Comments Add Comment
No ads found for this position

कथा : ओखती 

तिलङ्गेमा यसपालि पनि जात्रा लाग्यो ।

सलहहरू धानखेतमा पसेजस्तै गरी मानिसहरू तिलङ्गेको फाँटतिर सोहोरिन थाले । जात्रेहरूको उत्साही हूलमा मिसिएर बिछापे घर्ती पनि सिउरानीको ओह्रालो झर्दै गरेको देखियो । तर, यसपालि उसको हंस छुटेको थियो गाउँमै ।

कुनै त्यस्तो वर्ष थिएन, तिलङ्गेमा जात्रा नलागोस् । तर, बिछापे एक्लैएक्लै ओर्लियोस् । पाइला लागेदेखिन् उसको जस्तै अर्को काँध उससँगै अनिबार्जे हुन्थ्यो, त्यो यसपालि गाउँमै थियो ।

उसको हल हिरालालले यस वर्षको जात्रा हाप्ने भयो !

मूलखर्ककी सुन्तलीले खुसुक्क राममायालाई यो खबर सुनाई । राममायाले किस्नेकी स्वास्नीलाई भनी र किस्नेकी स्वास्नीले बाटोभरि जात्रै पिटेर हल्ला गरी ।

हिरालाल तिलङ्गे नजाने कुरा धेरैको चासो र चर्चाको विषय बन्यो ।

प्रोल्लास सिन्धुलीय

सुनसान हुँदोरहेछ सिङ्गै गाउँ ! यस्तो भएको कहिल्यै थाहा थिएन हिरालाललाई । तिलङ्गेको जात्रा भइरहेको बखत यो गाउँ कस्तो देखिन्छ ? उसले महसुसै गर्न पाएको थिएन । यी चराचुरुङ्गी पनि सप्पै जात्रातिरै जान्छन् कि कसो ! चिर्बिर पनि पातलोमात्रै आइरहेथ्यो । साँझको झ्याउँकीरीले पनि खासै चर्को स्वर निकालेनन् आज ।

उसै त हिरालालको निद्रा उतै जात्रातिरै गएझैँ भएको थियो । त्यसमाथि बिमार छोरोको बढ्दो श्वासप्रश्वासले एक झप्को झकाउन पनि दिएको थिएन । एकसरो उँगेझैँ के भएथ्यो, सपनामा तिलङ्गेकै जात्रा देख्यो । जुवाको छ्याङ-छ्याङ र मार्राको तन्दि्रलो आवाजसँग मिसिएर दोहोरीको स्वरलहरी उसको मनको अन्तरकुन्तरमा प्रतिध्वनित भइरहे । अघिल्ला सालहरूमा आफूभरिको घँगारूको लठ्ठी फन्फन्ती घुमाएर जात्राको कुनै छेउ बिथोलेको सम्झनाले ऊभित्र अनौठो जोस भरिरहे ।

जात्राको दिनमा पनि यसरी चुपचाप झोक्राएर घरमै बसिरहनुको तीतो अनुभव यसपटक हिरालाल आफैँले सँगाल्नुपरिरहेको थियो । जीवन नै अनौठो र एकतमासको तम्तम्याइलो अनि रङ-आनन्दहीन लागिरहेको थियो उसलाई ।

जात्रा त हुनु नै थियो । हिरालाल होस्, नहोस्, यसपालि पनि सदाझैँ हुने नै भयो । जुवारी खेल्दाखेल्दै सुन्तली खार्पेली लामासँग पोइला गई । खपाङ्गी साइँलाले भरमग्दूर त गरेकै हो, तर कसैलाई भगाएर ल्याउन सकेन ।

पोहोरझैँ रित्तै हात फर्कियो, स्वास्नीले छाडेर रित्तो भएको घरमा । समयले पनि हिरालाल नभएकै मौका छोपेको हुनुपर्छ ! वा, बिछापे घर्तीको सह गाउँमै छुटेर होला, जुवामा झिटिगुन्टी हार्‍यो उसले । सर्वस्व गुमाएको अनुहार लिएर के गाउँ र्फकनु ठान्यो सायद ! उतैबाट उतै लापता भयो । शहर भासियो कि मुग्लान ? के पो गर्‍यो !

दोस्रो दिन सखारै हिरालालको छोरो ओछ्यानबाट उठ्यो । आँखा खोल्नुअघि बाउलाई छाम्यो, बाउ ओछ्यानमा थिएनन् । ऊ आत्तिँदै, ढुन्मुनिँदै बाहिर निस्कियो ।

उज्यालो चित्तबुझ्दो गरी धर्तीमा खस्नै पाएको कहाँ थियो र !

हिरालाल झोक्राएर पिँढीमा बसिरहेको रहेछ । छोरोले बाउको कुममा आफ्ना कलिला हात राख्यो, “बा, मैले तिम्लाई जात्रा जान दिइनँ हगि !”

हिरालाल केही बोलेन । उसले तिलङ्गेमा जात्रा लाग्नुभन्दा अघिल्लो दिन छोरोले रुँदै पुकारा गरेको सम्झ्यो, “बा, यसपालि जात्रामा नजौ न है ! बा, नजौ न ल ?”

उसले साँच्चै नजाऊँ कि क्या हो भनेर सोचेकोसम्म त हो, तर नजाने निर्णय नै गरिहाल्नेवाला ऊ थिएन ।

जात्रामा जानुपर्ने अघिल्लो साँझबाटै हिरालालको छोरोलाई क्रमशः ज्वरो चढ्न थाल्यो । बिमार छोरोको बारम्बारको नजाऊ है आग्रह तोडेर उसले आफ्नो घरको सङ्घार नाघ्नै सकेन । छोराकी आमा यसबखत भइदिएकी भए स्वास्नीको पोल्टामा छोरोलाई छाडेर ऊ बिछापे घर्तीसँगै काँधमा काँध मिलाउँदै, लठ्ठी घुमाउँदै निस्फिक्री जात्रा भर्न अवश्य जान्थ्यो !

हिरालाल झोक्राइरहेको देखेर छोरो अझ लुपुक्क टाँसियो, “तिम्लाई मदेखि असाध्यै रिस उठ्या छ हगि बा ?”

हिरालाल केही बोलेन ।

“मलाई कुट बा, बेस्मारी कुट !! मैले तिम्लाई तिलङ्गे जान दिइनँ !!”

हिरालाल फेरि केही पनि बोलेन । फूलका कलिला लहराजस्ता हातले छोरोले पछिल्तिरबाट हिरालाललाई अँगालो हाल्यो । अनि, उस्तै बिरामी र रुन्चे स्वरमा सुँक्सुुकायो, “हाम्री आमाजस्तै तिमी पनि तिलङ्गेबाट र्फकेर आएनौ भने….!!”

हिरालालले छोरोको मुख प्वाक्क थुन्यो, “हुन्दे बाबै, जान दे ! जे हुनु भैसक्यो ! त्यो पापिनीको नाम लिएर आफ्नै मुख अपवित्र नपार् !”

“तिमी मलाई छोडेर नजाऊ न है बा !”

हिरालालले अवरुद्ध मनले छोरोको गाला सुमसुम्यायो । आँखाको डिलसम्म आइपुगेको आँसुलाई सुस्तरी रोकेर भन्यो, “अब म कतै जान्नँ बाबू ! तँसँगै कखरा पढेर बस्छु । लेख्नु नि सिकाइदे है !”

हिरालालले छोरोलाई काखमा तानेर उसको निधार छाम्यो- ज्वरो क्रमशः घट्दै गइरहेको रहेछ ।

आँगनमा झुल्किँदो सूर्यले उज्यालो लेखिसकेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment