Comments Add Comment
No ads found for this position

पितापूर्खाको कुराः यसरी बुझे कसो होला ?

पितापूर्खा भन्छन्, ‘आफ्नो ओछ्यानको सिरानी जहिले पनि दक्षिणतर्फ हुनुपर्छ ।’

पितापूर्खा भन्छन्, ‘पलेंटी कसेर खाना खानुपर्छ ।’

पितापूर्खा भन्छन्, ‘घर बनाउँदा सकेसम्म पूर्वी-दक्षिण मोहडामा फर्काउनुपर्छ ।’

पितापूर्खा भन्छन्, ‘साँझ विहान पितृलाई सम्भिmएर पानी चढाउनुपर्छ । पूजापाठ गर्नुपर्छ ।’

पितापूर्खा भन्छन्, ‘सूर्योअस्तअघि नै रातको खाना खाइसक्नुपर्छ ।’

पितापूर्खा भन्छन्, ‘आफुभन्दा पाको व्यक्तिलाई श्रद्धा गर्नुपर्छ ।’

‘कुरा सुन्नु बुढाको’ भन्छन् । तर, हामीलाई बुढापाकाको कुरा सुन्ने फुर्सद छैन । फुर्सद नभएको मात्र होइन, उनीहरुको कुरा हामीलाई ‘पुरातन धारणा’ लाग्छ । उनीहरुले सिकाएका कुरा हामीलाई ढोंग वा आडम्बर लाग्छ ।

किनभने हामीले थोरबहुत विज्ञान-प्रविधिसँग नजिक छौ । हामी आफुलाई ‘आधुनिक’ लाग्छ । यही कारण पितापूर्खाले गर्ने कुरालाई ‘उहिलेको जमाना’को भनेर पुरै उपेक्षा गरिदिन्छौ ।

तर, आँखा चिम्लेर मनन गरौं त पितापूर्खाले जे गरे, जे भने, जे सिकाए ति कुनैपनि व्यार्थ थिएन । ति जीवनोपयोगी कुरा थिए । तर, हामीले यस्ता कुरालाई अधकल्च बुझ्यौ । उनीहरुले के भनेका थिए, के सिकाएका थिए त्यसको गहिराईमा पुगेनौ । त्यसको मर्म र अर्थ खोजेनौ । कतिपयले परम्परा भनेर कर्मकाण्ड पुरा गर्दै आयौ । कतिले आधुनिकताको नाममा पुरै उपेक्षा गरिदियौ ।

हामीले के बुझ्यौ ?

पितापूर्खाको जमाना र हाम्रो जमाना फरक छ । उनीहरुले भोगेको समय र अहिलेको समय उस्तै छैन । उनीहरुले झेलेको परिस्थिती र हामीले झेलिरहेको परिस्थिती उस्तै छैन । आज युगले फड्को मारेको छ । युगसँगै हामीले पनि छलाङ मारेका छौ । पितापूर्खाभन्दा हामी दश कदम अगाडि पुगिसक्यौ ।

पितापूर्खाले हिजो जे कुरा गरेका थिए, ति उहिलेका कुरा थिए । तर, हामी आजको जमानाको मान्छे । आजाको कुरा गर्ने मान्छे । हिजोको कुरा आज मिल्दैन । हिजोको चलन आज चल्दैन ।

पितापूर्खाले बाँचेको समाज पछौटे थियो । अशिक्षित थियो । अज्ञानी थियो । उनीहरुलाई आधुनिकताबारे थाहै भएन । उनीहरुलाई विज्ञान प्रविधिबारे थाहै भएन । त्यसैले हिजो परम्परागत युगमा गुजि्रएका पितापूर्खाहरुले जे भने, जे सिकाए, जे गरे ति सबै हाम्रो लागि काम छैन । उनीहरुको मन राखिदिन मात्र हामीले ति कुरा मानिदिए हुन्छ । पितापूर्खाले मानिआएको परम्परा भनेर निरन्तरता दिए हुन्छ ।

बुझ्नुपर्ने के थियो ?

हिजो विज्ञान थिएन । तर, हाम्रा पितापूर्खाले खोज, पहिचान, अध्ययन, अनुभव गरेका कुराहरु विज्ञानसम्मत थिए ।

उनीहरुले अनेक अभाव, कष्ट, समस्या झेले । जुधे । त्यहीबाट उनीहरुले जीवन जिउने ढंग सिके । यो सिकाइ विशुद्ध अनुभव र अनुभूतिबाट प्रकट भएको थियो । आफु उभिएको भूगोल, हावापानी, पर्यावरणसँग एकाकार भएर उनीहरुले त्यसको प्रवृत्ति पहिल्याए । यसरी आफ्नो जीवन-भोगाईबाट आर्जेका कुरा उनीहरुले आफ्ना सन्तानलाई सुनाउँदै, बुझाउँदै आए ।

आज हामीलाई लाग्यो, उनीहरुको कुरा अवैज्ञानिक छ । परम्परागत छ । हरेक कुरामाथि आँखा चिम्लिएर विश्वास गर्नुपर्छ भन्ने त थिएन/छैन । तर, ति कुरालाई गहिराइमा नबुझी उपेक्षा गर्नु अर्को भूल हो । अहिले हामी यस्तै भूल गरिरहेका छौं ।

आफुहरुले उत्खनन् गरे, अध्ययन गरेका, अनुभूत गरेका, अनुभव गरेका कुराहरु आफ्ना पुस्तौ-पुस्ताले अंगाल्न सकोस् भनेर नै पितापूर्खाले संस्कारको विकास गरे । तर, हामीले ति संस्कारको अर्थ र मर्म नै बुझ्न चाहेनौ ।

हामी ठान्छौ, आज हामी विज्ञानको युगमा छौ । हामी बुझ्दैनौ, पितापूर्खाले संस्कारका रुपमा विकास गरेका कुरा पनि विज्ञानबाट अलग थिएन ।

जस्तो,

पितापूर्खाले भने, ‘दक्षिणतर्फ सिरानी बनाएर सुत्नु ।’

विज्ञानले पुष्टि गर्छ, ‘दक्षिणतर्फ सिरानी बनाएर सुत्दा पृथ्वीको चुम्बकिय तरंगले शरीरमा राम्रो प्रभाव पार्छ ।’

पितापूर्खाले भने, ‘खाना खाँदा पलेँटी कसेर खानुपर्छ ।’

शरीर विज्ञानले पुष्टि गर्छ, ‘यसरी खाना खाँदा पेटको केही भाग खुम्चन्छ, जहाँ अन्न पुग्दैन । तब पाचन प्रक्रिया सहज हुन्छ ।’

साँझ-विहान किन पूजापाठ गर्ने ? किनभने चित्त शुद्ध गर्न । मनलाई शान्त तुल्याउन ।

चाडपर्व किन मान्ने ? किनभने जीवनलाई उमंगित बनाउन ।

बनस्पतिको धूप किन बाल्ने ? किनभने स्नायु प्रणालीलाई आनन्दित बनाउन । पर्यावरणमा फैलिएका खराब जीवाणु नष्ट गर्न ।

खाना खानुअघि किन चढाउने ? किनभने अन्नदाता प्रकृति एवं अन्नप्रति कृतज्ञ हुन ।

तीर्थयात्रा किन गर्ने ? किनभने मनमा समर्पण भाव जगाउन ।

उपवास किन बस्ने ? किनभने पाचन यन्त्रलाई विश्राम दिन ।

यस्ता हरेक प्रश्नहरुको वैज्ञानिक जवाफ फेला पर्छ । पितापूर्खाले कुनैपनि चाल-चलन, रीति-रिवाज रहर लागेर चलाएका होइनन् । ति सबैमा कुनै न कुनै वैज्ञानिक अर्थ छ । पितापूर्खाले जीवनलाई सन्तुलित, सहज, मर्यादित र उमंगित बनाउन संस्कारको विकास गरे । यी सबै कुरा हाम्रो जीवनका लागि अमूल्य छन् । साथसाथै वैज्ञानिक पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment