Comments Add Comment
No ads found for this position

संस्मरण : नछापिएको खुलापत्र !

मानिस जति सकस र कयसमा बस्न बाध्य हुन्छ, ऊ निर्वाध विचरणको विकल्प खोज्न थाल्छ । विद्रोही बन्छ । आगो ओकल्न थाल्छ । भकुण्डो जति दबायो, त्यति माथि उफ्रिए जस्तै हो । पीडित मानिसमा देखिने प्रवृति एवम् चरित्र नै हो यो ।

शिवपुरी मावि, महाराजगञ्जमा कक्षा छ देखि दशसम्म पढेँ । पढाइलाई निरन्तरता दिनका लागि म छ वर्ष कठोर कयसमा बसेँ । सकसमा बसेँ । बस्न बाध्य थिएँ र बसेँ । अफ्ठेरो र साँघुरो अवस्थामा नै जीवन पढिन्छ र बुझिन्छ भन्छन् ।

बाहिर नदेखिए पनि मभित्र विद्रोहको राँको बलिरहेको थियो । चिल्ला कार देख्यो कि ईंटाले हानिदिऊँ जस्तो लाग्थ्यो । सिमेन्टेड घर भत्काइदिऊँ जस्तो लाग्थ्यो । नोकरले सोफा, कुर्सी र बिस्तरामा बस्नै नहुने तर कुकुरले बस्न हुने । मट्टीतेल छर्केर  सोफा नै डढाइदिऊँ जस्तो लाग्थ्यो । मान्छे-मान्छेवीचको विभेद देख्दा नशा नशामा रगत उम्लेर बगेझैं लाग्थ्यो । पीडकलाई दाँतैले टोकिदिऊँ जस्तो लाग्थ्यो । तर, ती सबै किशोरवयका आवेग थिए । मैले के नै गर्न सक्थेँ र ! सके पनि गर्नै हुँदैनथ्यो त्यस्तो काम ।

मानिस सकस र कयसबाट पनि गुज्रनुपर्दो रहेछ । सायद म सकस र कयसमा हुँदैनथेँ भने कामै नलाग्ने बन्न सक्थेँ । पुल्पुलिएर मेरो पढाइ बिगि्रन पनि सक्थ्यो ।

म पद्यरत्न तुलाधरको फ्यान थिएँ । उनी काठमाण्डुका जनतामाझ भिजेका नेता थिए । सभामा भाषण गर्दागर्दै भावावेशमा आएर तिनी धर्धरी रुन्थे । त्यो देखेर मेरा पनि आँसु झर्थे ।  लुकीलुकी म उनको भाषण सुन्न जान थालेँ । ०४३ मा राष्ट्रिय पञ्चायतको चुनावमा काठमाडौँबाट पद्मरत्नले चुनाव जिते ।

बाटोघाटोको विषयमा उनको राय कमजोर थियो । भन्थे, ‘सडक बनेर गाडी गुडाउन थालेपछि जनताले के काम गरेर खान्छन् ? भारी बोक्न पाउँदैनन् ।’ यिनका कुराले मेरा कन्सिरीका रौं तात्थे । तर म फुच्चे के नै गर्न सक्थेँ र, भित्रभित्रै मुर्मुरिनु सिवाय

कक्षा ६ देखि नै सत्ताइत्तर कित्ताका समाचारपत्र मेरो प्राथमिकतामा पर्न थाले । साप्ताहिक विमर्श र नेपाली आवाजले मभित्रको विद्रोहचेतलाई मलजल गरे । देशान्तर र समीक्षाले मलाई सूचित गराए । ती पत्रिका हेरेपछि त स्कुले विद्यार्थी भए पनि बागी कुरा गर्नैपर्ने बानी बस्यो । विद्रोहको स्वर उराल्नैपर्ने भयो । विद्रोही कविता लेख्न थालेँ । प्रधानाध्यापक भवानीविक्रम राणाले थाह पाइहालेछन्, उनी मलाई कर्के आँखाले हेर्न थाले ।

नवराज सुवेदी पञ्चायती सत्ताको केन्द्रमा थिए । पञ्चायत व्यवस्थामा सुवेदीले लामो समय राजनीतिक शक्ति हत्याइराखे । उनी पञ्चायतमा ‘जङ्गबहादुर’ नै भएर देखा परे । कतिपय अवस्थामा राजालाई समेत यिनले गुमराहमा राखेका थिए । नवराज सुवेदी तीसवर्षे पञ्चायतकालमा सबैभन्दा बढी समय सत्ता र शक्तिमा रहेका अवसरवादी चरित्रका महापञ्च पनि थिए । ०४० सालतिर रामेछापको एउटा पञ्च भेलामा युवा जमातलाई लक्षित गर्दै यिनले भनेका थिए, ‘तिम्रा भोट असनमा लगेर बेच ठिटा हो । मलाई टोपीको घेरा फाटेकाहरूको भोट भए पुग्छ ।’

०४३ मा शिवपुरी माविमा आठ कक्षा पढ्दा नै मैले यिनलाई एउटा खुलापत्र लेखेँ । नवराजको सत्तोन्मादी चकचकीले सीमै नाधेको थियो । पत्रिकामा बेलाबेलामा खुलापत्र छापिएको देखेको थिएँ । म पनि त्यो खुलापत्र लिएर म देशान्तर साप्ताहिकका सम्पादक किशोर नेपालकोमा पुगेँ । तर, पत्र पढेपछि नेपालले मलाई खप्की खाए । भने, ‘के हो भाइ ? ओठ निचोरे दूध आउलाजस्तो छ, यस्तो विद्रोही चिठी लेख्ने ? हाम्रो पत्रिकाले यस्तो चिठी छाप्दैन ।’ सायद त्यस्तो काम गर्नु पत्रकारिताको धर्मविपरित हुन्थ्यो वा पञ्चायती सत्ताको तारो ! खुलापत्र नछापिने भएपछि म लुरुलुरु फर्किएँ ।

रामेछापको विकासमा यिनले पटक्कै चासो दिएनन् । यो कुरा घाम जतिकै छर्लङ्ग छ । रामेछापेलीले बुझेका छन् । यिनले आफू र शासक वर्गको सुविधाको लागि मन्थलीमा एयरपोर्टचाहिँ बनाए । रामेछापलाई सधैँ पछि पार्ने गरी सुगम जिल्ला घोषण गराए । निकै समयअघि मोटरबाटो पुगेको दोलखा जिल्लाचाहिँ दुर्गम, मोटरबाटाले छुँदै नछोएको रामेछापचाहिँ सुगम ! कस्तो अचम्म ! नवराज सुवेदीले त्यत्रो वर्ष सत्ताको निर्णायक तहमा रहँदा पनि जिल्लामा सडकसमेत लैजान प्रयास गरेनन् । बाटोघाटोको विषयमा उनको राय कमजोर थियो । भन्थे, ‘सडक बनेर गाडी गुडाउन थालेपछि जनताले के काम गरेर खान्छन् ? भारी बोक्न पाउँदैनन् ।’ यिनका कुराले मेरा कन्सिरीका रौं तात्थे । तर म फुच्चे के नै गर्न सक्थेँ र, भित्रभित्रै मुर्मुरिनु सिवाय !

सुवेदीले सत्तामा छउञ्जेल रामेछापेलीलाई भेडाबाख्रा बनाए । जनतालाई रौं जति पनि गनेनन् । जनताको मत लिए तर जनमतको कदर गरेनन् । आसेपासे हेरे, जिल्ला हेरेनन् । आसेपासेको चित्त बुझाए, जनताको चित्त बुझाउने प्रयास गरेनन् । रामेछापका बूढापाकाहरूको अझै झिनो आवाज सुनिन्छ, ‘उनका आसेपासेहरूले बहुदल आएपछि पनि उनलाई स्वस्ति टक्रा याएर पैसा ल्याई छोराछोरीको बिहेखर्च टारे । चाडपर्व मनाए ।’

सुवेदी राजाका विस्वासपात्र थिए । वीरेन्द्र देश दौडाहको क्रममा यिनले राजाको साथ छाडेनन् । रामेछापमा यिनले किसानका जुनारका बोटै उखेलेर स्वागत् द्वार बनाउन लगाए । लटरम्म फलेका जुनारका बोट बाटोमा उभिए । राजै आए भनेपछि किसानले पनि केके न पाइन्छ जसोगरी बारीका जुनारका बोट उखेले । जुनारका बोटै उखेल्नु कति घाटा थियो, बुझेपनि शासकको अगाडि उनीहरू निरीह थिए ।

नवराज पञ्चायती सत्ताको केन्द्रमा पञ्चायतको अन्त्यसम्मै बसे । राष्ट्रिय पञ्चायतको अध्यक्षपछि प्रधानमन्त्री हुने पालो (वा निगाह ?) उनकै थियो । तर, भूतैले खाजा खाने बेला भएछ क्यारे, पञ्चायतै ढल्यो । उनको तीस वर्षे राजनीति पनि चकनाचुर भयो । ०४८ सालको संसदीय निर्वाचनमा भाले चुनाव चिन्ह लिएर उठेका थिए । तर, जनमोर्चाका कमल चौलागाईंले धरौटी नै जफत गरिदिए ।

पशुपति समशेरले जनता खुसी पारेका थिए । त्यसैले उनी लोकप्रिय छन् । सूर्यबहादुर ‘डाइनामिक’ थिए । धनकुटालाई झिलिमिली बनाएका थिए । तिनले ‘पछिको भाग’ पनि राखेका थिए । मरिचमान गैरराजनीतिक चरित्रका थिए । अनुकम्पामा आए, गए । लोकेन्द्र र राजेश्वर लेखक पनि भएको एकतहको छवि पनि बचाइराखे । नवराज आफ्नै धुर्त्याइँले राजनीतिबाट बढारिए । अझ भनौँ, यिनले जनतालाई सकस र कयसमा राखेका थिए ।

नवराज सुवेदीले आफ्नो संस्मरण पुस्तक ‘इतिहासको कालखण्ड’ मा आफूलाई निकै असल र जनप्रेमी देखाउने प्रयास गरेका छन् । त्यो कुरा पढ्दा थाह लाग्छ । उनले आफू जनताप्रति बफादार भएको देखाउन खोजेका छन् । उनमा कति बफादारी थियो र छ भन्ने कुरा सबैलाई थाह छ । नवराज सुवेदीसँग मेरो व्यक्तिगत चिनजान र आग्रह पूर्वाग्रह नभएपनि म किटानीसाथ भन्न सक्छु- उनले जनताको लागि फिटिक्कै राजनीति गरेनन् । गर्ने उनको शोच पनि थिएन । उनले चाहेको भए तीस वर्ष राज्यसत्ताको उपल्लो तहमा रहँदा रामेछापलाई झिलीमिली पारिदिन सक्थे ।

कहिलेकाँही चिठीको खातबाट पल्टाउँछु नवराज सुवेदीलाई लेखिएको खुलापत्र र गम खान्छु ‘केको भूत चढेर लेखेँ हुँला त्यो खुलापत्र ! मलाई त्यस्तो पत्र लेख्न किन डर लागेन होला !’

किशोरवयको आवेगमा लेखिएको त्यो खुलापत्र किशोर नेपालले देशान्तरमा छापिदिएका भए शक्तिकेन्द्रमा विराजमान नवराज सुवेदीले मलाई खोज्थे कि खोज्दैनथे होलान् ! खोजेर वा खोज्न लगाएर मलाई भेटेको भए के गर्थे होलान् !

अहिले गाउँ गाउँमा नयाँ ‘नवराजहरू’ सत्तासीन छन् । त्यस्ता सवारीको तामझन हेरिसक्नु छैन । यी छोटे राजाहरूको तमासा कहिलेसम्म टुलुटुलु हेरिबस्नु पर्ने हो, थाह छैन । हजारौँहजार जनताले रगत बगाएर ल्याएको गणतान्त्रिक शासन व्यवस्थामा नयाँ नवराजहरू जन्मनु हुन्थ्यो र ! आगो ओकल्ने मेरो तातो विद्रोहचेत, अचेल पानी भएको छ । चिसो पानी, एकदमै चीसो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment