Comments Add Comment
मेरो कथा :

सुनको तक्मा : एउटा मेहनतको जित

दौडिन थालेको ८ वर्षमा साना ठूला प्रतियोगिता गरी झण्डै दुई सय पदक जम्मा भइसके । सबै पदक एकैपटक उचाल्दा दुई किलो नै पुग्छ कि जस्तो लाग्छ । मैले पदक नियालिरहेको देखेपछि आमा भन्नुहुन्छ, ‘यतिका पहेँलो तक्मामा एउटा मात्रै पनि सुनको भैदिएको भए कस्तो हुन्थ्यो होला ।’

आमालाई भन्छु, ‘आमा यो सुन नै हो । बेच्न नमिल्ने सुन । यसको इज्जत सुनको भन्दा ठूलो छ ।’

मैले आमालाई यसै भनेको होइन । साच्चै, केही सेकेण्ड दौडिएर पदक जित्न वर्षौंको मेहनत खर्चिएको छु । त्यही मेहनतले पाएको पहेँला पदकको महत्व सुनका टुक्राभन्दा कति गुणा धेरै भइदिन्छ ।

गएको महिना सकिएको आठौं राष्ट्रिय खेलकुदबाट पहेँला पदकहरुको थुप्रोमा तीन वटा थपिए । यसको खुशी मेरोभन्दा धेरै मेरो बुबाको अनुहारमा देखिन्छ । जितपछि पत्रिकामा आएको मेरो फोटो उहाँले सामाजिक सञ्जालमा राख्नुभएको रहेछ । त्यसमा लेख्नुभएको थियो, ‘गर्वको सीमा छैन ।’

त्यो पढ्दा मेरो पनि खुशीको सीमा थिएन । जित्दाको भन्दा कति गुणा बढी खुशी ।

****

म हुर्किएको पनि बुबाले जितेका त्यस्तै पदकहरु हेरेर हो । म बुझ्ने भएदेखि नै घरका भित्तामा तिनै पदक झुण्डिरहेका थिए ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ७ मा मेरो घर पर्छ । बुवा पनि पहिलेको उम्दा खेलाडी । वीरेन्द्र रनिङ शिल्ड जस्ता प्रतियोगितामा उहाँले जितेका पदकहरु मेरो प्रेरणाका स्रोत हुन् ।

बुबाका पदकहरु देख्दा सानोमा म आमालाई सोध्थेँ, ‘आमा यो के हो ?’

आमा भन्नुहुन्थ्यो- यो तिम्रो बुबाले खेलेर जितेको पदक हो । तिम्रो बुबा खेलाडी भएकाले धेरै खेलहरुमा जित्नुभएको थियो ।

यो पदक, यो कप, यो प्रमाणपत्र भन्दै आमाले सबै देखाउनुहुन्थ्यो । बुबाको पुरस्कारमा थाल, प्लेट, कचौरा र गिलाससमेत हुन्थे । म तिनै थालमा खान्थेँ । त्यसबेला मलाई लाग्थ्यो, खेलेपछि त यस्तो चिज पाइने रहेछ । यो धेरै वर्ष पुरानो हो र अझै धेरै वर्षसम्म रहिरहन्छ । म पनि यस्तै पुरस्कार जित्छु ।

****

गाउँमा सरस्वती युवा क्लब छ । क्लबले गर्दा खेलकुद गतिविधि धेरै हुन्छ । हामी सानो छँदा पनि त्यस्तै हुन्थ्यो । दशैँ तिहारको समय र माघीको समयमा त खेलकुद प्रतियोगिताहरु राम्रै हुन्छन् । प्रतियोगिताहरुमा गाउँका दाइहरु खेलेको देखेर बुबाको पदक हेर्दा जागेको मेरो रहर अझ बढेको थियो ।

दाइहरुले हामी सानाहरुलाई पनि खेलाउँथे । केटाकेटीको छुट्टै प्रतियोगिता, पुरस्कार चाहिँ चकलेट । चकलेट पाउन हाम्रो ऊर्जा दोब्बर हुन्थ्यो । मोजाको बल लात्ताले हानेर, दाइहरुको पछिपछि कुदेर, खेतमा भैँसी बाख्रा हेर्न जाँदा यताउति उफ्रिएर नै खेल्दै थियौं । त्यसरी उफ्रिँदा जो पर पुग्न सक्थ्यो, उसको बाख्रा अरुले हेरिदिने । त्यसैले त्यही बेलादेखि मेहनत गर्ने बानी बस्यो ।

२०६६ सालमा ७ कक्षामा पढ्ने बेलामा सरहरुले भलिबल टिममा मिसाइदिनु भयो । स्पाइक हान्न नसके पनि सर्भिस र रेजिङमा खेलाउने गर्थे । कतिपय बेला त सरहरुसँग पनि खेलिन्थ्यो । त्यसले मलाई एउटा अनौठो उत्साह दिन्थ्यो । सरहरुसँग खेल्न पाउनु, अझ त्यसमा पनि खेल सुरु हुनुअघि र खेल सकिएपछि पनि सरहरुसँगै हात मिलाउन पाउनू ओहो ! भने जस्तो हुन्थ्यो ।

२०६८ सालमा विद्यालयबाटै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेल्न गएपछि मेरो खेल असाध्यै फेरियो । लङ जम्प, हाइ जम्प र सय मिटर, दुई सय मिटर दौडमा भाग लिएको थिएँ । लङ जम्प र दौडमा त पहिलो नै भएँ । त्यतिबेला त्यहाँ प्रशिक्षक रहनुभएकी पद्मा गुरुआमाले मेरो घर परिवारबारे सोध्दा बुबाको नाम सुनेर असाध्यै खुशी हुनुभएको थियो । बुबा र उहाँहरु पहिले सँगै खेल्नुभएको रहेछ । यस्ता हरेक कुराले मलाई खेलकुद राम्रो हो भन्ने छाप परिरहेको थियो ।

जिल्लाका प्रतिस्पर्धामा जितेपछि म क्षेत्रीय प्रतिस्पर्धामा पनि गएँ । त्यहाँ पनि राम्रै भयो । दाङ जिल्लाका केटाहरु राम्रो रहेछन् भन्ने छाप छोडेका थियौं । त्यो समय आठ कक्षाको जिल्लास्तरीय परीक्षा पनि नजिक आएकाले खेल्नमा भन्दा पढाइमा नै ध्यान दिने हो कि भन्ने कुरा बुबाको थियो । पद्मा गुरुआमाले नै बाबुको खेल राम्रो छ, पढ्दै पनि जान्छ तर, उसको खेल छुटाउन हुन्न । अवसर पायो भने राम्रो गर्छ भनेपछि बुबा पनि विश्वस्त हुनुभएको थियो ।

****

०६८ सालको अन्तिमतिर राष्ट्रपति रनिङ शिल्डको अन्तिम प्रतिस्पर्धामा काठमाडौंमा खेल्न आएँ । त्यसअघि तीन वर्षको हुँदा ठूलीआमासँग काठमाडौं आएको थिएँ रे । त्यो मलाई केही याद नै छैन । पछि किताबहरुमा राजधानीबारे पढ्दा काठमाडौं कस्तो होला लागिरहेको थियो । दिमागमा अनेक चित्र थिए । खेलकुदमार्फत राष्ट्रिय खेल खेल्न आउँदा काठमाडौं हेर्ने मौका मिल्यो ।

त्यतिबेला दौडने ठाउँ देखेर अचम्म लागेको थियो । त्यस्तो ट्रयाकमा कहिल्यै दौडिएकै थिइनँ । सबै कुरा नौलो थियो । अभ्यास गर्दै, यतै बस्दै जाँदा सबै सामान्य लाग्न थाले । दौडिरहन मन लाग्न थाल्यो । सामान्य अभ्यासका बेला पनि अरु सबै कुरा छाडेर दौडिहालौं जस्तो लाग्थ्यो । त्यो बेला पहिलोपटकमै दशरथ रंगशालामा सय मिटर दौडमा पहिलो भएपछि असाध्यै खुशी भएँ । हेर्नेहरुले पनि फुच्चे भएर पनि राम्रो दौडिदोरहेछ भने । मध्यपश्चिमको शान भनेर हौसला बढाए ।

मैले लङ जम्प पनि जितेँ । रिले दौडमा पनि हाम्रो टिम पहिलो भयो । त्यसपछि त म खेलाडीकै रुपमा चिनिन थालेँ ।

त्यतिबेला नै दाङकै खेलाडी धनिराम चौधरी काठमाडौंमा प्रशिक्षण पनि दिइरहनु भएको थियो । उहाँसँग सिक्ने मौका पाएँ । तिम्रो दौडको सुरुवात राम्रो छ, विस्तारै सिक्दै गएपछि अझ राम्रो हुन्छ भनेर उहाँले भन्नुभएको थियो । उहाँको कुरा सुनेर पनि मेहनत गर्ने इच्छा दोहोरो भयो ।

२०७२ सालमा भएको प्रतियोगितामा आफूले खेलेको सबै विधामा पहिलो भएँ । त्यतिबेला एक सय, दुई सय र चार सय मिटर दौडमा उपाधि जितेको थिएँ । एकदमै राम्रो दौडियो भनेर त्यो बेला पनि सबैको तारिफ पाएँ । धनिराम गुरुबाट दीक्षित थिएँ । सय मिटर दौडमा १०.८ सेकेण्ड र दुई सय मिटरमा २२.५ सेकेण्डको जुनियरमा त्यसबेला बनाएको कीर्तिमान अहिलेसम्म छ ।

****

सिनियरमा तीन पटक उपाधि जिते पनि कीर्तिमान भने बन्न सकेको छैन । चार सय, एक सय, दुई सय सबै मिटर दौडमा प्रतिस्पर्धा गरिरहेको हुन्छु । सय मिटरमा इलेक्ट्रोनिक टाइम ११.१९ सेकेण्ड, दुई सय मिटर २२.२५ सेकेण्ड रहेको छ । दुई सय मिटरमा कीर्तिमान बनाउन सक्छु कि जस्तो लागिरहेको छ । अब सागको लागि तयारी गर्दा सुधार गर्छु भन्ने अपेक्षा गरेको छु ।

नेपालमै हुने दक्षिण एसियाली खेलकुदका लागि तयारी गर्नुपर्ने छ । घरेलु मैदानमा हुने प्रतियोगितामा नेपालका लागि जित्ने इच्छा ठूलो छ । त्यसका लागि सकेसम्म छिटो अभ्यासमा राखियोस् भन्ने लागिरहेको छ । सागपछि ओलम्पिक खेलकुदमा जाने सोचका साथ अभ्यास पनि त गर्नु छ ।

हरेक पटक दौडन तयार भएर बस्दा असाध्यै खुशी लाग्छ । राम्रो गर्न सक्छु भन्ने विश्वास लाग्छ । किनभने प्रतियोगिताभन्दा ठूलो कुरा त अभ्यास हो । अभ्यासमा राम्रो गरेको छ भने प्रतियोगितामा पनि राम्रो नै हुन्छ । हुन पनि १०/११ सेकेण्डमा सय मिटर दौडनका लागि वर्षौं अभ्यास गर्नुपर्ने हुन्छ ।

बेलाबखत विदेशमा प्रतियोगिताहरुमा सहभागी हुन जाँदा र अभ्यासमा जाँदा पनि धेरै कुरा बुझ्न पाइरहेको हुन्छु ।

सन् २०१३ नोभेम्बरमा भारतको राँचीमा जुनियर साग गेमका लागि गएको थिएँ । पहिलो पटक विदेशी भूमिमा दौडिएको त्यहीँ नै हो । त्यहाँ पुगेपछि बल्ल खेलकुदमा अझ अर्को संसार पनि छ भन्ने बुझेँ । सिनियर प्रतिस्पर्धामा चीनमा एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा खेलेँ । थाइल्याण्डमा गएर पनि अभ्यास गर्न पाएँ । भर्खरै जापनमा गएर दुई हप्ता सिक्ने मौका पाएँ । हामी कहाँ उपलब्ध सुविधा, बाहिर भएका सुविधा र खेल सामग्रीको त तुलना हुन सक्दैन ।

गएको चार वर्षदेखि सशस्त्र प्रहरीको एपीएफ क्लबमा आबद्ध भएको छु । एपीएफले नै मेरो खेलको उचाइलाई बुझेको छ । मेहनत गराइरहेको छ । त्यसमा धनिराम गुरुको सहयोग ठूलो छ ।

****

खेलमा कतिपय समय खेल मात्रै देखिँदैन । प्रतिस्पर्धाले कतिपय समय कर्के आँखा पनि लगाइदिन्छ । म भने त्यस्तोमा वास्ता नगरी आफूमा मात्रै बढ्न चाहन्छु । म अलि सानो देखिने भएकाले होला, कतिपय बेला दौडन तयार भएर बस्दा सँगै दौडनेहरु मलाई कमजोर सोचिरहेका हुन्थे । कतिपयले बच्चाहरुसँग के दौडनु समेत भने । तर मैले दौडेर मात्र होइन, जितेर देखाइदिएँ ।

सातौं राष्ट्रिय खेलकुदमा दौडन तयार हुँदा सँगैका प्रतिस्पर्धीले भनेको कुरा अहिले पनि मेरो कानमा गुञ्जिन्छ । उनले भनेका थिए, ‘यस्तो बच्चाहरुसँग पनि के दौडनू ?’ सायद ‘बच्चा’ एक वर्षमा ठूलो भएर होला, अहिले आठौं राष्ट्रिय खेलकुदमा विजेता बन्यो । उनीहरुलाई नै जितेर ।

यसपटक सय मिटर दौड, दुई सय मिटर दौड, चार सय मिटर दौडमा जितेको स्वर्ण पदक र सय मिटर रिलेमा जितेको रजत पदक मेरो मेहनतको जित हो । मेरो आशको प्रतिविम्ब हो । यथार्थ बनेको मेरो सपना हो ।

तर ममा विजेताको घमण्ड पटक्कै छैन । थाहा छ, म सधैंको विजेता होइन । यस्तै पहेँला तक्मा जित्ने अरु पनि हुने छन् । उनीहरुको जितमा पनि मेरो जितको जस्तै मेहनतको कथा हुने छ ।

प्रस्तुति: ऋग्वेद शर्मा
तस्वीर: शंकर गिरी

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने अनलाइनखबरको साप्ताहिक श्रृखला ‘ मेरो कथा‘ को ३९ औं अंकमा यो हप्ता एथ्लेटिक्स खेलाडी आशिष चौधरीको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment