Comments Add Comment
No ads found for this position

तपाईंभित्रको ‘म’ खोज्नुहोस् त

पक्कै तपाईं अलमलमा पर्नुभयो । सरल रुपमा यसरी बुझौं,

तपाईंले लगाउनुभएको लुगा कसको ?

जवाफ-‘मेरो ।’

तपाईंले लगाउनुभएको घडी कसको ?

जवाफ-‘मेरो ।’

तपाईंको अधिनमा भएको जग्गा, घडेरी, गाडी, गाईबस्तु कसको ?

जवाफ-‘मेरो ।’

ठिक यसैगरी केस्रा-केस्रामा केलाउँदै जाँदा तपाईंले आफ्नो शरीर र शरीरका अंगलाई पनि ‘मेरो’ भन्नुहुन्छ । शरीर, हातखुट्टा, टाउको, आँखा, मुटु, कलेजो, फोक्सो सबै ‘मेरो ।’ अर्थात जसरी घर, गाडीलाई तपाईं ‘मेरो’ भनेर सम्बोधन गर्नुहुन्छ, उसैगरी शरीर, मुटु, आँखा, खुट्टा पनि ‘मेरो’ भन्नुहुन्छ ।

अब स्पष्ट हुनुहोस् कि, तपाईंको घर जग्गा, परिवार यहँसम्म कि शरीर, आँखा, नाक, कान, फोक्सो पनि तपाईं होइन । तपाईंको हो । तपाईं अर्थात ‘म’ यहाँ विलुप्त भएको छ । आफ्नो शरीरलाई तपाईं ‘म’ भन्नुहुन्न । आफ्नो मुटुलाई तपाईं ‘म’ भन्नुहुन्न । ति सबैलाई ‘मेरो’ भन्नुहुन्छ । अब तपाईंको शरीरभित्र ‘म’ भन्ने तत्व कहाँ छ ?

कसलाई तपाईं ‘म’ भनिरहनुभएको छ ? शरीर त ‘मेरो’ हो । ‘म’ चाहि को हो ?

तपाईंले ‘म’ भनिरहेको तत्व कुनै ठोस र भौतिक छैन । त्यसलाई तपाईं देख्नुहुन्न, अनुभूत मात्र गर्नुहुन्छ । तपाईंको शरीरभित्र ‘म’ भन्ने तत्व छ । यद्यपी त्यो तत्व अदृश्य छ । न छुन सकिन्छ, भ देख्न सकिन्छ, न भेट्न सकिन्छ ।

तपाईंको शरीर खोतल्दै जाँदा वा शल्यक्रिया गर्दा छाला, मासु, हड्डी हुँदै भित्री अंगहरु फेला पारिन्छ । जस्तो फोक्सो, मुटु, कलेजो, आन्द्रा, भुँडी, मिर्गौला इत्यादि । त्यहाँ तपाईंले कहीँपनि खोजेर देख्नुहुन्न ‘म’ । तर, सधै वा हरपल तपाईं आफुलाई ‘म’ भनेर बाँचिरहनुभएको छ ।

‘म’ जसलाई हामी ‘आत्मा’ भनेर व्याख्या गर्छौ । शरीरभित्र यो कहाँ बसेको हुन्छ ? हामीलाई थाहा हुन्न । तर, सम्पूर्ण शरीर नै ‘म’बाट नियन्त्रित हुन्छ ।

‘म’को अनुभूत

तपाईं को हो ? भनेर सोध्दा जवाफ यस्तो आउँछ ।

म फलानो (नाम) , फलानोको छोरो, फलानो वंशको, फलानो ठाउँको, फलानो खानदानको । ति सबै तपाईंलाई चिनाउने नाम हुन् । तपाईंका लागि ति सबै ‘मेरो’ हुन् । मेरो नाम फलानो, मेरो पिताको नाम फलानो । मेरो घर, मेरो खानदान, मेरो वंश । सबै ‘मेरो’ । अतः यी सबै अस्थायी हुन् ।

‘म’ मात्र तपाईंभित्रको स्थायी चिज हो । शरीर र ‘म’ भिन्न हुन् । शरीर ‘म’ होइन भन्ने कुरा बोध भएपछि तपाईं शरीर-सुख एवं भोगका लागि मरिहत्ते गर्नुहुन्न ।

हामी झुट बोल्छौ । छल गर्छौं । अन्याय गर्छौ । यी सबै गर्ने हाम्रो इन्द्रियले हो । हामीभित्र जुन ‘म’ भन्ने तत्व हुन्छ, त्यसले कहिल्यै झुट बोल्दैन । हामी अरुलाई छल्छौ, झुट बोल्छौ । तर, शरीरभित्रको ‘म’ले भनिरहेको हुन्छ, तैंले झुट बोलिस् । तैंले खराब गरिस् । तैले गर्न नहुने गरिस् । खान नहुने खाइस् ।

हामी अरुलाई छल्न सक्छौं, भ्रममा पार्न सक्छौ । तर, आफुभित्रको ‘म’लाई छल्न र भ्रममा पार्न सक्दैनौ ।

‘म’ सत्य हुन्छ । त्यही सत्यको आडमा बाँच्ने हो भने न हामी डराउनुपर्छ, न हच्किनुपर्छ, न भ्रमित हुनुपर्छ, न कमजोर हुनुपर्छ, न दुःखी हुनुपर्छ । यसका लागि ‘म’को अस्तित्वलाई बुझ्न जरुरी छ ।

जब हामी आफुभित्रको ‘म’लाई अनुभूत गर्छौ, तब यो तेरो, यो मेरो भन्ने भेदभावबाट मुक्त रहन्छौ । सबै आफ्ना लाग्छन् । सबै पि्रय लाग्छन् । किनभने शरीर पनि स्थायी छैन । यो हाम्रो हो तर हामीसँग सधै रहँदैन । मुटु, कलेजो, मिर्गौला पनि स्थायी छैन । आँखा, कान, मुख स्थायी छैन । यी सबै नष्ट भएर जाने हो । त्यसैले हामी घृणा, अहंकार, रिस, रागलाई किन स्थायी रुपमा अंगाल्ने ?

‘म’ अर्थात आत्मा । श्रीमदभागवत गीतामा भनिएको छ, ‘आत्मा अजन्मा (नजन्मिएको), नित्य (अपरिवर्तनशिल), सनातन र पुराण (प्राचिन) हुन्छ । शरीर बद्लिन्छ, तर आत्मा अजर हुन्छ । अविनाशी हुन्छ । आत्मा नित्य सर्वव्यापी, अपरिवर्तनशिल, अचल र सनातन छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment