसम्मानलाई पछारेर बाँचेकी छ ऊ ।

‘आमा, म आउँछु एकछिन त्यहाँ ।’ आमालाई फोन गर्छे ।

अरूबेला केही पकाउन जाँगर नगर्ने आमा जब ऊ घरमा भित्रिन्छे अनेक थोकले डाइनिड सजाउँछिन् । पकाइरहन खोज्छिन्, छोरीले खाइरहोस् भन्छिन् । थपक्क आफ्नो अगाडि बसिरहोस् भन्छिन् । ज्वाइँ पनि खोजिरहन्छन् आँखाले । फोनमा अनुरोध गर्न खोज्छिन् । ऊ फोन उठाउँदैन, उठाए पनि बेफुर्सदीको स्वाङ सधैँ गरिरहन्छ । आमा ती पकवान थपक्क पोको पारेर उसका लागि छोरीसँग कोसेली पठाउँछिन् । ती पकवानप्रति कहिल्यै चाख देखाउँदैन ऊ । कहिले खान्छ, कहिले त्यसै डस्टबिनमा फ्याँकिन्छन् ती । आमाको मन राख्न ऊ सधैँ भनिदिन्छे– ‘ज्वाइँले साह्रै मनपराउनुभयो ।’

ऊ गेटबाट भित्रिँदा नै मीठो बास्ना नाकसम्म आइसकेको थियो ।

‘जाडो–जाडो छ । आमा–छोरी बसेर पकौडा खानुपर्छ ।’ पीठो लतपतिएको हात डेक्चीबाट निकाल्दै आमा बोलिन्– ‘अनि ज्वाइँ आज पनि आउन भ्याउनु भएन ?’ आँखाले फेरि ज्वाइँ खोजे ।

अहँ, ज्वाइँको तालिम छ धुलिखेलमा ।’ ऊ यसै बोलिदिन्छे ।

आमा छोरीको जीवनबाट निकै खुशी छिन् । उसले आमाको अगाडि कृत्रिम खुशीले छोपेकी छ लोग्नेसँगको तीतो सम्बन्ध । छातीमा जमेको पीडाको दह आमासामु ऊ कहिल्यै आखाँमा ल्याउँदिन ।

ऊ आज पनि आउँदैन । मनमनै सोँची र ढुक्क बसिदिई आमासँग अबेरसम्म । रातिलाई भने घर छोड्न मन मानेन, ट्याक्सी लिएर फर्की ।

घरको चुकुल भित्रबाट लगाइएको थियो । घडी हेरी, ९ बजेछ । मन ढक्क फुल्यो । आमा भेटेपछि गुलाब फक्रेको उसको मुहार झरीले हानेको पूmलजस्तै भयो । हातखुट्टा लुला भए । बेल बजाई । एक, दुई, तीन पटक लगातार । अहँ, ढोका खुलेन । मोबाइलमा फोन गरी । ल्याण्डलाइनमा गरी । कुनै उठेन । ऊ ढोकाबाहिर सिँढीमा कुकुरजस्तै कुक्रुक्क परेर बसी ।

हातको मोबाइल बज्यो । झस्केर उठाई । आमाको रहेछ ।

‘छोरी पुगिस्? के गर्दै छस् ?’

‘पुगेँ आमा, ओछ्यानमा छु । निद्रा लागेको छ, भोलि बोलौँला !’ आँखामा रोकिरहेका आँसुले बाटो खोजे ।

जाडो र डर दुवैले कपाउँदै थियो उसलाई । शून्य रातमा करीव एक घन्टापछि घरक्क चर्को आवाजले ढोका उघ्रियो । लोग्नेको अनुहार नहेरी भित्र पसी ।

‘थुक्क ! तेरो घर फकर्ने समय यही हो ?’ आँखैले खाऊँलाजस्तो हेर्दै उसले हकार्‍यो– ‘दिउँसो जोसँग थिइस् त्यसकै कोठामा रात बिताए भैहाल्थ्यो नि !’

‘कि म छु भन्ने थाहा पाएर उल्टै खुट्टा फर्कियो ?’ ढोका बन्द गर्नासाथ फेरि थप्यो ।

‘कति मनपरी बोलिराखेको ? म आमाकोमा थिएँ ।’ तपश्वी बोली ।

‘अनि एक हप्तासम्म सँगै घुमेपछि त बानी लाग्यो होला नि नछुट्टिने ?’

‘कोसँग के भनेको हो ?’ उसले दिक्क मान्दै बोली ।

उसले मोबाइलबाट फोन डायल गर्‍यो– ‘आमा, तपश्वी त्यहाँ आएकी छन् र ?’

‘घर पुगेँ भन्थी त बाबु !’ आमाको जवाफ आयो ।

– ‘ए, म घरमा गर्छु, म बाहिर थिएँ आमा, त्यही भएर ।’

विचित्र बिना कारण मुर्मुरिदै बेडरुममा पस्यो ।

‘गल्तीबिनाको सजाय कति सहनु उप्m !’ रसिला आँखा लिएर तपश्वी मनमनै बोली । आफ्नो बितेको जीवन सम्झी । आपूmले अगाडि बढाएको अभियान र कतिका जीवनमा ल्याएको परिवर्तन फेरि दिमागमा आयो ।

भारी मन लिएर सोफामा थचक्क बसी । मोबाइल अन गरी । फेसबुकको भित्तामा उसको हाँसेको फोटो र अरू फिल्डका फोटाहरू पनि स्वयम्बरले ट्याग गरेको रहेछ । कारण यत्ति हो आरोपित हुने, उसले थाहा पाई ।

‘अन्याय सहनु र अन्याय गर्नु एउटै हो ।’ त्यो नारा बुझाउँदै हिँडेर अरूलाई खै आपूmले अपनाएको । आत्मग्लानिले छाती पोल्यो । यति निरीह भएर एक दुइ तीन बाँच्दिनँ । मन मनै अठोट गर्दै जुरुक्क उठी । तुरुन्त ओछ्यानमा पल्टिरहेको लोग्ने सामु उभिई ।

‘अति भयो ।यी गोडा तपाइका लागि पनि हिड्न हुन् मेरा लागि पनि । तपाइ र मेरा आँखा दुवै हेर्नकै लागि हुन् । यो मुख सवैका लागि बोल्नका लागि हो ।यो अँध्यारो रात तपाईं र मेरा लागि फरक छ ? तपाइले विताएका सवै रातदिनको साक्षी म छु ? आजसम्म मैले तिनको सफाइ मागेको छु ? जवाफ दिनुस् ।

। यो कस्तो सम्बन्ध, जहाँ पाइला पाइलामा अविश्वास छ । आरोपित भएर म यो सम्बन्ध सधैँ बचाइरहन सक्दिनँ । ठीक छ, म गलत भएँ तपाईं आफ्नो बाटो लाग्नुस्, म आफ्नो बाटो खोज्छु ।’ उसले सकेसम्मको साहस बटुलेर आजसम्म नबोलेको बाणी बोली ।

विचित्र एकछिन हिउँजस्तै जम्यो । तपश्वी आज उसकी पत्नी होइन, अरू कोही बनेकी थिई ।

“साँच्चै आज उप्रान्त मेरो चरित्रमाथि अनावश्यक आरोप लगाएमा त्यही दिन हाम्रो सम्बन्धको अन्तिम दिन हुनेछ ।’ विचित्रको मौनताको आडमा फेरि थपी उसले । जीवन भर लुकेको आत्मबल मानौं आज प्रस्फुटन भएको छ उसको ।

ऊ सरासर लोग्नेको अनुहार नहेरी बेडरुमबाट निस्की, अनि गेष्टरुमको पलङमा डङ्ग्रङ्ग पल्टिई । मनभित्रको ताप शान्त भएपछि भने उसलाई अलिकति डर लाग्यो । सोँची– अब पक्कै यो सम्बन्ध चुँडिन्छ ।

राति अबेरसम्म बेडरुममा बत्ती निभेको थिएन । उ, पनि छटपटाइरहेकी थिई । सम्बन्ध भत्कनुसँग त उसलाई पीर थिएन, तर आमाको खुशी हराउने कुराको डर थियो । पछि कुनबेला निदाई, पत्तो भएन ।

अबेरसम्म नसुतेकोले बिहान उठ्दा टाउको भारी भएको थियो । उठ्न मन नलागे पनि उठ्नै पर्‍यो ।आज रिपोर्टको डेडलाइन थियो । त्यो रिपोर्टबमोजिम कामको समरी ब्रिफिङ पनि थियो स्टाफ अनि बोर्ड मेम्बरसँग ।

विचित्र बिहानको कक्षा लिन कलेज गइसकेको थियो । ऊ उठेर नुवाइधुवाई गरी । खान मन नभए पनि दुई टुक्रा बिस्कुट चियासँग चोपेर निली । लुगा लगाएर ऐनाअगाडि उभिई, साच्चै के सारो मलिनो अनुहार ! रातो मखमलको ठूलो टीका निधारमा लगाई । अनिदा आँखामा बाक्लोसँग गाजल पोती । रिपोर्ट बोकेर घरबाट निस्की ।

मिटिङ सकियो । उसको नेतृत्व र कार्यको प्रशंसा भयो । छिट्टै अर्को फिल्ड एरियामा पनि उसको नेतृत्वमा समूह पठाउने निर्णय भयो । अरूबेला ऊ फिल्ड जान नपरोस्जस्तो ठान्थी । विचित्रसँग अनुनय गर्नुपथ्र्यो । अनावश्यक घोचपेच सुन्नुपर्ने हुन्थ्यो । तर यसपालि ऊ सबै झेल्ने आँट लिएर बिना तनाव तयार भई ।

स्वयम्बर मोटरसाइकल स्टार्ट गर्दै थियो ।

‘भाइ, मलाई पुर्‍याइदिने हो ?’ निस्कँदै गर्दा उसले भनी ।

अरूबेला कति पटक दिदी सँगै जाऊँ भन्दा अनेक बहानामा तर्कने तपश्वी आज आपैmँ ऊसँग जान खोज्दै थिई ।

‘स्योर दिदी, चढ्नू न !’ अचम्म मान्दै स्वयम्बर बोल्यो ।

‘हेल्लो, तपाईं घरमै हो नि ! म आउँदै छु ।’ लोग्नेलाइ फोन गरी ।

बाटो भरीको लामो जाममा उसले आज एक पटक पनि घडी हेरिन । न आँखा अगाडि आएका अनुहारसँग उसले मतलव गरी । साँझ पर्ने बेला बल्ल स्वयम्बरको मोटरसाइकल गेट अगाडि पुग्यो ।

‘जाऊँ भाइ भित्र, चिया खाऊँ !’ आफू उत्रेपछिघर भित्र पस्न स्वयम्बरलाइ पनि कर लगाई ।

ढोका खुल्लै थियो ।

‘उहाँ भेनाजु, युनिभर्सिटीमा पढाउनुहुन्छ ।’ बैठकमा टीभी हेरिरहेको विचित्र अचम्मित भएर सोफाबाट उठ्यो ।

‘यिनी मेरा भाइ स्वयम्बर, हामी एउटै संस्थामा छौँ ।’

दुवैले हात जोडे । दुई जनालाई बैठकमा छोडेर एउटा गहिरो सास फाल्दै ऊ चिया पकाउन भान्सामा पसी ।

केहीबेर बसेर स्वयम्बर निस्क्यो ।

तपश्वीको मुटुको धडकन तेज भएर आयो । तर उसले त्यो विचित्रलाई महसुस हुन दिइन । ऊ आफ्नो काममा लागी ।

विचित्र केही बोलेन ।

विचित्रको मौनताले भने उसलाई घरी घरी मनमा चिसो बनाइरहेको थियो ।तर उसका खुट्टा कति पनि काँपेका थिएनन् ।

भान्छामा खाना खाउन्जेल पनि चम्चा र प्लेटको आवाज मात्र आयो । धन्दा सकाएर ऊ ओछ्यानमा आउँदा विचित्र हातमा किताब लिएर पल्टिरहेको थियो । ऊ कपडा फेरेर छेउमा पल्टी । पक्कै केही भन्छ अब उसले । एकमनमा त अलिकति डर पस्यो । आ… जे होस्, अब खपेर बस्दिनँ । आफूभन्दा ठूलो सम्बन्ध होइन ।… फेरि उत्तिखेरै सोँची ।

‘सानू, तिम्रो अर्को फिल्ड कहिले अनि कता हो ?’ बत्ती निभाउँदै विचित्रले सोध्यो । शायद यति नरम भएर त ऊ भरखर बिहे भएको बेला मात्र कुरा गथ्र्यो ।

– ‘एक हप्तापछि हुम्लाको मुसिकोट ।’

‘कति दिनको लागि हो नी ?’ ऊ आज जिज्ञासु भैरहेको थियो ।अरुबेला त उ प्रश्न नै गर्दैनथ्यो । तपश्वी एकोहोरो बताइरहन्थी ।

‘दस दिन ।’

‘मेरो पनि एक हप्तापछि पन्ध्र दिन जाडो बिदा छ ।दुर्गम पश्चिम गएको पनि छैन । तिमीलाई अप्ठ्यारो नपर्ने भए मपनि सँगै जाऊँ ? स्वयम्बरले पनि समय मिलेको बेला जाऊँ भिनाजु भन्दै थियो ।’

विचित्रको बाक्यले तपश्वीका आँखा एक्कासी विस्फारित भए ।उसले अध्यारोमा आफ्नो बायाँ हातले दायाँ हातको हत्केलामा धेरैबेर चिमोटिरही ।

हराएर भेटिएकोे बिचित्रको यो रुप कहिलेसम्म टिक्छ ।सोच्दै गर्दा उसका विस्फारित आँखा विस्तारै खुम्चिँदै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment