Comments Add Comment
No ads found for this position
पत्रकार किशोर श्रेष्ठसँग विशेषवार्ता :

‘हो, त्यही शीर्षक केपी ओलीले सम्झिरहनुभएको छ !’

‘प्रेस काउन्सिलको पद घाँडो भयो, छोड्न तयार छु’

२६ जेठ, काठमाडौं । नेपाली पत्रकारितामा किशोर श्रेष्ठको आफ्नै ब्रान्ड छ । हरेक बुधबार प्रकाशित हुने जनआस्था साप्ताहिक उनले अभ्यास गरिरहेको फरक शैलीको पत्रकारिताको प्रतिविम्व हो । सम्पादक श्रेष्ठ यतिबेला प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षसमेत छन् ।

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष भएता पनि श्रेष्ठले पछिल्लो समय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको उनले खुलेर विरोध गरेका छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले विधयेक सच्चिने हो भने आफू तत्काल पद छोड्न तयार रहेको बताए ।

राजतन्त्र कालमा दरबारका भित्री कुराहरु बाहिर ल्याउने श्रेष्ठ ‘एक्ला’ पत्रकार मानिन्थे । नेपाली सेनाका बारेमा पनि उनको पत्रिकामा स्कुप समाचार आउँथे । प्रहरी हिरासतमा कृष्ण सेनको हत्या भएको समाचार श्रेष्ठले नै ब्रेक गरेका हुन् । तर, श्रीषा कार्कीको समाचारमा उनी फसे ।

अन्तरवार्ताका लागि डिल्लीबजारस्थित जनआस्थाको कार्यालयमा पुग्दा किशोर समाचारमा घोत्लिरहेका थिए । हामीले रेकर्डर अन गर्‍यौं । परम्परागत शैलीमा पारिवारिक पृष्ठभूमिबाट कुराकानी सुरुवात गरियो । त्यसपछि करिब तीन घन्टा सवाल–जवाफ भयो ।

काठमाडौंमा तपाईको जग्गाजमीन त मनग्गे होला नि ?

पहिले थियो । ग्वार्कोमा दुई–तीन रोपनी थियो । मेरा बुवाका पाँच दाजुभाइ । बुवा पहिल्यैदेखि रोगी हुनुहुन्थ्यो । त्यसैले हजुरबुवाले अंशबण्डा गर्दा बुवालाई अलि बढी सम्पत्ति भाग लगाउनुभएको रहेछ । तर, अरु गतिलो आर्थिक स्रोत नभएका कारण बुवाले जग्गा बेच्दै दिदीहरुको बिहे गर्नुभयो । यसरी सबै जग्गा नासियो ।

पाटनमा दाइ र मेरो भागमा परेका दुईवटा पुख्र्याैली घरचाहिँ अहिले पनि छन् । दाइ २० वर्षदेखि परिवारसहित बेलायतमा बस्दै आउनुभएको छ । मैले नख्खुमा घर किनेको छु । २० वर्षदेखि त्यहीँ बस्दै आएको छु । पत्रकारिताको कमाइले मात्र होइन, आफ्नो भागमा परेको जग्गा बेचेर आएको पैसा पनि त्यो घरमा परेको छ ।

तपाईं पहिले राजनीति गर्नुहुन्थ्यो, पत्रकार कसरी बन्नुभयो ?

यसको लामै कथा छ । म काठमाडौंमा जन्मे पनि धादिङको मलेखुमा हुर्केको हुँ । ९ कक्षासम्म त्यहीँको विद्यालयमा पढेँ । त्यहीँ राजनीति सिकेँ । पत्रकारितामा त धेरै पछि जोडिएको ।

काठमाडौंमा घर भएको मान्छे, धादिङ किन पुग्नुभयो ?

बुवा रोगी हुनुहुन्थ्यो । उहाँको शरीरले चिसो पटक्कै नसहने । म ढेड वर्षको हुँदा उहाँले धादिङ लैजानुभयो र उतै बसियो । त्यहीँ स्कुल पढ्दादेखि नै राजनीतिमा लागेको हुँ ।

मीनराज कँडेल राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ, उहाँ त्यो स्कुलमा हेडमास्टर हुनुहुन्थ्यो । राजेन्द्र पाण्डे, पुष्पलाल कँडेल, सुरेन्द्र पाण्डेलगायत मेरा राजनीतिक गुरु ।

धादिङबाट काठमाडौं कहिले आउनुभो ?

म छिट्टै अखिलको जिल्ला कमिटीमा पुगेँ । ९ कक्षामा पढ्दै गर्दा मलाई राजकाज मुद्दा लाग्यो । हामीमाथि सिडिओ कार्यालयमा उजुरी पर्‍यो । ओम शर्मालाई समातेर थुन्यो, मचाहिँ काठमाडौं भाग्न भ्याएँ ।

काठमाडौं आएर कुमारीपाटीमा रहेको ललितपुर माध्यमिक विद्यालयमा भर्ना भएँ । अस्ति एउटा टिचरले सुसाइड प्रयास गरेर मेडिसिटी भर्ना भएको थियो नि, त्यही स्कुलमा ।

तर, केही समयपछि नै पक्राउ परिहालेँ । मैले चढ्ने गरेको साइकल पनि प्रहरीले लुट्यो । नख्खु जेलमा राखियो । त्यतिबेला जेल पर्ने समूहमा म सबैभन्दा कान्छो थिएँ । मसँगै झापा आन्दोलनका जल्दाबल्दा नेताहरु जेलमा हुनुहुन्थ्यो । ५५ जनाको मेस थियो । कम उमेरको भएकाले मलाई प्रहरीले धेरै यातना दिएनन् । तर, गोवद्र्धन श्रेष्ठ भन्ने इन्सपेक्टरले चाहिँ हातमा सुम्ला उठ्ने गरी चुट्थे ।

राजनीतिबाट पत्रकारितामा कसरी फड्को मार्नुभयो त ?

जेलमा बस्दाखेरि मैले पत्रकारिताको महत्व बुझेँ । जेलभित्र गोरखापत्र र अन्य एकाध पत्रिका आउँथे । ५५ जनाले पालैपालो पढ्न नभ्याइने । सबैजना वरिपरि सुकुलमा बसेर मैले पत्रिका वाचन गर्थेँ । बाहिरको खबर थाहा पाउने त्यही एउटा माध्यम भयो । यसबाट मैले पत्रकारिताको महत्व महसुस गरेँ ।

बुवा बित्नुभएर जेलबाट छुटेपछि म नियमित स्कुल जान थालेँ । स्कुल छुटेपछि जेलमा पत्रिका बाँड्ने काम सुरु गरेँ । पुस्तक पसलबाट केही प्रकाशन बटुल्थेँ र जेलमा लैजान्थेँ । यसरी पत्रपत्रिकाको सम्पर्कमा आएँ ।

अनि ९ कक्षामा पढ्दापढ्दै प्रकाश साप्ताहिकमा काम गर्न थालेँ । जागिरका रुपमा भन्दा पनि पार्टीलाई सहयोग गर्ने हिसाबले । जागृत भेटवाल त्यतिबेला सम्पादक हुनुहुन्थ्यो । भीम रावलचाहिँ भूमिगत सम्पादक जस्तो । नारायण ढकाल, श्यामल, बिमल निभा, पुरुषोत्तम सुवेदीलगायत त्यसमा हुनुहुन्थ्यो ।

पहिलोपटक पत्रिकामा नाम छापिएको याद छ ?

ठ्याक्कै त याद छैन । राजन भट्टराईलाई त्रिचन्द्र क्याम्पस अगाडिबाट सीआईडीले कञ्चटमा पेस्तोल ताकेर पक्राउ गरेको समाचार लेखेको थिएँ । सायद त्यही नै हो कि ? त्यसपछि नै मलाई ब्रेकिङ न्युजको लत बस्यो ।

अरु कुन–कुनमा पत्रिकामा काम गर्नुभयो ?

सुरुमा ‘प्रकाश’ मा काम गरेँ । त्यतिबेला प्रशासनले राजनीतिक धारका साप्ताहिक पत्रिकाहरु बारम्बार बन्द गराउँथ्यो । प्रकाश बन्द भयो भने छलफल र छलफल बन्द भयो भने प्रकाश निकालिन्थ्यो । एक समय दुवै बन्द गराइए । त्यसपछि शम्भु श्रेष्ठले दृष्टि साप्ताहिक निकाल्न थाल्नुभयो । त्यसमा मैले काम गरेँ । अँ, पद्मरत्नले निकाल्ने ‘राजमति’ भन्ने नेवारी दैनिकमा पनि काम गरेँ ।

दृष्टि त पार्टीकै पत्रिका होइन र ?

पार्टी लाइनको त हो, तर पार्टीले नै निकालेको चाहिँ होइन । त्यतिबेला शम्भुजी केशरजंग रायमाझीको फेडरेसनमा हुनुहुन्थ्यो । उहाँले ‘मायालु’ र ‘दृष्टि’ नाममा दुई साप्ताहिक पत्रिका दर्ता गराउनुभएको रहेछ । उहाँ दृष्टि पत्रिका निकाल्न तयार हुनुभयो । म पनि त्यसमा रिपोर्टर भएँ । विष्णु प्रभातले म्यानेजमेन्ट हेर्नुहुन्थ्यो । लेखहरु पार्टीका नेताबाट आउँथे, तर छद्मनाममा । जस्तो– झलनाथ खनालले ‘अभिमन्यू’ भन्ने नाममा लेख्नुहुन्थ्यो । धेरै त कसले लेखेको हो भन्ने पनि चिनिँदैनथ्यो ।

शम्भुजी भ्रष्टाचारका इस्युहरु ल्याउन माहिर हुनुहुन्थ्यो । म खोजमूलक खालको रिपोर्टिङमा रुची राख्थें । दृष्टिको सर्कुलेसन निकै माथि गयो । एक समय त ४९ हजार कपीसम्म छापिएको रेकर्ड छ । बुधबारको पत्रिका लेटर प्रेसमा बिहीबारसम्म निरन्तर छापिन्थ्यो ।

मोबाइल, इन्टरनेट नभएको अवस्थामा त्यतिबेला रिपोर्टिङ गर्न कति कठिन थियो ?

सहज थिएन । फोन, इन्टरनेट केही नभएकाले फिल्डमै जानुपर्थ्यो  । मसित गोपाल गुरागाईंले दिएको एउटा थोत्रो रेकर्डर थियो, त्यही बोकेर हिँड्थेँ । भएको एउटा साइकल पनि प्रहरीले खोसेकाले साझा बस चढेर हिँड्ने गर्थेँ ।

तपाईले त्यसबेला नमिता–सुनिता हत्या प्रकरणको रिपोर्टिङ कति समय लगाएर गर्नुभएको हो ?

करिब ६ महिना लाग्यो होला । धारावाहिकरुपमा समाचार प्रकाशित भएको थियो । त्यसले मलाई पनि चिनायो र पत्रिकाले पनि माइलेज पायो । त्यही रिपोर्टिङलाई म आफ्नो पत्रकारिता करिअरको टर्निङ प्वोइन्ट मान्छु ।

तर, उनीहरुको हत्याको रहस्य त सुल्झन सकेन नि ? तपाईंको रिपोर्टिङले त्यसबेला दरबारमाथि नै शंकाको सुई तेस्र्याएको थियो होइन ?

यसमा त मैले एउटा किताब नै लेखेको छु । मेरो रिपोर्टिङले दरबारभन्दा पनि तत्कालीन अधिराजकुमार (वीरेन्द्रका कान्छा भाइ) धिरेन्द्र र रानी ऐश्वर्याका भाइ उदयसमशेरतर्फ संकेत गरेको थियो । घटनाको एक–एक विवरण मैले लेखेको छु । त्यो न्यूजमा मलाई मार्ने धम्कीसमेत निकै आयो ।

त्यतिबेला मोबाइल फोन थिएन, कस्तो प्रकारले धम्की आउँथ्यो ?

प्रत्यक्ष मलाई त आएन । मजस्तो फुच्चेले लेखेको होला भन्ने सायद उनीहरुलाई अनुमान पनि भएन । अफिसको नम्बरमा फोन गरेर सम्पादक नारायण ढकाललाई धम्की दिएका थिए । उहाँ थुप्रै दिनसम्म अफिसमै सुत्नुपरेको थियो । धम्की आउँदै गथ्र्यो, हामी समाचार लेख्दै गथ्र्यौं ।

नमिता–सुनिताको रिपोर्टिङपछि त दरबारको न्यूजमा मलाई कसैले नभेट्ने भए । दरबारभित्रका स्रोतहरु आफैं मेरो सम्पर्कमा आउन थाले । त्यसयता ०५८ सालको दरबार हत्याकाण्ड र माघ १९ सम्म पनि दरबारको आधिकारिक सूचना मैसित हुन्थ्यो ।

०४६ सालपछि पनि दरबारमा पत्रकारहरुको पहुँच त निकै कठिन थियो । तपाइले त्यहाँभित्र स्रोत कसरी बनाउनुभयो ?

मैले नमिता सुनिताको रिपोर्टिङ गरेपछि दरबारनिकट स्रोतहरु आफैं मेरो सम्पर्कमा आउन थाले । जो दरबारभित्रको काम–कारवाहीबाट असन्तुष्ट थिए, उनीहरुले मलाई समाचार दिन्थे । उनीहरुले दिएको सूचनामा समाचार बनाउँदा मैले कहिल्यै गडबडी गरिनँ । त्यसैले उनीहरुले मलाई विश्वास गरे ।

राजा वीरेन्द्रकी छोरी श्रुती गर्भवती भएको समाचार ब्रेक गर्न कसरी सफल हुनुभयो ?

हा..हा.. । त्यसले त दरबारभित्र तरंग नै ल्याइदिएको थियो । वास्तवमा त्यो समाचार पुष्टि गर्न अत्यन्तै कठिन थियो । स्रोतले त भन्यो, तर कसरी पुष्टि गर्ने । सीमित व्यक्तिलाई मात्र थाहा हुने कुरा पर्‍यो । पेट बोकेको पनि एक महिना मात्र भएको थियो । हामीले अलिकति धूकचूक नै भएर हालेका थियौं । तर, निशाना सही ठाउँमा लागेछ । समाचार सत्य सावित भयो ।

समाचार प्रकाशित भएपछि दरबारबाट कुनै किसिमको प्रतिक्रिया आएन ?

त्यो समयमा जनआस्था भनेपछि दरबारभित्र एक किसिमको आतंक नै थियो । हरेक बुधबार बेलुकी प्रधानमन्त्रीले राजासँग भेट्ने गर्थेँ । त्यही दिन जनआस्था प्रकाशित हुन्थ्यो र दरबारको विषयमा केही न केही लेखिएकै हुन्थ्यो । यसले राजाको टाउको दुखाउने नै भयो । उनले प्रधानमन्त्रीसँगको भेटमा सँधै जनआस्थाको समाचारको प्रसंग निकाल्थे भन्ने सुनेको छु । श्रुतीको समाचार प्रकाशित भएपछि राजाले दरबारमा एडीसीहरुलाई थर्काएको कुरा त उहाँका एडीसी सुन्दरप्रतापले हालै प्रकाशित पुस्तकमा लेख्नुभएको छ नि ।

तत्कालीन युवराज पारसविरुद्ध पनि निकै लेख्नुभयो होइन ?

के लेख्न बाँकी राखियो र ? पारसलाई एक्सपोज गरेकै जनआस्थाले हो । ०५४ सालको आसपासमा हामीले पारसका धेरै कर्तुतहरु बाहिर ल्यायौं । त्यसले नै मलाई ठूलो सुरक्षा चुनौति पनि पैदा भयो ।
पक्राउ पनि पर्नुभयो ?

परेँ नि । त्यो पनि मेरो व्यक्तिगत निकटता भएका नेता वामदेव गौतम गृहमन्त्री भएका बेलामा ।

कुन केसमा ?

वामदेव गृहमन्त्री र लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री थिए । ध्रुवबहादुर प्रधान आईजीपी । जनआस्थाले पहिलो पेजमा दीपेन्द्रको परपीडक स्वाभावको चित्रण गर्दै एउटा समाचार प्रकाशित गरेको थियो । समाचार के थियो भन, नारायणहिटी दरबारमा बेलुका ६/७ बजे हजारौंको संख्यामा कागहरु बास बस्न आउँथे । काग कराएको आवाजले दीपेन्द्रलाई निकै बेचैनी हुन्थ्यो । उनी हरेक बेलुकी हवाई फायरिङ गरेर ६÷७ वटा काग खसाएपछि मात्रै चैनसँग सुत्थे ।

त्यही समाचार र अर्को हप्ता छापिएको आर्टिकललाई लिएर दरबारले प्रधानमन्त्रीलाई, प्रधानमन्त्रीले गृहमन्त्रीलाई र गृहमन्त्रीले मलाई पक्राउ गर्न आदेश दिएछन् ।

तपाईंसँग त्यति राम्रो सम्वन्ध भएका बामदेवले नै तपाईंलाई पक्राउको आदेश कसरी दिनुभयो ?

म भन्दैछु । उहाँलाई दबाव पर्‍यो क्या । दरबारले तीव्र दबाव दिएपछि उहाँले बाध्य भएर आदेश दिनुभयो होला ।

कसरी, कहाँबाट पक्राउ गरियो ?

भन्दैछु । मलाई ध्रुवबहादुरका पीए कुवेरसिंह रानाले फोन गरेर क्वार्टरमा बोलाए । दिलिप श्रेष्ठ हनुमानढोकामा एसपी हुनुहुन्थ्यो । उहाँले मेरै अगाडिबाट फोन गरेर राजकाज मुद्दा दर्ता गर्न मिसिल रेडी गर्न आदेश दिए ।
त्यसपछि मैले वामदेवलाई फोन गरेँ । के गर्नुभाको यो ? दरबारले खण्डन पठाएको भए छापिहाल्थेँ नि भन्दा उहाँले भन्नुभयो, ‘एकदम अप्ठेरो पर्‍यो यार, राजा भयंकर रिसाए । केही दिन थुन्नैपर्ने भयो ।’

म पनि बेस्कन बाझेँ । आखिरमा उहाँ गल्नुभयो । अनि ‘एसपीलाई फोन दिनुस’ भन्नुभयो । उहाँहरुबीच के–के कुरा भयो कुन्नि । मलाई भोलिपल्ट वकिल लिएर सिडिओ कार्यालयमा जानुस भनेर छोडियो । काठमाडौंका सिडिओ नविन घिमिरे हुनुहुन्थ्यो । भोलिपल्ट उहाँले वयान लिएर छोड्नुभयो ।

सेनाविरुद्ध पनि निकै लेख्नुभयो । कत्तिको धम्की आए ?

सेनाको विरुद्धमा भन्दा पनि सेनाभित्रको खराब प्रवृत्तिहरुका बारेमा लेखेको हुँ । डर धम्कीको त कुरै नगर्नुस । तर, मलाई बानी भइसकेको थियो । गैंडाजस्तो छाला भएपछि डर धम्कीले के छुन्थ्यो ।

तर, विवेक शाहले आफ्नो पुस्तकमा तपाईंले तत्कालीन सेनापति प्रज्वल समशेरबाट पैसा खाएको उल्लेख गर्नुभएको छ नि ?

पैसाको अफर आएको हो, खाएको होइन । साप्ताहिक पत्रिकाका दुई जना सम्पादक ५० हजारको बिटो बोकेरै मलाई भेट्न आएका थिए । मैले ठाडै नकारिदिएको हुँ ।

ती सम्पादक तपाईंका चिनजानकै थिए ?

नामै भनिदिन्छु नि । एकजना दृव्यदृष्टि भन्ने पत्रिकाका सम्पादक रामचन्द्र तिवारी । अर्का पवन थापा कुन्तल भन्ने ‘हिन्दु’ का सम्पादक । उनीहरुले जरुरी काम छ भनेका थिए । अरु कुरा गरेका थिएनन् । कुराकानीका क्रममा भने, ‘आइन्दा प्रज्वल समशेरको विषयमा चुप बस्नुस, अहिले ५० हजार पठाउनुभएको छ । अरु के–के चाहिन्छ, भन्दा हुन्छ ।’ विवेक शाहले लेखेको अमाउन्ट ठिकै हो । तर, मैले त्यो पैसा लिएको होइन ।

मलाई ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहको न्यूज नलेख्न भनेर पनि पैसाको अफर आएको हो । त्यो पनि मैले ठाडै नकारेँ । अफर पनि कसले भन्नुस न, तत्कालीन पत्रकार महासंघका अध्यक्षले । मैले पत्रकारहरुले कसरी दलाली काम गर्छन् भन्ने त्यसबेला थाहा पाएँ ।

तपाईंलाई एउटा क्लु दिन्छु, म पत्रकार महासंघको सचिव हुँदा उनी सदस्य थिए ।

प्रज्वल समशेरलाई कुन समाचारले आक्रोशित बनाएको रहेछ ?

द्वन्द्वकालमा अछामको मंगलसेनमा माओवादीले भयानक रक्तपात गरेका थिए । आर्मी सोत्तर भएको एकमात्र ठाउँ मंगलसेन हो । त्यहाँ ५५ जना सैनिकको विभत्स हत्या भएको थियो । माओवादीबाट आक्रमण हुँदा आर्मीबाट एक राउन्ड पनि फायर भएन । माओवादीले महिलाहरुलाई ‘पेनिट्रेट’ बनाएर सैनिकहरुलाई रक्सी खुवाई सुतेको सुत्यै पारिदिएका थिए ।

तर, त्यति ठूलो घटना हुँदा पनि सेनापति श्रद्धाञ्जली दिन मंगलसेन गएनन् । उनी अफिसबाट छुट्टी लिएर ससुराको काममा चरुहोम गरिरहेका रहेछन् । जनआस्थाले ‘अछाम जल्दा शशीभवनमा चरुहोम’ भनेर मुख्य समाचार छाप्यो । उनका लागि आफ्ना सिपाही एक चिहान भएको घटनाभन्दा ससुराको चरुहोम महत्वपूर्ण भयो भनेर लेख्यौं । त्यही समाचारले उनलाई विक्षिप्त बनायो ।

त्यो समाचार आउनासाथ मलाई आर्मीले धुईपत्ताल खोज्न थाल्यो । म बेलायत गएँ ।

त्यतिबेला निरंकुश शासन त थिएन । समाचार लेखेकै कारण देशै छोडेर भाग्नुपर्ने अवस्था आउँदा पत्रकारसम्वन्धी संघ–संगठन र राजनीतिक दलले केही बोलेनन् ?

संकटकाल थियो नि त । माओवादीका नाममा जसलाई पनि फसाइन्थ्यो । पत्रकार महासंघको नेतृत्व नै आतंकवादीका मतियार भएको आरोप लागेका बेला मेरो पक्षमा बोल्न गाह्रै थियो ।

कति समय बेलायत बस्नुभयो ?

धेरै टिक्न सकिनँ । दुई हप्तामै फर्किएँ । त्यहाँ के गरेर बस्ने ? घुम्नेबाहेक अरु काम थिएन । यता मेरा स्रोतहरुले कसलाई न्यूज दिने ? त्यसैले जे पर्ला भनेर फर्किएँ ।

अँ, मैले त्यो समाचार लेखेको अर्को हप्ता गोपाल बुढाथोकीले साँघुमा सैनिक नियम उद्वृत गर्दै ‘यस्ता सेनापतिलाई राजाले बर्खास्त गर्न सक्छन्’ भनेर लेखिदिएछन् । त्यही बेलुका उनलाई सेनाले आँखामा पट्टी बाँधेर अपहरण शैलीमा लग्यो र २४ दिन बेपत्ता बनाइदियो । यस विषयमा संसदमा पनि प्रश्न उठ्यो । तर, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आतंकवादीका मतियारको राज्यले जिम्मा लिन सक्दैन’ भनिदिए ।

नेपाल आएपछि सबै कुरा साम्य भयो ?

प्रधानसेनापतिको आक्रोश त पछिसम्मै रह्यो । मलाई जहाँ भेट्दा पनि ‘आई विल सुट यू’ भन्ने गर्थे । उनका छोरा पनि मलाई मार्छु भन्दै हिँड्थे । तर, गर्न केही सकेनन् ।

नेपाल फर्केर अफिस ज्वाइन गरेँ । त्यही बेलुका मलाई अफिसबाट उठाएर लगे । अनामनगर चौकीको अन्डरग्राउन्ड कस्टडीमा राखियो । ओढ्ने–ओछ्याउने समेत दिएनन् । यत्तिकै रात कटाएँ ।

म माओवादी थिइनँ । ‘लग्यो रे’ भन्ने होहल्ला भएपछि संसदमा पनि आवाज उठ्यो । पत्रकार महासंघ र मानवअधिकारवादीले पनि सरकारलाई दवाब दिए । र, बाध्य भएर भोलिपल्टै छाडियो ।

पछि अरु सेनापतिसँग चाहिँ कस्तो सम्वन्ध रह्यो ?

मैले कसैसँग पनि सम्झौता गरिनँ । राजेन्द्र क्षेत्री चिफ हुँदा उनको बारेमा पनि हामीले लेखिरह्यौं । उनीबाट पनि अफर आयो । पत्रिकाको कागज, छपाईं के–के डिमान्ड छन् सबै पूरा गर्छु, लेख्न छोड्नुस भनेका थिए । तर, म किन मान्थेँ ?

तपाईं पहिलेदेखि नै दरबारनिकट पत्रकार…

दरबारनिकट होइन, दरबारको समाचार लेख्ने पत्रकार भन्नुस् न ।

मतलव, दरबारमा जुन हत्याकाण्ड भयो, त्यो कसले गराएको थियो भन्ने अझै पनि रहस्यकै विषय छ । दरबारमा तपाईंका बलिया स्रोतहरु थिए । तपाईंले पाएको सूचना अनुसार दरबार हत्याकाण्डमा कसको हात थियो होला ?

मसँग दरबारभित्र यस्तो स्रोत थियो, जसले सबै ठाउँको पहुँच राख्थ्यो । दरबार हत्याकाण्ड हुँदा घटनास्थलमै पनि मेरो स्रोत थियो । बाहिर पनि थिए । सबैले दिएको सूचनाका आधारमा म के कुरामा विश्वस्त छु भने दरबार हत्याकाण्ड

दीपेन्द्रले नै गराएका हुन् । यसमा मलाई कुनै शंका छैन ।

घटनास्थलमा त राजपरिवारका सदस्य मात्रै थिए होइन ?

राजपरिवारका सदस्य पनि मेरो स्रोत थिए ।

आफ्नै परिवारको विनाश गर्ने स्थितिमा कसरी पुगे होला त दीपेन्द्र ?

यसमा मेरो विश्लेषण अलिकति फरक छ । मुख्य कारण त विवाहकै विषयमा उत्पन्न किचलो हो । तर, मेरो आँकलनमा दिपेन्द्र छिटोभन्दा छिटो राजा बन्न चाहन्थे । देवयानीसित बिहे गरेमा उनलाई हटाएर कान्छो छोरालाई युवराज बनाउने रानीले चेतावनी दिएकी थिइन् । त्यसैले दिपेन्द्रले आमालाई आफ्नो बाटोको तगारो ठानेका थिए ।

मेरो अनुमानमा दिपेन्द्रको अभिष्ट बाबुको हत्या गरेर आफू राजा बन्ने थियो । हत्याकाण्डका विवरण सुन्दा पनि उनले पहिलो गोली राजा वीरेन्द्रमाथि नै चलाएका थिए । एकपटक मात्रै होइन, फर्कीफर्की राजालाई गोली हानेका छन् । अरु जति पनि मरे, उनीहरु बीचमा आउँदा गोलीमा भुटिएका हुन् ।

दीपेन्द्र राजा बनेपछि आमा ऐश्वर्य मुमा बडामहारानी बन्ने थिइन् । रानी हुँदाको शक्ति मुमा बडामहारानीमा हुने कुरा भएन । त्यसपछि देवयानीलाई बिहे गरेर महारानी बनाउने दिपेन्द्रको योजना हुन सक्छ ।

त्यसो भए दिपेन्द्रले आत्महत्या किन गरे त ?

आत्महत्या गरेको कुरा अपुष्ट हो । दिपेन्द्रले आफैंलाई गोली हानेको देख्ने कुनै प्रत्यक्षदर्शी छैन । मलाई गम्भीर आशंका छ कि दिपेन्द्रले आत्महत्या गरेको नभई उनलाई मारिएको हो ।

भनेपछि अर्को व्यक्तिले अचूक निशाना लगाएर कञ्चटमै गोली हान्यो ?

हो । टाढैबाट पनि अचूक निशाना लगाउने क्षमता हुन्छ एडीसीहरुको । तपाईंंलाई एउटा कुरा भन्छु । दरबार हत्याकाण्डपछि राजा भएका ज्ञानेन्द्रले राजा वीरेन्द्रका एडीसी सुन्दरप्रताप राना, रानी ऐश्वर्याका एडीसी अनन्त केशर सिंह,  दिपेन्द्रका एडीसी राजु कार्की र गजेन्द्र बोहोरा सबैलाई सेवाबाट बर्खास्त गरे । तर, अधिराजकुमार निराजनका एडीसी मधुकर कार्कीलाई कारवाही गर्नुको साटो आफ्नै एडीसी बनाए । जबकि उनी पनि घटनास्थलमा नै थिए । पछि उनलाई ज्ञानेन्द्रले नै युकेमा तालिममा पनि पठाए । अहिले उनलाई सेनापतिको लाइनमा हालिएको छ, अब ६\७ वर्षपछि सेनापति बन्छन् । उनलाई किन यसरी संरक्षण दिइयो भन्ने खोजीको विषय हो ।

दरबार हत्याकाण्डपछि जनआस्थाले लेखेको समाचारको त निकै आलोचना भएको थियो होइन ?

हो । मैले दिपेन्द्रले गोली चलाएको भनेर लेख्दा मलाई ‘दुई करोड खायो’ भनेर हल्ला गरे । ‘साँघु’ ले ठीक उल्टो लेख्यो । उसले भूमिगत गिरोहले दिपेन्द्रको मास्क लगाएर गोली चलाएको भनेर काल्पनिक कुरा लेख्दा उसको पत्रिका हारालुछ भयो । तर, क्षणिक लोकप्रियताका लागि लेखिएका समाचार टिकाउ हुने कुरा भएन ।

तपाईको पत्रिकाले प्रकाशित गर्ने समाचार प्रायः एकतर्फी हुन्छन् भनिन्छ, यति लामो पत्रकारिता गरेको व्यक्तिले यो पाटोलाई ध्यान नदिनुभएको कि वेवास्ता गर्नुभएको ?

कुनै पनि न्यूज बनाउँदा अर्को पक्षको पनि भनाइ राख्नुपर्छ भन्ने पत्रकारिताको सिद्धान्त हो । कहिलेकाहीँ त्यो गर्दा समाचार नै जोखिममा पर्न सक्छ । जब फोन गरेर उसको भनाइ लिन खोजिन्छ, त्यसपछि उसले साम–दाम, दण्ड–भेद सबै उपाय लगाएर न्यूज रोकाउन खोज्छ । त्यसका बाबजुद समाचार आयो भने उसले उल्टो पत्रकार र पत्रिकाविरुद्ध दुश्प्रचार गर्छ । ‘मलाई फोन गरेर यस्तो यस्तो डिमान्ड गर्‍यो र मैले नमानेपछि बेइज्यती गरेर समाचार लेख्यो’ भन्दै ढोल पिट्न थाल्छ । त्यो सबै झेल्नुभन्दा स्रोतमाथि विश्वास गर्ने हो, समाचार लेख्ने हो ।

तर, कसैको व्यक्तिगत समाचार लेख्दा आफ्नो समाचारले उक्त व्यक्तिलाई कति ड्यामेज गर्न सक्छ भन्ने कुरा सोच्नुहुन्न ?

तपाईंले भनेको एकदम ठीक हो । तर, हामी कुनै सर्वसाधारणको त समाचार लेख्दैनौं नि । सार्वजनिक पद धारण गरेको वा सेलिब्रिटीको बारेमा लेख्ने हो । उनीहरु आफ्नो आचरणमा सतर्क हुँदैनन् भने हामी समाचार लेख्न किन अन्कनाउने ?

सेलिब्रिटी वा सार्वजनिक व्यक्तिको मात्र नभएर नितान्त सर्वसाधारणको पनि त समाचार लेख्नुभएको छ, उदाहरणका रुपमा क्षमता ढकाल…

सम्पादक भएको नाताले मैले जिम्मेवारी लिनुपर्छ । तर, त्यो समाचार म देशबाहिर भएका बेला छापियो । त्यो समाचार छाप्दा साथीहरुको अलिकति संवेदनशीलता पुगेन होला । त्यसको जिम्मेवारी मैले लिएकै छु ।

कस्तो भयो भने, गणेश बस्नेतले चलाउने एउटा अनलाइनमा समाचार आएको रहेछ । बिराज भट्ट भन्ने बेलायतमा ट्राभल एजेन्सी चलाएर बसेका छन्, उनका बारेमा । बिराजका विरुद्ध क्षमताबाट प्रायोजित उक्त स्टोरी छापिएपछि बिराज जिल्ला अदालत, र प्रेस काउन्सिलमा उजुरी हाल्न आए । त्यसको ६ महिनापछि म विदेश गएका बेलामा जनआस्थामा त्यो स्टोरी छापियो । पछि क्षमता ढकाल आफैं कार्यालयमा आउनुभयो । मेरो प्राइभेसी हनन भयो भन्नुभयो । पत्रकार सम्मेलन पनि गर्नुभयो । हामीले उहाँको खण्डन पनि छाप्यौं ।

प्रथम पृष्ठमा उच्च प्राथमिकताका साथ छापिएको समाचारलाई भित्रीपेजको कुनामा पाठकपत्रमा छापिँदा खण्डनले क्षतिपूर्ति गर्छ र भन्ने गुनासो पनि सुनिन्छ नि पाठकहरुको ?

तपाईंको कुरामा म पनि सहमत छु । पछिल्लोपटक हामीले नयाँ अभ्यास पनि गरेका छौं । प्रधानमन्त्रीका आईटी सम्वन्धी सल्लाहकार अस्गर अलिको समाचारमा उहाँले आपत्ति जनाउनुभयो । त्यसपछि मैले त्यसलाई पहिलो पेजमा नै स्थान दिएँ । त्यो समाचारमा हाम्रोतर्फबाट केही कमजोरी भएका थिए । त्यसलाई मैले स्वीकार गरेको छु ।

तपाई अहिले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष पनि हुनुहुन्छ । एउटै व्यक्ति पत्रिकाको सम्पादक र अर्कोतर्फ नियामक निकायको पनि प्रमुख हुनुहुन्छ । यो कतिसम्म न्यायोचित हो ?

प्रेस काउन्सिल ऐन २०४८ ले नै सदस्य हुनका लागि पत्रिकाको बहालवाला सम्पादक नै हुनुपर्ने व्यवस्था गरेको छ त के गर्ने ? यदि म जनआस्थाको सम्पादक नहुँदो हुँ त काउन्सिलमा आउनै सक्दिनथें ।

काउन्सिलमा आइसकेपछि त पत्रिकाको जिम्मेवारीबाट अलग हुनु ठीक हुन्थ्योे होला नि ?

ऐनमा त्यस्तो भनिएको छ ? एकचोटि हेर्नुस त ।

छोड्नुहुँदैन भनेर पनि त लेखिएको छैन..

मैले सहजरुपमा जिम्मेवारी निर्वाह गरिरहेको छु भने किन छोड्ने ? यसको अर्को पाटो पनि छ । ऐनले एउटा पदाधिकारी दुई कार्यकाल रहन सक्ने भनेको छ । यदि मैले सम्पादक पद छाडेको भए दोहोरिनसक्ने सम्भावना अन्त्य हुन्थ्यो ।
फेरि म काउन्सिलको पूर्णकालीन अध्यक्ष नभएर कार्यवाहक मात्रै हुँ । सरकारले नियुक्त गरेका अध्यक्षलाई सर्वोच्चले काम नगर्नू भनेर जिम्मेवारीबाट च्यूत गरेपछि मलाई कार्यवाहक बनाइएको हो । मैले आफ्नो भूमिकामा न्याय गरेको छु भन्ने लाग्छ ।

तर, यो त सिधै ‘क्लास अफ इन्ट्रेस्ट’ भइहाल्यो नि । उदाहरणका लागि यदि जनआस्थाको समाचारबाट असन्तुष्ट भएर कोही काउन्सिलमा गुहार माग्न आउन सक्छ । तर, त्यहाँ पनि तपाईंलाई नै भेट्छ । अब उसले कसरी काउन्सिलबाट न्याय पाउने आशा गर्ने ?

मैले बारम्बार भनेको छु कि जब जनआस्थाको विषय आउँछ, म काउन्सिलको छलफलमा सहभागी नै हुन्न । ६\७ जना साथीहरुको टिमले स्वतन्त्रतापूर्वक निर्णय गर्नुहुन्छ । त्यसमा बार एसोसिएसनको प्रतिनिधिसमेत हुनुहुन्छ ।

तपाईं बैठकमा सहभागी नहुनु एउटा कुरा । तर, तपाईं नेतृत्वको हुँदासम्म जनआस्थाविरुद्ध निर्णय लिन पदाधिकारीले पक्कै नसक्लान् कि ?

किन नसक्ने ? हेर्नुहोस् त काउन्सिलमा पदाधिकारी को–को छन् ? कोही मेरै प्रतिस्पर्धी छन् । जनआस्थालाई काउन्सिलले बारम्बार पत्र काटेको छ । मेरो प्रभाव हुने भए त्यो कसरी सम्भव थियो ?

प्रेस काउन्सिलबाट जनआस्थामा पत्र पठाउँदा कसको नाममा पठाइन्छ ?

अवश्य पनि सम्पादकको नाममा ।

भनेपछि आफैंले आफूलाई पत्र पठाउनुहुन्छ ?

त्यस्तै हुन्छ । यद्यपि, यो एउटा प्राविधिक कुरा मात्र हो ।

दोहोरो जिम्मेवारी निभाइरहेको अवस्थामा कार्यालय समयको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

सोमबार र मंगलबार जनआस्थालाई बढी समय दिन्छु । अरुबेला काउन्सिलमा हुन्छु । काउन्सिलमा मैले दैनिक हाजिर गर्नुपर्ने र टेन टु फाइभ ड्युटी भन्ने छैन । त्यहाँ अध्यक्ष भएको मान्छेको हाजिर गर्नुपर्दैन । सिस्टम नै हो ।

हाजिरै नगरिकन तलव बुझ्नुहुन्छ ?

काउन्सिलका अध्यक्षका रुपमा मैले मासिक तलव पाउँदिनँ । गाडी सुविधाबाहेक अरु केही छैन अहिले ।

तलब किन नपाउनुभएको ?

फागुनमा बोर्णबहादुर कार्कीले अवकाश पाउनुभयो । जेठसम्म नयाँ नियुक्ति भएन । त्यसपछि म निमित्त अध्यक्ष भएँ । तलव लिएँ, तर सुविधा लिइनँ । जेठमा भवानी बराल अध्यक्ष नियुक्त हुनुभयो, तर उहाँलाई साउनको लास्टतिर अदालतले कामबाट रोक्यो । त्यसपछि कात्तिकदेखि मलाई कार्यवाहक अध्यक्षका रुपमा फूलटाइम जिम्मेवारी दिइयो । त्यसो भएपछि मैले कात्तिकदेखि तलव–सुविधा पाउने निर्णय भएको थियो । तर, महालेखाले ०४८ सालको ऐनमा कार्यवाहक अध्यक्षको व्यवस्था नभएको भनेर मैले तलव लिए बेरुजुमा जाने बतायो । त्यसपछि मेरो तलव बन्द भयो ।

कार्यवाहक अध्यक्षका रुपमा नभए पनि सदस्यको हैसियतमा त पाउनुहोला नि ?

काउन्सिलमा सदस्यलाई तलब हुँदैन । बैठक भत्ता मात्रै हुन्छ । मैले त्यो पनि पाउँदिनँ । मैले गाडी सुविधा लिएको छु । दोहोरो सुविधा लिनुहुँदैन भन्ने भएपछि बैठक भत्ता त्यागेको हुँ ।

भवानी बराललाई अध्यक्ष हुनबाट रोक्न पनि तपाईंले चलखेल गरेको आरोप लगाउँछन् नि कतिपयले ?

त्यस्तो हावादारी आरोपको के जवाफ दिनु ?

त्यतिबेला यो मुद्दा हेर्ने दीपकराज जोशी जनआस्थाको कार्यालय भवनका घरबेटी हुन् क्यारे । तपाईंले उनलाई प्रभावमा पार्न असम्भव छ र ?

त्यो काल्पनिक कुरा हो । दीपकराज जोशी मेरो घरबेटी हुनु एउटा संयोग होला । मुद्दाको सुनवाई हुँदा त म विदेशमा थिएँ । मैले ‘श्रीमान न्याय चाहियो’ भनेर उहाँको दैलो चाहार्न गएको थिइनँ ।

किशोर श्रेष्ठका लागि विदेश यात्रा त पानी पँधेरो बराबर हो भन्ने चर्चा हुने गर्छ । यतिका अवसर कसरी आउँछन् ?

म विश्व प्रेस काउन्सिलको उपाध्यक्ष भएको नाताले विभिन्न वैठकमा भाग लिन विदेश गइरहनुपर्छ । नेपाल चीन मिडिया फोरमको संयोजक छु, त्यसैले चीनबाट बारम्बार विभिन्न कार्यक्रमका लागि निमन्त्रण आउँछन् । कतिपय व्यक्तिगत सम्वन्धले पनि काम गर्छ । तर, म आफू मात्रै विदेश घुम्न गएको छैन । करिब ३७० पत्रकारलाई विदेश भ्रमणको अवसर दिलाएको छु । म एक्लै कहिल्यै पनि जान्न ।

तपाईंले विदेश भ्रमण गर्दा राज्यकोषबाट कति खर्च हुन्छ ?

अहिलेसम्म राज्यको पैसामा विदेश यात्रा गरेको छैन । जसले निम्त्याउँछन्, उनीहरुले नै खर्च व्यहोर्छन् ।

काउन्सिलको अध्यक्षले मात्रै पाउने रातो पासपोर्ट तपाईंले अनाधिकृतरुपमा प्रयोग गरिरहनुभएको आरोप पनि लागेको छ नि ?

कसरी अनाधिकृत हुन्छ ? ०५५ सालमा सञ्चारमन्त्रीको सल्लाहकार भएपछि मैले नीलो पासपोर्ट पाएँ । प्रधानमन्त्री केपी ओली परराष्ट्रमन्त्री हुँदा पनि उहाँले मलाई आफैंले सही गरेर नीलो पासपोर्ट दिलाउनुभयो । मसित निरन्तर सातवटा नीलो पासपोर्ट थिए । रातो तीनवटा छन् । सरकारले निर्णय गरेर दिएको हो । यसको कतै दुरुपयोग भएको भए देखाउनुस् ।

म विश्व प्रेस काउन्सिलको प्रथम उपाध्यक्ष पनि हुँ । अब अध्यक्ष हुने लाइनमा छु । साउथ एसियन प्रेस काउन्सिल गठन गर्न पनि हिँडिरहेको छु । भारतमा प्रेस काउन्सिलको अध्यक्ष सर्वोच्चको न्यायाधीश हुन्छ । बंगलादेश, श्रीलंकामा पनि त्यही छ । म उहाँहरुलाई लिड गर्ने ठाउँमा छु । त्यसैले रातो पासपोर्ट भएन भने अलिकति अप्ठेरो नै हुन्छ । यो नेपाल सरकारले प्रेस काउन्सिललाई दिएको मर्यादा पनि हो ।

काउन्सिलमा आउनुअगाडि तपाईंलाई अरु पदका लागि अफर आएका थिएनन् ? काउन्सिल नै किन रोज्नुभयो ?

अफर नआएको होइन । तर, म सधैँ सक्रिय र व्यवसायिक पत्रकारितामा नै रमाएँ । कहिल्यै सरकारी नियुक्ति खान दौडधूप गरिनँ । ०५५ सालमा एकपटक राधाकृष्ण मैनाली सञ्चारमन्त्री हुँदा सल्लाहकार बनाउनुभयो । त्यसबाहेक अरु पदमा बसेको छैन ।

मेरो जीवन पत्रकारितामै बित्यो । अरु क्षेत्रमा मलाई जानु नै छैन । ०६५ सालमा कृष्णबहादुर महराले सञ्चारमन्त्री हुँदा एउटा अफर गर्नुभएको थियो । मैले जनआस्थामै ठीक छु भनेर जवाफ दिएँ । प्रेस काउन्सिल पत्रकारितासित प्रत्यक्ष जोडिएकाले यो जिम्मेवारीचाहिँ स्वीकार गरेको हुँ ।

अहिलेका सञ्चारमन्त्रीसँग तपाईंको खुबै घनिष्ठता छ क्यारे । उहाँले कुनै आश्वासन दिनुभएको छ कि ?

हो, सञ्चारमन्त्री गोकुल बास्कोटा ०४३ सालदेखिका मेरा जिग्री दोस्त हुन् । अखिलको काभ्रे जिल्ला कमिटीको सचिवमा मैले उहाँलाई सपथ खुवाएको थिएँ । मैले छोडेको ‘दृष्टि’ को कुर्सी उहाँलाई नै जिम्मा लगाएको हुँ । उहाँलाई पनि ठूलो अवसर होला साथीलाई गुन लाउने । तर, म उहाँसँगको सम्बन्ध प्रयोग गरेर कुनै पद हत्याउने दाउमा छैन ।

उहाँले चाहिँ कुनै अफर गर्नुभएको छैन ?

उहाँले विज्ञापनसम्वन्धी आमसञ्चार प्राधिकरण बन्दै छ, त्यसमा जाउ भन्नुभएको थियो । मैले स्वीकार गरिनँ । त्यो मेरो क्षेत्र नै होइन, किन जाने ?

सरकारले प्रेस काउन्सिल भंग गरेर मिडिया काउन्सिल बनाउने तयारी गरिसकेको छ । त्यसमा त पुराना पदाधिकारी दोहोरिन सक्दैनन् होला । अनि के गर्नुहुन्छ ?

दोहोरिन नसक्ने भन्ने पनि हुन्छ र ? अफिस उही, रेकर्ड उही, संरचना उही, कर्मचारी उही, पदाधिकारी मात्रै नयाँ कसरी हुन्छ ? प्रेस काउन्सिललाई नै मिडिया काउन्सिल बनाइएको न हो । नयाँ नियुक्ति गरेर यदि अदालतमा मुद्दा पर्‍यो भने उल्टाइदिन सक्छ ।

भनेपछि मिडिया काउन्सिलको पनि नेतृत्व गर्न इच्छुक हुनुहुन्छ ?

मिडिया काउन्सिलसम्वन्धी विधेयक अहिलेकै अवस्थामा पारित भयो भने म जान्न । म पत्रकारलाई समाचार लेखेकै आधारमा एक करोड जरिवाना गराउन सक्दिनँ ।

आफू पदमुक्त हुने भएकाले तपाईंहरु मिडिया काउन्सिलको विरोधमा उफ्रीपाफ्री गरेको भनिरहेका छन् नि सत्तानिकट पत्रकारहरुले ?

सरासर गलत हो । मेरा लागि प्रेस स्वतन्त्रताभन्दा एउटा पद कदापी ठूलो हुन सक्दैन । यदि पदको त्यति लोभ नै भएको भए त मलाई चुप बस्दैमा फाइदा थियो होला नि । सरकारलाई रिझाएर आफ्नो पदमा निरन्तरता दिन सक्थें होला । ल ठिकै छ, पद जाने भयले चिच्याएर हिँडेँ रे । तर, यति ठूलो कुरालाई यसरी विषयान्तर गर्न मिल्छ ? यदि प्रेस स्वतन्त्रता सुनिश्चित हुने गरी ऐनलाई सच्याइन्छ भने म अहिल्यै राजीनामा दिएर हिँड्न तयार छु । मैले त गोकुल बास्कोटालाई मेरो राजीनामा लिनुस् भनेकै हो । यति त्याग म गर्न सक्छु ।

सञ्चारमन्त्रीले के भन्नुभयो त ?

वैशाख २४ गते सञ्चारमन्त्रीसँग मेरो भेट भएको थियो । उहाँले त्यस भेटमा भन्नुभएको थियो कि मेरो प्राथमिकता मिडिया काउन्सिल विधेयक हुँदै होइन । हुलाक, सूचना–प्रविधि र आमसञ्चार विधयेक हुन् । तर, दुई दिनपछि वैशाखको २६ गते उहाँले स्वाट्ट मिडिया काउन्सिल विधयेक राष्ट्रिय सभामा संसदमा दर्ता गर्नुभयो । मलाई दुःख लागेको छ ।

त्यसपछि जेठ ५ गते उहाँसँग अन्तरंग कुरा भयो । प्रमोद दाहाल साक्षी छन् । मैले सञ्चारमन्त्रीलाई भनेँ, तपाईंले वचन तोड्नुभयो । यो विधेयक हामीले भनेर बनाएको हो । यसमा काउन्सिलले प्रेस पास दिने र खोस्ने सिस्टम चाहियो, पाइलटको लाइसेन्स खोसेजस्तै ।

गोदावरी भेलामा विधयेकमाथि २ दिनसम्म रेसा–रेसा छलफल गर्दा प्रधानन्यायाधीशज्यू र हाल प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याल पनि हुनुहुन्थ्यो । । त्यसमा जरिवानाको कुरै थिएन । तर, रातारात  १० लाख बनाइयो । मेरा हातमा तीन विधयेक छन्, एउटा ५० हजारकाे, एउटा १ लाखसम्मकाे र अर्को १० लाखकाे । एउटा सहीछाप गरेर क्याबिनेटबाट पारित गरेको विधेयक, जसमा एक लाखसम्म जरिवानाको प्रावधान छ । अर्को, अहिले संसदमा दर्ता गरेकोमा १० लाखको प्रावधान छ ।

भनेपछि सञ्चारमन्त्रीले दोहोरो भूमिका खेल्नुभएको हो ?

उहाँ दबावमा पर्नुभयो भन्ने लाग्छ । उहाँले चाहेर यस्तो विधेयक आएकै होइन ।

कसले चाहेर आएको हो त ?

राम जाने ।

प्रधानमन्त्रीले ?

प्रधानमन्त्री बोल्नुभएकै छ नि, सोचिविचारी ल्याइएको विधयेक हो भनेर ।

प्रधानमन्त्री प्रेसप्रति किन अनुदार हुनुभएको होला ?

यसमा म प्रधानमन्त्रीलाई मात्रै पनि दोष दिन्न । प्रेस पनि जिम्मेवार हुन सकिरहेको छैन । सम्मानित संस्थाहरुमाथि नचाहिँदा लान्छनाहरु लगाउने सिलसिलाले उहाँलाई रुष्ट बनाएको हुन सक्छ ।
एउटा कुरा बताउँछु ।

सामाजिक सञ्जालमा एउटा मोडिफाइल गरिएको फोटो आयो । त्यो फोटोमा प्रधानमन्त्रीज्यू र सम्मानित राष्ट्रपतिज्यूको तस्वीर जोडिएको थियो । हो, यस्ताखालका विकृत कन्टेन्टहरुले प्रधानमन्त्रीलाई क्षुब्द बनाएको हुन सक्छ । तर, सामाजिक सञ्जाल र मिडिया अलग कुरा हुन् । यिनीहरुलाई एउटै डालोमा राखेर हेर्दा समस्या हुन्छ । प्रधानमन्त्रीलाई भएको त्यही हो । उहाँले सामाजिक सञ्जाल र मिडियालाई एकै नजरले हेरिरहनुभएको छ । सल्लाहकारहरुले सम्झाउनुपर्छ ।

के प्रधानमन्त्री केपी ओली तपाईंप्रति व्यक्तिगत रुपमा पनि पूर्वाग्रही रहेको ठान्नुहुन्छ ?
गज्जबले हुनुहुन्छ । मज्जाले हुनुहुन्छ । मलाई त यो पनि शंका लाग्छ कि उहाँले प्रेस काउन्सिलबाट मलाई हटाउन सक्ने स्थिति नभएपछि नै मिडिया काउन्सिल बनाउन यति हतारिनुभएको हो ।

उहाँको विरुद्धमा केही लेख्नुभएको थियो कि ?

प्रधानमन्त्रीज्यूको स्मरणशक्ति कडा छ । कुनै पनि कुरा हत्पत्ति बिर्सिनुहुन्न । लामो समयसम्म त्यसको तुष पालेर बस्नुहुन्छ । एमाले र माले फुटेका बेला जनआस्थाले केपी ओली र विद्या भण्डारीको एउटा समाचार प्रकाशित गरेको थियो । हो, त्यही शीर्षक ओलीले अहिलेसम्म सम्झिरहनुभएको छ ।

केही दिनअघि शीतलनिवासमा उहाँसँग भेट भएको थियो । त्यही प्रसंग निस्कियो । राष्ट्रपतिज्यूले चाहिँ त्यो कुरालाई खासै सिरियसली लिनुभएन । तर, प्रधानमन्त्रीको रीस अझै मरेको रहेनछ ।

प्रधानमन्त्रीले तपाईंप्रति पुरानो तुष पोखेका अरु पनि घटना छन् ?

किन नहुने ? विदेश भ्रमणमा जाने लिस्टबाट मेरो नाम कटाउनुभएको छ । विभुषण पाउनेको सुचीबाट मेरो नाम हटाउनुभएको छ । पोहोर गणतन्त्र दिवसका अवसरमा विभुषणका लागि सञ्चार मन्त्रालयबाट सिफारिस भएर गएको रहेछ । तर अन्तिममा प्रधानमन्त्रीले मेरो नाम काट्न लगाउनुभएछ ।

एमाले र माले एकीकरण भएपछि लामो समयसम्म मेरो पार्टीको सदस्यता नवीकरण नगरी राखियो । पछि स्थायी समितिले निर्णय गरेर नवीकरण गरेको हो । तर, त्यसयता मैले पार्टीको सदस्यता लिएको छैन ।

अहिले मिडिया काउन्सिल ऐनको पत्रकारिता जगतले विरोध गरिरहेको छ । तर, सामाजिक सञ्जालमा हेर्दाचाहिँ पत्रकारविरुद्ध कडा कानून नै ल्याउनुपर्छ भन्नेखालको जनमत पाइन्छ । यसलाई कसरी लिनुहुन्छ ?

पत्रकारितामा धेरै कमी–कमजोरी छन् । विकृति–विसंगति छन् । त्यसले आमजनतामा पत्रकारिताप्रति सकारात्मक दृष्टिकोण बन्न सकेको छैन ।

अब हेर्नुस, अराजकता कतिसम्म छ । म यति मिहिनेत गरेर पत्रिका निकाल्छु । तर, बुधबार बिहानै मेरो पत्रिकाका समाचारहरु सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भइसकेका हुन्छन् । अनलाइनहरुले समाचार कपी गरेर त्यसलाई भाइरल बनाउँछन् । यसरी समाचार चोरी गरेर हालिँदा मेरै रोजीरोटी खतरामा परिरहेको छ । मेरो बौद्धिक सम्पत्तिको चिरहरण भइरहेको छ । यस्ता कुरामा कन्ट्रोल नगर्ने ? मेरोजस्तै पीडा अरु प्रिन्ट मिडियाको पनि छ ।

पत्रकारितालाई जिम्मेवार बनाउने सन्दर्भमा मिडिया काउन्सिल विधेयकमा कतिपय राम्रा प्रावधानहरु पनि छन् । यो ऐनले अब गलत समाचार लेख्दा सम्पादकलाई मात्रै नभएर रिपोर्ट र डेस्क एडिटरलाई समेत लपेट्छ । सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्छ भन्ने ध्येय हो ।

भनेपछि अनलाइनहरुले गर्दा पत्रिकाको सर्कुलेसनमा धक्का परेको छ ?

पक्कै परेको छ । यो जनआस्थाको मात्रै समस्या होइन । हामीले पत्रिकामा हालेका समाचार फेसबुकमै बिहानैदेखि आएपछि पत्रिका कसले किन्ने ? यो प्रिन्ट मिडियाका लागि डरलाग्दो अवस्था हो ।

फेरि जनआस्थातिरै फर्कौं । जनआस्थाको ‘पिक टाइम’ कुन कालखण्डलाई मान्नुहुन्छ ?

राजतन्त्रकालमा नै हो । खासगरी हामीले तत्कालीन युवराज पारसका अनेकन कर्तुतहरु हिम्मतसाथ लेख्यौं । त्यसले हाम्रो लोकप्रियता बढायो । पारसले गाडीले किचेर मान्छे मारेको देखि लिएर रामकृष्ण ढकाललाई पिटेको समाचार लेख्ने अरु कुनै अखबार नभएर जनआस्था नै हो ।

रामकृष्ण ढकाललाई पारसले पिटेको समाचारको त ढकाल स्वयम्ले खण्डन गरे । पीडित भनिएको पक्षले नै खण्डन गरेको समाचार कसरी पत्याउने ?

खण्डन गर्नु उहाँको वाध्यता हो । त्यो समाचारले आफ्नो बेइज्जती गरेको महसुस भएर खण्डन गर्नुभएको होला । समाचारको सत्यतामा कुनै शंका छैन ।

हातपातै हुनेगरी के लफडा भएको थियो र उनीहरुबीच ?

तपाईं पहिले यो भन्नुस, शेरबहादुर देउवाले मिनेन्द्र रिजाललाई पेस्तोल किन ताकेका थिए ?

किन ताके ?

पुरानो जनआस्था पल्टाउनुस् ।

तपाईंले जनआस्थामा धेरै समाचारहरु ब्रेक गर्नुभएको छ । तीमध्ये अधिकांश त सत्य नै सावित भए । तर, कहिलेकाहीँ तपाईंका समाचार पनि त गलत सावित भएका होलान् नि ?

पक्कै पनि छन् । जति नै सतर्कता अपनाए पनि स्रोतले गडबडी गर्न सक्छ । जस्तो कि मैले प्रज्ववल शम्शेर राणा राजदूत हुँदा फ्रान्सले एग्रिमो दिएन भनेर लेखेँ । तर, भोलिपल्टै एग्रिमो आयो । स्रोतले गलत सूचना दिँदा म पूर्वाग्रही जस्तो देखिएँ ।

आरजु राणा दोस्रोपटक गर्भवती भएको समाचार पनि त लेख्नुभएको थियो, जुन झूटो सावित भयो ।

हो, त्यसमा हामी अलिकति चिप्लियौं । भएको के थियो, भने देउवानिवासको स्रोतले हामीलाई केही दिनदेखि निवासको भान्सामा ज्वानु, घ्यू, मासुको बास्ना उधुमै बास्ना आउने गरेको, क्वाँ क्वाँ गर्दै कुखुरा भित्र लैजान थालिएको भनेर सूचना दियो । अब ती चिजहरु देउवाले त रुचाउँदैनन् । पक्कै आरजु म्याडमको लागि हुनुपपर्छ भन्ने स्रोतको आशंका थियो ।

एउटा छोरो ठूलो भइसकेको अवस्थामा दोस्रो सन्तानको तयारीमा रहेछन् भन्ने अर्थ लगाइयो । यसैका आधारमा समाचार लेख्दा चिप्लियो । समाचार छापिएपछि आरजुलाई बधाईको ओइरो लाग्न थालेछ । कतिपयले चाहिँ बुढेसकालमा फेरि किन पेट बोकेको भनेर गिज्याएछन् । अनि उनले मलाई फोन गरिन् । ‘मलाई नसोधि किन समाचार लेख्नुभएको, म त फोन आएर हैरान भएँ’ भनिन् ।

भनेपछि, अड्कलकारिता पो गर्नुभएको रहेछ त ।

म भन्दैछु । खासमा देउवानिवासमा घ्यू, मासु, ज्वानु आदिको बास्ना चलेको साँचो नै थियो । तर, त्यो आरजुको लागि होइन रहेछ । आरजुकी गर्भवती बहिनी त्यहाँ केही दिन बस्न आएकी रहिछन् । श्रुतीको समाचारमा जस्तै स्कुप मार्न खोज्दा अलिकति स्लीप खायौं । पछि हामीले पत्रिकामा खण्डन छाप्यौं ।

श्रीषा कार्कीको आत्महत्या प्रकरणबाट पनि जनआस्थाले नचेतेको हो ?

जोसुकैले मेरो अन्तरवार्ता लिँदा पनि यो प्रकरण नकोट्याइकन अन्तरवार्ता नै पूरा हुँदैनजस्तो गर्छन् । तपाईंले पनि श्रीषा कार्कीको प्रसंग निकालिहाल्नु भो । यत्रो ३३ वर्ष पत्रकारिता गर्दा देशमा हलचल ल्याउने पत्रकारितालाई श्रीषा कार्की प्रकरणले मात्रै चिनाउँछ त ?

तपाईंको समाचारका कारण एउटी उदीयमान नायिकाले आत्महत्या गरिन् । यसलाई कसरी बिर्सिन सक्छन् र मानिसहरुले ?

हो, त्यतिबेला समाचार र तस्वीर हाल्दा हामी पर्याप्त संवेदनशील भएनौं होला । उनले त्यस्तो गर्लिन् भन्ने कल्पनासम्म भएको भए पनि त्यो सामग्री प्रकाशित हुँदैनथ्यो । तर, यसवापत मैले धेरै टर्चर भोगिसकेको छु । अझै कहिलेसम्म जवाफ दिइरहने ?

अर्को कुरा, उनले जनआस्थाको समाचारका कारणले मात्रै आत्महत्या गरिन् जस्तो पनि लाग्दैन । खाएको विष मलाई लाग्नुपर्छ । तर, नखाएको विष त लाग्नु भएन नि ।

साइकोलोजी पढेकालाई सोध्नुस् कुनै घटनाबाट ‘सक्ड’ भएको व्यक्तिले २४ घन्टाभित्र आत्महत्या गर्न सक्ने खतरा हुन्छ । श्रीषाको समाचार छापिएपछि उनी आफ्ना बुवा र भाइलाई लिएर मेरो यही अफिस आइन् । सौहार्दपूर्ण कुरा भएको थियो । उहाँहरुले गुनासो गरेपछि हामीले गल्ती स्वीकार्‍यौं र खण्डन निकाल्ने वचन दियौं । उहाँहरु हाँसीखुशी विदा हुनुभयो । पत्रिकामा समाचार आएको ७ दिनपछिको घटना हो त्यो ।

हामीसँग भेटेको केही केही दिनपछि श्रीषाले मलाई फोन गरेर आफ्नो ब्वाइफ्रेन्ड (तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका बडीगार्ड, जो अहिले कर्णेल छन्) ले त्यो फोटो कहाँ खिचेको भनेर टर्चर दिएको बताइन् । त्यो फोटो हामीले खिचेको नभएर प्रहरीबाट पाएका थियाै‌ँ ।

अर्को कुरा, श्रीषाको समाचार हामीले पहिलोपटक लेखेको होइन । डब्बु क्षेत्रीले एउटा फिल्मी पत्रिकामा लेखेका थिए । त्यो समाचार लेखेपछि बसुन्धरा भुसालले पुतलीसडकमा उनलाई कुटेकी थिइन् । त्यो फोटो डब्बुले पनि हालेका थिए । फोटो पूरै नग्न पनि होइन । तल्लो भाग देखिएको छैन । वक्षस्थल पनि छोपिएको छ । पुलिसले खिचेको फोटो हाम्रो हातमा पनि आयो । श्रीषासँग मेरो व्यक्तिगत चिनजान केही थिएन । हामीले परिणामको सोचविचार नगरी फोटो हाल्यौं । त्यतिबेलाको परिस्थितिमा त्यो गल्ती नै भयो । अहिले भएको भए त्यस्तो स्क्यान्डल नहुन सक्थ्यो ।

म तपाईंलाई भन्छु, त्यो समाचारमा ४५ जना व्यक्तिहरु मुछिएका छन् । लोकमानसिंह कार्की, केशव स्थापित, खुमबहादुर खड्कालगायत मात्रै नभएर एउटा दैनिक पत्रिकाका साहुजीहरुको पनि उनीसँग निकटताको हामीले खुलासा गरेका थियौं । श्रीषाको आत्महत्यापछि त्यस दैनिकले मलाई एकतर्फी रुपमा खेद्नुसम्म खेद्यो ।

एकतर्फी समाचारको पीडा कस्तो हुँदो रहेछ भन्ने त महसुस गर्नुभयो होला ?

म कि प्रतिक्रिया नै लिन्न । लिएपछि प्रकाशित गर्छु । अन्तरवार्ता लिएर प्रकाशन–प्रशारण नगर्नु झेली काम हो । त्यो पत्रिकाले मेरो २१ मिनेट अन्तरवार्ता लियो, तर एक मिनेट पनि प्रकाशन–प्रसारण गरेन ।

अब म तपाईंलाईं भन्छु, त्यो पत्रिकाका सम्पादक मेरा साथी । उहाँले एकदिनमै चार/पाँचवटा समाचार मेराविरुद्ध हाल्नुभयो । मसँग सबै फाइलिङ छ । मलाई हत्याराका रुपमा चित्रित गर्ने काम भयो । सुरुमा सार्वजनिक अपराधको मुद्दा
हालेको प्रहरीले सोही मिडियाको दबावमा पाँच दिनपछि ज्यानमुद्दामा परिणत गर्‍यो । मैले हत्या नै त गरेको थिइनँ नि, समाचार न लेखेको हो । फेरि समाचार झूटो पनि होइन ।

मुद्दा लागेपछि लामो समय फरार हुनुभयो । कहाँ लुक्नुभएको थियो ?

भूमिगत बस्नैपर्ने अवस्था आयो । नत्र जेलमै सडाउने षडयन्त्र रचिएको थियो । दुई वर्षसम्म काठमाडौंमै भूमिगत भएँ ।

त्यतिञ्जेल जनआस्था कसरी निस्कियो ?

भूमिगतरुपमै पनि मैले काम भने गरिरहेको थिएँ । खास–खास स्रोतहरुसँग सम्पर्कमा थिएँ । साथीहरुले लेखेका न्यूजहरु इमेलमा पठाउँथे । त्यसलाई सम्पादन गरेर इमेलमै फिर्ता गर्थेँ । एक हप्ता पनि पत्रिका रोकिएन ।

त्योबेलाको सिक्वेन्स हेर्नुस । कृष्ण सेन हत्याकाण्डको खुलासा भर्खरै जनआस्थाले गरेको थियो । संकटकालका बेला उनलाई यातना दिएर मारिएको कुरा बाहिर ल्याएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा तनाबमा थिए । असोज १८ गते देउवालाई राजाले बर्खास्त गरे । असोज २३ गते जनआस्थामा श्रीषाको समाचार प्रकाशित भयो । २९ गते श्रीषाले आत्महत्या गरिन् । संविधानतः पत्रिकाको दर्ता खारेज गर्न पाइने अवस्था थिएन । त्यसैले जनआस्थासँग चिढिएकाहरुका लागि मलाई सिध्याउने त्यो राम्रो बाहना बन्यो ।

मसँग चिढिएका अरु पनि धेरै थिए । त्यतिबेलाका आईजीपीका छोरा समलिंगी भएको खुलासा भएपछि श्रीमतीले डिभोर्स दिइन् भनेर जनआस्थाले समाचार लेखेको थियो । त्यो समाचारले आईजीपी क्रोधित बनेका थिए ।

यता तत्कालीन प्रधानसेनापति प्रज्वलशम्शेर त मलाई दुश्मन नै मान्थे । कृष्ण सेनको समाचारका कारण तत्कालीन भ्याली डीआईजी अमरसिंह शाहले जनआस्था कार्यालयमा आएर धम्की दिएका थिए । अनि कृष्ण सेनलाई तत्कालीन डीएसपी विक्रम थापाले कुटेर मारेको लेखिएकाले उनी त झन् आगो हुने नै भए । विक्रमले किशोरलाई पक्रेर जेल हाल्नु भनेर आदेश दिएको कपी मसित छ । यसरी श्रीषा आत्महत्या प्रकरणपछि यी सारा मविरुद्ध गोलबन्द भए ।
त्यतिबेला नजिकका साथीहरु पनि मसित टाढिए । एक रात बाससमेत कसैले नदिने । मैले साढे ७ वर्षसँगै काम गरेका साथीले समेत ‘यस्ता हत्यारालाई त कोर्रा हानेर मार्नुपर्छ’ भनेर लेखे । मलाई बदनाम बनाउन सारा लागे ।

तपाई दरबार र सेनाको मात्रै नभएर राजनीतिक दलका पनि भित्री कुराहरु लेख्नुहुन्छ । सबैतिर सोर्स बनाउने तपाईंको कला के हो ?

सबैभन्दा ठूलो कुरा स्रोतलाई भगवान मान्नुस् । आफू मरेर पनि स्रोतलाई जोगाउनुस् । त्यसो भयो भने स्रोतले तपाईंलाई ज्यान दिन्छ । म स्रोत बनाउने भनेर दौडधुप गरेर हिँड्दिनँ । कतिपय सन्दर्भमा चाहिँ तपाईंले पनि आवश्यक परेका बेला स्रोतलाई फेभर गर्नुपर्छ ।

तर, सूचना लिने लोभमा स्रोतले भ्रष्टाचार गरेको सप्रमाण सूचना आयो भने नलेख्ने ?

निरन्तर स्रोत जोगाउनका लागि एउटा न्यूजले स्रोतलाई चिढ्याउनुभन्दा त्यो रोकेर लामो समय उसबाट सूचना लिइरहनु फाइदाजनक हुन्छ । सैद्धान्तिक हिसाबले बेठीक होला, तर हामीले व्यवहारिक पाटोमा पनि हेर्नुपर्‍यो नि । स्रोत भनेको कुखुरा हो, समाचार भनेको फुल हो । एउटा फुलको लोभले गर्दा कुखरा मार्नुभएन ।

पत्रकारको व्यक्तिगत सम्वन्ध धेरैतिर हुँदा समाचार लेख्न कठिन हुने अनुभव तपाईंलाई हुँदैन ?

त्यस्तो हुन्छ । मैले कसैको विरुद्ध समाचार लेख्न लागेको उसले सुइँको पायो भने उसले मसित नजिक रहेका मानिसहरु प्रयोग गर्न खोज्छ । यति सानो ठाउँमा व्यक्तिगत सम्वन्धकै आधारमा न्यूज किल गर्दै जाने हो भने त पत्रकारिता छाडेर बाख्रापालन गर्दा भइहाल्यो नि ।

प्रेस काउन्सिलको अध्यक्ष भएपछि सरकारविरुद्ध समाचार लेख्न कत्तिको अप्ठेरो पर्छ ?

धेरै अप्ठेरो छ । प्रेस काउन्सिलमा गएपछि त मेरा हातखुट्टा बाँधिएजस्तै भएको छ । स्वतन्त्रतापूर्वक मन खोलेर लेख्नै पाएको छैन । कहिलेकाहिँ त प्रेस काउन्सिलको पद नै आफूलाई घाँडो भएको महसुस हुन्छ । खुलेरै लेख्नै सक्दिनँ । एक हिसाबले हात बाँधिएका छन् ।

म गोकुलजीलाई भन्ने गर्छु, तपाईंका ‘बा’ (प्रधानमन्त्री ओली) का कारण मैले धेरै कुरा लेख्न पाएको छैन । तर, पनि बाले मलाई बाँचुञ्जेल राम्रो नजरले हेर्नुहोलाजस्तो लाग्दैन । तर, पत्रिकामा नलेखे पनि पछि किताब लेखिएछ भने ती कुराहरु लेख्न मलाई कसैले रोक्ने सक्दैन ।

भनेपछि अहिले जनआस्थामा प्रधानमन्त्रीका नकारात्मक समाचार ठप्प छन् ?

त्यस्तो पनि होइन । अस्तिको हप्ता पनि इन्डिया र केपी ओलीबीच चिसो बढ्दाका ४ वटा उदाहरण दिएर एउटा समाचार छापेँ । केही दिनअघि प्रधानमन्त्रीले भारतीय राजदूत मञ्जिब सिंह पुरीलाई बालुवाटार बोलाउनुभएको रहेछ । आधा घन्टा बैठक कक्षमा कुराएपछि उनलाई आफ्नो बेडरुम छेउमा लैजानुभयो । अनि उनीकी श्रीमती नम्रितालाई पनि बोलाउन आग्रह गर्नुभयो । राजदूतले अबेर भयो भन्दा पनि कर गरेर बोलाउन लगाउनुभयो । त्यहाँ चपाती खाँदै उहाँहरुबीच के कुरा भयो भनेर लेखेको छु ।अघिल्लो हप्तामात्रै ओली र प्रचण्डबीच आलोपालोको कुरा चर्किनुको भित्री कथा खोतलेर लेखेँ । लेख्दै नलेखेर त कसरी पत्रिका चल्छ र ?

अर्को प्रसंगमा जाउँ । रवि लामिछानेसित तपाईंको दुश्मनी सकियो ?

कुनै व्यक्तिगत दुश्मनी थिएन । काउन्सिलले उनीमाथि कारवाहीको तयारी गरेपछि उनले राष्ट्रिय टेलिभिजनको दुरुपयोग गरेर मेरो उछितो काढेका मात्र हुन् ।

उनीसित टकराव त तपाईंले नै सुरु गर्नुभएको होइन र ?

तपाईं एउटा कुरा मलाई भन्नुस । तपाईं मेरो ठाउँमा भएको भए के गर्नुहुन्थ्यो ? मैले रवि लामिछानेको काल्पनिक कथा रचना त गरेको होइन ? बोर्णबहादुर कार्कीको पालादेखि उजुरी थियो । मेरा पालामा छानविन टोलीले निस्कर्ष निकाल्यो कि उनले अवैधरुपमा काम गरिरहेका छन् । चार वर्षदेखि नेपाली जनतालाई ढाँटिरहेका छन् । लाखौं रुपैयाँ चेक बुझ्छन्, तर एक सुको ट्याक्स तिर्दैनन् । श्रम कानून, मिडिया कानुन, अध्यागमन कानून र सञ्चार मन्त्रालयको रुल्स एन्ड रेगुलेसन सबैलाई धोती लगाइदिएका छन् ।

प्रेस काउन्सिलले पूर्जी काटेर बयानका लागि बोलायो । त्यसको उनले लगातार अवज्ञा गरे । लास्टमा एउटा पत्र पठाएर ‘म प्रेस पास लिन्न बरु जुत्ता पालिस गरेर बस्न तयार छु’ भने । ‘प्रेस काउन्सिलजस्तो हत्यारा, डाका, अपराधी, ज्यानमाराको थलोमा आएर बयान दिन्न’ सम्म भने । उनको पत्र त सबैका सामु छ नि ।

उजुरी आएपछि हामीले उनी कानूनबमोजिम चलिरहेका छन् कि छैनन् भनेर त बुझ्नुपर्‍यो । हामीले अध्यागमन, श्रम, गृह सूचना विभाग सबैतिर बुझ्यौं । उनले अवैधरुपमा काम गरिरहेको ठहर्‍याउने जवाफ सबै निकायबाट आयो । त्यसपछि उनले आफूलाई ३ वर्ष जेल हाल्ने षडयन्त्र भयो भनेर चिच्याउन थाले । पछि प्रेस काउन्सिलले कारवाही गर्न आँटेको थाहा पाएर ४८ घन्टाभित्र अमेरिकी नागरिता र पासपोर्ट सरेन्डर गरे ।

अहिले रवि लामिछाने पूर्णरुपमा वैधानिक छन् ?

उनले अहिले अमेरिकाको नागरिकता त्यागेर नेपालको नागरिकता लिइसकेका छन् । त्यो च्याप्टर क्लोज भयो । अब, उनले पत्रकारिता गर्दा कत्तिको आचारसंहिता पालना गरेका छन् भन्ने प्रश्न त ज्यूँका त्यूँ नै छ । तर, ममात्रै कति छुचो हुने भनेर चुप बसेको छु । उनलाई त आखिर प्रधानमन्त्रीले नै धाप दिएका छन् ।

कसरी ?

खै त त्यत्रो काण्ड हुँदा सरकारले प्रेस काउन्सिललाई सपोर्ट गरेको ? जब काउन्सिलले रविमाथि कारवाहीको तयारी गरेको थियो, उनी बालुवाटार पुगे । प्रधानमन्त्रीले रविलाई धाप मार्दै ‘डन्ट वरी ब्वाई, गो अ हेड’ भनेर धाप मार्नुभयो । यसरी प्रधानमन्त्रीकै फेभर भएपछि त उनलाई कसले छुने ?

यतिसम्म कि रवि लामिछानेकै उक्साहटमा मेरो रातो पासपोर्ट जफत गर्नेसम्मको प्रस्ताव मन्त्रिपरिषदमा गएको थियो । तर, पास भएन ।

अहिले त प्रधानमन्त्री स्वयम् रवि लामिछानेबाट आजित हुनुहुन्छ । पछि मलाई उनीमाथि मुद्दा चलाउन पनि प्रेसर आयो । तर, मैले भनिदिएँ, ‘जतिबेला मुद्दा चलाउन सक्थेँ, त्यतिबेला प्रधानमन्त्रीले धाप मार्नुभयो, अहिले आफूहरुलाई नै खेद्न थालेपछि मलाई प्रयोग गर्न खोज्ने ? म केही गर्न सक्दिनँ ।’

तस्वीर: शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment