Comments Add Comment

बच्चाको जन्मदिनमा बोट-बिरुवा रोप्ने संस्कार बसाउने कि ?

वातावरण दिवस : कर्मकाण्ड होइन केही संकल्प गरौं

आज वातावरण दिवस । हामी गोष्ठी गर्छौं, सेमिनार गर्छौ । स्रोता वा आगन्तुकलाई चिया-बिस्कुट खुवाएर ‘दुई शब्द’ व्यक्त गरिन्छ । मौका परे व्यानर बोकेर र्‍याली निकाल्छौं । सार्वजनिक स्थानका फोहोर टिप्ने अभियान पनि चलाउँछौ । तारतम्य मिल्यो भने ठाउँ-ठाउँमा डस्टबिन राखिदिन्छौ ।

आज कतिपय विद्यालयले विद्यार्थीलाई उर्दी जारी गरेको छ- हस्तनिर्मित डस्टबिन र झाडू ल्याउनू । त्यती गर्न सकिएन भने कम्तीमा पर्यावरणसँग सम्बन्धित चित्र कोरेर ल्याउनू । कसैले निबन्ध ल्याए पनि हुन्छ । कसैले कविता ल्याए पनि हुन्छ । साना भाइबहिनीलाई शिक्षकहरुले ‘पर्यावरण’सम्बन्धी भाषण दिन्छन् । अर्ती, उपदेश दिन्छन् ।

वर्तमान परिदृश्य यस्तै देखिन्छ । यावत् गतिविधिले पर्यावरणबारे कति सचेतना फैलाउँछ ? कति जागरण ल्याउँछ ? यसको आफ्नै लेखाजोखा होलान् । तर, यस्तो कर्मकाण्डले ठोस उपलब्धी भने हुँदैन । आज वातावरण सफा राख्नुपर्छ भन्दै भाषण ठोक्ने वक्ता भोलि सार्वजनिक स्थानमा चुरोट झोस्दै हिँडिरहेका भेटिन्छन् । पान चपाएर कार्यालयको शौचालय र भर्‍याङमा प्याच्च थुकिरहेका भेटिन्छन् ।

कर्मकाण्डले पुग्दैन

वातावरण जोगाऔं । जथाभावी फोहोर-मैला नगरौं । रुख-बिरुवा रोपौं । प्लाष्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गरौं ।

यस्ता भाषण हामीले सानैदेखि सुन्दै आयौं । सुनाउँदै आयौ । तर, भनेर मात्र त्यसले खास उपलब्धी हुँदैन । जनचेतना जगाउने कुरा आफ्नो ठाउँमा छ । अहिले हाम्रो गाउँ-समाजमा वातावरण संरक्षणको अभियान लिएर पसेका कैयौं सरकारी/गैरसरकारी संस्था छन् । यद्यपि त्यसले समग्र वातावरण जोगाउने, सुधार गर्ने कुरामा कति उपलब्धी मिलिरहेको छ ? कसैले सोधीखोजी गरेको छैन ।

अतः पर्यावरण जोगाउने भन्दै भाषण गरे, गोष्ठी-सेमिनार आयोजना गरेर, सडक र्‍याली निकालेर ठोस उपलब्धी हुनेवाला छैन ।

वातावरणको रक्षा 

पर्यावरण जोगाउनका लागि तपाईंलाई अरुको उपदेश र अर्तीले केही गर्नेवाला छैन । बरु हामी आफैं जागरुक हुनुपर्छ । किनभने हामी बाँचेको युग, हामीले टेकेको माटो, हामीले फेरेको सास, हामीले लिएको अन्नपानी यही पर्यावरणको देन हो ।

आज हामी बाँच्नुमा, निरोगी हुनु र नहुनुमा यही वातावरणको भूमिका छ । अतः वातावरण कस्तो बनाउने भन्ने कुरा हामीमा निर्भर छ ।

आजको मात्र कुरा होइन, भोलिका दिनमा हाम्रा सन्ततीले कस्तो जीवन बाँच्ने ? कति स्वच्छ वायुमा सास फेर्ने ? कति जैविक अन्नपानी उपभोग गर्ने भन्ने कुरामा पनि आज हाम्रो भूमिका अपरिहार्य छ ।

हामी छोराछोरीको भविष्यका लागि जसरी धन-दौलत सुरक्षित गरिदिन्छौं । त्यसैगरी उनीहरु बाँच्ने वातावरण जोगाइदिने दायित्व पनि हाम्रो । अतः यसका लागि हामी नै जागरुक हुनुपर्छ । सचेत हुनुपर्छ । र, यो भोलिको काम होइन । हामीले आज नै गर्नुपर्छ । अहिले नै गर्नुपर्छ ।

वातावरण संरक्षणमा हामी के गर्न सक्छौ त ? हाम्रो भूमिका के हुनसक्छ त ? यसका लागि अरु केही गर्नै पर्दैन वातावरणलाई दुषित बनाउने हाम्रो प्रवृत्ति र कृत्य त्यागिदिए पुग्छ ।

आउनुहोस् केही प्रण गरौं

सुरु हामी आफैंबाट गर्नुपर्छ । हामी प्रण गरौं- कम्तीमा मेरो कारणले वातावरण प्रदूषण हुने छैन ।

–     यस पर्षमा म कम्तीमा पचास/सय वटा विरुवा रोप्नेछु । (आफ्नै जग्गा चाहिन्छ भन्ने छैन, सार्वजनिक जग्गामा पनि हामीले वृक्षरोपण गर्न सक्छौं ।

–     घरलाई प्रकृतिमैत्री बनाउनेछु । भान्सामा प्लाष्टिकजन्य पदार्थको प्रयोग कम गर्दै लानेछु ।

–     बगैंचा, बार्दली, छत आदि ठाउँमा सानोतिनो बोट-बिरुवा रोप्ने छु । चाहे त्यो फूल होस् वा फलको । सामान्य कुनै विरुवा भएपनि रोप्नेछु ।

–     तुलसी, पिपल जस्ता पर्यावरण शुद्ध गर्ने वनस्पति रोप्ने र हुर्काउनेछु ।

–     घरभित्र पनि सानोतिनो बोट-बिरुवा (इनडोर प्लान्ट) सजाउनेछु । घरबाट उत्पादित फोहोरलाई सही ढंगले विसर्जन गर्नेछु ।

–     कुहिने वा सड्ने प्रकारका फोहोरलाई मल बनाउनेछु । त्यसलाई करेसाबारी वा फूलमा प्रयोग गर्नेछु ।

–     आफ्ना परिवार, छोराछोरीलाई लगेर वर्षमा एक दिन (वर्षायाम अनुकुल हुन्छ) वृक्षरोपण गराउने छु ।

–     मेरो परिवारका कुनैपनि सदस्यको जन्मदिनमा रुख बिरुवा रोप्ने संस्कारको विकास गर्नेछु ।

–     पर्यावरणमा हानी-नोक्सानी पुग्ने कुनै किसिमको काम गर्ने छैन । अनावश्यक रुख-बिरुवा मास्ने, काट्ने, लुछ्ने गर्ने छैन ।

–     जथाभावी पानीको प्रयोग गर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment