Comments Add Comment
No ads found for this position

अष्ट्रेलियाबाट नेपालमा किन आयो विशेष विमान ?

वीरेठाँटी-मुक्तिनाथ केवलकारको नाम गिनिज बुकमा लेखाउने दाबी

२३ जेठ, काठमाडौं । एक साताअघि त्रिभुवन विमानस्थलमा ओर्लिएको एउटा विशेष जहाज अष्ट्रलियाबाट आइपुगेको हो । विभिन्न प्रकारका उपकरणजडित यो जहाज त्रिभुवन विमानस्थलबाट मौसम सफा भएको मौका छोपेर हरेक दिन पोखरातिर उड्छ । कास्की र त्योभन्दा उत्तरतर्फको आकाशमा उड्छ र आफ्नो काम सकेर बास बस्न जहाज पुनः काठमाडौंमै आइपुग्छ ।

यो जहाज अष्ट्रेलियाबाट किन नेपाल आयो ? कुन प्रयोजनमा यहाँ ल्याइयो र केमा प्रयोग भइरहेको छ ?

मुक्तिनाथ दर्शन प्रालिले कास्कीको बीरेठाँटीदेखि मुक्तिनाथसम्म केवलकारको डीपीआर निर्माण गर्दैछ । नेपालको पहिचानात्मक परियोजना बनाउने योजनासहित कम्पनीले शुरु गरेको यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम भइरहेको छ ।

यस्ता ठूला आयोजनाको डीपीआरका दौरान ‘लाइट डिटेक्सन एवमः रेजिङ (लाइडर)’ सर्वे गर्नुपर्ने हुन्छ । अत्याधुनिक प्रविधिबाट हुने यस प्रकारको सर्वेका लागि हवाईजहाजमा उपकरण जडान गरिएको हुन्छ । डीपीआरअन्तर्गत लाइडर सर्वेको जिम्मा पाएको अष्ट्रेलियन कम्पनी एएएम ग्रुप विशेष विमानसहित नेपाल आएको हो ।

यो जहाज अझै १० दिनसम्म नेपालमा बस्नेछ । सर्वेमा नापी विभागका कर्मचारीसमेत साथमै रहेका छन् ।

८४.१ किलोमिटर लामो केवलकार निर्माण गर्न सरकारबाट सम्झौता गरेको कम्पनीले अहिले धमाधम डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) अध्ययन गरिरहेको छ । डीपीआर बनाउने जिम्मा इटालियन कम्पनी रोप्स जीएमबीएसले पाएको छ ।

कम्पनीका सीइओ श्रीधर सापकोटाका अनुसार लाइडर सर्वेको जिम्मा पाएको कम्पनी एएएमले आगामी एक महिनाभित्र लाइडर सर्वेको डाटा निर्माण कम्पनीलाई उपलब्ध गराउने छ ।

उक्त कम्पनीले दिएको डाटालाई डीपीआर बनाइरहेको रोप्स जीएमबीएसलाई ‘फर्वाड’ गरिसकेपछि आगामी तीन/चार महिनाभित्र डीपीआरको काम सम्पन्न हुनेछ । डीपीआरअन्तर्गत ‘जीयोटेक्निकल’ अध्ययन सकिएको छ, ‘जीयोमेट्रिक’ अध्ययन र स्याटलाइट इमेल लिने काम सम्पन्न भइसकेको उनले जानकारी दिए ।

गिनिज बुकमा नाम लेखाउने दाबी

कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म निर्माण हुने यो केवलकार संसारकै सबैभन्दा लामो यात्रुबाहक केवलकार बन्ने कम्पनीको दाबी छ । यस आयोजनालाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा समेत दर्ता गराउने योजना कम्पनीले बनाएको छ ।

केवलकार सिस्टमअनुसार यति लामो केवुलकार एउटै हुँदैन, त्यसकारण यो १९ वटा केवलकार सिस्टम जडान गरिएको लामो गन्तव्य हुनेछ । ती केवलकार सिस्टम एक अर्कामा जोडिएका हुनेछन् । अर्कोतर्फ केवलकारमा आधाघण्टा भन्दा बढी समय निरन्तर बस्नु स्वास्थ्यका दृष्टिकोणबाट पनि उचित नहुन सक्छ । सोही कारण बीरेठाँटीदेखि मुक्तिनाथको बीचमा थप ६ वटा स्टेशन रहने छन् । ती स्टेशनमा यात्रु झरेर त्यहीँ बास बसी अर्को दिन यात्रा शुरु गर्न सक्नेछन् । या केहीबेर पछि पुनः यात्रा शुरु गर्न सक्नेछन् ।

स्थानीय बासिन्दा एक स्टेशनदेखि अर्को स्टेशनसम्म मात्र यात्रा गर्न चाहे पनि त्यो सुविधा उपलब्ध हुनेछ । कम्पनीका अनुसार हरेक स्टेशन रहने स्थानमा होटेल, लज तथा रेष्टुरेन्ट बन्नेछन् । यसमा स्थानीय उत्पादन र परिकारलाई प्राथमिकता दिएर पर्यटक आकर्षित गर्ने योजना रहेको छ ।

यो केवलकारलाई वीरेठाँटीबाट मुक्तिनाथ धामलाई जोड्ने माध्यम मात्र नबनाई यस भेगको परिवहन प्रणालीका रुपमा विकास गर्ने लक्ष्य रहेको कम्पनीको भनाइ छ । स्खलनशील पहाडी क्षेत्रमा सडक यातायातले लिएर आएको विनास न्यूनीकरणमा यसले ठूलो योगदान पुग्ने सापकोटा बताउँछन् ।

कास्कीको वीरेठाँटीबाट घोरेपानीसम्म एउटा स्टेशन राखिएको छ । दोस्रो स्टेशन तातोपानी, तेस्रो लेते, चौथो कोबाङ, पाँचौ जोमसोम र छैठौं कागबेनी गरी कूल ६ वटा स्टेशन यस आयोजनाको बीचमा बन्नेछन् । अन्तिम स्टेशन मुक्तिनाथ हुनेछ । वीरेठाँटी र घोरेपानीको बीचमा तिखेढुंगा, तातोपानी र लेतेको बीचमा घाँसा तथा कोबाङ र जोमसोमको बीचमा मार्फा स्टेशन पनि रहनेछ । ती तीन स्टेशनमा भने यात्रु झर्ने पर्छ भन्ने छैन । तर, त्यो गन्तव्यसम्म पुग्ने स्थानीयबासीले भने ती स्टेशन प्रयोग गरी चढ्न र ओर्लन सक्ने गरी केवलकार सिस्टमको डिजाइन गरिएको छ ।

यस केवलकारमा एकपटकमा १० यात्रु एक पटकमा बस्न सक्ने ‘गोन्डुला (डिब्बा)’ रहनेछन् । केवलकारमा कूल ७ सय ४६ गोन्डुला रहनेछन् । ४ सय ४७ वटा टावर रहने गरी यो केवलकारको डिजाइन बनेको छ । ९ इन्टरमिडियट स्टेशनबाहेक १० वटा टेक्निकल स्टेशनको डिजाइन यसमा बनेको छ । केवलकार सिस्टमको रेस्क्यू, प्राविधिक काम तथा संचालनमा सहजीकरण गर्न विभिन्न १० स्थानमा टेक्निकल स्टेशनको व्यवस्था गरिएको छ । यस भेगमा तिब्र गतिमा हावा चल्छ । यहाँ ७५ किलोमिटर प्रतिघण्टासम्मको हावाको गतिलाई चिर्न सक्ने गरी सिस्टम जडान गर्ने कम्पनीको तयारी छ ।

यो आयोजनाको क्षमता एक दिशामा एक घण्टामा एक हजार मानिस चढ्न सक्छन् । दैनिक १० घण्टा संचालनको योजना रहेको यो केवलकारमा दैनिक १० हजारभन्दा बढी मानिसले यात्रा गर्ने सम्भावना देखिएको बताइएको छ । रातको समयमा यात्रु नबोक्ने भएकाले सामान ओसार पसार गर्ने कम्पनीले जानकारी दिएको छ ।

केवलकार सञ्चालन गर्न निरन्तर १३ मेगावाट विद्यतु आवश्यक पर्नेछ । त्यसका लागि ‘डेडिकेटेड लाइन’ जडान गरिने छ । कम्पनीले ‘पावर ब्याकअप’का लागि पनि जेनेरेटरहरु जडान गर्ने जानकारी दिएको छ । केवलकार बीचमै भएका बेला लाइन गयो भने गोन्डुला स्टेशनसम्म पुगेर मात्र रोकिने गरी सुरक्षा व्यवस्था गरिएको छ ।

धार्मिक आस्थाका रुपमा मुक्तिनाथको महिमा अझ वृद्धि गर्दै आर्थिक क्रियाकलाप वृद्धिमा यो आयोजना फलदायी हुने कम्पनीका सञ्चालकहरुको विश्वास छ । सनातन हिन्दु, बौद्ध, बैष्ण, स्वामिनारायण सम्प्रदायलगायत सबैको आस्थाको केन्द्र भएका कारण पनि मुक्तिनाथ यात्रामा धेरै यात्रुको आकर्षण यो परियोजनाले बढाउने दाबी कम्पनीले गरेको छ ।

केवलकारले १५ सय जनालाई प्रत्यक्ष रोजगारी दिने अनुमान छ । यसबाहेक हरेक स्टेशनमा स्तरीय होटेल, लज स्थापना गरी दोब्बर संख्यामा रोजगारी सिर्जना हुने बताइएको छ । जसबाट स्थानीय स्तरमा आर्थिक क्रियाकलाप वृद्धि हुने, नेपालको पहिचानमा अर्को नयाँ उत्पादन थपिने र राजस्व प्राप्तीमा पनि ठूलो योगदान पुग्ने आयोजनाले बताएको छ

कहिलेसम्म, कुन मोडेलमा बन्छ ?

विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन एकसाथ सम्पन्न हुने गरी काम भइरहेको त्यसपछि कम्पनी र सरकारबीच ‘परियोजना विकास सम्झौता’ हुनेछ ।

लगानी बोर्डमार्फत अगाडि बढेको यो आयोजनाको निर्माण पूर्वका काम सम्पन्न गर्ने गरी भदौ ०७५ मा हस्ताक्षर भएको थियो । सम्झौतापछिको १८ महिनामा यी दुई प्रतिवेदन बुझाइसक्नु पर्ने गरी लक्ष्य तोकिएको छ ।

सरकारसँग परियोजना विकास सम्झौता भइसकेपछि यो परियोजना ‘लगानीयोग्य आयोजना’ बनिसक्ने कम्पनीको दाबी छ । त्यसपछि लगानीकर्ता बैंकसँग सम्झौता प्रक्रिया अगाडि बढ्नेछ । निर्माणकालीन ब्याजसहित यो आयोजना सम्पन्न गर्न ५० अर्ब रुपैयाँ लाग्ने कम्पनीको भनाइ छ ।

त्यसमध्ये ४० अर्ब रुपैयाँ बराबर वैदेशिक कर्जा लिने योजना छ । आयोजनालाई आवश्यक स्वपूँजी भने देशभित्रै जम्मा गर्ने कम्पनीको भनाइ छ । कम्पनीका मालिक नेपालीलाई नै बनाएर कर्जा मात्रै विदेशीबाट ल्याइने तयारी छ ।

केवलकार सञ्चालनमा आइसकेपछि फिल्म सीटी, धौलागिरी, तिलिचोसम्मका साइड केवलकारलगायत अन्य पूर्वाधार विस्तार गर्दै जाने योजना समेत कम्पनीको रहेको छ । सञ्चालनमा आएको ६ वर्षमा यस आयोजनाले लगानी उठाइसक्ने लक्ष्य तोकिएको छ ।

निजी क्षेत्रबाट बनाइन लागेको यो परियोजनाले राष्ट्रिय गौरव बढाउने दाबी गर्दै कम्पनीका पदाधिकारीले यसको स्वीकृति प्रदान गरेर ओली सरकारले इतिहास रचेको दाबीसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment