Comments Add Comment
No ads found for this position

नेपाली चलचित्रको दुःख- खोट सिर्जनामा, दोष समीक्षकलाई !

हान्स क्रिश्चियन एन्डरसनको एउटा घतलाग्दो कथा छ । एक राजा थिए, फेसनेवल । नयाँ ढाँचाको लुगामा ठाँटिन रुचाउँथे ।

राजाको यहि सोख बुझेर दुई ठग दरबार पुगे । उनीहरुले राजाको चाकडी गर्दै भने, ‘हजुर, हामी अत्यन्तै सुन्दर पहिरन तयार गर्न सक्छौं ।’ राजालाई उनीहरुले यो पनि भने कि उक्त पहिरन ‘मूर्खहरुले देख्न सक्दैनन् ।’

राजा त्यस्तो पहिरन लगाउन आतुर भए । ठगहरुले रातभर तान चलाएझै गरे । लुगा बुनेजस्तै गरे । पहिरन तयार भयो । त्यहाँ उपस्थित सबैले पहिरन खुबै राम्रो भएको भन्दै तारिफ गरे । राजाले आफ्नो सबै पहिरन उतारे । सर्वाङ्ग भए । ठगहरुले नयाँ पहिरन लगाइदिए । अर्थात पहिरन लगाइएको नाटक गरियो ।

राजाको नयाँ पहिरनबारे शहरभरी हल्ला फैलियो ।

राजालाई आफ्नो पहिरन रैतीलाई देखाउने रहर जाग्यो । जसै उनी शहरमा निस्किए, ठूलो भिडले राजाको पहिरन खुबै राम्रो, आकर्षक, सुहाउँदिलो भएको भन्दै तारिफ गरे । किनभने उनीहरु ‘मूर्ख बन्न’ चाहँदैनथे ।

राजाको सवारी अगाडि बढ्दै गयो । त्यहीबेला भिडबाट एक बच्चा चिच्याए, ‘हेर त हेर राजा नाङ्गै छन् ।’

****

३ सय ६५ दिनमा १ सयको हाराहारी नेपाली चलचित्र प्रदर्शन हुन्छन् । त्यसमध्ये आधा दर्जनले लगानीको लाभांश उठाउँछन् । फिल्मी–अंकगणितले ‘ब्लकबस्टर’ भनिदिएका यस्ता सिनेमा गुणमापनको तराजुमा भने प्राय हलुंगा हुन्छन् ।

छक्कापञ्जा–३, नाइ नभन्नु ल–५, ए मेरो हजुर–३ यस्तै ‘हलुंगा’ सिनेमा हुन्, जसलाई वजनदार बनाउने कन्टेन्ट र क्राफ्ट छैन । तैपनि उनीहरुको हुंकार यस्तो हुन्छ मानौं, सर्वश्रेष्ठ, सर्वप्रिय, सर्वकालिन सिनेमा हुन् ।

जबकी ती सिनेमाको आवरण उँधिनेर हेर्दा ‘आहा !’, ‘गज्जब’ भन्ने केही पाइँदैन । बेढंगको अनुहार र विचित्रको हुलिया बनाएर हँसाउने चेष्टा सिवाय । यत्तिकै भरमा दर्शकले बलजफ्ती हाँस्नुपर्ने हुन्छ । र, थम्स अप गर्दै भन्नुपर्ने हुन्छ, ‘फिल्म त बबाल छ ।’

****

नेपाली सिनेमा अहिले दुई मान्यतालाई छाँद हालेर दौडिरहेको छ । एक, मनोेरञ्जन भनेकै हाँसोठट्टा । दुई, बक्स अफिस नै सफलताको मानक ।

दुबै मान्यतालाई शिरोपर गर्दै निर्माता–निर्देशकहरु भ्रम पाल्छन्, ‘हामीले सिनेमा नबनाए दर्शकले के हेर्छन् ? प्राविधिकले के खान्छन् ? कलाकारले के गर्छन् ? पत्रकारले के लेख्छन् ?’

यही दम्भ र अल्पज्ञानले गर्दा ६ दशक लामो अभ्यासपछि पनि नेपाली सिनेमाले आफ्नो लयमा वेग मार्न सकेको छैन । बरु यहाँ त लटपट सिनेमा निर्माण गर्ने र झटपट द्रव्यलाभ लिने दाउपेच चल्छ । सिनेमा बनाउने भन्दा चलाउने कसरत बढी हुन्छ ।

आफूले बनाएको सिनेमाप्रति उनीहरु विश्वस्त हुँदैनन् । ढुक्क हुँदैनन् । जसै प्रदर्शनको मिति नजिकिन्छ, कथित मिडियाकर्मी गुहारिन्छ । र, प्रायोजित खबर फैलाइन्छ, ‘फलानो सिनेमाको बम्पर ओपनिङ ! अहिलेसम्मकै रेकर्ड तोडियो ।’

****

रचनात्मक एवं आकर्षक ढंगले गरिने ‘पब्लिसिटी’ले दर्शकलाई सिनेमाप्रति जगरुक र उत्सुक बनाउँछ । नियोजित ‘प्रचारबाजी’ले दर्शकलाई झुक्याउँछ । यो गलत अभ्यास हो ।

हाँसो–ठट्टा मात्र मनोरञ्जन होइन, हाँसो–रोदन, भाव–आवेग, त्रासदी, करुणा, प्रेम, आश्चर्य, विस्मय सबै मनोरञ्जनकै तत्व हुन् । मनोरञ्जनको मूल्यलाई खुम्च्याएर चुट्किला र चटकमा रमाउनु चाहि दोष हो ।

यस्तै झुटो वचन हो, ‘सिनेमा दर्शकका लागि बनाउँछु’ भन्नु पनि ।

‘सिनेमा कसका लागि बनाउने ?’ भन्ने प्रश्नले निर्देशक–निर्माताको नियत निर्वस्त्र बनाइदिन्छ । उनीहरु रेडिमेड जवाफ फर्काउँछन्, ‘दर्शकका लागि ।’

झट्ट सुन्दा त यो जवाफ प्रिय लाग्छ । तर, दिमाग लगाएर मनन गर्ने हो भने यसले जवाफकर्ताको नियत र चेत दुबै गडवड रहेको प्रष्ट पार्छ ।

‘दर्शकका लागि सिनेमा बनाउँछु’ भन्नु दुरुस्त त्यस्तै हो, जस्तो कि ‘ग्राहकको लागि चटपटे बनाउँछु’ भन्नू । यसो गर्दा दर्शकको रुची र मर्जी अनुसार निर्देशकले आफ्नो इन्द्रीय चलाउँछ । यतिबेला निर्देशक एक स्वच्छन्द सर्जक नभई बजारमुखी उत्पादक हुनपुग्छन् ।

दर्शक उनको उपभोक्ता वा ग्राहक । सिनेमा उनको विकाउ माल ।

यसले सिनेमाको मर्म, मूल्य, सौन्दर्य, सामथ्र्य सबै विलुप्त हुन्छ । जब यही दोष वा त्रुटी केलाउन थालिन्छ, निर्माण टिम इतरका भलाद्मी हुल बाँधेरै अर्ती–उपदेश दिन, कुन्ठा पोख्न, सत्तो–सराप गर्न उद्दत हुन्छन् ।

****

‘समीक्षकले गरेको समीक्षाको कारण दर्शक भड्किए’ निर्देशक दीपाश्री निरौला आक्रोस पोख्छिन् ।

‘ए मेरो हजुर–३’ को कमी–कमजोरी औंल्याएपछि निर्देशक झरना थापा कुर्लिन्छन्, ‘दुई–चार वटा अनलाइन र पत्रिकाले नराम्रो रिभ्यु लेख्दैमा मलाई केही फरक पर्दैन ।’

उनी थप्छिन्, ‘मैले चलचित्र बनाइन भने मलाई त केही हुनेवाला छैन । ससुराको टन्न सम्पत्ति छ, सुतेरै खान पुग्छ । तर, विचरा प्राविधिकहरुको हालत के हुन्छ ? दर्शकले के हेर्छन् ? तपाईंहरुले के लेख्नुहुन्छ ?’

एक टर्किस चलचित्रको नक्कल गर्दै बनाइएको ‘लभ स्टेशन’ लाई उदांगो बनाइएपछि नायक प्रदीप खड्का आवेग पोख्छन्, ‘समीक्षकहरु हामीलाई ध्वस्त बनाउन लागिपरे ।’

सोही चलचित्रका निर्देशक उज्वल घिमिरे भन्छन्, ‘राइटरले १० वटा फिल्म हेरेर कपी गर्छन् भने हामीले किन कपी नगर्ने ?’

यस्ता बुझाईलाई मलजल गर्दै अर्का पुराना निर्देशक प्रकाश सायमी यसरी ठोकुवा गर्छन्, ‘सिनेमा चल्न नदिने तीन जात छन्, सिनेमा हलका माफिया, अर्धबौद्धिक फिल्म समीक्षक र नेपाली सिनेमाभन्दा विदेशी सिनेमा हेर्ने एलिट क्लास ।’

समीक्षक–फोबिया

सिनेमा नचल्नुको दोष समीक्षकको थाप्लोमा थोपरिदिने दुषित प्रवृत्ति मौलाएको छ । अब त उनीहरु भन्न थालेका छन्, ‘हाम्रो सिनेमा समीक्षकका लागि होइन । समीक्षकलाई मन नपर्न सक्छ है ।’

एउटाले कनिकुथी सिनेमा बनाउँछ, अर्कोले झ्याली पिटेर स्तुती–गान गाउँछ । दुबैथरीको एउटै ध्येय हो, भ्रमको चश्मा लगाइदिएर दर्शकलाई हलसम्म तान्ने ।

सिनेमालाई सिर्जना एवं रचनात्मक विधा स्वीकार गर्ने हो भने यो एक सर्जकको निजात्मक रचना हो, जुन समर्पण, साधना र शिल्पको आलोकमा उभिएर निर्माण हुन्छ ।

यसरी बनाइने सिनेमाप्रति मेकर्स इमान्दार हुन्छन्, विश्वस्त हुन्छन्, उत्साहित हुन्छन्, निर्धक्क हुन्छन् । अतः उनीहरुका लागि समीक्षा स्वतस्फूर्त र भरपर्दो ‘पब्लिसिटी’को माध्यम बनिदिन्छ । यस्तो अवस्थामा समीक्षकले जति तात्तातो समीक्षा गरिदिन्छ, सिनेमा उत्ति लाभान्वित हुन्छ । प्रदीप खड्काले भनेजस्तै ‘प्रदर्शन भएको एक हप्तापछि समीक्षा गर्ने’ पालो पर्खनु पर्दैन ।

समीक्षा र समीक्षकप्रति यहाँ चलचित्रकर्मीको दृष्टिदोष छ । दीपकराज गिरी बारम्बार भन्ने गर्छन्, ‘समीक्षकले मनोरञ्जनात्मक सिनेमा मन पराउँदैनन् ।’ मनोरञ्जन नै सिनेमाको पहिलो सर्त हो भने यसलाई अलग गरेर समिक्षकले कुन चश्माले सिनेमा हेर्छ ?

दीपकराज गिरीहरुले पो बुझ्नुपर्ने कुरा, हाँसो–ठट्टा मात्र मनोरञ्जन होइन, हाँसो–रोदन, भाव–आवेग, त्रासदी, करुणा, प्रेम, आश्चर्य, बिस्मय सबै मनोरञ्जनकै तत्व हुन् । मनोरञ्जनको मूल्यलाई खुम्च्याएर चुट्किला र चटकमा रमाउनु चाहि दोष हो ।

यस्तै दोष र गुणलाई केस्रा–केस्रामा केलाउनु समीक्षकको प्राथमिक कर्म हो । समीक्षकको धन्दा सिनेमाको स्तुती–गान गुञ्जाउनु होइन । दर्शक र समग्र सिनेमा उद्योगलाई जागरुक र सतर्क गराउनु हो । यसका लागि जति सक्दो चाँडो समीक्षा गरिदिनु समीक्षकको दायित्व हो ।

सिनेमा चल्न नदिने ‘जात’

नेपाली सिनेमा नचल्नुमा ‘अर्धबौद्धिक समिक्षक’ नै दोषी हुन् ? पूर्णबौद्धिक निर्देशक प्रकाश सायमीसँग नै यसको जवाफ होला ।

तर, दृश्यपटलमा के लुक्न सकेको छैन भने नेपाली सिनेमालाई उँभो लाग्न नदिने दुई जात छन्– एक, धुन्धुकारी फिल्ममेकर्स । दोस्रो, धन्दावाल मिडियाकर्मी । एउटाले कनिकुथी सिनेमा बनाउँछ, अर्कोले झ्याली पिटेर स्तुती–गान गाउँछ । दुबैथरीको एउटै ध्येय हो, भ्रमको चश्मा लगाइदिएर दर्शकलाई हलसम्म तान्ने ।

यस्तो प्रवृत्तिले सगम्र सिनेमा उद्योगकै विश्वास र इमानमा कसरी खत लगाइदिन्छ ? सायदै उनीहरु घोत्लिएका छन् ।

बरु, आवाजलाई अरु चर्को र कर्कस बनाउँदै उनीहरु भक्ति–भाव गुञ्जाइरहेका छन्, ‘आहा ! महाराजको लुगा कति सुहाएको ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment