Comments Add Comment
No ads found for this position

धोबीखोलाको सम्पत्ति सरकारलाई बुझाउने भद्राकुमारीको इच्छा

८८ वर्षको उमेरमा ज्येष्ठ नागरिकको साहित्य लेख्दै

२५ जेठ, काठमाडौं । भद्राकुमारी घलेले राजनीतिका अतिरिक्त समाजसेवा सुरु गरेको असार १ गते ७५ वर्ष पुग्दैछ । उनको उमेर अहिले ८८ वर्ष पुगेको छ । पञ्चायतकालमा लामो समय सांसद र केही वर्ष राज्यमन्त्री बनेकी घले बहुदल आएपछि केही समय राप्रपामा रहिन् । अहिले उनले राप्रपा छाडिसकेकी छिन् । तैपनि राजनीतिमा उनको  छवि राजावादीका रुपमा अहिलेसम्म रहँदै आएको छ ।

घलेसँग ५० वर्षे राजनीतिक जीवनदेखि मन्त्री हुँदासम्मका उतार-चढावका आफ्नै कथा-व्यथा छन् । सिन्धुली, जनकपुर हुँदै बनारससम्म उनी जोडिन्छिन् । पछिल्लो समयमा ८८ वर्षको उमेरमा यी हजुरआमाले राजनीति र समाजसेवा बाहेक धोवीखोलाको सार्वजनिक जग्गा मिचेको आरोपसमेत खेपिरहेकी छिन् ।

राजनीति छाडिसकेकी घलेभित्र बुढ्यौली उमेरमा पनि पुस्तक लेख्ने धून यतावत छ । उनी दिनहुँ लेख्ने गर्छिन् । उनको लेखाइ बुढाबूढीका विषयमा केन्दि्रत छ । उनी चित्रहरु पनि बनाउँछिन् ।

ओखलढुंगादेखि सिंहदरबारसम्म

प्रथम विश्वयुद्धका सिपाही अमरबहादुर घले युद्ध समाप्तिपछि आफ्नो गाउँ ओखलढुंगा फर्किएका थिए । आफूले संसार देखे पनि गाउँका मानिस अशिक्षित भएको कुराले उनलाई दुःखी तुल्याएको थियो । देशमा राणा शासन भएका कारण शिक्षा दिने चलन थिएन । उनले गाउँका पुरुषलाई घरमै अनौपचारिक शिक्षा दिन सुरु गरे । त्यहीबेला भद्रकुमारी घलेकी फुपूको विवाह उनै अमरबहादुरका छोरासँग भयो । त्यो उनको मामाघर पनि थियो ।

तिनै फुपूका साथ लागेर उनी मामाघर आइन् र हजुरबुबाको अनौपचारिक शिक्षालयमा सहभागी भइन् । दिमाग तेज भएकी भद्राले दुई महिनाभित्रै साउँ अक्षर फुटाउने मात्रै होइन,  बुद्धि चाणक्य र दुर्गा कवच जस्ता पुस्तक मज्जाले पढ्न सक्ने भइन् ।

त्यसपछि उनै अमरबहादुरले १२ वर्षकी भद्रालाई शिक्षिकाका रुपमा नियुक्त गरे । विसं. २००१ साल असार एक गतेबाट विद्यार्थी पढाएर समाजसेवामा होमिएकी भद्रा अहिले पनि काठमाडौंको अनामनगरमा सानोतिनो विद्यालय नै चलाइरहेकी छिन् ।

प्रारम्भका केही वर्ष शिक्षामा उनको योगदान छुट्यो होला, नत्र वितेको ७५ वर्षमा उनले आफ्नै खर्चमा सैयौं बालबालिकालाई शिक्षा दिइन् । थोरै पैसा कमाउने वित्तिकै आम्दानी हुने स्थानमा लगानी गर्ने र त्यसको आम्दानीले विद्यार्थी पढाउने उनको पुरानो शैलीले आज पनि निरन्तरता पाइरहेको छ । उनको छात्रवृत्तिमा आज पनि दर्जनौं विद्यार्थी पढिरहेका छन् । उनकै नेतृत्वमा जनकपुर अञ्चलमा दर्जनांै विद्यालय खुलेका थिए । तीमध्ये धेरै विद्यालयको प्रारम्भिक लगानी उनी आफैंले गरेको बताउँछिन् ।

देशमा पञ्चायती शासन आएपछि उनी आमाको रहर र जनकपुरका तत्कालीन अञ्चलाधीशको करमा राजनीतिमा प्रवेश गरिन् । उनकी आमा सिन्धुलीको अम्बोटे र हर्साइमा २५ वर्षसम्म लगातार प्रधानपञ्च भएकी थिइन् । आमाको बिँडो पछ्याउँदै भद्रा सिन्धुली जिल्लाबाट पाँचपटक माननीय भएकी भइन् भने एकपटक राज्यमन्त्री बनिन् ।

भद्राकुमारी घले ०३८ सालको सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा श्रम तथा सामाजिक कल्याण राज्यमन्त्री बनेकी थिइन् । उनी २०१९ मा सिन्धुलीबाट राष्ट्रिय पञ्चायत सदस्य बनेकी थिइन् । ०२८ सालमा महिला संगठनबाट रापंस बनिन् । ०३८ सालमा चाहिँ उनी सिन्धुलीबाट निर्वाचित भएकी थिइन् ।

बनारसको कथा

छात्रवृत्ति पाएर भारतमा नर्सिङ पढेको बताउने भद्रा घलेले त्यसबाहेक भारतको गान्धी आश्रममा ५ वर्ष बसेर चर्खा प्रचारक पनि बनेकी थिइन् । उनी आफूलाई बनारसको काशी विश्व विद्यालयबाट शास्त्री पास गर्ने पहिलो महिला भएको दाबी गर्छिन् ।

घलेका अनुसार नेपालमा जस्तै भारतमा पनि कलेज पढ्न जाने महिला थिएनन् । त्यसमाथि बनारसजस्तो संस्कृतको बोलवाला भएको र पण्डित उत्पादन गर्ने कलेजमा महिलाको प्रवेश वर्जित थियो । तर, उनले काशी विश्वविद्यालयमा आफूले पढ्न पाउनुपर्ने माग गरिन् र भर्ना हुन सफल भइन् ।

घलेका अनुसार गान्धी आश्रममा ५ वर्ष बस्दा उनको पहुँच तत्कालीन भारतीय प्रधानमन्त्री जवहारलाल नेहरु र राष्ट्रपति राजेन्द्रप्रसादसम्म थियो । राष्ट्रपति हुनुअघि नै भद्रा राजेन्द्रप्रसादको घरमा आऊ-जाऊ गर्न सक्ने भइसकेकी थिइन् । हक्की स्वाभाव, माथिसम्मको पहुँच र सँगै पढेका साथीहरुको साथले गर्दा उनले गान्धी आश्रममा  भर्ना पाएको र त्यहाँको अनौपचारिक शिक्षालाई विश्वविद्यालयले मान्यता दिएको उनी बताउँछिन् ।

भ्ाद्राको साहित्य लेखनको सुरुवात गान्धी आश्रममै भए पनि काशी विश्वविद्यालयबाट खारिएको उनी बताउँछिन् । कलेजमा साहित्यको वातावरण भएकाले साताको अन्त्यमा त्यहाँ पढ्ने युवाहरु गीत लेख्ने, कविता वाचन गर्ने र नाटक लेख्ने गर्थे । भद्राले सुरुमा गीत गाएर कलेज पढ्ने पुरुषहरुलाई छक्क बनाएकी थिइन् । त्यो बेलासम्म भारतमा पनि महिलाले सार्वजनिक मञ्चमा गाउने चलन सुरु भइसकेको थिएन । तर, गान्धी आश्रममा भने महिलाहरु साहित्यिक लेखनमा सक्रिय थिए ।

उनका १४१ पुस्तक प्रकाशित छन् । ८८ वर्षको उमेरमा पनि उनी अझै लेख्दैछिन् । घले चित्राकार पनि हुन्, उनले आफैं तयार पारेका २ सय भन्दा बढी कलाकृतिहरु अनामनगरस्थित सेवा सदनका भित्तामा असरल्ल टाँगिएका छन् ।

भद्राको लेखन ८८ वर्षको उमेरमा पनि रोकिएको छैन । अहिले पनि उनी दैनिक १० पेजजति लेख्छिन् । उनले बुढेसकालका विषयमा मात्रै ४१ वटा पुस्तक लेखिसकेकी छन् ।

‘नेपाली लेखकले बालबालिकाका विषयमा लेखेका रहेछन्, किशोर र जवानका विषयमा लेखेका रहेछन् । अधबैंशेका विषयमा लेखेका रहेछन्, तर बुढेसकालका कथा-व्यथा भने कसैले लेख्न भ्याएका रहेनछन्,’ घले भन्छिन्, ‘मैले धेरै बृद्धाहरु पालें । आफैंले पनि बुढेसकाल बेहोरिरहेकी छु । यी सबै अनुभवहरु लेख्दै जाँदा ४१ वटा पुस्तक भए । अरु पनि लेख्दैछु । ५० वटा पुस्तक त बुढेसकालकै विषयमा हुन्छन् होला ।’

चित्रकलामा पनि शोख राख्ने घलेका चित्रमा आधुनिक रंगको प्रयोग भएको छैन । रातो माटो, बेसार, मट्टीतेल बालेर बनेको कालो र अनेक रुख विरुवाका चोप र रसबाट उनका कलाकृति बनेका छन् । घलेका आश्रमभरि उनका चित्रले  भरिएका छन् । अधिकांश चित्र महिलाको पीडामा केन्द्रित छन् ।

८८ वर्षको उमेरमा पनि उनलाई कुनै रोग छैन । आँखाको सुरक्षाका लागि कालो चश्मा लगाए पनि उनी नाङ्गो आँखाले लेखपढ गर्न सक्छिन् । उनका कान पनि तीखा छन् । खुट्टामा थोरै समस्या भए पनि वाषिर्क करोडभन्दा बढीको कारोबार हुने भद्रकुमारी घले सेवा सदनका गतिविधिमा प्रत्यक्ष सहभागी हुन्छिन् ।

विवाह गरिनन्

आफूलाई विवाहको आवश्वकता महसुस नभएको घले बताउँछिन् । ‘विवाह नगर्नु मेरो सोची सम्झी गरेको निर्णय हो ।’ घलेले विवाह नगर्नुको कारण बारे एउटा पुरानो घटना सुनाइन्-

‘ओखलढुंगामा मेरा एकजना भान्जेदाइ हुनुहुन्थ्यो । उनका दुई श्रीमती थिए । जेठी श्रीमतीलाई उनी यसरी सताउँथे कि पशुलाई पनि कसैले त्यति सताउँदैन । जेठी भाउजूको पीडादायी बैवाहिक जीवन देखेपछि मैले म जस्तोसुकै अवस्थामा पनि विवाह गर्दिनँ भन्ने निर्णय गरेकी थिएँ । आज मैले समाजका लागि जति काम गरेको छु, विवाह गरेको भए सायद त्यो सम्भव थिएन ।’

विवाहका लागि उनलाई पटक-पटक प्रस्ताव आए । उनले त्यसलाई अस्वीकार गरिरहिन् । माननीय भएका बखत एकजना अर्का विदुर माननीयले उनलाई फकाउने प्रयास गर्दा झण्डै हातपात हुन पुग्यो ।

‘पुरुषको संगत गर्दिनँ भनेर निर्णय गरेपछि मैले कहिल्यै पनि त्यतातिर सोचिनँ । कहिल्यै पनि पुरुषको साथको आवश्यकता नै परेन,’ विवाहको कुरा कोट्याउँदा भद्रा घले भन्छिन्, ‘जसलाई खोर्सानी खानु नै छैन, उसले खोर्सानीको बोट नै हेर्दैन ।’

‘युवाले गोबर सोहोर्न मानेनन्’

केही वर्षअघिको कुरा हो,  आर्थिक अभावका कारण एसएलसी पास भएर पनि उच्च शिक्षा अध्ययन गर्न नसक्ने केही गाउँले युवायुवतीका लागि घलेले अनामनगरमा एउटा कृषि फर्म खोलेर रोजगारीको व्यवस्था गरेकी थिइन् । उच्च शिक्षाको अध्ययन गर्न गाउँबाट काठमाडौं आउनुपर्ने बाध्यता बुझेकी उनको रोजाइमा दुर्गम गाउँका दलित, जनजाति र अपहेलित युवतीहरु थिए ।

यसका लागि उनले अनामनगरस्थित धोवी खोलाको किनारमा ७ रोपनी जग्गा लिएर त्यसमा कुखुरा, हाँस, बंगुर, माछा, बाख्रा र गाईजस्ता सजिलै नगद आम्दानी हुने व्यवसाय थालिन् । गाउँबाट आएका युवालाई रोजगार पनि हुने र काठमाडौंलाई आवश्यक पर्ने दूध र मासुको खपत हुने उनको ठहर थियो ।

घलेको कृषि फर्ममा प्रत्येक वर्ष २५ जना युवायुवती आउँथे । तर, एकाध महिना नबित्दै अधिकांश विद्यार्थी उनको कृषि फर्मबाट हराउँथे । अर्को वर्ष आएका नयाँ युवा पनि त्यसैगरी  हराउँथे । कहिलेकाहीँ कसैलाई पैसाको खाँचो परेको अवस्थामा मात्रै उनीहरु केही दिनका लागि देखा पर्थे । उनीहरु काठमाडौं सहरमै भएको कुरा त घलेले थाहा पाइन्, तर आफूले रोजगार र मातृवत स्नेह दिँदा पनि किन यहाँ टिक्दैनन् ? उनलाई अचम्म लाग्थ्यो ।

पाँच वर्षसम्म  पढाउन भनेर सहरमा ल्याएका सयभन्दा बढी युवायुवती एक वर्षभित्रै कृषि फर्म बाट हराएपछि छैठौं वर्ष उनले हराएका विद्यार्थीहरुको भेला डाकिन् । त्यहाँ ५० जति युवायुवती जम्मा भए ।

ती युवाले उनलाई जे भने, उनको जमिन नै भासिएजस्तो भयो । उनीहरु भन्दैथिए,  ‘दिदी, हावाको वेग पश्चिम बगिरहेको छ, तपाईं हामीलाई पूर्वतिर देखाउनुहुन्छ । यही गाईको गोबर र सुँगुरको लादी सोहर्न हामी गाउँबाट सहर आएका हौं र ? हाम्रा साथीभाइ चिटिक्क परेर सहर घुमिरहँदा हामीलाई गोबर सोहर्न कति गाह्रो हुन्छ, सोच्नुभएको छ ?’

युवालाई आधुनिक कृषि ज्ञान दिँदै उच्च शिक्षा दिनुपर्छ भन्ने सोचले सुरु गरेको आधुनिक कृषि अनुसन्धान केन्द्र ती युवाहरुको भनाइसँगै धराशायी भयो । खासमा गाउँका युवाहरु काठमाडौंंमा शिक्षा लिन होइन, कृषि कर्मबाट मुक्त हुन पो आउने गर्दा रहेछन् । एक छाक खाएर उनीहरु साँगुरो कोठामा बस्न राजी थिए, तर खुला ठाउँमा बसेर कृषि कर्म गर्न उनीहरु कुनै हालतमा तयार थिएनन् ।

‘विद्यार्थी भेला सकिएको भोलिपल्टदेखि मैले कृषि फर्म बन्द गर्ने निर्णय गरेँ’ भद्रकुमारी भन्छिन्, ‘अहिले यही ठाउँमा विद्यालय खोलेकी छु । बृद्धाश्रम खोलेकी छु र यसैमा पाहुना घर बनाउँदैछु ।’

‘पुरस्कारको पैसाले रक्सी पिएको भेटियो’

भद्राले साहित्यकारलाई प्रदान गर्दै आएको दुई लाख रुपैयाँका दुई पुरस्कार र १० हजार राशीका १० वटा पुरस्कारहरु यस पटकदेखि बन्द गर्ने घोषणा गरेकी छिन् ।

बितेका १५ वर्षमा सयभन्दा बढी साहित्यकारहरुले उनको संस्थाबाट पुरस्कार पाइसकेका थिए । उनको इच्छा थियो, हरेक साहित्यकारले आफ्नो जीवनमा उनीहरुको योगदान अनुसारको कुनै न कुनै पुरस्कार प्राप्त गरुन् । यही अभिप्रायले उनले कमाएको ठूलो रकम अक्षयकोष बनाएर साहित्य सेवामा लगाएकी थिइन् । तर, गएको वर्ष उनी अनौठो सत्यबाट साक्षात्कार भइन् ।

एउटा कार्यक्रम गरेर साहित्यलाई सम्मान गरेको साँझ उनले एकजना साहित्यकारलाई आफ्नो तर्फबाट पुनः बधाइ दिन फोन गरिन् । पुरस्कृत व्यक्ति कुनै रेष्टुरेन्टमा उनका साथीभाइहरुसँग रक्सी पिइरहेका थिए । पुरस्कार पाएको खुसीमा ती लेखकले आफ्ना साथीभाइहरुलाई पुरस्कारको रकमभन्दा बढीको रक्सी खुवाइसकेका रहेछन् ।

पुरस्कृत व्यक्तिले मातेको स्वरमा पुरस्कारको रकम साथीभाइसँग रमाइलो गरेको बताइरहेका थिए । भोलिपल्टदेखि उनले नजानिँदो रुपमा अन्य साहित्यकारहरुले प्राप्त गरेको रकम कहाँ गयो भनेर सोधखोज गर्न थालिन् ।

केही दिनको अध्ययनमै उनले थाहा पाइन्, अधिकांश साहित्यकारले पाएको पुरस्कार घरसम्म नपुगी पुरस्कार पाएकै दिन रक्सी, खानपिन र नाचगानमा सकिँदो रहेछ ।

‘आफूले पाई-पाई जोडेर कमाएको पैसा यसरी रक्सीमा सकिन्छ भनेर मैले त कल्पना नै गरेकी  रहिनछु,’ समाजसेवाका ७५ वर्षको लेखाजोखा सुनाउने क्रममा अनलाइनखबरलाई भद्राकुमारी घलेले भनिन्, ‘सबैभन्दा दुःखी पेशा कलमको हो । आफूलाई निचोरी निचोरी अरुका लागि बोलिदिने र समाजको भविश्य कोरिदिने पेशा हो, साहित्यकर्म । यस्ता व्यक्तिहरुको समस्या थोरै भए पनि कम गर्न सकिन्छ कि भनेर मैले जीवनभरि कमाएको पैसा पुरस्कारमा लगाएकी थिएँ । तर, मेरो पैसा त रक्सीमा पो उडाउँदारहेछन् ।’

यो थाहा पाएपछि उनले साहित्यकारको पुरस्कारका लागि छुट्याएको रकम बालबालिकाको शिक्षामा हस्तान्तरण गर्ने निर्णय गरेकी छन् । प्रत्येक वर्ष आवश्यक ठाउँमा पुस्तकालय खोल्दै जाने उनले आफ्नो योजना सुनाइन् ।

सम्पत्ति सरकारलाई हस्तान्तरण गर्ने इच्छा

हाल अनामनगरस्थित महंगो जग्गामा चलिरहेको घलेको संस्था र त्यसको सम्पूर्ण आम्दानी समाजसेवामै खर्च गरिरहेको उनी बताउँछिन् । आश्रममा पाहुना घर बन्दैछ । पुस्तकालय छ । प्रौढ शिक्षा पढ्ने महिलाहरु छन् । विद्यालय छ । बृद्धाश्रम छ । त्यसबाहेक महिलाहरुका लागि आयआर्जनका विभिन्न काम पनि चलिरहेका छन् । उनी आफूचाहिँ डिल्लीबजारथिस्त एउटा पुरानो घरमा जीवनयापन गर्छिन् । आफू बस्ने घरमा पनि केही महिलालाई आश्रय दिएकी छिन् ।

‘महिनाको २० हजार रुपैयाँ आउने गरी एउटा सहकारीमा केही पैसा राखेकी छु, त्यही नै मेरो बाँच्ने आधार हो । मेरो नाममा भएको जग्गा जमिन र त्यसको आम्दानी सबै आश्रमकै काममा खर्च हुन्छ ।’ भद्रा भन्छिन्, ‘मानिसलाई बाँच्न धेरै पैसा चाहिने होइन रहेछ । तर, मानिस भोलि के होला भन्ने डरले गर्दा अनावश्यक पैसा जम्मा गर्छ । यो कुरा मैले धेरै अघि बुझेका कारण मलाई आनन्द छ ।’

भद्राकी आमा पूर्वप्रधानपञ्च भक्तकुमारी घलेको मृत्यु १०३ वर्षको उमेरमा भएको थियो । भद्रकुमारी पनि आमाझैँ आफूले लामो जीवन पाएको अनुभव गर्छिन् । ‘तैपनि एक दिन मैले आमाकै बाटोमा जानुपर्छ । म जानुअघि मैले सुरु गरेका सामाजिक काम निरन्तरता दिन सक्ने व्यक्ति भेटेकी छैन,’ घलेले अनलाइनखबरसँग भनिन्, ‘त्यसैले आफू जानुअघि समाज सेवाका सम्पूर्ण काम सुचारु हुने देखिनँ भने सबै सम्पत्ति र यहाँका काम सरकारलाई हस्तान्तरण गर्ने योजना बुनेकी छु ।’

धोबीखोलाको जग्गा मिचेको आरोप

घलेले अनामनगरस्थित धोवीखोलाको किनारमा स्थापना गरेको ‘भद्रकुमारी घले सेवा सदन’ का नाममा सार्वजनिक जग्गा अतिक्रमण गरेको आरोप लागेको छ ।

काठमाडौं महानगरपालिका- १०, देवीनगरमा रहेको बानेश्वर सिट नम्बर ११४६-०२ अन्तरगतका कित्ता नम्बर १२, २२३, २२६, १३ र २२५ अन्तरगतको करिब ११ रोपनी सार्वजनिक जग्गामा भद्रा घले सेवा सदनका नाममा स्कुल, सहकारी, टहरा र पसलहरु सञ्चालन गरी भाडा लिने गरिएको भन्दै सतर्कता केन्द्रमा उजुरी परेको र त्यसबारे छानविन सुरु भएको समाचार पत्रपत्रिकामा आइरहेका छन् ।

बुढेसकालमा यस्तो आरोप लाग्दा आफूलाई दुःख लागेको घलेले बताइन् । आफू अविवाहित रहेको र परिवारका सदस्य कोही नभएकाले आफूले यो सम्पत्ति सरकारलाई नै बुझाउन चाहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment