Comments Add Comment
No ads found for this position

नेपाली मनमा रंग भर्ने एक अस्ट्रेलियन शिक्षक

सिड्नी । यी युवक अनौठा छन् । नाम हो उनको ग्याबिन मकोर्म्यक । पेशाले शिक्षक । सिड्नीको उत्तरी समुदि्रतट (नोदर्न बिचेज)को एउटा स्कूलको प्रिन्सिपल । त्यो स्कूलका दुई सय बालबालिका उनका साथी । हो, साथी । अर्थात् उनलाई हरेक मोडमा साथ दिने तिनै विद्यार्थी ।

ग्याबिनको नेपाल साइनो सुरु हुन्छ, सन् २०१५ को भूकम्पपछि । एकजना अपरिचित व्यक्तिको फेसबुक म्यासेन्जरबाट उनलाई अनुरोध आउँछ- ग्याबिन तपाई शिक्षाप्रेमी हुनुहुन्छ, हाम्रो गाउँमा भूकम्पपछि स्कूल भत्केको छ । के तपाई कुनै सहयोग गर्न सक्नु हुन्छ ?

ग्याबिनलाई उच्चारण गर्न अप्ठेरो लाग्ने त्यो नाम थियो- यानन्ड ढेबकोट्या । नेपालीमा शुद्ध उच्चारण हो- आनन्द देवकोटा । हो तिनै आनन्द देवकोटाको प्रश्नको जवाफ दिन उनी काठमाडौं पुगे ।

‘मैले त्यो सन्देशलगत्तै पहिले टिकेट लिएँ । अनि घरमा गएर श्रीमतीलाई भनें- म नेपाल गएँ ।’

‘श्रीमती छक्कै परेकी थिइन्, तर मलाई हिमालयको काखले बोलाइसकेको थियो,’ ग्याबिनले एक साँझ सिड्नी शहर नजिकैको बुक क्याफेभित्रको कुनामा अनलाइनखबरसँग आफ्नो कथा सुरु गरे ।

साँच्ची त्यो आफूलाई भविष्यमा खुल्ने विमान कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुँ भन्दै कोन्टास एअरलाइन्सको प्रमुख कार्यकारी अधिकृतलाई चिठ्ठी लेखेर बिमान कम्पनी चलाउन सल्लाह माग्ने दश वर्षे बालक तपाईकै विद्यार्थी हुन् ? मेरो पहिलो जिज्ञासा थियो । हो, त्यो मेरो विद्यार्थी हो, तर त्योभन्दा चमत्कार गर्ने अर्को ६ वर्षे बालक चाहिँ मेरोलागि झन् महत्वको छ ।

गत मार्च १२ मा बीबीसी अनलाइनमा अलेक्स ज्याकुट नामका दश वर्षे अस्ट्रेलियन बालकले यहाँको राष्ट्रिय ध्वजावाहक कोन्टास एअरलाइन्सका प्रमुख कार्यकारी प्रमुख अलान जोयसीलाई लेखेको पत्र निकै चर्चित भएको थियो । सोही दिन ग्याबिनले आफ्नो फेसबुक पेजमा आफू ती बालकको मन्टेश्वरी शिक्षक भएको बताएका थिए र यस्ता बालकको शिक्षक हुन पाउँदा आफूलाई खुशी लागेको बताएका थिए ।

तर पछिल्लो सम्वादमा भने त्योभन्दा ठूलो खुशीको कुरा सुनाउँदै थिए उनले- एक छ वर्षे बालकको कथा सुनाउँदै । के थियो त्यो कथा ? उनले संक्षेपमा सुरु गरे- नेपालमा केही गर्ने मलाई नशा लागिसकेको थियो । तर मलाई सहयोग कसले गर्ला ? म खोजीमा थिएँ । एक दिन कक्षा कोठामा मेरा विद्यार्थीलाई मेरो दुःख राखें । नानी-बाबुहरु, तिमीहरु जस्तै साना नानीहरु नेपालमा पेन्सिल र कागज नपाएर पढ्न पाएका छैनन्, म उनीहरुलाई सहयोग गर्न चाहन्छु के तिमीहरु मलाई साथ दिन्छौ ?

उनले भोलिपल्टको अवस्था बताए-

एक जना ६ वर्षे बालक मेरो अफिसमा टेबुलअघि आयो र मलाई रंगीन शिसाकलमको मुठो दियो । म छक्क परेर उसको अनुहारमा हेरेँ । मैले त्यो एक मुठो रंगीन शिसाकल जतनसाथ राखेँ र कक्षा कोठामा उसले गरेको त्यो सहयोगको लागि धन्यवाद भनें ।

अर्को दिन पो अनौठो भो- मेरो अफिस कोठा त शिसाकलम, कागज, मसी, खेलौना, लत्ताकपडाका झोलाहरुले भरियो । पर्सिपल्ट म नेपाल उडेँ ।
नेपाल पुगेपछि सुरु भयो खास कथा ।

त्यसपछि म सीधै त्यो गाउँमा गएँ, जहा स्कूल नामको झुपडी त थियो तर बाँकी केही थिएन । त्यहाँका शिक्षकलाई मैले दुई दिन स्कूल बिदा दिन भनेँ । त्यो दुई दिनमा विद्यालयको भित्तो रंग्याएँ, ससाना नानीहरु बस्ने फर्निचर बजारबाट ल्याएँ । भुइँमा नरम कार्पेट बिछ्याएँ । नपुग स्टेशनरी सामान पनि ल्याएँ ।

पर्सिपल्ट विद्यार्थी आइपुग्दा स्कूल त अर्कै भैसकेको थियो । त्यो दिन विद्यार्थीलाई नपढाउने तर सबैलाई आ-आफ्नो मनको चित्र कोर्ने भनियो । सबैलाई शिसाकलम र सेतो कागज दिइयो । टेबुल वरिपरि बसेर विद्याथीहरु चित्र कोर्न थाले । म भने छ वर्षे मेरो अस्ट्रेलियन विद्यार्थीले पहिलो दिन दिएको रंगीन शिसाकलमको मुठो मेरो हातमा बोकिरहेको थिएँ र नेपाली विद्यार्थीले चित्र बनाइरहेको हेरिरहेको थिएँ ।

चित्र कोर्दै जाँदा उनीहरुको अनुहार चम्किलो हुँदै गयो । उनीहरुले पहिलोपटक चित्रमा रंग भर्न पाएका थिए र खुशी थिए । म भने अब उनीहरुले आफ्नो जीवनमा पनि रंग भर्न जान्ने छन् भन्नेमा हर्षित थिएँ । त्यो दिन गाउँको नेपाली स्कूलमा साँच्चिकै रमाइलो छायो । विद्यार्थीले कोरेका, मिलेका, नमिलेका सबै रंगीन चित्र फेरि स्कूलको भित्तामा टाँसियो स्कूल त झन् रंगीन भयो ।

स्कूल श्यामश्वेत जीवनको पानामा रंग भर्न चाहिन्छ । प्रारम्भिक बाल शिक्षाको आधार नै रंगीन र बहुआयामिक बन्नुपर्छ भन्ने मान्यता राख्ने शिक्षक ग्याबिनले आफ्नो नेपाल अभियान त्यो एक दिन केही विद्यार्थीलाई खाली पानामा रंग भर्न सिकाएर मात्रै बिश्राम लिएका छैनन् । उनले पछिल्लो चार वर्षमा नेपालमा ६ वटा बिद्यालय भवन निर्माण गरेका छन् । दुई वटा बालशिक्षा प्रशिक्षण केन्द्र खोलेका छन् । जहाँ प्रतिवर्ष तीन सय पचास बाल शिक्षकलाई तालिम दिने लक्ष्य छ । र एउटा ठूलो पुस्तकालय पनि निर्माण गरिँदै छ ।

यति गर्ने खर्च कहाँबाट जुट्छ उनलाई ? फेरि उनले जबाफ दिए – म नोदर्न बिचेजमा बस्ने नेपालीहरु जस्तो धनी पनि छैन , वास्तवमा हाम्रो घर पनि छैन । तर मेरा विद्यार्थीहरु र साथीहरु मलाई सहयोग गर्छन् । उनी बालपुस्तकका लेखक पनि हुन् । उनले प्रकाशित गरेका बिभिन्न शिर्षकका तीसौ हजार पुस्तक बिक्रीको नाफा उनी नेपालमा खर्च गर्छन् ।

सामाजिक सन्जाल लिंकदेन प्रोफाइलमा भएका आफ्ना हजारौं साथीहरुसँग पेशा पनि माग्दैनन् तर नेपालमा काम गर्ने आफ्नो नशा सुनाउँछन् । स्कूल बिदाको घन्टी बज्दाबित्तिकै उनी विमानस्थल पुग्छन र नेपालतर्फ उड्छन् ।

नेपालको आफ्नो सम्पर्क कार्यालयमा पुग्दा बिभिन्न देशबाट तिनैले पठाएको कागज, मसि, शिसाकलम, प्रिन्टर, कम्प्युटर, फर्निचर, कपडा, पुस्तकको क्रिसमस-ट्री जस्तो सामानको चाङ्ग लागेको हुन्छ । एउटा गाडी भाडामा लिन्छन् र त्यो बोकेर फेरि ग्रामिण स्कूल तर्फ लाग्छन् नयाँ नेपाली विद्यार्थीको अनुहारमा रंग भर्न ।

यो पङ्तिकार र सिड्नीमा क्रियाशील सामाजिक अभियन्ता डा. मोम विश्वकर्मासँग पुरातात्विक महत्वको देखिने ग्लेबस्थित एक पुस्तक पसलभित्रको रंगीन क्याफेमा उनको नेपाल प्रेम सुनिरहँदा करिब दुई टन पुस्तकको कार्गो नेपालतर्फ उड्नै लागेको थियो ।

कुन ठाउँमा हो त्यो पुस्तकालय बन्ने ? ग्याबिनले उत्तर दिए- म नाम भन्न जान्दैनँ । हामी पर्यटकले नेपाली एक हजार तिरेर हेर्न जाने पुरातात्विक शहर उतापट्टीको सुन्दर डाँडामा ।

मैले थप सोधें- ए ! नगरकोटमा ?

उनले उत्तर दिए, ‘एस न्यगोर्कोटमा ।’

उनले पहिलो पटक नेपाली अनुहार र मनमा रंग भरेको स्कूल चाहिँ बुद्धमंगल बाल बिकास केन्द्र बर्दघाट नवलपरासीमा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment