Comments Add Comment
No ads found for this position
कीर्तिमानी आरोही पेम्बाको सुझाव :

सगरमाथाबाट शव हटाऔं, दुई वर्ष आराम गर्न दिऊँ (भिडियोसहित)

'१५ वर्षअघि मरेका मानिसको शव अहिलेसम्म जस्ताको त्यस्तै'

१७ जेठ, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यमका समाचारको मुख्य शीर्षकभित्र छ । अमेरिका, बेलायत, फ्रान्स र अष्ट्रेलियादेखि भारतका मुख्य सञ्चार माध्यममा सगरमाथाको सकारात्मक र नकारात्मक कोणबाट चर्चा भइरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट सगरमाथा र नेपालकै बद्नाम हुने गरी समाचार सम्प्रेषण भइरहेका बेला सरकारले कुनै औपचारिक प्रतिक्रिया दिइरहेको छैन । बरु एक कदम अघि बढेर नेपाली शेर्पा आरोही नै सगरमाथाको बचाउमा उत्रिएका छन् ।

सगरमाथामा मानव पाइला पुगेको ६६ वर्षको इतिहासमै सबैभन्दा ठूलो संख्यामा यस वर्षको वसन्त ऋतुमा विश्वभरका आरोहीले सगरमाथा शिखरमा पाइला राखेका छन् । शिखरमा पुग्ने बेला ट्राफिक जाम भएको तस्वीर विश्वभर भाइरल भएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान खिचेको थियो ।

सगरमाथामा भीडभाडकै कारण धेरैको ज्यान गएको दाबी गरिए पनि सरकार र सगरमाथाका कीर्तिमानी आरोहीहरुले त्यसको खण्डन गरेका छन् । विश्वभर सगरमाथा र नेपालको सन्दर्भमा अनेक खबर फैलाइएको सन्दर्भमा अनलाइनखबरले कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पासँग वास्तविकता बुझ्ने प्रयास गरेको छ ।

यही सिजनमा एक दिनभित्र दुईपटक सगरमाथा आरोहण गरेका र हालसम्म २० पटक शिखरमा पुगिसकेका कीर्तिमानी आरोही पेम्बा सगरमाथाबाट फर्किएलगत्तै अनलाइनखबरको स्टुडियोमा आइपुगे । उनी हामीसँग कुरा गर्नै लाग्दा अष्ट्रेलियाको एक पत्रिकाले लेख्यो-सगरमाथामा त्रास, लास र फोहोरको चुनौति ।

के सगरमाथा असुरक्षित बन्दैछ ? यो प्रश्न उनीसँग गर्नुअघि पेम्बाले सगरमाथामा कीर्तिमानका नाममा विदेशीहरुले अश्लील हर्कत गर्ने गरेकोमा आक्रोश पोखे । सगरमाथा चर्चाले विश्वका सञ्चारमाध्यम भरिएका बेला सगरमाथामै १० वटा फरक-फरक कीर्तिमान कायम गरेका स्पिड आरोही पेम्बासँग गरिएको भिडियो वार्ताको सम्पादित अंश प्रस्तुत छ ।

मैले अमेरिकाको ग्रीडकार्ड छाडिसकेको छु । धेरै देशले नागरिकता अफर गरे । तर, म बस्न मानिनँ । मलाई मेरै देश प्यारो छ । यही देशमा मैले वर्षमा एक सय जनालाई आरोहणमा रोजगारी दिन्छु । यही माटोमा जीवन बिसाउनेछु

तपाई कहिले फर्किनुभयो सगरमाथाबाट ? छाला त निकै डढेछ नि ?

विगतभन्दा अहिले फरक त भएको छ । जलवायु परिवर्तनले गर्दा एकदमै चाँडै तात्ने,तताउने गरेकाले गर्दा पहिलेभन्दा अलि बढी कालो भइन्छ ।

म अस्ति आइपुगेँ । यो सिजनमा मैले २४ घण्टामा दुईपटक सगरमाथा आरोहण गरेँ । मेरी श्रीमती र मैले सँगै आरोहण गर्‍यौं ।

तपाईले अहिलेसम्म कतिपटक सगरमाथा आरोहण गर्नुभयो ?

मैले यसपालिसहित २० पटक सगरमाथा आरोहण गरेँ । यसक्रममा १० वटा कीर्तिमान पनि कायम गरेको छु ।

अब २० पटकबाट बढाएर अर्को कीर्तिमान पनि बनाउने होला होइन ?

मैले रेकर्ड नै थप्छु भनेर लागेको छैन । म एउटा एजेण्ट हो । सगरमाथा आरोहण गर्ने ग्रुप लिएर जान्छु । गु्रपसँग जाँदा जाँदा नयाँ रेकर्ड बन्न पनि सक्छन् । गु्रप लिएरै जाँदा २० पटक पुगियो ।

यसपाली म आफैं शिखरसम्म पुग्छु भनेर गएको पनि होइन । भिजिट नेपाल २०२० को विशेष टिम थियो । त्यसको टिम लिडर म आफैं हो । नेपाल,चीन र भारतका महिलाहरुको टिमलाई लिड गरेर जाँदा आफैं चढ्नुपर्‍यो ।

सगरमाथामा रेकर्ड राख्ने कुरा विवादमा परेका छन्, हिजो अस्तिमात्र हामीले सरकारी अधिकारीहरुलाई सोध्दा एकाध बाहेक कुनै पनि रेकर्ड सरकारको जानकारीमा छैनन्, ती स्वघोषित रेकर्ड हुन् भनेका छन् । रेकर्ड राख्नेबारेमा सरकारलाई जानकारी गराउनुपर्ने भन्ने कुरा सही हो ?

सरकारको यो भनाइसँग म सहमत छु । मैले यसअघि रेकर्ड राख्दा यो ग्रुपबाहेक यो सिजनमा मैले नयाँ रेकर्ड बनाउन चाहान्छु भनेर सरकारलाई जानकारी गराएरै गएको थिएँ ।

कोही आरोहीले चाहिँ बेसक्याम्पमा पुगिसकेपछि आफ्नो अनुकुल हेरेर रेकर्ड बनाउने भन्छ । त्यसलाई सरकारले मान्यता दिनुहुँदैन । हामीले चाहिँ यस्तो रेकर्ड बनाउछु भनेर पर्यटन बिभागमा निवेदन लेखेर दिन्छौं । त्योमात्र आधिकारिक हो ।

रेकर्डकै सन्दर्भमा कुरा गर्दा सगरमाथामा रेकर्डको होडबाजी नै चल्ने गरेको छ, बिहे गर्नेदेखि नांगा फोटो खिच्ने सम्मका गतिविधि भए, तपाई आरोहीको हिसाबले यस्ता क्रियाकलापलाई शिखरमा पुगेपछि हुने स्वभाविक गतिबिधिका रुपमा लिनुहुन्छ कि गलत क्रियाकलाप हुन् रोक्नुपर्छ भन्नुहुन्छ ?

यो त सरासर गलत प्रवृत्ति हो । सगरमाथाको टुप्पामा गएर जथाभाबी गर्न दिइनुहुन्न । हिमाल भनेको हाम्रो भगवान पनि हो । हाम्रो देउताको टुप्पोमा गएर त्यस्ता क्रियाकलाप गर्नेलाई कारवाही गर्नुपर्छ ।

हाम्रो सरकारको कमजोरी हो । पर्यटन मन्त्रालयले पठाएका सम्पर्क अधिकृतहरु आधार शिविरसम्म आउँदैनन् । उनीहरु आधार शिविरमा नआएका कारण पनि यस्ता हर्कत हुने गरेका छन् ।

तपाई त आरोहीहरुलाई लिएर जानुहुन्छ, टुप्पोमा पुग्दा धेरै नै खुसी भएर बेहोसीको अवस्थामा गरेका क्रियाकलापका रुपमा पनि त लिन सकिएला नि ?

त्यस्तो रुपमा लिन सकिन्न । सरकारले छुट दिनुहुन्न । सगरमाथाको नाममा कुनै गलत क्रियाकलाप गर्न पाइदैन । यसमा हामी कठोर हुनुपर्छ ।

सगरमाथामा खिचिएको ट्राफिक जामको फोटो पनि भाइरल बन्यो, यो स्वभाविक हो कि सधैं हुन्थ्यो कि यसपाली भएको हो ?

कुनैकुनै ठाउँमा लासमाथि टेकेर जानुपर्ने अवस्था छ । यो हाम्रा लागि नयाँ कुरा होइन

यो भीड स्वाभाविक हो । किनभने हाम्रो नेपालमा मौसमको रिपोर्ट सही हुन्न । आधार शिविरमा बसेका हामी सबै आरोही मौसमसम्बन्धी रिपोर्ट कुरेर बसेका हुन्छौं । हामीले विदेशीको मौसमसम्बन्धी रिपोर्ट कुर्ने हो । सबैलाई मौसम राम्रो भएको दिन चढौं भन्ने हुन्छ नि त । सरकारले यो दिन चढ भनेर जाने कुरा त भएन ।

मान्छेको ज्यान जोखिममा हुन्छ । मौसमसम्बन्धी रिपोर्टले गर्दा यस्तो जाम भएको हो । फोटो त सबैले क्यामेरा बोकेको हुन्छ । मसँगै ट्राफिक जामका फोटो सयवटा भन्दा बढी छन् । खासगरि मौसमका कारण जाम भएको हो ।

तपाईको मतलव, यस्तो जाम पहिले पनि हुन्थ्यो ?

पहिले पनि भीड त हुन्थ्यो । तर, यसपालि चाहिँ आरोहीको संख्या नै अत्यधिक भयो । इतिहासमै धेरै आरोही सगरमाथा पुगे । त्यो जाममा म आफैं दुई घण्टा परेँ । अब कसलाई भन्न जाने ? यस्तै हो हेर्नुस ।

जाममा धेरै परियो भने के हुन्छ त्यहाँको अवस्था ?

धेरैबेर जाममा पर्दा खतरा त हुन्छ नै । राम्रो टिम लिडर गाइड छैन भने जे पनि हुनसक्छ । त्यो गाइडले सिकाउनुपर्छ, यदि जाम भयो भने हात खुट्टा चलाइरहनुपर्छ,एकैठामा थचक्क बस्नुहुदैन । जिउ चलाइरहनुपर्छ, त्यसो गरेमा मात्र जिउ तात्छ ।

यसपालि धेरै मानिसको मृत्यु भएको छ, किन यस्तो भइरहेको छ ?

म शुरुमै के भन्न चाहान्छु भने, ट्राफिक जामले मान्छे मरेका होइनन् । मौसमसम्बन्धी रिपोर्ट के थियो भने,१६ र १७ बाटो राम्रो थियो । तर ती दुवै दिन हावा धेरै चल्यो । मान्छे माथि गएनन् । त्यसपछि २२ र २३ मा दिन राम्रो भयो । त्यसैले धेरै मान्छे त्यहि दिन जाँदा पनि जाम भएको हो ।

तपाईहरु जाँदा आउँदा मान्छेका शवहरु देखिए ?

शव त सगरमाथामा सधैं भेटिन्छन् । वर्षौंदेखिका लास हुन्छन् ।

जाँदाखेरि मैले बाटोमा लास देखिनँ । तर, फर्किदा दुई तीनवटा लास बाटोमा थिए । एकदुई जनालाई त हामीले जिवितै उद्दार गरेर ल्यायौं । तर, तल क्याम्पमा पुगेपछि बिहान मरिसकेछन् । अलिकति लापरवाही पनि छ ।

कुनैकुनै ठाउँमा लासमाथि टेकेर जानुपर्ने अवस्था छ । यो हाम्रा लागि नयाँ कुरा होइन । नेपाल तर्फको साइडमा धेरैलाई रेस्क्यु गरेर लासहरु तल झार्ने गरिन्छ । चाइना साइडमा त ८ हजार ३ सय मिटरमाथि लागिसकेपछि पाँच/छ वटा लासमाथि टेकेर जानुपर्ने अवस्था छ ।

लासको व्यवस्थापन गर्ने भन्ने कुरा कठिन छ । ८ हजार ५ सय मिटर माथिका लासहरु तल बेस क्याम्पसम्म ल्याउन १ करोडभन्दा बढी खर्च हुन्छ । अब १ करोड रुपैयाँ त्यसको परिवारले तिर्न सक्नुपर्छ । कि त विमा कम्पनीले व्यहोर्नुपर्ने हुन्छ ।

विमा कम्पनीको पनि एकदमै लापरवाही छ । लासको व्यवस्थापनमा केही सोच्नुपर्छ । सरकारले पनि टाइट गर्नुपर्छ । यस्तो तरिकाले सगरमाथा छाडियो भने त अहिले फोहोरले भरिएको छ, पछि लासले नभरिएला भन्न सकिन्न ।

लासको व्यवस्थापनमा केही सोच्नुपर्छ । सरकारले पनि टाइट गर्नुपर्छ । यस्तो तरिकाले सगरमाथा छाडियो भने त अहिले फोहोरले भरिएको छ, पछि लासले नभरिएला भन्न सकिन्न

तपाईको भनाइले त यही हिसाबले जाने हो भने सगरमाथा हजारौं मान्छेको चिहान बन्ने भयो ?

हो त्यस्तो सम्भावना छ । यसपालिकै कुरा गर्नुहुन्छ भने सगरमाथासहित हिमाल आरोहणमा जाने २२ जनाको मृत्यु भइसकेको छ । कतिपय मृत्युको यकिन विवरण आउन बाँकी छ । वर्षैपिच्छे यसरी मर्ने हो भने यसको सन्देश त गलत जान्छ । पर्यटनमै असर पर्न सक्छ ।

यसका लागि के गर्ने त ?

यसका लागि के गर्ने भने, सबैभन्दा पहिले त आरोहणमा जानेको राम्रोसँग स्वास्थ्य परीक्षण हुनुपर्‍यो । डाक्टर रिपोर्ट नक्कली बन्ने गरेका छन् । यसमा पनि अलि कडाई गर्नुपर्छ । लापरवाही गर्ने डाक्टरलाई कारवाही गर्नुपर्छ ।

तर, मेडिकल मात्रै होइन, शेर्पा गाइडले पनि लापरवाही गर्ने गरेको आरोप पनि छ नि ?

शेर्पा नै भन्दा पनि कम्पनी ठूलो हो । कम्पनीले कुनचाहिँ आरोही सदस्यका लागि कुन गाइड ठीक छ भनेर छान्नुपर्ने हुन्छ । कम्पनीमा शेर्पा हुन्छ, तामाङ, राई, बाहुन क्षेत्री पनि हुन्छन् । तर, गाइड भनेपछि शेर्पा भन्ने चलन छ । यसले त शेर्पा जातिकै बदनामी भयो ।

पहिला हामी सगरमाथा आरोहण शुरु गर्दा हामीले एक डेढ लाख कमाउन मुस्किल थियो । अहिले अन्तर्राष्ट्रिय गाइडहरु पनि बढेका कारण पैसा धेरै लाग्छ । एउटा कम्पनीले मलाई गाइड छान्नुपरेमा मेरो रेट २० देखि २५ लाख छ । भनेपछि पैसामा बार्गेनिङ छ क्या !

राम्रो गाइडले धेरै पैसा माग्ने र कम्पनीले दिन नसक्ने भएपछि लोकल गाइडहरु पठाउँछ त्यसकारण पनि धेरै मान्छे मर्ने सम्भावना बढ्यो ।

सगरमाथामा फोहोर व्यवस्थापनभन्दा पनि शव व्यवस्थापन चुनौतिपूर्ण बनेको हो ?

सगरमाथामा योभन्दा १२/१३ वर्षअघि हामीले चार वर्षसम्म सफाइ गर्‍यौं । हामीले त्योबेला जापानी आरोहीसहित मिलेर चार/पाँच टन फोहोर ल्यायौं । अहिले सरकारले सगरमाथा सफाइका नाममा बजेट छुट्याउने गरेको छ । तर, त्यसमा पनि राजनीति भइरहेको छ । बजेट बाँडेर खाने प्रवृत्ति छ ।

सगरमाथामा साँच्चै फोहोर संकलन गर्ने हो भने एक डेढ सयजना आरोही खटाउनुपर्छ । साँच्चिकै सगरमाथा सफा गर्ने हो भने सगरमाथालाई एक दुई वर्ष रेस्ट दिनुपर्छ ।

सगरमाथालाई किन आराम दिने ?

किनभने, सगरमाथा चढ्ने र फोहोर टिप्ने एकै सिजन हुन्छ । चढ्नेहरु अगाडि जान्छन् र फोहोर टिप्ने पछाडि जान्छन् । सगरमाथा आरोहण अनुमति अगाडिनै एक डेढ सयजनाको सफाइ टिम बनाउनुपर्छ । बरु आरोहण रोक्न सकिँदैन भने पनि सफाइ गु्रप पठाउने गर्नुपर्छ ।

आधार शिविरदेखि क्याम्प ३ सम्म सफा गर्नुपर्छ । फोहोर सबैभन्दा बढी क्याम्प २ देखि क्याम्प ४ सम्म छ । त्यहाँ सबै फोहोर संकलन गर्ने हो भने दश बाह्र टन होला । आधार शिविरमा त फोहार नै छैन नि । त्यहाँ त सफा गरिन्छ ।

सगरमाथा आरोहणका सामान्य अवधि कति हो ?

बेसक्याम्पबाट माथि समिटबाट फर्किने समय भनेको एक साता हो ।

छुटेका शवहरु के हुन्छन् ?

सगरमाथा, गौतम बुद्ध र पृथ्वीनारायण शाहचाहिँ कहिल्यै छुटाउनुहुँदैन । पृथ्वीनारायण शाह छैन भने हाम्रो नेपाल अहिले हुन्थ्यो ? नेपाल बनाउने त पृथ्वीनारायण शाह हो नि । देश बनाउने राष्ट्र निर्माता हो भनेर मैले पृथ्वीनारायणको शालिक माथि लिएर गएँ

बाटोमा लास गायव पनि हुँदैनन् । आजभन्दा १५/१६ वर्षअघि मरेका मान्छेका लास पनि बाटोमा भेटिन्छन् । मान्छे जस्ताको त्यस्तै देखिन्छ । अझ कस्तो पनि देखेको छु भने हिमालमा मरेका मान्छेका नङ र कपाल पलाइरहने हुँदोरहेछ ।

आरोहीहरु अक्सिनजनको कमीले मर्ने भनेको गाइडको कमजोरीले हो । गाइड नयाँ भएर पनि अक्सिजन सकिएर मान्छे मर्ने हुन्छ । अक्सिजन एक एक पिस आफूूलाई पुग्ने मात्र बोकेको हुन्छ । कसैलाई दिन सकिन्न ।

सगरमाथा टुप्पोमा पुग्ने भनेको मृत्यु जितेर जाने । अहिले त ब्यानर र झण्डा बोकेर जाने, झण्डा तथा ब्यानर फालेर फोटो खिचेर आउने प्रचलन छ । मैले पर्यटन मन्त्रालयमा भनेको छु ब्यानर फाल्नेलाई पनि कारवाही गर्नुपर्छ ।

तपाईले पनि त पृथ्वीनारायण शाहको शालिक लगेर गाड्नुभएछ नि ?

मैले पृथ्वीनारायणभन्दा अघि गौतम बुद्धको मूर्ति लगेर गएको थिएँ । किन लगेको भने सगरमाथाको टुप्पो भन्ने प्रमाण भेटिन्न क्या त्यहाँ । टुप्पो हो कि होइन भन्ने थाहा होस् भनेर बुद्धको मूर्ति राखेको थिएँ ।

कतिपय मान्छेले मसँग बकाइदा प्रमाण छ, सगरमाथै नचढेर प्रमाणपत्र लिने मान्छे पनि धेरै छन् । मन्त्रालयले माग्यो भने म प्रमाण दिन सक्छु । शिखरमै नपुगी फर्किएर शिखरमा पुगेँ भन्ने पनि छन् । त्यसैले सरकारलाई मात्रै किन दोष दिने भनेर मैले शिखरमा बुद्धको मूर्ति लगेर राखेको हो ।

मैले २००९ मा बुद्धको मूर्ति स्थापना गरेको थिएँ । तर, त्यो लगभग पुरिएर अलिकति टुप्पोमात्रै देखिने भएछ । मूर्ति पुरिएपछि मैले पृथ्वीनारायणको शालिक नै लगेर स्थापना गरेको हुँ ।

मेरो विचारमा सगरमाथा, गौतम बुद्ध र पृथ्वीनारायण शाहचाहिँ कहिल्यै छुटाउनुहुँदैन । पृथ्वीनारायण शाह छैन भने हाम्रो नेपाल अहिले हुन्थ्यो ? नेपाल बनाउने त पृथ्वीनारायण शाह हो नि । देश बनाउने राष्ट्र निर्माता हो भनेर मैले पृथ्वीनारायणको शालिक माथि लिएर गएँ ।

पछि गएर अब यो जनजाति नेताहरुले चाहिँ पृथ्वीनारायण कसको जनजातिको नाक कान काट्यो रे भन्ने कुरा पनि आयो । त्यो कान काट्यो, नाक काट्यो भन्ने बेला म जन्मेको पनि छैन र मलाई थाहा पनि छैन ।

पृथ्वीनारायण शाहको शालिक कसरी त्यहाँ राख्नुभयो ?

यो सबै वाहियात दावी हुन् । अहिलेको जमानामा यति भेटिने भनेको त हावादारी कुरा हो । कहाँ पाउँछ अहिले यति ? योभन्दा ७० वर्षअघि तेन्जिङ शेर्पा, एडमण्ड हिलारीको पालामा त यतिको अस्थित्व भेटिएको थिएन भने अहिले देखियो भन्ने हावा कुरा हो

पृथ्वीनारायण शाहको शालिक ५ फिटको थियो । चुचुरोमा पुगेपछि २ मिटर तलसम्म चट्टानमा गाडेर मैले त्यहाँ ठड्याएको छु ।

एक सिजनबाट अर्को सिजनमा जाँदा त हिउँले पुरिसक्छ होला नि ?

छैन । पुरिएको छैन । मैले जस्तो लगेर गाडेको त्यस्तै छ । सगरमाथाको टुप्पोमा मैले १८ वर्षअघि चढेको र अहिलेको बीचमा खासै हिउँ तलमाथि बढेको वा घटेको देखिएको छैन । हिउँले पुरिने भन्ने पनि छैन र पग्लिन त सम्भव नै छैन । बरु हावाले हिउँ उड्छ ।

दुई फिटको खाल्डो खनेर राखुन्जेल त धेरै समय लाग्यो होला नि, सगरमाथाको टुप्पोमा कति समयसम्म बस्न सकिन्छ ?

म आफैं चाहिँ साढे २ घण्टासम्म टपमा बसेको छु । त्यो दुई फिट खन्न त त्यति पनि समय लागेन ।

त्यो टुप्पैमा चाहिँ एकपटकमा कतिजना मान्छे बस्न सक्छन् ?

टुप्पैमा चाहिँ चार/पाँचजना मात्रै बस्न सक्छन् । तर, त्यो भन्दा अलिकति तलतिर १५/२० जनासम्म उभिन सक्छन् ।

धेरैवटा हिमाल आरोहण गर्नुभयो, सबैभन्दा कठिन क्षण सम्भिmनुपरेमा कुन क्षणलाई सम्झिनुहुन्छ ?

मेरा लागि सगरमाथा चाहिँ कहिल्यै कठिन रहेन । बरु एकपटक आमादब्बलममा चाहिँ अब मरियो भन्ने अवस्था आएको थियो । २०१३ मा हामी १० जना आरोहीलाई सरकारले सद्भावना दूत बनाएपछि हामी जनवरी १४ मा गयौं ।

हामी साँझ साढे ६ बजे टपमा पुगेका थियौं । दुईजना आरोही बाटोमा हिँड्न सकेनन् । एकजनालाई लिएर आउँदा आउँदै क्याम्प ३ भन्दा माथिको पाखामा आइसकेपछि आँखा बन्द भए । केही पनि देख्न सकिनँ । त्यो विन्टर सिजनमा आमा दब्लम हिमाल रातभरि बस्नुपर्दा के होला ?

मैलेचाहिँ अब मरेँ भनेर आफैंलाई माया मारेको थिएँ । आँखा देख्न छाडे पनि जिउमा सास हुन्जेल प्रयास त गर्नुपर्‍यो । एक झमट पनि ननिदाइकन हातखुट्टा चलाइरहेँ । एउटा झोला मुनि ओछ्याएँ, अर्को माथि राखेँ ।

विहान ५ बजेतिर झकाएँछु । तर बिहान ७ बजेतिर घाम लागेपछि हल्का तातो आयो र आँखा पनि विस्तारै खुले । त्यो क्षणचाहिँ म कहिल्यैं बिर्सन्न ।

तपाईले धेरै हिमालको आरोहण गरिसक्नुभएको छ, हालै भारतीय सेनाले मकालु हिमालमा यतिको पाइला भेटिएको भनेर भारतीय न्युज च्यानलमा ठूलो न्युज पनि बन्यो । तर, नेपाली सेनाले यति होइन भनिसकेको छ । तपाईले हिमाल आरोहणका क्रममा यतिको कुनै अस्थित्व भेटाउनुभएको छ ?

मेरा भाइ, बहिनी, श्रीमती सबैले चढिसके । मेरी श्रीमती कान्छीमाया तामाङ र मैले संयुक्त रुपमा पनि रेकर्ड कायम गरिसकेका छौं

यो सबै वाहियात दावी हुन् । अहिलेको जमानामा यति भेटिने भनेको त हावादारी कुरा हो । कहाँ पाउँछ अहिले यति ? योभन्दा ७० वर्षअघि तेन्जिङ शेर्पा, एडमण्ड हिलारीको पालामा त यतिको अस्थित्व भेटिएको थिएन भने अहिले देखियो भन्ने हावा कुरा हो ।

यतिका बारेमा कुनै प्रमाणित कुरा पनि छैनन् । हिमचितुवा भन्ने कुरा त जहाँ पनि छ । हिमचितुवा देखिनु नयाँ होइन । तर, यतिको पाइलाचाहिँ आजसम्म कहिँ देखिएको छैन ।

मैले हिमालमा धेरै पाइला देखेको छु तर यतिका होइनन् । मैले यतिको रियल खुट्टा मुस्ताङमा देखेको छु । टाउको नाम्चेको खुम्जुङको गुम्बामा देखेको छु । हिमालमा यतिको अस्थित्व छैन भन्न सक्छु म अहिले ।

तपाईले सगरमाथामा करीव एक दर्जन कीर्तिमान बनाइसक्नुभएको छ, अब के गरौं भन्ने रहर छ त्यहाँ ?

मेरो खासै कुनै रहर छैन । कीर्तिमान बनाउन भनेर चढ्ने पनि होइन । परिवार पालनका लागि हिमालमा जाने हो । एउटा रहर चाहिँ थियो, एकै परिवारका सबैभन्दा धेरै सदस्यले आरोहण गरेको रेकर्ड बनाउने । त्यो पनि अघिल्लो वर्ष पूरा भइसकेको छ ।

मेरो घरका ७ जना सदस्यले सगरमाथा चढिसक्यौं । मेरा भाइ, बहिनी, श्रीमती सबैले चढिसके । मेरी श्रीमती कान्छीमाया तामाङ र मैले संयुक्त रुपमा पनि रेकर्ड कायम गरिसकेका छौं ।

अब म ५ वर्षजति हिमाल चढ्छु । त्यसपछि सामाजिक काममा लाग्ने योजना बनाएका छौं । अहिले पनि हामीले २६५ बालवालिकालाई पढाइरहेका छौं । अब ती बच्चालाई पढाएरमात्र होइन, उनीहरुको पनि भविश्य हेर्नुपर्छ भनेर लागेका छौं ।

धेरैजसो आरोही चाहिँ हिमाल चढ्न छाडेपछि अमेरिकातिर सेटल हुने गर्छन्, तपाई चाहिँ सामाजिक काममा लाग्ने ?

म अमेरिकामा गएर फर्किएको मान्छे । मलाई अमेरिका मन पर्दैन । अमेरिकाचाहिँ मानव अधिकार भएको देश भन्छन्, तर बसेर काम गर्न पनि नपाइने । उठेको उठ्यै गर्नुपर्छ ।

मैले अमेरिकाको ग्रीडकार्ड छाडिसकेको छु । धेरै देशले नागरिकता अफर गरे । तर, म बस्न मानिनँ । मलाई मेरै देश प्यारो छ । यही देशमा मैले वर्षमा एक सय जनालाई आरोहणमा रोजगारी दिन्छु । यही माटोमा जीवन बिसाउनेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment