Comments Add Comment
No ads found for this position

फोटोकथा : जीवित देवीको दिनचर्या

ललितपुर । संस्कृति, इतिहास र आस्था एकसाथ जोडिने जिवित देवी कुमारी । एकतर्फ रहस्यमयी परम्परा, अर्कोतर्फ धार्मिक सहिष्णुतासँगै जोडिएका किम्बदन्तीहरु । कुमारी प्रथा कसरी सुरु भयो भन्ने अलौकिक कथनहरु जे जे भए पनि वर्तमान आस्थाको केन्द्रमा धार्मिक सामाजिक विश्वास गज्जवको देखिन्छ ।

देवता स्वरुपमा पूज्य भएकी एक बालिकाको आँखामा देखिने तेज, शरीरमा देखिने उर्जा, क्रियामा देखिने आस्था र व्यवहारमा झल्कने धैर्यता अनौठो नै छ । दैवी शक्तिमाथिको विश्वास यिनै क्रिया प्रतिक्रियाको चरहरुले भिन्न पारिरहेका हुन्छन् ।

ललितपुर पाटनको रत्नाकर महाविहारसँगै रहेको कुमारी घरमा पुग्दा मनमा अनेकौं प्रश्नहरु एकसाथ आइदिन्छन्, जहाँ निहीरा बज्राचार्य जीवित देवी कुमारीका रुपमा छिन् ।
०७४ सालको माघमा निहीरा कुमारीका लागि छनोट भएपछि तान्त्रिक विधिपूर्वक गोप्य पूजा साधना गरियो । पूजापछि बाजागाजासहित कुमारी घरको सिंहासनमा राखियो । ५ वर्षकी निहीरा सामान्य बालिकाबाट देवी स्वरुपमा पुजिन् थालिन् । कुमारी परम्पराको नियम भित्र बाँधिइन् ।

हरेक दिन दशनार्थीहरु उनको अगाडि आएपछि घुँडा टेकेर सम्मानमा झुक्छन् । उनी निधारमा टीका लगाइदिन्छिन् । हात टाउकोमाथि राखेर आर्शिवाद दिन्छिन् । यस्ता दृश्य हरेक दिन देखिन्छन् । यदि परम्परागत चलन भन्दा बाहिर रहेर कुमारीलाई दर्शन गर्ने हो भने उनमा बालस्वभावमा देखिने गुणहरु पनि भेटिन्छन् ।

आस्थाका आँखाले हेर्दा देखिने कुराहरु अनास्थामा नदेखिन सक्छन् । यसैले कुमारी प्रथाविरुद्ध बेलाबखत आवाजहरु सुनिन्छन् । संस्कार र संस्कृतिको निरन्तरता समयक्रमअनुसार फेरिनु स्वभाविक भए पनि आस्थालाई धुलिमेट पार्न आस्थावानहरु स्वीकार्य ठान्दैनन् ।

कहिले सुरु भयो भन्ने एकीन नभए पनि राजा जयप्रकाश मल्लको समयमा विकास भएको भनिने कुमारी प्रथाको विरुद्धमा २०६६ सालमा बालबालिका र महिलासम्बन्धी अधिकार हनन भएको भन्दै सर्वोच्च अदालतमा रिट पर्‍यो । उनीहरुको राय परम्पराको निरन्तरताको नाममा बालिकालाई दुःख दिइयो भन्नेमा थियो ।

जसमा कुमारी परम्परामा केही सुधार गर्नुपर्ने भए पनि परम्परा नै अन्त्य गर्न नहुने भन्दै अर्को रिट पर्‍यो । सर्वोच्चले पनि कुमारी संस्कृतिको अन्त्य गर्ने नभई समयअनुसार सुधार गर्दै लैजान उचित देखिएको भन्दै संस्कृति मन्त्रालयको नाममा आदेश जारी गर्‍यो ।

यसले सयौं वर्षअघि सुरु भएको परम्परामा वर्तमानसम्म आइपुग्दा अनेक प्रश्नहरुबाट अघि बढीरहेको छ । कला संस्कृति र परम्पराको विश्वमाझ नौलो परिचय दिइरहेको छ । राष्ट्र रक्षाको प्रतीकका रुपमा पुजिएको छ ।

यसैले त दिव्यरत्न बज्राचार्यको परिवारले पाँच वर्ष पुगेकी नातिनीलाई सँस्कृतिको धरोहर निरन्तर राख्न कुमारी बनाउन लागिपरेको थियो ।

सेताेपाटीमा शिक्षकले लेखिदिएकाे कविता कापीमा सार्न ध्यान दिँदै।

हुन पनि कुल घरान मिल्नुपर्नेदेखि कुमारी बन्न लागेकी बच्चीको लामो जाँचपास सकिएर निहीरा नै छनोट भइन् । सामान्य उनी विशेष बनिन् । अहिले पनि अरु समय सामान्य देखिने उनी जब कुमारीको आभूषणमा हुन्छिन् तब गहिरो जिम्मेवारी वहन गरिरहे जस्तो शान्त हुन्छिन् ।

कुमारी छानिएर विधिपूर्वक सिंहासनमा राखेपछि निहीरा कुमारी घरभित्रै छिन् । परिवारले नै उनको रेखदेख गर्नुपर्ने नियम छ । यसैले उनकी आमा मोहिनी सबै काम छाडेर कुमारीकै आवश्यकता पुर्‍याउन हरदिन लागिपरेकी छिन् । बुबा निरजरत्न बज्राचार्यसँगै हजुरबुबा दिव्यरत्न, हजुरआमा नानीमाया पनि कुमारीकै वरपर हुन्छिन् ।

नेपाली शिक्षकसँग कुमारी । शब्दकाे अर्थ बुझेर लेख्ने प्रयासमा ।

पढ्ने व्यवस्था कुमारी घरमा नै छ । हरेक विषयका लागि शिक्षक आउँछन् । सानो सेतोपाटीमा लेखिएका अक्षरहरु निहीरा मुढामा बसेर नियाल्छिन् ।

नबुझेका कुरा सानो स्वरमा शिक्षकलाई सोध्छिन् । गुहकार्य देखाउँछिन् । पढ्न उनलाई कहिलेकाहीँ जाँगर लाग्दैन । उनको हात चलेको हेरेर शिक्षकहरु अल्छि गरेको बुझ्छन् । सिकाउन खोजेको कुरा विस्तारो बुझाउँछन् ।

शब्दहरु बीचकाे स्पेस बराबर बनाउन भनेपछि औँला राखेर अक्षर मिलाउने प्रयास ।

निहीरा पढीरहँदा उनको आँखा विस्तारै टोलाउँछन् । जसले उनको आजको पढ्ने कोटा पूरा भएको भान हुन्छ । गृहकार्य दिएर शिक्षक गएपछि उनी गुडियासँग खेल्छिन् । ३ वर्षकी बहिनी निकितासँग खेल्छिन् । यस्तैमा उनको व्यक्तिगत समय पनि सकिन्छ ।

कुमारी घरको दोस्रो तलामा रहेको तीनवटा कोठामा यताउति गर्छिन् । मोबाइलमा युट्युब हेर्छिन् ।
सञ्चार माध्यममा आएका आफ्ना तस्बिरहरु नियाल्दै ।
परिवारसँगकाे तस्बिर हेर्दै । खाली समयमा वरपर भएका सामानमा भुल्ने बानीले उनी सबै चिज ध्यानपूर्वक नियालिरहेकी हुन्छिन् ।
कुमारी घरकाे दाेस्राे तलामा रहेकाे पहिलाे काेठामा आगन्तुक नभएका समय आराममा ।

दर्शनका लागि आएका मान्छेले ढोकामा राखेको घण्टीमा निरन्तर आवाज दिएपछि उनी दर्शन कोठामा पुग्छिन् । मानिसहरु कुमारीको दर्शनमा पर्खिरहेका हुन्छन् । स्वदेशी आस्थावानसँगै विदेशी पर्यटकहरु पनि कुमारी दर्शनका लागि लामबद्ध हुन्छन् । साँघुरो काठको भर्‍याङबाट पहिलो तलाको भित्री कोठामा पुग्छन् ।

सिंहासनमा आगन्तुकको प्रतीक्षा ।

सानी पर्यटकलाई ध्यानपूर्वक टीका लगाइँदिँदै ।

काखमा राखिएकाे माेबाइलमा युट्युब चलिरहँदा आगन्तुकलाई टीका लगाइदिँदै ।

जहाँ कुमारी आशनमा बसिरहेकी हुन्छिन् । अगाडि थालीमा रहेको रातो टीका लगाइदिन्छिन् । टाउकोमा हात राखेर आर्शिवाद दिन्छिन् । आगन्तुक आउने क्रम रोकिएपछि उनको अनुहार फुरुङ्ग हुन्छ ।

लगातार तस्बिर खिचिरहँदा दिक्क भएपछि ।

आँखामा गाढा बनाएर लगाइएको गाँजल । त्यसैलाई तन्काएर कानको माथिल्लो भागसम्मै पु¥याइएको । निधारमा फराकिलो पारेर लगाइएको रातो टीका । त्यसको घेरोमा सफेरै पारिएको पहेँलो टीका । कपाल सलक्क पछाडि पोको पारी बाँधिएको रातो रिबन । ओठमा रातो बनाएर लगाएको लिपस्टिक । यी सबै हरेक दिन निहीराको श्रृङ्गार हो । निधारमा श्रृङ्गार्न काका सुरजले सघाउँछन् ।

उनी आफै ऐनामा के मिल्यो के मिलेन भनेर विचार गर्छिन् । केही नमिलेको लागेको उनको अनुहारको भङ्गिमा गमक्क पर्छ । खुम्चिएको उनको अनुहार देखेपछि बुझिन्छ, पक्कै केही मिलेनछ । गाँजलदेखि लिपस्टिकसम्म आफैं पनि लगाउँछिन् ।

जन्तर, नाग माला, बेरुवा औँठी, रातो र सक्कली तासको चौबन्दी चोलो र रातैमा जामा जस्ता आभूषणमा हुन्छिन् ।

 

रातो मच्छिन्द्रनाथको जात्रा आइतबार जावलाखेलमा भोटो देखाएपछि सकियो । वैशाख २५ गते सुरु भएको जात्रा आइतबार ३३ दिनपछि सकिएको हो । यसबीच विभिन्न आठ पटक रातो मच्छिन्द्रनाथको रथ तान्ने बेला कुमारीको उपस्थिति अनिवार्य छ । यही बेला नै कुमारी घरको ढोकाबाट निहीरा बाहिर निस्किएकी हुन्छिन् । फरक माहोलमा यतायति चलेका उनका आँखा झन आकर्षक देखिन्छन् ।

कुमारी घरबाट बाहिर निस्कने क्रममा ।
लामाे समयपछि बाहिर निस्किँदा फरक महसुस गर्दै ।
बाहिर निस्किएका बेला आफ्नै उमेरकासँग रमाउँदै ।
दर्शनका लागि आएका आगन्तुकले ढाेगिदिँदै।

रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत नरिवल खसाल्ने दिन कुमारीलाई लगनखेल लगिन्छ । सम्पूर्ण आभूषणमा सजिएकी कुमारीलाई रातो छत्र ओढाएर बोएरै रथ तानिने ठाउँसम्म पुर्‍याइन्छ । बाटोमा देखिएका दृश्यहरु उनी चाखपूर्वक नियालिरहेकी हुन्छिन् ।

मच्छिन्द्रनाथको रथ तान्ने काम सुरु गराउन लगनखेल जाने बेलामा ।

 

कुमारी घरबाट केही पर निस्किएपछि बाटोमा देखिएका दृश्यहरु हेर्दा भिन्न अनुभूति । निर्माण कार्यहरु देखेर केही जिज्ञासु ।
दर्शनका लागि आएका आगन्तुक आलोपालो दर्शन गर्दै ।

रातो मच्छिन्द्रनाथ रथजात्रा चल्ने समयसम्म कुमारीको व्यस्तता अझ बढ्छ । त्यसले उनको अनुहारमा थकानका महसुस भएको देखिन्छ । हरेक पटक बाहिर निकालिँदा मानिसहरु कुमारी दर्शनमा लगातार आइरहेका हुन्छन् ।

आउने हरेकलाई टीका लगाइदिनु र आशिर्वाद दिनु कुमारीको निरन्तरको कार्य देखिन्छ । आशनमा बसेर टीका लगाइदिइ रहँदा नौला कुरा देख्दा उनको आँखा वरपर डुल्छन् । घरिघरि चाख मानेर, घरिघरि थाकेर एकोहोरो बन्छन् ।

बाटाे काट्ने क्रममा ।

रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम भोटो जात्राको दिन कुमारी जावलाखेलमा हुन्छिन् । जात्रामा बिघ्न नआओस भनेर मानिसहरु कुमारीलाई पुकारिरहेका हुन्छन् । रक्षकको रुपमा रहेकी कुमारीको दर्शनमा राष्ट्रप्रमुख उपस्थित हुन्छन् ।

भाेटाे जात्राकाे दिन जावलाखेलमा ।
जावलाखेलमा नेवारी नृत्य हेर्दै ।

भाेटाे जात्राकाे दिन राष्ट्रपतिले कुमारीको दर्शन गर्दै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment