Comments Add Comment
No ads found for this position

मौसमको जोखाना हेर्ने समीरमणि

२९ जेठ, काठमाडौं । एउटा मान्छेले कति जीवन बाँच्न सक्छ ? उमेरको गणना गर्ने हो भने यसको हिसाब–किताब फरक निस्किएला । तर, भूमिकाको हिसाबले ?

कुरा समीरमणि दीक्षितको हो । उनको यो एक्लो र सग्लो ज्यान एकसरो छैन, आयामिक छ । उनी टेलिभिजन प्रस्तोता हुन् । उनी नाट्याकर्मी हुन् । उनी साइक्लिस्ट हुन् ।

कहिले अफरोड साइक्लिङमा रमाइरहेका उनी कहिले रंगमञ्चमा लीन भइरहेका हुन्छन् । कहिले टेलिभिजनमा कार्यक्रम चलाइरहेका उनी कहिले चलचित्रमा अभिनय गरिरहेका भेटिन्छन् । एकमा अनेक । समीरमणीलाई चिन्ने अनेक पाटा छन् ।

त्योभन्दा बढीचाहिँ ‘वेदर म्यान’ ।

०००

समीरणमणिका पिताजी सुन्दरमणि दीक्षित । राज घरनाका पनि डाक्टर । आफ्नो जमानाका नामी । त्यसबेला धेरैले सोच्थे, सुन्दरमणि जस्तै डाक्टर बन्न पाएको भए !

तर, छोरो समीरमणिलाई त्यस्तो लागेन । मेलोमेसो मिलेन भनौं । उनी डाक्टर होइन, मौसमविज्ञ बने ।

अनौठो त के भने, पिता सुन्दरमणि स्वयम् चाहँदैनथे कि छोरा डाक्टर होस् । पिताजीको इच्छा र आफ्नो रहर नभएर पनि सुन्दरमणि चिकित्सा शास्त्रमा भर्ना भने भएका थिए । तर उनी डाक्टर भएनन् । आखिर उनी के बन्न चाहन्थे ? के भए ? बाटोहरु कसरी मोडियो ? कसरी उनी ‘वेदर म्यान’ बने ?

उनले फरक विषय पढे । पिएचडी नै गरे । त्यो पनि अष्ट्रेलियाबाट । नेपाल फर्केर प्राध्यपन गरे । टेलिभिजन प्रस्तोता भए । तर, यावत् पेशा र कर्महरु भन्दा पर पुगेर उनी ‘वेदर म्यान’ बने । उनी मौसमबारे पूर्वानुमान गरिहेका हुन्छन् । त्यसमा अपडेट गर्छन् ट्विटरमार्फत । उनको अनुमान मिलिरहेको पनि हुन्छ ।

त्यतिमात्र कहाँ हो र ? मौसमबारे उनीसँग धेरैले जिज्ञासा पनि राखिरहेका हुन्छन्,

‘म नाम्चेतिर हाइकिङ जाँदैछु । त्यताको मौसम बताइदिनु पर्‍यो’ कसैले उनलाई सोध्छन् ।

समीरणमणि मौसमको जोखाना हेरिदिन्छन् ।

‘घर ढलान गर्दैछु आज पानी पर्छ कि पर्दैन’ अर्कोतिरबाट जिज्ञासा राखिन्छ । उनी यसको पनि जवाफ फर्काउँछन् ।

मानौं, उनी मौसमको जानकारी दिने जिम्मा नै पाएका छन् । उनी पनि झर्को नमानी जवाफ फर्काउँछन् । त्यसैले त उनको न्वरान गरिएको छ, वेदर म्यान ।

खाँटी कुरा भनिहालौं, उनी मौसमविद् होइनन् । उनले निरन्तर गर्ने ट्वीटले धेरै झुक्किएका हुन् ।

मौसमविद् नभए कसरी मौसम पूर्वानुमान ?

यो प्रश्नले उनलाई लामो समयदेखि पछ्याइरहेको छ । उनी ‘वेदर म्यान’ हुनुको कथा पनि रोचक छ ।

दिक्षितले मौसमसम्बन्धी पढेका हैनन्, कुनै तालिम पनि लिएका छैनन् । बरु बच्चै छदाँ पढेको एउटा किताबले उनलाई कालन्तारमा ‘वेदरम्यान’को नयाँ नाम पाएका हुन्।

किताबमा एउटा उदारण थियो, एउटा जारमा बेलुन बाध्ने र थमोमिटर राख्ने । हावाको गति बढ्दा थर्मोमिटर तल जान्छ र कम हुदाँ माथि आउँछ । पानी पर्ने बेला वायुको चाप कम हुने हुनाले त्यो जारसँग जोडिएको थमोर्मिटर तल जान्छ ।

उनले सानै छदाँ ठुलो कुरा बुझे । पढेको कुरा व्यवहारमा ल्याउने पछि परेनन्। अष्ट्रेलियाँ हुदा पनि हावाको गति, तापक्रम र बादलबारे स्वअध्यन गर्न थाले। स्याटलाइटहरुमा हावाको चाप र गती हेर्न थाले। स्याटलाइट हेर्दै विश्लेषण गर्न थाले ।

नेपाल आएपछि त्यही ज्ञान ट्वीटरमार्फत बाँड्न थाले । उनको मौसम पूर्वमानुमान मिल्न थालेपछि ट्विटेहरुले नै उनलाई ‘वेदर म्यान’ घोषणा गरिदिए ।

उनी आफ्नै अफिसमा आफ्ना जीवनका रमाइला किस्साहरु सुनाइरहेका थिए । गफिइरहदाँ बाहिर पानी दर्कियो । पानीको आवाजले उनको अनुहारमा मुस्कान छायो । हाँस्दै भने, ‘भोलि पानी पर्छ भनेर हिजो ट्विट गरेको थिए, लु पानी परि त गयो…।’

ट्राई मार्न रसरंगतिर

चलचित्र र नाटकमा ‘इन्ट्री’ गरेको उनको वास्तविकता कुनै चलचित्रकै कथा भन्दा कम ‘रोमाञ्चक’ छैन ।

समिरमणि प्रयोगशालाको काम सकेर फुर्सदमा नाटक घर चहार्थे । सिनेमा हेर्न जान्थे । त्यहाँ कलाकारितामा लागेका साथीभाईसँग भेट हुन्थ्यो । प्राडा राणासँग दोस्ती थियो ।

उनीसँग मिलेर नाटक पनि गरेका थिए । एकदिन समिरमणीको भाइ इलम दिक्षितले उनलाई फिल्म बनाउने प्रस्ताव राख्दै भने, ‘दिपक रौनियार भन्ने एउटा फिल्म मेकर छ । उस्ले कमर्सियल फिल्म होइन, आर्ट फिल्म बनाउँछ । ट्राई हान्ने हो ?’

त्यतिबेला ल्याबले राम्रो कमाई गर्न थालिसकेको थियो । उनलाई केही नयाँ गर्ने चाह पनि । इलमको कुरामा सही थाप्दै भने, ‘ल ल हान्दियो, हान्दियो ।’

त्यसको परिणाम स्वरुप ‘हाइवे’ फिल्म बन्यो । व्यावसायिक रुपमा त्यो चलचित्र सफल भएन । तर इन्टरनेशनल फिल्म फेस्टिवलमा प्रशंसा पायो । त्यस फिल्मका उनी निर्माता थिए । पछि दिपक रौनियारले ‘ह्वाइट सन’ बनाए ।

‘मिडल लाइफ क्राइसिस’को कथामा उनले ‘न यता न उता’ फिल्ममा अभिनय गरेका छन् ।

ट्रेलर र गीतबाट राम्रै प्रतिक्रिया आइरहेको छ । कलाकारको रुपमा उनलाई चिन्नेहरु बढेका छन्।

‘जनस्वास्थ्य वैज्ञानिकको रुपमा १५ वर्ष काम गर्दा मानिसहरुले मलाई चिनेनन् तर, ८ महिना टीभी होस्ट बन्दा सबैले वाह् वाह् गरे’ समिरमणि हाँस्दै भन्छन् ‘मलाई सुरुमा टीभी होस्ट मात्रै भनेर चिन्दा रिस उठ्थ्यो । अहिले वास्ता गर्दिन ।’

कर्म जनस्वास्थ्यतिर

उनी आफूलाई जनस्वास्थ्य वैज्ञानिकको रुपमा मानिसहरुले चिनुन् भन्ने चाहन्छन् । तर, वैज्ञानिकको परिचय अन्य कुराले ओझेलमा पारेजस्तो पनि लाग्छ। अनुसन्धान नै नगरी अरु काममा मात्र व्यस्त भएर वैज्ञानिकको परिचय ओझेलमा परेको भने होइन । अध्यन अनुसन्धानको कामलाई जति समय अरु कामलाई दिएका छैनन्।

यी दुई वटा घटना वैज्ञानिक जीवनका ‘टर्निङ पोइन्ट’ मान्छन् उनी । दुई घटना एक अर्कामा ‘रिलेटेड’ पनि छन् ।

सन् २००९ मा जाजरकोटमा महामारी फैलदाँ उनी सरकारी टोलीसँग त्यहाँ पुगेका थिए । त्यहाँ चार दर्जन भन्दा बढी मानिसको मृत्यु भइसकेको थियो । १० दिन बसेर ‘स्याम्पल कलेक्सन’ गरे । त्यो स्याम्पल काठमाण्डौं ल्याएर ल्याबमा टेस्ट गरे । नतिजाले जाजरकोटमा हैजा फैलिएको प्रमाणित भयो । योसँगै उनले आफूले चिनाउन चाहेको ‘जनस्वास्थ्य वैज्ञानिक’ को पहिचान पनि पाउन थाले ।

‘हाइटीमा चार हजार जनाभन्दा बढी हैजा लागेर मर्नुको कारण नेपाली सेना’ सन् २०११ मा यो हेडलाइनले अन्तराष्ट्रिय मिडियामा सनसनी मच्चायो।

नेपाली सेनाको बदख्वाई गर्न यही हेडलाइन काफी बन्यो । हाइटी हैजा प्रकरणमा ९ हजारजति हाइटीवासी मरे । त्यहाँ हैजा फैलिनुको दोष नेपाली सेनाको थाप्लोमा पर्‍यो।

२००९ मा जाजरकोटमा फैलिएको हैजाको जीवाणु हाइटीको जीवाणुसँग मिल्नु नै नेपाली सेना मुछिनु कारण बन्यो ।

भनिएको थियो, त्यहाँ भेटिएको ‘क्लोन ब्याक्टेरिया’ सन् २००९ मा नेपालमा भेटिएको हैजाँको ब्याक्टेरियासँग मिल्न जान्छ । त्यसैले हाइटी महामारीको कारण नेपाली सेना हुनुपर्छ।’

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका महामारीसम्बन्धी विज्ञ एरिक मिन्ट्जले गृष्मकालमा नेपालीका पश्चिमी क्षेत्रमा फैलिएको हैजाको तथा हाइटीको जीवाणु एकै प्रकारको भएको बताएका थिए । अमेरिकी वैज्ञानिकको त्यही भनाइलाई आधार मान्दै अन्तराष्ट्रिय मिडियामा नेपाली सेनाको बदख्वाई भइरहेको थियो।

यो प्रकरण नेपाली सेना टाउको दुखाई बनेको थियो भने सरकार मुकदर्शक बनिरहेको । ठिक त्यही बेला दिक्षित र उनको टिमले अनुसन्धान गरेर विश्वचर्चित जर्नल नेशनल सेन्टर फर बायोटेक्नोलोजीमा (एनसिबीआई) पठाए ।

अनुसन्धानमा प्रश्न थियो, ‘नेपाल र हाइटीमा देखिएको कीटाणु एउटै भएजस्तै हाइटी र बंगलादेशमा देखिएको कीटाणु पनि एउटै छ । हाइटी र भारतमा देखिएको कीटाणु पनि एउटै छ । अनि, हाइटीमा नेपाली सेना मात्र छैनन् । बंगलादेशका र भारतीय सेना पनि छन् ।’

अर्को प्रश्न थियो, ‘नेपाली सेनाको किटाणुले हाइटीमा प्रकोप भएको भन्दै गर्दा त्यहाँ बसेका सेनाहरुको दिसाबाट टेस्ट गरियो त ? दुई वर्षे पुरानो जाजरकोटमा फैलिएको हैजासँग हाइटीमा रहेको सेनासँग जोड्नु कत्तिको तर्क सँगत छ ?

दिक्षितको टिमले गरेको प्रश्नको जवाफ कसैल दिन सकेनन् । नेपाली सेनाले राहत पायो ।

यो प्रकरणबारे शुक्रराज ट्रपिकल सेन्टरका निर्देशक डा शेरबहादुर पुनले पनि अनुसन्धान गरेका थिए । पुनको र दीक्षितको अनुसन्धानले एउटै कुरा उठाएको थियो ।

दुई घटना उनका जीवनका ‘कोशेढुंगा’ हुन् ।

जनस्वास्थ्य अनुसन्धानको ‘ट्रेण्ड सेटर’ मानिने दीक्षित अहिले सर्ने तथा नसर्ने रोगबारे अनुसन्धान गरिरहेका छन् ।

हेपाटाइटिस सि, एचआइभी, स्वाइनफ्लु, बर्डफ्लु लगायतका भाइरसहरुबारे अनुसन्धान भइरहेको छ । उनको अनुसन्धाननले नयाँनयाँ भाइरसले नयाँनयाँ रोगहरु फैलाएको पत्ता लगाइरहेको छ । बाँदर, मुसा र कुखुरा लगायतका प्रजातिबाट कुनकुन रोग फैलन सक्छ भन्ने अनुसन्धान गरिरहेका छन् । यही अनुसन्धानले नयाँ रोग फैलाउन सक्ने नयाँ भाइरस पनि पत्ता लगाइरहेको छ।

 

‘पहिला महामारी फैलिएपछि नाडी छामेर महामारी फैलियो भन्ने चलन थियो । अहिले ‘स्याम्पल कलेक्शन’ गरेर यो भाइरसले यो महामारी फैलियो भन्ने गरिन्छ’ दिक्षित भन्छन्, ‘बिस्तारै परिवर्तन हुदैँछ । अझै धेरै कुरा गर्न बाँकी छ ।’

काम गर्ने क्रममा विदेशमा नेपाली वैज्ञानिहरुले पनि ‘हामी देश फर्कन्छौं, सहकार्य गरौं’ भन्न थालेका छन् । तर नेपालकै वैज्ञानिक साथी तथा संस्थाहरुबाट सहयोग नपाएर उतिकै हैरान छन् । सहकार्य गरेर काम गर्ने वातावरण नभएको महशुष गरेका छन् । मिलेर काम गर्ने प्रस्ताव राख्दा तर्किनेहरु भेटका छन्।

उनी सोचमा खोट देख्छन्। सोच राम्रो भएको थियो भने अहिले भन्दा धेरै गुणा काम गर्न सकिने सुनाउँछन्। भन्छन्, ‘नेपालीहरुले सहकार्य गर्न तर्किए पनि विदेशीले सहकार्य गरेर काम गरिरहेका छन् । रिजल्ट राम्रो आइरहेको छ।’

उनले सक्रियतामा सेन्टर फर मोलिकुलर डाइनामिक्स नेपाल नामक अनुसन्धान केन्द्र, थापाथलीमा खुलेको छ । त्यही उनले सय जना भन्दा बढीलाई रोजगारी दिएका छन् । ‘यस्ले के गर्ला र’ भनेर कुरा काट्नेहरु प्रशंसा गर्न थालेका छन्।

डाक्टरको छोरो किन डाक्टर भएनन् ?

अब फर्कौ किशोरवयतर्फ । कथा सुरु हुन्छ कान्तेश्वरी माध्यमिक विद्यालय त्रिपुरेश्वरबाट । समिरमणी कान्तेश्वरी माध्यमिक विद्यालय पढ्दा युवराज दीपेन्द्र शाह उनका ‘क्लासमेट’ थिए । पारस शाह उनी भन्दा एक ब्याच जुनियर ।

पढाई ठिकै थियो । मान्छे बिन्दास । ‘भविष्यमा के बन्ने ? उनलाई कसैले सोधेनन् । विद्यालयमा पनि यो प्रश्न झेल्नुपरेन । ‘पछि यो बन्छु’ भनेर किन दिमागलाई बोझ दिने ?

जमना चाहि कस्तो थियो भने, छोराछोरीको भविश्यको भारी आमाबुवाले बोक्ने । बुवाआमाले जे चाहन्छन्, छोराछारी त्यस्तै हुनुपर्ने । र, धेरैजसो अभिभावक देख्न चाहन्थे, आफ्ना छोरा डाक्टर भएको । पाइलट भएको । इन्जिनियर भएको।

कान्तेश्वरी माध्यमिक विद्यालयमा कक्षा तीनसम्म पढेपछि उनी सेन्ट जेभिएर स्कुलतिर लागे । दिपेन्द्र र पारस बुढानिकण्ठ । स्कुल फेरिएसँगै साथीसंगत फेरियो । उनी त्यतै रमाउन थाले । घर र स्कुल दिनचर्या हुन थाल्यो।

बुवा सुन्दरमणी कडा मिजासका । बिरामीको सेवाबाट उम्किन फुर्सद हुन्नथ्यो । व्यस्त समयको बाबजुत परिवारलाई समय दिन्थे । पितालाई झोंक चलेको बेला गाली खानुपथ्र्यो । आमाले भने पुलपुल्याउने । भय र प्रेमको सन्तुलन थियो ।

एसएसली सकियो । सेन्ट जेभिएरको फस्र्ट ब्याचका विद्यार्थी । साइन्सका विद्यार्थी उनले कक्षा १२ मा नपुग्दै ‘छात्रवृति’ पाए । १८ बर्षको उमेरमै हान्निए अमेरिका।

अमेरिकामा के पढ्ने, डाक्टर ?

धेरैले भन्थे, डाक्टर बन्नुपर्छ । पिताजी जस्तै बन्नुपर्छ । तर, पिताजी चाहन्थे, छोरो अरु नै बनोस् । उनी भने द्विविधामा थिए । उनले रोजे पिताजीकै बाटो ।

पिताजीलाई हिम्मत गरेर भने, ‘म पनि डाक्टर नै बन्छु ।’ पिताजीले तत्काल प्रतिक्रिया दिएनन्।

पछि चिकित्सा शास्त्र अध्ययनका लागि कलेजको भर्ना फारम पठाइदिए, अमेरिकामा । फारम हात पर्‍यो । तर, समीरणमणिको मन बद्लियो । उनले फारम भरेनन् ।

अब उनी फिरन्ते जस्तै भए । कहिले अमेरिका, कहिले बेलयात, कहिले अष्ट्रेलिया । सिलसिला भने पढाईकै थियो । तर, बेलायतमा पढ्ने मेलोमेसो मिलेन । ६ बर्ष यसै बरालिए । त्यसपछि अष्ट्रेलिया पुगे । बायो टेक्नोलोजी पढ्न थाले।

 

विज्ञान पढ्न टुप्पी नबाँधी नहुने, घुँडा नधँसी नपुग्ने । कम्ता मेहनत गर्नु पर्दैनथ्यो । सम्झन्छन्, ‘त्यहाँ जस्ले पनि काम गर्थे । काम गर्नु कल्चर थियो । मैले पनि बाँकी राखिन।’

१८ बर्षको किशोरवयमा अमेरिका गएका उनी ३३ बर्षे लक्का जवान भएर नेपाल फर्किए । फर्कदा उनको उमेर मात्र बढेको थिएन, हातमा पिएचडीको प्रमाणपत्र पनि थियो । त्यसमै लपेटिएको थियो, बैज्ञानिक बन्ने सपना ।

यो सन् २००४ को कुरा ।

उनी अष्ट्रेलियामा देखेको सपनालाई नेपालमा मूर्त रुप दिन चाहन्थे । के गर्ने ? कसरी गर्ने भेउ पाएनन् । जागिर खोज्दै काठमाडौं विश्वविद्यालय पुगे । कुलपति सुरेशराज शर्मालाई भेटे, काका कमलमणिमार्फत । तर कुलपति शर्माले आँट गरेनन्, उनलाई जागिर दिलाउने । बरु उपदेश दिए, ‘तपाईंले हासिल गरेको शैक्षिक योग्यता अनुसार पारिश्रमिक दिन हाम्रो सामथ्र्य छैन । बरु, तपाईँ यस्तो काम गर्नुहोस्, जसले हामीलाई पनि रोजगारीको अवसर मिलोस् ।’

उनले विश्वविद्यालयमै पढाउने निर्णय गरे । विश्वविद्यालयकै अध्ययन अनुसन्धानमा संग्लग्न भए । तर, ‘बहस र अनुसन्धान शुन्य रहेछ’ भन्ने लागेपछि रमाउन सकेनन् । उनीसामु दुई वटा विकल्प आइलाग्यो, कि त विश्वविद्यालय छोड्ने कि त्यहाँको प्रणाली परिवर्तन गर्ने । उनले दोस्रो विकल्प रोजे ।

जसले जागिर दिएका थिए, तिनकै विरुद्ध आन्दोलन छेडे । विश्वविद्यालय केही दिन बन्द भयो । प्राध्यापक संघ खडा गरेर महासचिव भए । संगठन खोल्दा पनि विश्वविद्यालयले पेल्न भने छोडेन । यद्यपि केही परिवर्तनहरु देखिए ।

त्यो उनलाई पर्र्याप्त लागेन । हरेक दिनजसो मनमा लागिरह्यो, ‘यही चार कोठाभित्र बसेर पढाउन म अमेरिका देखि यहाँ आएको हो ? मेरो क्षमता यही हो त ?’

अन्तर्मनबाट आएको प्रश्नले आफैलाई रन्थन्यायो । प्राध्यापनमै बसिराख्दा गर्न सक्ने उपलब्धि गुम्ने डर भयो । उनले २००७ मा काठमाण्डौं विश्वविद्यालय छाडे ।

प्राध्यापन पेशामा विरक्तिएर जागिर छोडेका उनले सात जना साथी मिलेर जनस्वास्थ्य अनुसन्धान गर्ने ल्याब खोले । त्यसअघि नेपालमा जनस्वास्थ्य अनुसन्धान भएकै थिएन । विज्ञानलाई जनस्वास्थ्यसँग जोड्ने उनको सोच राम्रो थियो, । काम गर्न सके ‘स्कोप’ पनि गज्जब । तर कसले विश्वास गर्ने ?

केही गर्न खोज्दा सहयोग गर्ने भन्दा खिल्ली उडाउनेहरु बढी । तर काम सुरु गरिसकियो, हिम्मत हारेर के हुन्थ्यो र ? निरन्तर काममा जुटे, ल्याबमा खटिरहे । अध्यनन अनुसन्धानमा जुटिरहे । आज उनको पाएको सफलता त्यसकै परीणाम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment