Comments Add Comment
No ads found for this position
साहसी संगीताको संघर्ष कथा :

‘मरेको भए यो संसार कहाँ देख्न पाउँथे र !’

‘काम नपाएर दिक्क भएँ, विदेश जाने तयारी गर्दैछु’

२४ जेठ, काठमाडौं । ‘अबचाहिँ गरेर खान्छे होला, यत्रो वर्ष घरमै गुम्सिएर बस्दा कम्ता सकस थिएन’, मझेरीमा भाडा माँझिरहेकी छोरीलाई संकेत गर्दै चमेली मगर बोलिन्, ‘पहिला कोठाभित्र नै अनुहार छोपेर बस्थी अहिले त बाहिर हिँड्दा पनि अनुहार देखाएरै हिँड्छे । अलिकति ढुक्क भएको छ मलाई ।’

चमेली मुखसँगै हात पनि चलारहेकी छिन् । कुरा गर्दागर्दै तरकारी चलाइन्, कुकरमा चामल हालेर पखालिन् । अनि खाना खाइरहेका ग्राहकलाई दाल थपिदिइन् । चपिङ बोर्डमा प्याजमाथि चक्कु चलाउँदै भनिन्, ‘यसको जिन्दगी कोठामै गुम्सिएर जान्छजस्तो लागेको थियो तर, भगवानले हेरे… ।’

उनले भित्तातिर नजर लगाइन्, जहाँ झुण्ड्याइएको चारवटा फ्रेममा गौतम बुद्धको फोटो छ । अन्य फ्रेममा केही देउता सजाइएका छन् । चमेली भगवानमा विश्वास गर्छिन् । संगीतामा बढ्दो आत्मविश्वासमा पनि भगवानकै देन देख्छिन् ।

****

चमेली मगर ५ वर्षअघि वसन्तपुरमा एसिड आक्रमणमा परेकी संगीताकी आमा हुन् । वसन्तपुर जैसीदेवलस्थित एउटा गल्लीमा खाजा घर छ उनको । हामी त्यहाँ पुग्दा घडीमा बिहानको १० बजेको थियो । बाहिर चरक्क घाम चर्किइसकेको थियो । साँघुरो गल्लीमा कर्कसलाग्दो आवाज छोडेर सवारी साधनहरु हुइकिइरहेका थिए ।

दुईवटा टेवल । एउटा फ्रिज । किचेन र्‍याक र खाजा सजाउने सोकेश । र्‍याकमा केही थान भाडाहरु, भित्तामा सुकाइएको सुकुटी । साँघुरो ठाउँमा ग्राहक भरिभराउ छन्। कोही चुरोटको धुवाँ उडाइरहेका छन् त कोही ‘छ्याङ’ पिइरहेका । खाना खाने र चिया पिउनेहरुको आउजाउ पनि चलिरहेको छ ।

त्यही खाजाघरमा आमालाई सघाइरहेकी छिन् संगीता । आमा चमेली पनि काममै व्यस्त देखिन्छिन् ।

चमेलीको श्रीमान लामो समयदेखि बिरामी छन् । चमेली एक्लैलै चलाइरहेकी छिन् खाजाघर । यो बाहेक अन्य आयस्रोत छैन ।

छाक टार्ने संघर्षमै गुज्रिएको छ परिवार।

‘जिन्दगी चलाउने बाटो मात्रै हो । कोठाभाडा तिर्दै ठिक्क छ’ चमेलीले आफ्नो दुःखको पोका फुकाउँदै सुनाइन्, ‘बुढाको शरीरको एक पाटो राम्रोसँग चल्दैन । म एक्लैले कतिपतर भ्याउँनू ?’

आमाको कुरा सुनेर संगीता खिन्न हुन्छिन् । तर ‘म छु नि सघाउने’ भन्दै आमालाई ढाडस दिन सकिरहेकी छैनन् । भाडा माझ्न सघाउने र आमाको दुःख टुलुटुलु हेर्न बाहेक अरु विकल्प छैन।

उनलाई खाजा घरको अरु काममा  पनि आमालाई सघाउँन मन लाग्छ । तर ग्राहक भट्किने डर ! त्यसैले खाना खाने बेला मात्र होटलमा पुग्छिन् । केही समय आमालाई सघाएर कोठा फर्किन्छन् ।

संगीताले आमालाई सघाउने अरु उपाय पनि नखोजेकी होइनन् । कामको लागि धेरै ठाउँ नधाएको पनि होइन । तर सबै प्रयास खेर गयो । काम पाउने आशामा हिँडेकी उनी साँझ निराश भएर फर्किन्थिन् ।

कपडादेखि जुत्ता पसल सबैतिर एउटै जवाफ दिन्थे, ‘यस्तो मान्छेलाई कसरी काम दिनू ? ग्राहकहरु नै भाग्लान् ।’

एसिडले छाला मात्र पोलेको थियो । यस्तो बचनले मन पनि भतभति पोल्थियो। कोठाभित्र बसिरहँदा हुने सकसभन्दा कयौं गुणा कठोर बाहिरी दुनियाँको वचन थियो।

‘नेपालमा बसेर काम गर्न सक्छु भन्ने आत्मविश्वास अझै आएको छैन । जहाँ पनि सुन्दरता नै खोज्दोरहेछ’, निराश हुुँदै संगीताले सुनाइन्, ‘बल्ल त बाहिर निस्कने हिम्मत गरेको थिएँ । यस्ता वचन सुन्दा दिक्क लाग्छ ।’

उनी आफ्नै खाजाघरमा बसेर एसिड आक्रमणपछि जीवनमा आएको आरोह अवरोह सुनाइरहेकी छिन् । ग्राहकहरु आउने जाने क्रम जारी छ । आमा चमेली ‘सर्भ’ गर्नमै व्यस्त । छोरीको कुरा सुन्दै बीचबीचमा बोल्ने बाहेक फुर्सद छैन् उनलाई ।

संगीताको आवाज विस्तार मलिन भयो, घोसेमुन्टो लगाइन् । गला अवरुद्ध भयो । संगीता आँशु पुछ्दै घोसेमुन्टो लगाइरहँदा छेउमै रहेकी आमा चमेली बोलिन्, ‘हेर न, पिन्चे भाकी । यत्री भइसके तर, आशुँ झार्न छोड्दिन् ।’

संगीता मुख छोपेर ‘रुन्चे हाँसो’ हाँस्छिन् । माहोल परिवर्तन हुन्छ । संगीता फेरि गफिन थाल्छिन् ।

‘अरुले चुरोट खाएर उडाएको धुवा मुखसम्म आउँदा त तपाईलाई ‘इरिटेट’ लाग्छ । मेरो त अनुहारमै एसिड फ्याकिएको हो । म जस्तै भएका बाहेक अरुले मेरो पीडा महशुस गर्न सक्दैनन् ।’

उनी बोलिरहँदा आमा चमेलीको आवाज आउँछ, ‘संगीता जा जा गिलास पखाल्, अनि कुरा गर्नू ।’

****

गत असोजसम्म अन्धकार थियो संगीताको जिन्दगी । कोठामा एक्लै धुमधुम्ती बस्थिन् । बाहिर हिडडुल गर्न डर लाग्थ्यो । आफ्नै जिन्दगीदेखि निस्सासिएकी थिइन्। उनको अवस्था देखेर परिवारका सबै सदस्य अत्तिसकेका थिए ।

मन सधैं एउटै कुराले घोच्थ्यो, सबैका लागि बोझ जस्तै भएकी छु । न मर्न सक्छु, न बाँच्न ।

उनकै शब्दमा भन्दा ‘डिप्रेशन’मा थिइन् । प्रश्नहरुको ज्वारभाटाले दिमागमा उधुम मच्चाइरहेको थियो । आफैंदेखि बैराग लाग्थ्यो । अरुको वचनले मन कुडिन्थ्यो । दिमागले आफैंलाई सिध्याउने ‘खुंखार’ योजना बनाइरहेको थियो ।

मन र मष्तिष्कको झगडा सधैं एउटै कुरामा हुन्थ्यो—‘मर्नु ठीक कि यही जिन्दगी ?’

मनले भन्थ्यो, मर्नु ठीक ।

मष्तिष्कले भन्थ्यो, जिन्दगीमा केही गर्नैपर्छ । यो समाजलाई केही गरेर देखाउन भएपनि तँ बाच्नैपर्छ ।

दिमागलाई मनले जित्यो । आफैंलाई सिध्याउने योजना बनाउन थालिन् । ‘जिन्दगीभरि अँध्यारो कोठामा बस्नु भन्दा मर्नु ठीक’ भन्ने निष्कर्षमा पुगिन् ।

त्यही बेला (९ असोजमा) नवलपरासीकी वसन्ती परियारमाथि एसिड प्रहार भएको खबर सुनिन् । त्यो घटनाले उनको चैन उड्यो । के गरौं कता जाउँ जस्तो भयो । वसन्तीलाई उपचारका लागि चितवन ल्याइएको थाहा पाइन् । आफूसँगै एसिड आक्रमणमा परेकी सीमा बस्नेतले चितवन जाने प्रस्ताव गरिन् । कोठामा एक्लै विरक्तिएर बसेकी उनले ‘जान्न’ भन्न सकिनन् । आफैंलाई सिध्याउने योजना केही समयका लागि स्थगित गरिन् । र, गाडी चढेर चितवन लागिन् ।

गाडीमा भेटिएका मानिसहरुले उनीप्रति चासो देखाए । उनले वास्तविकता सुनाइन् । उनको कुरा सुनेर मानिसहरु चुक्चुकाए, एसिड हान्ने अपराधीलाई धारे हात लगाउँदै सरापे । मनको बह पोख्दा संगीताले पनि हुलुका महसुस गरिन् ।

एसिड आक्रमणमा परेको ५ वर्षपछि उनको पहिलो यात्रा थियो । यसले मानिसहरुका मनस्थिति र समाजलाई नजिकबाट नियाल्ने अवसर पाइन् । अर्कै संसारमा पुगेको आभाष भयो । संसार यस्तो पनि हुँदोरहेछ भन्ने लाग्यो । गाडीको यात्रा गर्दागर्दै आफैंलाई सिध्याउने योजनालाई नै सिध्याइन्, संघर्ष रोजिन् ।

‘यो दुनियाँ त रमाइलै रै’छ । मलाई सहानुभुति दिने मान्छे पनि रहेछन्’ मुस्कुराउँदै सुनाइन्, ‘झण्डै मरिनछु । मरेको भए यो फरक संसार कहाँ देख्न पाउँथे र ?’

****

जब चितवन पुगेर मृत्युसँग संघर्ष गरिरहेकी वसन्तीलाई हेरिन्, उनी स्तब्ध भइन् । न केही सोच्न सकिन्, न केही गर्न । बस्, उनको मन धरधरी रोइरह्यो ।

वसन्तीको अवस्था सोचेको भन्दा विक्षिप्त थियो । अनुहारदेखि पुरै शरीर जलेको । चक्कु प्रहारबाट अनुहार छियाछिया । वसन्तीमा ५ वर्षअघिको आफू पाइन् । अस्पतालको शैयाको सकसपूर्ण अवस्था सम्झदाँ आशु आयो । एसिडको पोलाई, आमाबुवाको बेहाल अवस्था र मिडियामा आउने खबर सम्झदाँ झसङ्ग् भइन् ।

‘यस्तै छ समाज बाँचेर के गर्छेस् ?’ मनले मष्तिष्कलाई सोध्यो।

जवाफ दिन दिमाग तयार थिएन। झन बैचेनी बढ्न थाल्यो । तर उकुसमुकुस भएर बस्ने समय कहाँ थियो र ? उनी सम्हालिइन् ।

अनि आफैसँग प्रण गरिन्, ‘अब बिरक्तिएर बस्दिनँ । जतिन्जेल बाँच्छु, आफूजस्तै मानिसहरुको हितको लागि काम गर्छु ।’

संगीताले जीवनलाई नयाँ मोड दिने प्रण गरिन् । अँध्यारो कोठाबाट बाहिर निस्कने हिम्मत आयो।

‘अरुले जेसुकै भनुन्, वास्ता गर्दिनँ’ भन्ने दृढ संकल्प गरिन् ।

वसन्तीलाई उपचार खर्च जुटाउन होस् या काठमाडौंसम्म ल्याउन सीमा र संगीताले दिनरात मेहनत गरे । काठमाडौं ल्याएर उपचार गराउन महत्वपूर्ण भूमिका खेलिन्। आफू आर्थिक संकटमै रहेर पनि उनीहरुले काम गरिरहे।

****

यतिबेला सीमा रोजगारीका लागि भारतमा छिन् भने नेपालमै रहेकी संगीता रोजगारी नपाएर छटपटाइरहेकी । काम खोज्दै संगीता पनि भारत नपुगेकी होइनन् । तर, उनलाई त्यहाँको वातावरणले साथ दिएन ।

उनी गत डिसेम्बरमा भारतको सिलगुढी पुगेकी थिइन् । त्यहाँ कपडा कम्पनीमा एक महिना काम गरिन् । नेपालमा जस्तै भारतमा पनि कसैले माया गरेर सहानुभूति दिन्थे त कोही ‘ट्वाल्ल’ हेरिबस्थे । काम राम्रै चलिरहेको थियो तर, वातावरणले साथ दिएन ।

भन्छिन्, ‘नेपाल आएर जत्ति काम खोजे पनि पाउँदै पाउँदिन त के गर्नू ? दिक्क लाग्छ अब विदेश जाने सोच बनाएकी छु ।’

कुराकानी गर्दागर्दै १२ बज्यो । उनी कीर्तिपुर अस्पताल जाने तयारीमा लागिन् ।

अस्पतालको रुम नम्बर २४ मा जेनी खड्का एक समय संगीताले गुजारेको क्षणसँग संघर्ष गरिरहेकी थिइन् । उनीमाथि १ जेठमा कालोपुलमा एसिड आक्रमण भएको थियो ।

संगीताले जेनीसँग केही कुरा गरिन्, केही क्षण जेनीको आमा कमलासँग।

कमलाले संगीतालाई देखाउँदै छोरीलाई ढाडस दिइन्, ‘हेर त, उसको अनुहार कति धेरै जलेको छ । तर उ हिडिरहेकी छेँ, हाँसिरहेकी छे । तँ किन निराश हुन्छेस् छोरी ?’

संगीताले कमलाको कुरामा सही थाप्दै भनिन्, ‘हो त बहिनी धेरै सोच्नु हुन्न् । हामीले सोचेजस्तो केही नराम्रो हुन्न् । हामीलाई माया गर्ने मान्छेहरु धेरै हुन्छन् ।’

जेनीले भने कुनै प्रतिक्रिया जनाइनन् ।

संगीता जेनीको परिवारलाई सहयोग गर्न हरेक दिन अस्पताल पुगिरहेकी छिन् । बैंक खाता खोल्ने, सहयोग जुटाउने काम गरिरहेकी छिन् । उनकै पहलमा गायिका आनी छोइङ डोल्माले जेनीलाई ५० हजार सहयोग गरिन् । अन्य व्यक्तिलाई पनि सहयोग गर्न आग्रह गरिरहेकी छिन् ।

संगीता अस्पतालमै व्यस्त भइन् । छुट्टिने बेला भनिन्,’ भोलि थापाथलीतिर निस्कनुस् न ।’

भोलिपल्ट….

थापाथलीस्थित गोथे इन्स्टिच्युट । संगितासँगै १५-१६ जना विद्यार्थी कक्षाकोठामा थिए । गुरुले बोलेको कुरा विद्यार्थीहरुले ‘रिपिट’ गर्दा कक्षाकोठा गुञ्जायमान थियो। भाषा हामिले बोलिरहेको भन्दा फरक। गुरु घरि घडी देखाएर बोलिरहेका थिए  त घरि पर्स देखाएर केही संकेत गरिरहेका।

विद्यार्थी ध्यानपुर्वक गुरुको निर्देशन मानिरहेका थिए।

संगीता गुरुको कुरा कापीमा नोट गरिरहेकी थिइन्। एक अर्कासँग बोलेर सिक्ने, सिकाउने क्रम जारी थियो। उनी त्यहाँ जर्मन भाषा सिकिरहेकी रहेछिन् । भाषा सिकेर जर्मन जाने योजना उनको। नेपालमै केही विकल्प नदेखेपछि यो निर्णय गरेको सुनाउँछिन् । विदेश पुगे केही राम्रै गर्न सकिएला कि भन्ने आशा छ उनलाई ।

साढे १० बजे सुरु भएको क्लास १२ बजे सकिन्छ । संगिता इन्स्टिच्युटको बगैंचामा बसेर हामीसँग गफिँदैछिन् । जिन्दगीका नयाँ योजना र सपना सुनाउँदैछिन् ।

अर्काको देश, अर्काको भाषा अनि मानिस पनि अर्कै । विदेश जाने निर्णय गर्नुअघि उनलाई डर नलागेको होइन ।

‘तर, नेपालमै बसेर के गर्नु ? कस्ले दिन्छ काम ?’

जति भौतारिएपनि यो प्रश्नको जवाफ पाइनन् ।

अन्ततः आमाबुवालाई विदेश जाने निर्णय सुनाइन् ।

जवाफ आयो, ‘तेरै खुशीको लागि यत्रो दुःख गरेकी छेस् । तँ खुशी हुन्छेस् भने जा ।’

त्यसपछि जर्मन भाषा सिक्न थालिन् । १ महिनादेखि यहाँ धाउनु उनको दैनिकी बनेको छ । अस्पताल जाने, पढ्न आउने र घरमै बस्ने । यसरी नै बित्छ उनको दिन ।

कहिलेकाहीँ साथीहरुसँग घुम्न जान्छिन् । सामाजिक कामको लागि पनि समय दिइरहेकी छिन् । साथीभाइको साथ सहयोगले दिन काट्न सहयोग गरेको छ ।

‘बाहिर निस्किएर हिँड्न थालेपछि त बाहिरी दुनियाँ रमाइलो लाग्यो । तर, जागिर नपाएरै ‘फ्रस्टु’ संगीता सुनाउँछिन्, ‘साढे तीन वर्षअघि बाहिर निस्किएको भएँ केके गरिसक्थेँ होला। अध्यारो कोठमा बसेको सम्झिँदा पछुतो लागेको छ।’

नेपालमै काम पाएको भए विदेश जाने योजना बन्ने थिएन । असुरक्षित भविश्य तथा पढ्ने, सिक्ने र कमाउने सपनाले विदेश जाने हुटहुटी बढेको हो।

निराश हुँदै सुनाउँछिन्,’ कसैले यतै काम दिएको भए अर्काको देश किन जानु र ?’

पढ्न र काम दुबै गर्न पाइने भएकाले भाषा पढेर जर्मन जाने तयारी गरेकी हुन्। पढाइ सकेर नेपाल फर्केपछि भने आफूजस्तै मानिसको सेवा गर्ने सोच छ। मागेर समाजसेवा नचल्ने बुझेकी छन्।

भन्छिन्, ‘आफू टिक्नलाई पनि पैसा कमाउनैपर्छ । समाजसेवा गर्न त झन चाहियो, चाहियो ।’

संगीतालाई लागेको छ, विदेश गएपछि स्वतन्त्रता पाइन्छ । कम्तीमा जागिर खोज्न जादाँ यहाँ जस्तो वचन सुन्नु नपर्ला । भेट्दा मानिसहरुले ‘तेस्रो ग्रह’बाट आएको जस्तो व्यवहार नगर्लान् । अनि आफ्नो पढाई पुरा गरेर आफूजस्तै मानिसहरुका लागि सहयोग गर्ने हैसियत बनाउन सकिएला ।

‘अर्को दिन भेट्ने’ है भन्दै संगीता इन्स्टिच्युटबाट कीर्तिपुर अस्पतालतिर लागिन् ।

अर्को दिन….

साझँको ५ बज्दै गर्दा वसन्तपुर डबलीमा मानिसहरुको चहलपहल बढ्दो छ । रात्रिकालीन व्यापार व्यवसायको चहलपहल सुरु हुन लागेको। संगीता अनुहार नढाकेर हिँडिरहेकी छिन्,  हामीसँग कुराकानी गरिरहेकी छिन्।

संगीताले त आँट गरेकी हुन् तर, समाज बदलिएको छैन, मानिसहरुको सोच बदलिएको छैन । अहिले पनि उनलाई देख्दा ‘तेस्रो ग्रह’ बाट आए जसरी हेर्छन् । मुटु छियाछिया पार्ने प्रश्न गर्छन् । तर, उनले त्यसलाई वास्ता गर्न छाडिसकिन् । अब आफ्नो वास्तविकता स्वीकारेर जिन्दगी बिताउने सोच बनाइसकेकी छिन् ।

उनका पुराना सपनाहरु मरिसके । चाहनाहरु ओइलाइसके । नयाँ सपना बुन्न थालेकी छन्, आफूजस्तै पीडितको लागि केही गर्ने ।

त्यो फागुन १० गते …..

फागुनको महिना । जाडो सकिएको थिएन । एसएलसी परीक्षा नजिकिँदै थियो । गणितमा कमजोर संगीता ‘आइरन गेट’ पास हुन ट्युसन धाउन थालेको केही दिनमात्र भएको थियो ।

त्यो बिहान झिसमिसे नै थियो । मानिसहरुको चहलपहल भर्खर सुरु हुन लागेको थियो । संगीता ट्युसन कक्षामा पुगिसकेकी थिइन् तर, शिक्षक आइपुगेका थिएनन् । उनी सीमा बस्नेतलाई गोश्वारा भौचर भर्न सिकाउँदै थिइन् । त्यतिकैमा ढोका ड्वाङ्ग गरेको आवाज आयो । त्यता के हेरेकी थिइन् अनुहार निथ्रुक्कै भिज्यो ।

होली नजिकिँदै थियो ।

‘यति बिहानै कसले हान्यो लोला ?’ सीमाको आवाज सुनियो । उनलाई भने भतभत पोल्न थालिसकेको थियो । उनको मुहार एसिड रापले डढ्यो । सँगै ट्युसन पढ्ने सीमा पनि एसिडमा परिन् ।

होसमा आउँदा केएमसी अस्पतालको बेडमा थिइन् । भर्ना गरेको सातौं दिन थियो त्यो। आमालाई हेरिन्, आमा नै बिरामी झै लाग्यो।

यत्ति बोल्न सकिन्, ‘नरुनु आमा म चाँडै ठीक हुन्छु ।’

तर, जब आफ्नो अवस्था थाहा पाइन्, संसार फनफनी घुमेजस्तो भयो । बल्लतल्ल याद भो, कसैले केही फ्याँकेको ।

को थियो त्यो ? केही ठम्याइनन् । कतिबेला आमा कतै जान्छिन् र अस्पतालबाट हामफालुँ झै भयो । आत्महत्या गर्नेबाहेक अरु केही सोच आएन।

घटनाको २८ दिनपछि जीवन विक नामका युवक पक्राउ परे । त्यतिले चित्त बुझ्ने कुरा थिएन।

‘के कारणले हान्यो त एसिड ?’

विकले ‘संगीतासँग प्रेममा रहेको’, ‘तल्लो जात भनेर हेपेको’ बयान दिए ।

बयानलाई झुटो भन्छिन् उनी ।

संगीतालाई त्यो अतितबारे कसैले नसोधिदियोस् जस्तो लाग्छ । तर, विगत बिर्सिएर न वर्तमानमा बाँच्न सजिलो छ न भविश्यमै । नचाहदाँ नचाहदैँ अतित पछ्याइरहन्छ ।

जिल्ला अदालतले १० वर्ष जेल सुनायो तर, जीवन पुनरावेदन गए । पुनरावेदनले जिल्लाको फैसलालाई सदर गरिदियो । उनले फेरि सर्वोच्च अदालतमा अपिल गरेका छन्।

संगीता भन्छिन्, ‘जे कुरा विर्सन चाह्यो त्यही कुराले झेल्दै लगेको छ ।

संगीता ५ वर्षअघि भएको घटना भएकै क्षेत्र बसन्तपुरमा बसेर पुराना दिनहरु सम्झिइरहेकी छिन् । पुराना दिन सम्झिँदा घरि उदास हुन्छिन् त घरि चुपचाप टोलाउँछिन् ।

कुरा गर्दागर्दै सूर्य पश्चिमतिर सर्दै गयो । संगीता पनि बसन्तपुरको भीडबाट ओझेल भइन्।

निराश जीवन बिताइरहेकी संगीताको आखाँमा भविश्यलाई लिएर आशा पनि छ । सपना सजाएकी छिन् । एसिडको घाउ नपुरिएपनि मनको घाउ विस्तारै पुरिँदैछ ।

उनको सपना पूरा होस्, शुभकामना ।

तस्वीरः चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment