Comments Add Comment
No ads found for this position

फेरि चम्किन चाहेको एउटा पर्यटकीय गन्तव्यको कथा

सौराहालाई टक्कर दिने मेघौली आज किन सुनसान ?

२५ जेठ, चितवन । कुनै समय चितवनको प्रमुख पर्यटकीय गन्तब्य थियो, मेघौली । पर्यटककै चहलपहलले मेघौली विमानस्थल भरतपुर विमानस्थलभन्दा बढी व्यस्त हुन्थ्यो ।

निकुञ्जभित्रको टाइगर टप्स होटलले मेघौलीमा पर्यटक बढाउन भूमिका खेलेको थियो । विश्वकै एक मात्रै अन्र्तराष्ट्रिय हात्तीपोलो मेघौलीमा हुन्थ्यो । राप्ती र नारायणी नदीको संगमस्थल गोलाघाट पर्यटकका लागि सौराहाभन्दा विशेष थियो । स्थानीय थारु, बोटे, मुसहर जीवनशैली, रहनसहन र संस्कृति लगायतले मेघौलीको पहिचान विश्वमाझ पुर्‍याउँदै थियो ।

तर, आज मेघौलीमा त्यो रौनक छैन । यो ठाउँ अहिले उजाडिएको छ । पुरानो पर्यटकीय र आर्थिक माहोल अहिले लगभग शून्य अवस्थामा झरेको छ । केही होटलहरुले मात्रै मेघौलीमा पर्यटक पुर्‍याउँदैछन् ।

२०६६ सालमा टाइगर टप्स निकुञ्जभित्रबाट बाहिरिएपछि मेघौलीको दुख सुरु भएको हो । त्यसयता न त विमानस्थल नै चलेको छ, न अन्र्तराष्ट्रिय हात्तीपोलो प्रतियोगिता आयोजना हुन्छ । मेघौलीमा सुरु भएको विश्वकै एक मात्र हात्तीपोलो प्रतियोगिता बर्दियामा पुगेको छ ।

स्थानीय बासिन्दा राजवीर थारुको भाषामा भन्ने हो भने मेघौली क्षेत्र अहिले बिरक्तिएको छ  ।

भरतपुरबाट करिव ३० किलोमिटर पश्चिममा पर्ने मेघौली पुग्ने सडकको अवस्था पनि राम्रो छैन । पर्यटकहरु सडककै दुरावस्थाले पनि त्यहाँ जान हिच्किचाउँछन् ।

गोलाघाटको बगर सुनसान छ । निरन्तर बगिरहेका नारायणी र राप्तीको संगमस्थल गोलाघाट ‘विकट क्षेत्र’ जस्तो बनेको छ ।

राप्ती नदीको तटीय क्षेत्रमा केही ठूला होटलहरु छन् । मेघौलीको आशा अहिले पनि तीनै होटलमा अल्भिmएको छ । स्थानीयको भनाइमा यी होटलहरु पनि नहुँदा हुन त मेघौलीको पर्यटकीय अस्तित्व नै रहने थिएन । थोरै स्थानीयलाई रोजगारी सिर्जना गर्ने काम होटलले गरेका छन् ।

केही स्थानीय उत्पादनले होटलमा बजार पाएका छन् । थोरै भए पनि आय-आर्जनमा टेवा त पुगेको छ, तर विगत सम्झँदा स्थानीयलाई उचाइमा पुगेको मेघौली भासिएको अनुभव हुन्छ ।

नेपालको तेस्रो पर्यटकीय केन्द्र सौराहा आएका १० प्रतिशत पर्यटक पनि मेघौली आउँदैनन् । मेघौली जाने मुख्य मार्ग कालोपत्रे गर्न वर्षौंदेखि ठेक्का भए पनि कामले पूर्णता पाएको छैन । दिक्क मान्दै स्थानीयहरु भन्छन् ‘हामी जताततैबाट ठगिएका छौं ।’

मेघौलीमा सञ्चालित एक होटलका कर्मचारी कतिपय विदेशी पर्यटकहरु मेघौली आउँदा सडकको दूरावस्था देखेर आफूहरुलाई नै गाली गर्ने गरेको बताउँछन् ।

‘यहाँ आएर प्राकृतिक सुन्दरता र मनोरम दृश्य हेरेपछि बल्ल खुसी हुन्छन्,’ ती कर्मचारी भन्छन् ।

निकुञ्जभित्र पुनः होटल खोल्न माग

निकुञ्ज भित्रका होटल बन्द नभएको भए मेघौली अहिले सौरहासँग प्रतिस्पर्धा गरिहरेको हुन्थ्यो । टाइगर टप्स होटल बन्द भएपछि यहाँका स्थानीयको रोजगारी मात्रै गुमेन, स्थानीय उत्पादनले पनि राम्रो बजार पाएन । यसले आयआर्जनमा असर गर्‍यो । हात्तीपोलो बन्द हुनु र विमानस्थल नचल्नुले मेघौलीलाई हेर्ने दृष्टिकोण नै बदलियो ।

बेलायती महारानी एलिजाबेथ द्वितीय मेघौली एयरपोर्ट हुँदै निकुञ्ज सफारीमा पुगेको स्मरण स्थानीयमा अझै पनि ताजा छ । मघौली ओर्लिएलगत्तै उनी निकै खुशी बनेकी थिइन् ।

स्थानीयको भनाइमा खाली चौरमा महारानी एलिजाबेथ चढेको एभ्रो विमान ल्यान्ड गरेपछि मेघौलीको चर्चा चुलिएको थियो । टाइगर टप्स सञ्चालनमा आएपछि विमानस्थल स्तरोन्नति भयो । टाइगर टप्स जंगल रिसोर्ट खुलेपछि नेपालमा जंगल सफारी पर्यटन सुरु भएको मानिन्छ ।

तत्कालीन राजपरिवार, राणा तथा ठकुरी परिवार निकुञ्जमा शिकार खेल्न विमान चार्टर्ड गरी यहाँ आउँथे । निकुञ्जभित्र टाइगर टप्स रिसोर्ट सञ्चालनमा आएपछि विदेशी पर्यटक ओसार्न मेघौली एयरपोर्ट प्रयोगमा आएको थियो ।

टाइगर टप्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानमार्फत सिधै पर्यटक रिसोर्टमा ल्याउने गरेका थियो । टाइगर टप्स बन्द भएपछि मेघौलीका करीब २५० जनाको रोजगारी समेत गुम्यो । उनीहरु धेरजसो कामका लागि विदेशिए ।

वडा नः २८ का वडाध्यक्ष आशवहादुर कुमाल निकुञ्ज भित्रका होटल सञ्चालन गर्नुपर्ने बताउँछन् । तर, चितवन राष्ट्रिय निकुञ्जले होटल सञ्चालनको सम्भावना नरहेको बताउँदै आएको छ । निकुञ्जका प्रमुख बेदकुमार ढकाल भन्छन् ‘अब निकुञ्ज भित्र होटल चलाउन सम्भव छैन ।’

असफल प्रयास

निकुञ्जका होटल बन्द भए पनि यहाँको पर्यटनलाई मर्न नदिन प्रयास भने नभएको भने होइन । भरतपुर महानगरमा मिसिनुअघि साविकको मेघौली गाविसमा पर्यटन विकास समिति गठन गरिएको थियो । भरतपुर महानगरपालिकाको वडा विभाजनमा मेघौली २७ र २८ वडामा बाँडियो । साविक गाविसको ४ वटा वडा अहिलेको वडा नः २८ मा र ५ वटा २७ मा परे ।

अहिले पनि दुबै वडालाई समेट्ने गरी ‘मेघौली पर्यटन विकास समिति’ सक्रिय नै छ । यसको नेतृत्व हरिचन्द्र महतोले गरिरहेका छन् । तर, समितिले अहिलेसम्म मेघौलीमा एउटा पर्यटन सूचना केन्द्रसमेत बनाउन सकिरहेको छैन । त्यसका लागि बजेट जुटाउन समितिलाई स्रोतको अभाव छ ।

वडाले दिने सीमित बजेटमा पर्यटन प्रवर्द्धनको सामान्य काम मात्रै हुने गर्छर् । समितिको आफ्नो आयस्रोत छैन । बजेट नै नहुँदा काम गर्न नसकिएको अध्यक्ष महतो गुनासो गर्छन् ।

महानगरपालिकाले पनि मेघौलीको पर्यटन विकासका लागि ठोस कार्यक्रम र बजेट दिएको छैन । सामुदायिक वनहरुले पर्यटकबाट उठाएको पैसाबाट पर्यटन समिति ‘सुको’ दिँदैनन् । स्रोत अभावका कारण पनि मेघौलीको पर्यटनको बजारीकरण हुन सकेको छैन ।

के छ मेघौलीमा ?

चितवन निकुञ्जसँग जोडिएकाले मेघौली वाइल्ड लाइफ   पर्यटनको आकर्षक गन्तब्य हो भन्नेमा कसैलाई आशंका छैन । २०२२ सालमा निकुञ्जभित्र टाइगर टप्स होटल खुलेपछि मेघौली देशभर चिनिएको थियो । तत्कालीन शाही परिवारको सबैभन्दा पि्रय शिकार स्थल थियो, मेघौली र टाइगरटप्स ।

नारायणी नदी र राप्ती नदीको संगमस्थल गोलाघाटबाट साँझपख सूर्य अस्ताएको दृश्य अनुपम देखिन्छ । यही संगमस्थलमा बसेर नलीमा पानी पिउन आउने जंगली जनावरलाई आँखैअघि देख्न पाउँदा जोकोहीले आफूलाई भाग्यमानी सम्झन्छन् ।


होटलमा बस्ने पर्यटक जीपमा जंगल सफारीका लागि जान्छन् । वरपरका क्षेत्रमा सामुदायिक वनमा हात्तीमा घुम्छन् । होटलबाट डुंगामा चढेर विभिन्न प्रजातिका चराचुरुङगी हेर्दै गोलाघाट पुगेर रमाउँछन् । होटलहरूले गोलाघाटमा नै साँझ पर्यटकलाई ‘डिनर’ खुवाउँछन् । ठूला होटलमा रातको समयमा थारुहरुको सांस्कृतिक नाच देखाइन्छ ।

मेघौलीमा ठूलो लगानीमा बनेका चौधरी समूहको मेघौली सेराई, बाराही होटल, गोलाघाट वाइल्ड लाइफ रिसोर्ट, होटल सारङ्गा सञ्चालनमा छन् ।

पछिल्लो समय मेघौली क्षेत्रमा मात्रै साना तथा ठूला गरी २२ वटा होटल सञ्चालनमा छन् । केही थपिने क्रममा पनि छन् । त्यसमध्ये ३ वटा ठूला, ६ वटा मझौला र १३ वटा साना होटलसहित होमस्टेहरु सञ्चालनमा छन् ।

मेघौलीमा ४ सय १८ बेड क्षमता रहेका होटल सञ्चालनमा छन् । हात्ती सफारीका लागि १० वटा हात्ती, ६ वटा जिप सफारी र १५ वटा डुंगाको व्यवस्था छ । चितवन राष्ट्रिय निकुञ्ज, नारायणी र राप्ती नदीको सामीप्यतामा रहेको मेघौलीमा पर्यटनका हिसावले प्रशस्त सम्भावना छ ।

नारायणी र राप्ती नदीमा जलयात्रा गर्न रमाउने पर्यटकका लागि थारु र कुमाल संस्कृति थप खुराक हुन् । नौ वटा सामुदायिक वन तथा सिमसार क्षेत्रसमेत मेघौलीमा पर्दछन् ।

मेघौलीमा प्रदेश सरकारको सहयोगमा राइनो पार्क बनाउने काम अघि बढेको छ । अपाङग र घाइते जनावरलाई राखेर उचित संरक्षण गर्ने तथा पर्यटकहरुलाई पनि देखाउने गरी पार्क बनाउन प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । तर, काम भने सुरु भएको छैन ।

विमानस्थल कि घाँसे मैदान

मेघौलीको पर्यटन माथि उठाउन सक्ने मूख्य पूर्वाधार मेघौली विमानस्थल हो । तर, विगत केही वर्षदेखि मेघौली विमानस्थलमा नियमित हवाई सेवा सञ्चालनमा छैन ।

लामो समय बन्द रहेको विमानस्थल गत वर्ष चुनावका समयमा सञ्चालनमा आयो । तर, चुनावको रौनक सकिएपछि विमानस्थलमा फेरि ताल्चा मारियो ।

विमानस्थल अहिले गौचरणमा बदलिएको छ । जताततै घाँसले ढाकेको छ । २२ बिगाहा जग्गा अलपत्र छ । विमास्थलका संरचनाहरु पनि जीर्ण छन् ।

२०७४ सालको निर्वाचनको प्रचारप्रसारका क्रममा सो क्षेत्रका उम्मेदवार रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहालको पहलमा नेपाल वायुसेवा निगमले चितवनको मेघौली एयरपोर्टमा केही दिन नियमित उडान गर्‍यो । जहाज आउँदा स्थानीय बासिन्दा र पर्यटन व्यवसायीले भव्य स्वागत पनि गरे । २०६७ सालदेखि बन्द रहेको विमानस्थलमा झण्डै ७ बर्षपछि विमान देख्न पाउँदा स्थानीयको खुसीको सीमा रहेन ।

निगमले आइतबार, बुधबार र शनिबार गरी हप्तामा तीन उडान गर्दै आएको थियो । आशा जाग्यो, उत्साह भरियो,  तर यो खुसी लामो समयसम्म टिक्न सकेन । चुनाव सकियो, यात्रु नपाएको भन्दै उडान पनि बन्द भयो ।

वि.सं. २०३० मा बनेको विमानस्थल २०६७ सालसम्म नियमित सञ्चालनमा थियो । विशेष गरी यहाँ होटलका चार्टर विमान बढी आउँथे । यो विमानस्थलमा दैनिक १० वटासम्म उडान भएको तथ्यांक छ । पछि विस्तारै होटल बन्द भएकाले विमानस्थल बन्द जस्तै भएको थियो ।

झाडीले विमानस्थल कुरुप छ भने भौतिक संरचना जीर्ण भएका छन् । विमानस्थल करिब २२ बिगाहा क्षेत्रफलमा फैलिएको छ । विमानस्थलमा एक हजार ६५ मिटर लामो घाँसे धावनमार्ग छ । काठमाडौँबाट उडेको लगभग आधा घण्टामा विमान मेघौली पुगिन्छ ।

हरेक निर्वाचनमा मेघौली एयरपोर्ट सञ्चालन मुख्य एजेण्डा बन्दै आएको छ । चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदी मेघौली विमानस्थल सञ्चालन गर्न सके यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताउँछन् ।

भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार दैनिक एउटा विमान मेघौली विमानस्थलबाट सञ्चालन हुनसक्ने अवस्था रहे पनि विविध कारणले नियमित सञ्चालन गर्न हाललाई सम्भव छैन ।

प्रदेश सांसद भुर्तेल मेघौली विमानस्थल सञ्चालनको लागि पहल भइरहेको दावी गर्छन् । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग विमानस्थल सञ्चालनका बारेमा कुराकानी भए पनि उनको हवाई दुर्घटनामा निधन भएपछि अहिले सो विषय रोकिएको सांसद भूर्तेलले बताए । उनी अझैे मेघौली विमानस्थल चलाएरै छाड्ने बताउँदैछन् ।

सरकारले सन् २०२० मा पर्यटन वर्ष मनाउँदैछ । देशमा २० लाख पर्यटक भिर्‍याउने सरकारको लक्ष्य छ । चितवनले मात्र ६ लाख पर्यटक ल्याउने लक्ष्य राखेको छ ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चितवनमा पर्यटक बढाउन मेघौलीको पर्यटकीय विकासका लागि धेरै काम गर्ने योजना रहेको बताउँछिन् । उनले मेघौली एयरपोर्ट शीघ्र सञ्चालनका निम्ति पहल भैरहेको दावी गरिन् ।

थारु पहिचान मेटिँदै

मेघौलीको अर्को परिचय हो, थारु समुदायको मौलिक पहिचान । र, थारुको जनजीवन झल्किने झल्कने घर र रहनसहन ।

तर  अब थारुका घरहरु पनि विस्तारै क्रंकिटमा बदलिन थालेका छन् । यिनै घरहरु कुनै बेला पर्यटकीय आकर्षण थिए, मेघौलीको ।

गोरु गाढा चढेर विदेशी पर्यटकहरु होटलबाट गाउँ घुम्न आउँथे । अझै पनि केही होटलबाट समय-समयमा यस्तो भ्रमण त गराइन्छ, तर पहिलो जस्तो थारुको जीवनशैली यहाँ भेटिँदैन ।

‘अब कसैलाई पुरानो शैलीका घर भत्काएर नयाँ घर नबनाउ भन्न सकिने अवस्था छैन,’ भरतपुर महानगरपालिका वडा नः २८ का वडाध्यक्ष आशबहादुर कुमाल भन्छन्, ‘मौलिकता नासिँदै छ, तर गर्न केही सकिएको छैन ।’

मैघौलीमा थारू होमस्टे पनि सञ्चालनमा छ । तर यो होमस्टेको चर्चा बाहिरसम्म फैलिन पाएको छैन । २०५५ सालमा स्थापना भएका होमस्टे सेवा गुमनाम जस्तै छ । २०६५ सालमा स्थापना भएको नवलपरासीको अमलटारी होमस्टेको जति चर्चा मेघौलीको होमस्टेको हुन सकेको छैन ।

होमस्टे ओझेलमा

मेघौलीमा आजकाल सानो संख्यामा आन्तरिक पर्यटक आउँछन् । तर, उनीहरु रात बस्दैनन् । घुम्छन् र फर्किन्छन् ।

ठूला होटलमा बस्न महंगो छ । होमस्टे र अन्य साना होटल भए पनि तिनले बजारीकरण गर्न सकेका छैनन् । यहाँ पुग्ने धेरैलाई त साना होटल छन् भन्ने पत्तो नै हुन्न । गोलाघाट क्षेत्रमा जाडो मौसममा पिकनिक खान आउनेहरु उल्लेख्य हुन्छन् ।

वडा नम्बर २८ मा कुमाल जातिको बाहुल्यता छ भने वडा नं. मा २७ मा थारुको । यी जातजातिका सांस्कृतिक नाचगान ठूला होटलमा व्यवसायिक रुपमा मात्रै देखाइन्छ । सामुदायिक तवरमा त्यसलाई नियमित प्रदर्शन गर्ने प्रवन्ध गरिएको छैन । वडा नम्बर २८ को जितपुर र भगाहामा छिटपुट रुपमा थारु सांस्कृतिक नृत्य हेर्न सकिन्छ ।

थारु, कुमाल र दरै जातिको संास्कृतिक नाच तथा रहनसहनलाई देखाउन साझा ‘कल्चरल हाउस’ बनाउनुपर्ने पर्यटन विकास समितिका अध्यक्ष महतो बताउँछन् ।

‘ठूला होटलमा मात्रै देखाउँदा सबैको पहुँच हुन सक्दैन,’ महतो भन्छन्, ‘पर्यटन विकास समितिले देखाउँदा त्यहाँ सबै होटलले पर्यटक  पनि ल्याउँछन्, अरुले पनि हेर्न पाउँछन् ।’

अभागी मेघौली

यहाँका स्थानीयवासी मेघौलीमाथि सरकारले ध्यान नदिएको गुनासो गर्छन् । पछिल्लो समयमा मेघौलीलाई पटिहानीले विस्थापन गर्न थालेको छ ।

सरकारले एक वर्षअघि घोषणा गरेको देशका ‘एक सय वैकल्पिक पर्यटकीय गन्तब्य’ को सूचीमा चितवनका तीन स्थान परे, पटिहानी, बिसहजारी ताल र सोमेश्वर गढी ।

तर, मेघौली अभागी सावित भयो । पटिहानीले भन्दा पहिल्यै पर्यटकीय गतिविधि गर्न थालेर ओझेलमा परेको मेघौलीले गन्तब्यमा परेन ।

मेघौलीलाई नयाँ पर्यटकीय गन्तब्यको सूचीमा नराखेकोमा मेघौलीका जनताको चित्त दुखेको छ । मेघौली पर्यटन विकास समितिका अध्यक्ष महतोले मेघौलीलाई सबै हिसावले पछाडि पार्ने काम भैरहेको बताउँछन् ।

राजनीतिक दलका नेतालाई पनि मेघौलीको महत्प थाहा नभएको होइन । तर, काम गर्न भने कोही पनि अघि सरेका छैनन् ।

देशकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा चितवन विकास भइरहँदा मेघौलीमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन नसकिएको स्वीकार्छन्, चितवन क्षेत्र नं. ३ को प्रदेश ‘क’ का प्रदेशसभा सदस्य कृष्ण भुर्तेल । मेघौली, कसरालगायतका क्षेत्रलाई ‘वाइल्ड लाइफ टुरिज्म सेन्टर’ को रुपमा विकास गर्नुपर्ने उनको धारणा छ ।

दुई नदीको टापु जस्तो बनेको मेघौलीमा डुवान र कटानको समस्या छ । उर्लिएर आउने नारायणी र राप्ती नदीले यहाँ वर्षेनी जनतालाई दुःख दिने गर्छ । गोलाघाटमा नारायणी नदीमाथि आकर्षक पुल बनाएर हुलाकी मार्गलाई जोड्ने योजना छ । तर, निकुञ्जका कारण काम रोकिएको छ ।

निकुञ्जले वन्यजन्तु र पर्यावरणमा असर गर्ने भन्दैं अनुमति दिएको छैन । हुलाकी मार्गलाई त्रिवेणीधामसम्म जोड्न सके मेघौलीको पर्यटनले फड्को मार्ने प्रदेश सांसद भूर्तेलको दावी छ । तर, निकुञ्ज भने यहाँको पर्यावरण नै नजोगिने स्थिति भएर पर्यटन आगमन झनै सुक्ने तर्क गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment