Comments Add Comment
मेरो कथा :

भिन्न बनेको त्यो दिन…

६ फागुन ०७४ को कुरा हो, आइतबारको दिन बौद्धतिर घुमिरहेको थिएँ । मोबाइल बजेको जस्तो लाग्यो । हो रहेछ । उठाएँ । उताको परिचय नआउँदै सिधै प्रश्न आयो, तपाईँ ललित जी होइन ?

मैले हो भनेँ ।

‘तपाईँलाई बधाई छ, तपाईँ राष्ट्रिय टिममा पर्नुभएको छ, यसबारे कुरा गरौं भनेर फोन गरेको’ यति आवाज सुनिसक्दा के भन्छ ! जस्तो भयो ।
पत्रकारको फोन रहेछ । राष्ट्रिय टिममा परेको खबर यसरी सुन्दा विश्वासै सकेन । के गरौं, के गरौं भयो ।

बौद्धमा सँगै ज्ञानेन्द्र मल्ल दाइ पनि हुनुहुन्थ्यो । दाइहरुलाई सुनाएँ । उहाँहरुले बुझ्दा हो रहेछ भन्ने थाहा भयो । खुशी लाग्यो । दाइहरुले बधाई दिनुभयो । बौद्धतिर घुमिरहेको एउटा सामान्य दिन एकैछिनमा विशेष बनिदियो । क्रिकेट भनेर घरबाट भागेका दिनहरुको सपना पूरा भएको जस्तो लाग्यो ।

साथीहरुलाई, घरमा बाबा आमालाई कुन बेला सुनाउँ जस्तो भयो । त्यहाँबाट सिधै कोठामा गएर बाबालाई फोन गरेँ ।

‘बाबा म राष्ट्रिय टिममा परेँ, अब जिम्बावेमा खेल्न जाने ।’

बाबा त ‘अँ मलाई पहिले नै थाहा थियो’ रे ! अनि थाहा पाएर पनि मलाई किन फोन नगर्नु भएको त भनेर सोधेँ ।

राष्ट्रिय टिममा पर्नु सानो खुसी थिएन । त्यही सपनाका लागि लामो समय मेहनत गरेको थिए । त्यही दिनदेखि मेरो क्रिकेटका दिनहरु सुधारिएका छन् । अवसर मात्र होइन, खेल पनि सुधार भएको छ ।

****

मेरो खेलमा आएको सुधारको एउटा गतिलो उदाहरण हो, गत हप्ता सकिएको प्रधानमन्त्री कप क्रिकेट । इकोनोमी राम्रो भए पनि विकेट राम्रो नआउने कमजोरी प्रधानमन्त्री कपका बेला धेरै नै सुधार गरेँ ।

सबै टिम राम्रा थिए । खेल हुनुभन्दा एक दिन अगाडि तयारी गथ्र्यौं । प्रतियोगिता जित्नुको मुख्य आधार हाम्रो बलियो बलिङ नै हो । आफ्नो ठाउँमा बलिङ गरौं, तयारी गरौं भनेर हामी सधैँ छलफल गरिरहेका हुन्थ्यौं ।

हामीले एकएक खेल विचार गर्दै गयौं र राम्रो भयो । फाइनलमा आर्मी क्लबलाई ४ विकेटले हराएर उपाधि जित्यौं । प्रतियोगिताको ६ खेलमा मैले २० विकेट लिएँ । इकोनोमी २.८९ र एभरेज ६.१५ थियो । समग्रमा यो प्रतियोगिता मेरा लागि पनि राम्रो भएको हो । प्लेयर अफ दि सिरिज पनि भएँ ।

खेल हुने अघिल्लो रातमा नै कुन ब्याट्सम्यान कस्तो छ, कस्तो सट खेल्छ, कमजोर पक्ष के छ भनेर विचार गरिरहेको हुन्छु । त्यसले भोलिपल्ट मैदानमा अझ विश्वस्त भएर खेल्न त्यसले सहयोग पुर्‍याउँछ । कति कुरा त मैदानमा खेलअनुसार फरक हुन्छ नै । त्यसका लागि छिटो निर्णय लिन सक्नुपर्छ । यसमा मलाई बसन्त (रेग्मी)) दाइले धेरै नै सहयोग गर्नुहुन्छ । के गर्दा राम्रो हुन्छ भनेर सधैँ सिकाइरहनु भएको हुन्छ । बसन्त दाइसँग प्रतियोगितामा जाँदा धेरैजस्तो ‘रुम पार्टनर’ नै भइन्छ । त्यसले गर्दा पनि उहाँसँग नजिकबाट कुराकानी गर्न पाएको छु । खेलअनुसार कसरी अगाडि बढ्ने भनेर उहाँले सिकाउनुहुन्छ । बलिङका अन्य पक्षहरु पनि राम्ररी बुझाउनुहुन्छ । म नबुझेको कुरा पनि धक नमानी सोध्छु ।

खेल्ने बेलामा असाध्यै सोचमग्न देखिन बसन्त दाइ बाहिरी माहोलमा रमाइलो हुनुहुन्छ । सबैलाई हौसला दिनुहुन्छ । कोठामा हुँदा फुर्सदको समय कटाउने भनेको चलचित्र हेरेर हो । प्रायजसो दक्षिण भारतीय चलचित्र उहाँलाई मन पर्छन् । त्यसले गर्दा म पनि त्यस्तै चलचित्र हेर्ने भइसकेको छु ।

जे होस्, रमाइलो लाग्छ ।

****

क्रिकेट सुरुवात गर्दा गाउँमा खेलको माहोल त थिएन । तर समय हुने वित्तिकै लुकिछिपी खेल्ने छुटाउँदैनथ्यौं । विराटनगर जतुवा सरस्वती टोलका हरेक खाली ठाउँ हाम्रो मैदान थियो । घर फर्किएपछि बाबाले सधैँ भन्नुहुन्थ्यो, खेलेर के हुन्छ ? गाउँमा अहिलेसम्म कसको के भयो ? सबै देखिदेखि किन खेल भन्दै हिँडिरहेको छस् ? बाबाका प्रश्नको जवाफ त त्यतिबेला थिएन ।

तर भगवानले तँ खेल्न सक्छस्, खेल भनिरहेका थिए कि जस्तो लाग्छ । त्यसैले गाली, कुटाइ सबै खाएर भएपनि खेल्न गएँ । जस्तो बेला पनि क्रिकेट छाडिनँ । १२ कक्षामा पढ्ने बेलासम्म पनि गल्ली क्रिकेटमा खुब जमिरहेको थिएँ । केटाहरु ड्युज बलले नै खेल्नुपर्छ भनेर विद्यालयबाट बल लिएर आउँथे । तर बलिङ गर्न सबै डराउने । म भने केही हुन्न भनेर अघि सर्थें । त्यो पनि फास्ट बलिङ गर्न । बल कता कता पुग्थ्यो । टोलमा गाली खाने एउटा माध्यम त्यही नै हुन्थ्यो । अरुलाई लागेर चोट लागेपछि लखेट्थे । हामी भागेर धान खेतभित्र लुक्थ्यौं ।

पहिले त गाउँमा अरुले खेलेको ठाउँमा जाने र बल टिपेर बस्ने काम मात्रै हुन्थ्यो । अरुले हानेर बाहिरिएको बल टिप्न मात्रै पाउँदा पनि मैले क्रिकेट खेलेँ जस्तो लाग्थ्यो । सामान्य विद्यालयमा पढेकाले खेलको माहोल विद्यालयमा थिएन । यसैले छुट्टी भएर घर फर्किएपछि बोर्डिङ स्कूलका विद्यार्थीहरु खेलेको ठाउँमा पुगिरहेको हुन्थेँ । बाहिर आएको बल हात घुमाएर फाल्दाफाल्दा बलिङ गर्न आउँछ जस्तो लागिरहेको थियो । विस्तारै खेल्ने मौका पनि पाउन थालेँ ।

१२ कक्षामा पढ्दै गर्दा राष्ट्रिय स्तरका प्रतियोगिताहरु खेलिसक्नु भएका जयराम दाइलाई भेटेपछि भनेँ मेरो क्रिकेट फेरियो ।

अन्तरकलेज प्रतियोगिताहरुमा खेल्न पाएँ । त्यो बेला म फास्ट बलर थिएँ । जयराम दाइले नै लेफ्टआम स्पिन गर्न सक्छस् भने अझ राम्रो हुन्छ भन्नुभयो । त्यसमा नै अभ्यास गर्दै गएँ । विस्तारै राम्रो हुँदै गयो । मलाई जे गर्नु छ क्रिकेटमा नै गर्नु छ भन्ने थियो । त्यसैले यो नभए त्यो, त्यो नभए यो भनेर सिकेँ । कतिसम्म भने अम्पायर बस्न सकिन्छ भनेर अम्पायरको सामान्य टे्रनिङ पनि लिएँ । गाउँका प्रतियोगितासँगै कलेजस्तरीय प्रतियोगिताहरुमा धेरै पटक अम्पायरिङ गरेको पनि छु । अम्पायर गर्न पनि पहिले खेलाडी भयो भने राम्रो हुन्छ भन्ने सुनेँ । त्यसैले अम्पायरिङ भन्दा पहिले खेलमा ध्यान दिनुपर्छ भन्ने लागेर थप मेहनत गर्न थालेँ ।

बिहान कलेज गएर आएपछि क्रिकेट खेलेर बेलुका मात्रै घर पुग्थेँ । यसरी क्रिकेटको नशा बस्नुमा मेरो फुपाजुको क्रिकेट हेर्ने बानीले धेरै काम गरेको हो जस्तो लाग्छ । उहाँ भारतीय क्रिकेटको समर्थक । म सानो हुँदादेखि नै दुरदर्शनमा उहाँ क्रिकेट हेरिरहेको देख्थेँ । क्रिकेट हेर्न भनेपछि टेस्ट खेलसम्म पनि नछाड्ने । त्यसैले मलाई पनि क्रिकेट हेर्ने बानी परेको थियो ।

****

यू-१९ राष्ट्रिय टिममा आएपछि त क्रिकेटमा नै केही गर्नुपर्छ भन्ने सोच अझ बलियो बनेर अगाडि आयो । यू-१९ टिममा आउनु भन्दा अगाडि सन् २०१३ मा एउटा राष्ट्रिय प्रतियोगिता खेल्न पाएको थिएँ । त्यसमा क्षेत्र नम्बर १ बाट लेˆटआम स्पिनरकै रुपमा खेलेको थिएँ । पहिलो प्रतियोगितामा मैले ४ खेलमा १० विकेट लिएँ । प्रतियोगिता सकिएर फर्किएपछि यू १९ टिमको क्याम्पमा बोलाइएको थियो । क्याम्पमा आएको पहिलो पटक नै टिममा परेँ ।

मलेसियामा भएको इलाइट कपमा खेल्ने मौका पाएँ । त्यसपछि २०१५ मा यू-१९ विश्वकप छनोट खेल्यौं । फाइनल खेलमा आयरल्याण्डलाई तीन विकेटले हराउँदा म्यान अफ दि म्याच नै भएको थिएँ । त्यसमा ४ विकेट लिएको थिएँ । तर म विश्वकप खेल्ने टिममा भने पर्न सकिनँ । प्रतियोगितामा राम्रो गरेकाले टिममा पर्ने आश थियो तर, सोचेजस्तो नहुँदा अलि दुःख लाग्यो । आफूले मौका नपाए पनि नेपालले विश्वकप खेलिरहेको छ भनेर खुशी भने लाग्यो ।

त्यसपछिको २०१६ मा श्रीलंकामा भएको यू-१९ एसिया कप क्रिकेटमा पनि टिममा पर्न सकिनँ । मेरो खेल राम्रै थियो तर, विकेट आइरहेको थिएन । इकोनोमी एक नै भएपनि विकेट नआएपछि के भन्ने । त्यसपछि रन नदिएर मात्रै हुँदैन, विकेट नै झार्नुपर्छ भन्ने सोचेर मेहनत गर्न थालेँ ।

बरु रन जाओस् तर, विकेट लिनैपर्छ भन्ने सोच पनि आयो । त्यसैमा केन्द्रित रहेर सिक्न थालेँ । त्यसपछि यू-१९ विश्वकप छनोट टिममा परेँ । सिंगापुरमा गएर खेल्यौँं । विस्तारै मेरो सोचमा परिवर्तन आउँदै गयो । अब राष्ट्रिय टिममा ठाउँ कसरी बनाउने भनेर सोच्न थालेको थिएँ । त्यही अनुसार मेहनत पनि बढाउँदै लगेँ । यू-१९ विश्वकप छनोट खेलेर आएपछि पुलिस क्रिकेट टिममा आबद्ध भएकाले पनि जीवन चलाउन अलिकति सजिलो हुन थाल्यो ।

नत्र त्यसअघि क्रिकेटबाट भएन भने विदेश जान्छु भन्ने सोचिरहेको थिएँ । किनकी क्रिकेट बाहेक अरु केही थिएन मसँग । पुलिस टिममा जागिर भएपछि अरु कुरा नसोची क्रिकेटमा मात्र लाग्ने समय मिल्यो । बाबाले पनि क्रिकेट नै खेल्ने हो भने राम्ररी मेहनत गर भनेर भन्नुभएको थियो ।

****

यू१९ टिममा पर्ने-बाहिरिने क्रम चलिरहँदा राष्ट्रिय टिमका लागि नै मेहनत गर्नुपर्छ भनेर लागिपरेको थिएँ । नामिबियामा खेल्न जाने बेलामा पहिलो पटक राष्ट्रिय टिमको क्याम्पमा परेको थिएँ । त्यो बेला क्याम्प सुरु भइसक्दा पनि एक जना खेलाडी नआएकाले मलाई बोलाइएको रहेछ । सुरुमा त थाहा पनि थिएन । पुलिस टिममा अभ्यास गर्न जान लाग्दा सिधै कीर्तिपुर आउ भनेर बोलाइएको थियो । पहिले त दंग परेँ, कीर्तिपुर पुगेपछि मात्रै सबै कुरा बुझेँ ।

क्याम्पमा पनि राम्रै गरेँ । टिममा भने पर्न सकिनँ । फेरि अर्कोपटक क्याम्पमा बोलाइयो। त्यसबेला पनि टिममा पर्न सकिनँ । डिभिजन टू खेलेपछि विश्वकप छनोटमा जिम्बाब्वे जाँदा भने राष्ट्रिय टिममा पर्न सफल भएँ ।

त्यो २०१८ को मार्चमा हो । जिम्बावेविरुद्ध पहिलो पटक राष्ट्रिय टिमबाट खेल्दा के होला कस्तो होला जस्तो भइरहेको थियो । टिभीमा हेर्दा यस्तो राम्रो खेलेको देखिन्छ, त्यस्तो टिमविरुद्ध म खेल्दैछु जस्तो अनेक विचार मनमा आइरहेको थियो । हुन त आˆनो खेलअनुसार नै अघि बढ्ने हो भनेर ढुक्क पनि भएँ । दाइहरुले पनि हौसला दिनुभयो । एक विकेट पनि लिएँ ।

त्यहीसमय देखि नै दाइहरुमार्फत के सिक्न सक्छु भनेर मेहनत अझै बढाए । अझै सिक्न धेरै कुरा बाँकी छ जस्तो लाग्छ । तर राष्ट्रिय टिमबाट जिम्बाब्वेमा जिम्बाब्वेविरुद्ध खेलिएको पहिलो खेलदेखि आजसम्म सिक्ने अवसर पाएअनुसार नै सिकिरहेको छु जस्तो लाग्छ । क्रिकेट पनि एउटा पढाइ नै रहेछ जति पढे पनि सकिँदैन । सिक्ने केही कुरा फेरि आइ नै हाल्छ ।

जिम्बाब्वेमा एकदिवसीय मान्यता पाएपछि नेपाली क्रिकेटको अर्को पाइला अगाडि बढेको हो । त्यसमा आफूले पनि योगदान गर्न पाउँदा खुशी अझ दोब्बर भयो । त्यसपछि एसिया कप छनोट, इंग्ल्याण्डमा त्रीदेशीय सिरिज, नेदरल्याण्ड्समा एकदिवसीय सिरिज, युएईसँगको सिरिज सबैमा केही न केही सिक्ने अवसर नै मिलिरहेको छ । हरेक सिक्ने कुरामा सिनियर दाइहरुको भूमिका एकदमै ठूलो छ । बसन्त, शक्ति, ज्ञानेन्द्र, पारस दाइहरुसँग नयाँ कुरा बुझ्न पाइरहेको हुन्छु ।

पारस दाइ, हाम्रो कप्तान । असाध्यै हौसला दिनुहुन्छ । मैदानमा पनि असाध्यै ‘कुल’ हुनुहुन्छ । कुनै दबाव लिनुहुन्न । उहाँको नतिजाको बारेमा सोच्ने होइन, खेलको बारेमा सोच्ने शैली मलाई असाध्यै राम्रो लाग्छ । ‘यो केटा केही गर्दैन । टिममा सबैभन्दा सोझो नै यही हो’ दाइले मलाई भन्ने यही हो ।

पारस दाइसँगको अर्को कुरा पनि रमाइलो छ । पहिले खेल्ने बेला अनुहार बिग्रेला भन्ने डरले म क्रिमहरु लगाइरहेको हुन्थेँ । पारस दाइ जहिल्यै नजिकै आएर भन्नुहुन्थ्यो ‘हेर त यहाँ को गोरो पो छ र ?, तमी पनि उस्तै, म पनि उस्तै । सबै कालै छौं ।’ यसैले म आजभोलि घाममा पनि केही लगाउँदिनँ ।

प्रस्तुति – ऋग्वेद शर्मा

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने अनलाइनखबरको श्रृखला ‘मेरो कथा‘ को ४० औं अंकमा यो हप्ता क्रिकेटर ललित नारायण राजवंशीको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment