Comments Add Comment
No ads found for this position

विश्वप्रशिद्ध लेखक जोडीको सफलताको कथा

'सभ्यताको इतिहास' लेख्ने विल डर्‍यान्ट र अरिएलको जीवनी

बीसौँ शताब्दीका एक महान शिक्षक विल डर्‍यान्ट ९० वर्षदेखि बेस्ट सेलर रहँदै आएको पश्चिमी दर्शनशास्त्रको आधारभूत पुस्तक ‘स्टोरी अफ फिलोसोफी’ का लेखक हुन् ।

सन् १९२६ मा प्रकाशित यो पुस्तक प्रकाशनको तीन वर्षमै लाखौँप्रति बिक्री भएको थियो । पुस्तकको बिक्रीबाट आएको आम्दानीले डर्‍यान्ट परिवारलाई आर्थिक मुक्ति नै दियो । डर्‍यान्ट दम्पतिलाई यसले अझ असाधारण प्रकृतिको प्राज्ञिक क्षेत्रमा ढुक्क भएर लाग्न मुक्ति प्रदान गर्‍यो ।

आर्थिकरूपले चिन्ता गर्नुनपर्ने भएपछि उनीहरू सभ्यताको कथा लेख्ने योजना बुन्न थाले । सभ्यताको कथा लेख्ने योजना विलले सन् १९१२ मै आफ्ना मित्रमण्डलीमा व्यक्त गरेका थिए । त्योबेला यिनले सभ्यताको कथा ५ ठेलीमा लेख्ने सोचाइ राखेका थिए ।

समयको प्रवाहसँगै भिन्न समाजको इतिहास, संस्कृति, राजनीति, विज्ञान, कला, अर्थ-वाणिज्य, साहित्य, धर्म सबै आयामलाई एक साथ चर्चा हुनु ग्रन्थको दृष्टिले पनि नितान्त नयाँ थियो ।

डर्‍यान्टको निष्कर्ष थियो, ‘इतिहासको ज्ञान नहुनेहरू यसलाई दोहोर्‍याउनका लागि अभिशप्त हुन्छन् ।’ उनी भन्थे – ‘शिक्षाले हामीलाई एकपछि अर्काे गर्दै हाम्रा अज्ञानताहरूका बारे बताइरहेको हुन्छ ।’

यही पृष्ठभूमिमा डर्‍यान्ट दम्पतिले काममा हात हाले । र, जन्मिए स्टोरी अफ सिभिलाइजेसनका ११ ठेली । यी ठेलीहरु मूलतः युरोपको सभ्यताका कथा हुन् । तर, उनीहरूले पहिलो ठेली पूर्वीय सभ्यताबाट सुरु गरे । बाँकी १० भागचाहिँ युरोपका बारेमा । युरोपको कथामा गि्रस, रोम, इसाई धर्म, मध्ययुग, पुनर्जागरण, पुनर्निमाण, प|mान्सको राज्यक्रान्ति, र विज्ञानको चमत्कारका कथाहरु सबै भन्नुपर्ने हुन्छ ।

डर्‍यान्टले सन् १९३५ मा ओरिएन्टल सिभिलाइजेसन भनेर पहिलो ठेली निकाले । सन् १९७५ एज अफ नेपोलियन शीर्षकको एघारौँ ठेली निकालेपछि यो श्रंृखलाले बिट मारेको थियो ।

सन् १९७५ मा विल डर्‍यान्ट नब्बे वर्षका पुगेका थिए । पत्नी अरिएल चाहिँ सतहत्तर वर्षकी थिइन् । ५० वर्षको यो दीर्घ अवधिमा उनीहरूले यो महाठेली बाहेक थुप्रै पुस्तकहरू प्रकाशनमा ल्याए । ती मुख्यतः इतिहास र दर्शनसँग सम्बन्धित थिए । विल इतिहासलाई दर्शनशास्त्रको अंशका रूपमा बुझ्थे । मानिसको जिज्ञासा जहिल्यै आफू र आफ्नो वरिपरिको संसार अर्थात जीवन र जगत बुझ्नेमै केन्द्रित हुन्छ भन्ने विलको धारणा थियो । यसलाई उनी दार्शनिक जिज्ञासा भन्थे ।

उनका अनुसार जीवन र जगतलाई बुझ्ने दुईवटा बाटा हुन्छन् । पहिलो बाटो हो विज्ञान । र, अर्काे हो- इतिहास । तर, उनको आकर्षण विज्ञानमा भन्दा इतिहासतिर बढी भयो । गणितीय सूत्रहरूको व्याख्यामा उनलाई चासो भएन । विज्ञानका निष्कर्षहरूले मानिसको जीवनमा पारेको प्रभाव नै उनलाई अध्ययन गर्नलाई पर्याप्त थियो ।

‘सत्यले हामीलाई मुक्ति दिन्छ ।’ यो उनको अर्को निष्कर्ष थियो ।

विलको जन्म सन् १८८५ को नोभेम्बरमा अमेरिकामा भएको हो । उनको परिवार क्यानडाको क्युबेकबाट क्यालिफोर्निया झरेको थियो । त्यसो हुँदा यिनलाई फ्रेन्च र अङ्ग्रेजी भाषाको ज्ञान सानैदेखि थियो । अध्ययनको क्रममा प्राचीन भाषाहरूप्रति यिनको चासो बढ्दै गयो । ग्रिक, ल्याटिन लगायत थुप्रै भाषामा यिनको दख्खल विकास भयो ।

विलकी पत्नी अरिएल डर्‍यान्टको जन्म सन् १८९८ मा अमेरिकामै भयो । अरिएल यहुदी मूलकी थिइन् । विवाहअघि यिनको नाम छाया इदा काउफम्यान थियो । विवाहपछि यिनी अरिएल डर्‍यान्ट नामले चिनिन थालिन् ।

अरिएलको परिवार आर्थिकरूपले सामान्य हैसियतको थियो । युक्रेनबाट भाग्यको खोजीमा यो परिवार बेलायत हुँदै अमेरिका पुगेको थियो । अमेरिकामा पत्रिका बेच्ने लगायतका कामबाट व्यवसाय सुरु गरेका थिए यिनीहरूले । अरिएलका पिता राजनैतिक रूपले अराजकतासँग नजिक थिए । त्यसैले न्युयोर्क पब्लिक स्कुलमा पढ्दै गरेकी छोरी छायालाई अराजकतावादीहरूले चलाएको प्रगतिशील विद्यालयमा भर्ना गराइदिएका थिए । त्योबेला यिनी चौध वर्षकी थिइन् । त्यो त्यही स्कुल हो, जहाँ यिनको भेट विलसँग भयो ।

विलको परिवार क्याथोलिक धर्ममा आस्थावान थियो । तर, विललाई भने कुनै पनि धर्ममा विशेष आस्था थिएन । संसारका विभिन्न धर्मको बारेमा अध्ययन गरिसकेपछि यिनलाई धर्म भन्ने कुरा मानिसले आफ्नो चिन्तन, परिवेश र तत्कालीन ज्ञानका आधारमा विकास गरेको अवधारणा हो भन्ने लाग्यो ।

फेरि चार्ल्स  डार्बिनको क्रम विकासको सिद्धान्तले पनि विललाई उत्तिकै प्रभाव पारेको थियो । न्युटन आदि वैज्ञानिकहरूको प्रकृतिलाई व्याख्या गर्ने नियमहरूको प्रभाव त छँदै थियो ।

‘हिरोज अफ हिस्ट्री’ विलको अन्तिम पुस्तक हो । यो उनको मृत्युपछि प्रकाशित भएको हो । स्टोरी अफ सिभिलाइजेसनको सारांशका रूपमा छोरी इथेलको संयोजकत्वमा सर्वसाधारणका लागि प्रवचन श्रृंखलाका रूपमा यसको तयारी गरिँदै थियो । २४ श्रृंखलाको योजना थियो । तर, २१ वटा मात्रै तयार हुन सके । प्लेजर्ज इन फिलसोफी भन्दा पहिले म्यान्सन्स अफ फिलसोफी, एडभेन्चर्स इन जिनियस आदि विलका एकल कृति हुन् ।

उनीहरूको संयुक्त लेखनमा इन्टरपि्रटेसन्ज अफ लाइफ, द लेसन्ज अफ हिस्ट्री, फलन लिभ्जु आदि प्रकाशित छन् । यी कृतिहरूमा डर्‍यान्टले इतिहासबाट सामान्य मानिसले लिनुपर्ने शिक्षा, इतिहासका महत्वपूर्ण व्यक्तित्वका जीवन चरित, मानव जीवनका सुन्दरतम पक्षहरू जस्तै प्रेम, विवाह, यौन, सन्तान आदिको बारेमा आफ्ना दृष्टिकोणहरू प्रस्तुत गरेका छन् ।

प्रेम विवाह र करिअर

सन् १९०७ मा स्नातक गरेपछि विल पढाउन थाले । स्कुलमा पढाउँदै गर्दा यिनी छाया इदासँग आकषिर्त भए । केही समयको प्रेमपछि अÝाइस वर्षे वील र पन्” वर्षे इदाको विवाह भयो सन् १९१३, अक्टोबर ३१ का दिन ।

आफैंले पढाउँदै गरेको स्कुलकी छात्रासँग विवाह गरेर फेरि त्यहीँ पढाइरहन सुहाउँदो कुरा थिएन । उनले स्कुलबाट राजीनामा दिए । विवाहपछि पनि दुबैको अध्ययनचाहिँ जारी रहृयो । सन् १९१७ मा विलले पीएचडी सिध्याए ।

अरिएल भर्खरकी किशोरी चञ्चले र छुकछुके पनि थिइन् । बालसुलभ बदमासी पनि गइसकेको थिएन विलचाहिँ परिपक्व भइसकेका थिए । पत्नीलाई यिनी पक भनेर बोलाउँथे । पक शेक्सपियरको मिडसमर नाइट्स डि्रम नाटकको एउटा पात्रको नाम थियो । अरिएल बहिर्मुखी स्वाभावकी थिइन् भने विलचाहिँ अन्तर्मुखी ।

विहेपछि अरिएललाई धेरै बोल्नुपथ्र्याे, बहस गर्नुपथ्र्याे । विलले पत्नीलाई बौद्धिक संसारमा प्रवेश गराए । अरिएलले पतिलाई बाहृय समाजसँग घुलमिल गराइन् ।

विलको अधिकांश प्रकाशनमा पर्दा पछाडिबाट अरिएलको समानान्तर योगदान रह्यो । भलै लेखकका रूपमा अरिएलको नाम नआएको किन नहोस् । ‘स्टोरी अफ सिभिलाइजेसन’को पहिलो ६ खण्डमा भने अरिएलको नाम छैन ।

विलले लेखेका र सङ्कलन गरेका कुरालाई वर्गीकरण गर्ने, फाइलिङ गर्ने, मिलाउने आदि काम थियो अरिएलको । चौथो ठेलीको तयारी हुँदै गर्दा अरिएल अनुसन्धानमै पनि भिड्न थालिन् । र, सातौँ ठेलीबाट त सहलेखकको हैसियतमै पुगिन्  । उनीहरू आफ्नो करिअरलाई डुअल करिअर नै भन्न चाहन्थे । कतिसम्म भने आत्मकथा पनि एकल प्रकाशित गरेनन् । सन् १९७७ मा प्रकाशित आत्मकथालाई उनीहरूले डुअल अटोबायोग्राफी नाम दिएका छन् ।

उमेरको अन्तर देखिए पनि डर्‍यान्ट श्रीमान-श्रीमतीबीच असाध्यै गहिरो स्नेह थियो । आफ्नो प्रेम सम्बन्धबारे अरिएलले नातिनीसँग खुलेर चर्चा गरेकी थिइन् । उनका अनुसार उमेरको अन्तरले उनीहरूबीचको पारस्परिक प्रेमलाई कुनै प्रभाव पारेन, बरू उमेरमा भएको यो अन्तर र स्वभावमा भएको फरकपनकै कारण सम्बन्ध अझ मजबुत बन्न मद्दत पुग्यो ।

पारस्परिक सम्मान र प्रेमकै कारण आफूहरूले दीर्घ जीवन प्राप्त गरेको उनीहरूको ठहर थियो । सम्भवतः यही कारण उनीहरूको मृत्यु पनि चौध दिनको अन्तरमा हुन पुग्यो ।

सन् १९८१ मा विल आफ्नो ९६ औं वर्षमा थिए । मुटुमा समस्या देखिन थाल्यो । सामान्य Åदयघात तीन पटकसम्म भयो । अन्ततः उनलाई अस्पताल भर्ना हुनुपर्‍यो । विललाई डाक्टरले अप्रेसन गर्दा ठीक हुने सल्लाह दिएका थिए । परिवारले पनि सहमति जनायो । तर, अरिएललाई यो पटक श्रीमान र्फकेर आउँदैनन् भन्ने लाग्यो । उनले अन्न ग्रहण नै त्यागिदिइन् । त्यसको केही दिनपछि अक्टोबर २५ मा अरिएलको देहान्त भयो ।

अरिएलको मृत्यु हुँदा विल अस्पतालमै थिए । मुटुको अप्रेसन भएको थियो । मुटुका विमारी यिनलाई पत्नीको देहान्त भएको कुरा बताइएको थिएन ।

अरिएलको मृत्यु सामान्य व्यक्तिको मृत्यु थिएन । अमेरिकामा उनी सेलिबि्रटी विद्वान थिइन् । राष्ट्रपति गेराल्ड फोर्डले सन् १९७७ मा दम्पतिलाई अमेरिकी नागरिकलाई दिइने सर्वाेच्च पदक स्वतन्त्रता पदकबाट सम्मान गरिसकेका थिए । सभ्यताको कथा श्रृफ्लाको दशौँ ठेली रुसो एन्ड रिभोल्युसनका लागि उनीहरूलाई पुलिट्जर पुरस्कार प्राप्त भएको थियो । अरिएल ‘वुमन अफ द यिअर’ अन्तर्गत चुनिएकी अमेरिकी महिलाका रूपमा चिरपरिचित थिइन् ।

नोवेम्बर ५ का दिन विल ९७ वर्षमा प्रवेश गरे । भर्खर अपरेसन गरेको मुटुले पत्नी वियोगको पीडा थाहा पायो । र, त्यही पीडा सहन नसकी नोवेम्बर ७ मा यी महान हस्तीले सदाका लागि आँखा चिम्लिए ।

सन्तान र हेरचाह

विल तथा अरिएलकी एक मात्र छोरी थिइन््, इथेल डर्‍यान्ट । इथेल सन् १९१९ मा जन्मेकी थिइन् । मातापिताले लेखेका पुस्तकहरुबाट जोडिएको अथाह सम्पतिको उत्तराधिकारी यिनी नै थिइन् । डर्‍यान्ट दम्पतिले पछि एक छोरालाई धर्मपुत्र बनाए ।

डर्‍यान्ट दम्पती छोरीलाई राम्रो अभिभावकत्व दिने कुरामा सचेत थिए । उपयुक्त ढङ्गबाट शिक्षादीक्षा र हुर्काइ भएमा बच्चाहरूको विकास सही मार्गबाट अगाडि बढ्न सक्छ भन्ने विलको धारणा थियो । सन्तानलाई स्वावलम्बी बनाउन उनीहरूलाई आफ्ना नियमित काम गर्न सानैदेखि प्रोत्साहन गर्नुपर्छ भन्ने मान्यता थियो । त्यसमा उनीहरूले नयाँ तरिका अपनाए- कामको पारिश्रमिक दिने ।

आफ्नो काम आफैं गरेवापत इथेलले बाबुआमाबाट तलब पाउन थालिन् । तलबवापत छोरीले ओछ्यान मिलाउने, आफूले खाएका भाँडा पखाल्ने, आफ्ना कोठा सफा गर्ने लगायतका काम गर्नुपथ्र्याे । तलबचाहिँ पढाइ आदि खर्च हेरेर उनीहरूले तोकिदिएका हुन्थे । आकस्मिक खर्च आवश्यक पर्दा उपहार दिन्थे । यस्तो जीवनशैलीले छोरीलाई स्वाभिमानपूर्ण जीवन बाँच्न प्रोत्साहन गर्छ भन्ने उनीहरूको सोचाइ थियो । यसले छोरीलाई सानैबाट मीतव्ययी पनि बनायो । आत्मनिर्भर हुनुपर्ने शिक्षा पनि दियो, कामप्रतिको सम्मान पनि बढायो ।

पढाउने, सिकाउने तरिका पनि उनीहरूको अनुकरणीय थियो । छोरीले कुनै कुरा नजान्दा उनलाई गाली गर्ने, वा सोझै सिकाइदिने तरिका उनीहरू अपनाउँदैन थिए । उनीहरु छोरीसँगै बसेर समस्यामाथि छलफल गर्थे र सम्भावित समाधानमाथि बहस गर्थे । केटाकेटीको सिकाइ समस्यालाई बाबुआमाले उनीहरूको निजी समस्याभन्दा पनि पारिवारिक र साझा समस्याका रूपमा लिनुपर्ने उनीहरूको सोचाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment