Comments Add Comment
No ads found for this position

महाभारतका धृतराष्ट्र ! एक पुनर्लेखन

आज मैले सुनेँ, मेरा सम्पूर्ण सन्तानहरू मृत्युको मुखमा पुगे । सञ्जयले यो कुरा सुनाउँदा उनको स्वर काँपिरहेको थियो । शव्दहरू स्पष्ट थिएनन् तर, सत्य त बदल्न सकिँदैनथ्यो । मैले यो कुरा सहे पनि गान्धारीले कसरी सहलिन् ? उनलाई मैले के भनुँला ? हस्तिनापुरकी महारानी आज सन्तानविहीन भएकी छन् । सायद उनको आँखामा आँसु पनि हुनेछैन । युद्धभरि प्रत्येक दिन कसै न कसैको पि्रयजनको मृत्युले आँसु खसेकै छ । एउटा शरीरमा कति पो अँासु होला र बग्ला ? यो युद्धको दोष कसको मेरो ? दुर्योधनको ? कृष्णको ? भीष्मको ?

कतै मेरो दुर्बल मन त यो युद्धको कारण होइन ? दुर्योधनको दुष्टता र क्रूरताको बारेमा मलाई सुनाउँदा पनि पुत्रमोहको कारणले चुप रहेँ । गान्धारीले पनि मलाई भनेकी थिइन-“दुर्योधनको कदममा रोक रोक लगाइएन भने पछि समस्या पर्नेछ ।” तर जब दुर्योधनलाई केही भन्न खोज्थे दुर्योधनको जन्मको घटनाले मलाई रोक लगाउँथ्यो ।

युधिष्ठिरको जन्मको खबर सुनेर, आफ्नो पुत्रको जन्म नभएको हुँदा गान्धारीले दुःखले आफ्नो गर्भमा हिर्काउँदा झण्डै गर्भपात हुन थालेको थियो । व्यासले आएर गान्धारी र उनको गर्भको सन्तानलाई बचाएका थिए । सायद यसैले होला दुर्योधनप्रति मेरो विशेष माया थियो । मेरा पिता व्यास थिए । मेरी विधवा माताले उनीसँग संसर्ग हुँदा आँखा बन्द गरिन् । म अन्धोको त्यसैले जन्म भयो रे ।

सायद उनको गर्भ भएकोले मेरी माताले मलाई जन्माउनै नचाहेर गर्भपतन गराउन चाहेकी थिइन् की ? तर, त्यो चाहना कुनै पनि औषधी खाँदा सफल नभएर त्यौ औषधीले मेरो आँखामा असर पार्‍यो कि ?

दुर्योधन मेरो आँखाको ज्योति थियो । मेरो पुत्रको जन्ममा मलाई गर्व थियो । दुर्योधन मेरो सन्तान थियो । पाण्डुपुत्रजस्तो अरूबाट जन्मेको होइन ।

उफ् छोराहरूको मृत्युको खबर सुनेर म दृष्टिविहीन धृतराष्ट्र आफ्नो जन्मेको कुरा किन सम्झिरहेछु ? म पिता भएर अब पुत्रहरूको श्राद्ध गर्न जानुपर्ने ? म जस्तो अभागी कोही होला ? एक सय पुत्रको पिता हुँ भनेर म कति गर्व गर्थेँ । ती सम्पूर्ण गर्व आज युद्धको मैदानमा हराए ।

मेरो आँखा नभए पनि म भीष्मको सहायताले राज्य चलाउन सक्षम हुनेछु र मेरो पुत्र दुर्योधन ठूलो भएपछि मेरो दायाँ हात हुनेछ भन्ने विश्वास थियो । मेरो त्यत्रो विश्वास कसरी नष्ट भयो ? पाण्डुको मृत्युपछि उनका छोराही हस्तिनापुरमा आए, तबदेखि नै मेरा पुत्रहरूसँग उनीहरूको वैरभाव सुरू भयो । मैले किन गैरभाव हटाउने प्रयास गरिनँ ? सायद कता कता मेरो मनमा पाण्डुपुत्र युधिष्ठिर जेठो भएकोले राज्य प्राप्त गर्नेछन् भन्ने ईष्र्या थियो कि ? उफ् म अन्धो धृतराष्ट्र, विवेकमा पनि अन्धो नै भएँ क्यारे, त्यसैले त्यो वैरभाव बढ्दै गयो ।

दुर्योधनका कुकर्म मेरो सन्मुख आउँदा र विशेष गरी पाण्डवपुत्रप्रति गरिने व्यवहारको खबर सुनाउँदा म चुप रहेँ । अर्थात् दुर्योधनका कुकर्ममा मेरो सहमत् रह्यो । मेरो विवेकहीनताको पराकाष्टा त्यो थियो जब पाण्डुपुत्रलाई जलाएर मार्ने षडयन्त्रको झिनो खबर पाउँदा म चुप रहेँ । केही थाहा नपाएजस्तो गरी सायद त्यही बेलामा मैले दुर्योधनलाई कुनै तबरले दण्ड दिएको भए महाभारत रोकिन्थ्यो कि !

पाण्डवको मृत्युको खबरले भीष्म आवेगमा आएर मेरो सम्मुख उभिएर मलाई कही भन्न खोज्दा मैले आँखाभरि आँसु लिएर आफूलाई केही थाहा नपाएको जस्तो गरेँ । तर, भित्र कता कता आनन्द भएको थियो । अब मेरा पुत्रका लागि हस्तिनापुरको राज्य निष्कंटक हुने भयो भनेर । तर, हस्तिनापुरको राज्यको सट्टा आज मेरा पुत्रहरू श्राद्धको प्रतीक्षामा छन् ।

सञ्जयले महाभारतको दृश्य सुनाउँदा भनेका थिए, ‘अझै पनि समय छ, बाँकी बचेका सेना र कौरवपुत्रलाई बचाउन । पाण्डवहरूलाई उनीहरूको अधिकार दिउँ । यसो भएमा दुर्योधनको पनि अधिकारको रक्षा हुनेछ । नत्र भने युद्धमा कौरव पक्ष नष्ट हुनेछ ।’ मैले संजयको कुरा नसुनेझैं गरेँ ।

मेरो बानी पहिलेदेखिकै हो नदेखेको, नसुनेको, नबुझेको जस्ता गर्नु । त्यही बानीले गर्दा पाण्डवहरूलाई धूर्तता गरेर जुवा खेल्न बोलाउँदा म चुप रहेँ । पाण्डवले सम्पूर्ण राज्यसहित आफूलाई हार्दा म चुप रहेँ । द्रौपदीलाई जुवामा राख्दा पनि चुप रहेँ । त्यो बेलामा भीष्मले मलाई रोक्न खोजेका थिए, तर मैले सुनिनँ । सुन्न खोजिनँ ।

यति मात्र होइन, रजस्वला भएकी द्रौपदीलाई अर्धनग्न पार्न खोज्नु दुःशासनको चेष्टालाई पनि रोक्न खोजिनँ । किन म त्यति विवेकहीन भए ? हस्तिनापुरको सभामा एउटी नारी, एउटी बुहारीको इज्जतसँग खेलवाड हुँदा मैले दुर्योधनलाई दण्ड दिन सकिनँ । किन द्रौपदीको ‘राजा भएर साजसभामा नारीको अपमान भएको थाहा पाउँदा पनि किन चुप लागेको ?’ भन्ने प्रश्नको उत्तर दिन सकिन वा चाहिँन । द्रौपदीको ठाउँमा मेरी पुत्रको वा गान्धारीको यस्तो अपमान भएको भए म चुप लाग्थेँ होला त ?

भगवान ईश्वरले दुष्मनलाई पनि म जस्तो कुमति भएका बाबु नबनाओस् । उफ् मेरो छाती जलिरहेछ । मैले कसरी गान्धारीलाई धैर्य धारण गराउनु ?

हुन त गान्धारीले भनेपछि मैले युधिष्ठिरलाई उनको सम्पूर्ण राज्य फिर्ता दिएर दासताबाट मुक्ति त दिलाएँ । तर दुर्योधनलाई यो कुकर्मको लागि कुनै सजय दिन सकिन । उफ् मेरो शक्ति कता गयो ? पुत्रमोहमा मेरो मस्तिष्क सायद बिरामी भएको थियो ।

त्यसैले जब अर्को जुवामा पाण्डवहरू तेह्र वर्षका लागि वनवास गए, म रक्सीको मदमा चूर भएको मान्छेजस्तै विवेकहीन भएँ । उनीहरूको वनवास खुसी भएँ । त्यो बेलामा मैले बुझ्न सकिनँ कि समयले फेरि अर्को फट्का लिनेछ ।

म आखिर अन्धो धृतराष्ट्र विवेकले पनि अन्धो भएँ । भीष्मपितामहको कुरा पनि सुनिन, विदुरको सल्लाह मानिन । यिनको सल्लाहमा मलाई दुर्योधनप्रतिको ईर्ष्या मात्रै नजर आयो । उनीम्हरूका सल्लाह मलाई तीतो औषधिझैं लाग्यो । मलाई त्यो निल्न मन लागेन ।

त्यसैले झन् झन् बिरामी भएँ, मेरो मस्तिष्कको त्यही रोगको कारणले आज कौरव वंश नष्ट भयो । म श्राद्ध गर्न पर्खिरहेछु मेरा छोराहरूको । तर, त्यसको जिम्मेवारी भनेर मैले कृष्ण वा भीष्मलाई देखाउनु व्यर्थ छ । मैले आफ्नो अधिकारको प्रयोग गरेर अन्यायलाई रोकिनँ । नारीको अस्तित्वको रक्षा गर्न सकिनँ । त्यसैले आफ्नो जीवनको यो घडीमा गान्धारीसहित आँसुमा डुबेको छु ।

यस क्षणमा जब मेरा छोराहरूले मेरो शवलाई काँधमा राखेर लैजानुपथ्र्यो, म बाबु भएर युद्धमा अकाल गतिले मारिएको छोराहरूको शवखोजेर तिको सद्गति गरेर पिण्डदान दिनु पर्छ । योभन्दा ठूलो दुर्भाग्य एउटा बावुको लागि अरू के हुन सक्छ ? तर, कहाँ गल्ती भयो त भने सिंहावलोकन गर्दा लाग्छ गल्ती शुरूमा नै भयो ।

दुष्ट छोरालाई दण्ड नदिनू र पाण्डवहरूको अधिकार नदिनू । भीष्मले सम्झाउँदा मैले नसुनेको झैं गर्नू । भगवान ईश्वरले दुष्मनलाई पनि म जस्तो कुमति भएका बाबु नबनाओस् । उफ् मेरो छाती जलिरहेछ । मैले कसरी गान्धारीलाई धैर्य धारण गराउनु ?

गान्धारीको आँसु यो बुढो हातले कसरी पुछ्नु । म आँखाले अन्धो भएको हुनाले उनको त्यो पीडादायी अनुहार देख्न सक्दिनँ, तर उनको उच्छवास क्रन्दन सुन्न सक्छु । मजस्तो अन्यायी कमजोर हृदयको पिताको युद्धमा मारिएका छोराहरूका लागि क्रन्दन गान्धारी र उनीजस्ता हजारौं आमाले कहिलेसम्म गर्नुपर्ने हो Û १ सय वर्षसम्म ? १ हजार वर्षसम्म कि ५ हजार वर्षसम्म ??

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment