Comments Add Comment
No ads found for this position

किन असफल भए भारतीय कम्युनिष्ट ?

आर्ची ब्राउन वेलायती राजनीतिशास्त्री हुन् । उनले आफ्नो सम्पूर्ण जीवन कम्युनिष्ट शासनहरुको अध्ययनमा बिताए । उनलाई ‘कम्युनिज्मका इतिहासकार’ भन्ने गरिन्छ । उनी संसारका सबै कम्युनिष्ट शासित देशमा पुगेका छन । अध्ययनका क्रममा उनले कम्युनिष्ट शासित देशका भाषा सिकेका छन् ।

ब्राउनले हज्जारौंको संख्यामा संसारभरिका कम्युनिष्ट नेता र कार्यकर्ताहरुसँग भेटेका, छलफल गरेका र अन्तर्वार्ता लिएका छन । उनले कम्युनिज्मबारे २ दर्जन बढी किताब लेखेका छन् । त्यसमध्ये सन् २००९ मा प्रकाशित ‘द राइज एण्ड फल अफ कम्युनिज्म’ अर्थात् ‘साम्यवादको उत्थान र पतन’ सर्वाधिक महत्वपूर्ण मानिन्छ । ब्राउन भन्छन् – ‘यो किताब लेख्न मात्र मलाई २ वर्ष लाग्यो । तर, यो मेरो ४५ वर्षको अध्ययनको उत्पादन हो ।’

यो पुस्तकमा ब्राउनले भारतीय कम्युनिष्ट पार्टीबारे अत्यन्त छोटो टिप्पणी गरेका छन् । उनी लेख्छन- विश्व कम्युनिष्ट प्रणालीभन्दा फरक भारतमा सीपीएम र सीपीआईले पश्चिम बंगाल र केरलाजस्ता राज्यहरुमा शासन गरेका छन् । बंगालमा सीपीएमको आधार भूमिसुधारले निर्माण गर्यो भने केरलामा स्थानीय निकायको सवलीकरण, शिक्षा र स्वास्थ्यमा प्रादेशिक तथा स्थानीय सरकारको लगानी मुख्य कारण देखिन्छ । तर, कम्युनिष्ट पार्टीको आन्तरिक विश्वास र नेतृत्व भने साम्यवादको विश्व प्रणालीभन्दा खासै फरक छैन । उनीहरुले अभ्यास गर्ने जनवादी केन्द्रीयतामा आधारित वलियो पदसोपानीय संगठन र लोकतान्त्रिक अभ्यासको अपेक्षाबीच अझै बेमेल छ । यसले उनीहरुलाई जुनकुनै वेला संकटमा पुर्‍याउँन सक्छ ।’

सन् २०१४ को १६ औं र भरखरै सम्पन्न १७ औं लोकसभा निर्वाचनले भारतीय कम्युनिष्टहरुको सम्भावित संकटबारे आर्ची ब्राउनको भविष्यवाणीलाई सही सावित गरिदिएको छ । कम्युनिष्ट आन्दोलनमा रुचि राख्ने सबैमा स्वभाविक जिज्ञासा उत्पन्न भएको छ- यस्तो कसरी संभव भयो ?

सय वर्षको इतिहास

भारतीय कम्युनिष्ट पार्टी स्थापनाको कथा मानवेन्द्रनाथ रोय अर्थात् एम.एन.रोय नामक एक क्रान्तिकारी बंगाली युवाको रोमाञ्चक जिन्दगीसँग जोडिएको छ । रोय अत्यन्त तीक्ष्ण, उन्मुक्त र क्रान्तिकारी स्वभावका विद्धान थिए । उनी सशस्त्र संघर्षबाट भारतलाई वि्रटिसराज मुक्त गर्न सकिन्छ भन्ने विश्वास गर्थे ।

‘अनुशीलन समिति’ नामको एउटा सानो वंगाली समूहमार्फत् उनले आफ्नो क्रान्तिकारी जीवन प्रारम्भ गरे । उनी पहिलो विश्वयुद्ध ताका जर्मन ध्रुवले वेलायत विरुद्ध भारतमा शसस्त्र संघर्षका लागि पैसा र हतियार सहयोग गर्ने विश्वास गर्थे । यही विश्वासमा उनी बर्लिन गए । तर, पैसा र हतियार जुटाउँन सकेनन् । लुकीछिपी उनी अमेरिका पुगे । त्यहाँ उनको एभेलिन लियोनोरासंग प्रेम बस्यो । बिहे भयो । अमेरिकी जासुसहरुले रोय अबैध आप्रवासी भएको थाहा पाए । पक्राउ पर्ने डरले उनी लियानोरासँगै मेक्सिको भागे ।

त्यो समय मेक्सिकोमा समाजवादी पार्टीको सरकार थियो । भेनोस्टिया गर्जा राष्ट्रपति थिए । भरखरै रुसमा अक्टोबर क्रान्ति भएको थियो । लेनिन र गर्जाको राम्रो मित्रता थियो । लेनिन भारतमा कोमिन्र्टनको सदस्य पार्टी गठन होस् भन्ने चाहन्थे । सम्मेलनमा एशियाबाट सहभागीहरु थप्न चाहन्थे । गर्जाले रोयलाई कोमिन्र्टनको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिनिधि बनाएर रुस पठाइदिए ।

लेनिन रोयको विद्धताबाट प्रभावित भए । रोयलाई कोमिन्र्टन कमिटीको सदस्य बनाइयो । कोमिन्र्टनको सम्मेलन सकेलगत्तै सन् १९२० अक्टोबर १७ केही भारतीयहरु तुर्किस्तानको तासकन्दमा भेला भए र भारतीय कम्युनिष्ट पार्टी गठन भएको घोषण गरे । यसलाई आधार मान्दा भारतीय कम्युनिष्ट पार्टी १०० वर्ष पुग्न केही महिना मात्र बाँकी छ ।

तर, भारतभित्रका कम्युनिष्ट समूहहरुले तासकन्द भेलालाई पार्टीको स्थापना दिवस मान्न स्वीकार गरेनन् । विशेषतः मुम्बईमा श्रीपद अमृत डाँगे कम्युनिष्ट युवाका रुपमा चर्चित थिए । उनले ‘गान्धी कि लेनिन ?’ भन्ने पुस्तिका लेखी गान्धीको आलोचना र लेनिनको समर्थन गरेका थिए । तासकन्द समूहलाई एउटा समूह मान्ने सबै समूहको संयुक्त सम्मेलन गरेर पार्टी स्थापना गर्ने शर्तमा सन् १९२५ डिसेम्बर २६ मा कानपुर भेला भयो । यसरी कम्युनिष्ट पार्टी भारतमा विधिवत् अस्तित्वमा आयो ।

तर, एम.एन.रोय कोमिन्र्टन कमिटीमा क्रियाशील भएको हुँदा भारतमा सक्रिय भएनन् । लेनिनको मृत्युपछि स्टालिनसँग केही वर्ष सहकार्य गरे । रोयलाई अर्का नेता बोरोदिनसँगै चीन पठाइएको थियो । सन् १९३० मा चीनबाट फर्केपछि स्टालिनले रोयलाई बर्खास्त गरे । रोय कम्युनिष्ट आन्दोलनबाटै पलायन भए ।

तर, डाँगे भने पछि भारतका ठूला कम्युनिष्ट नेता बने । गुजरातबाट महाराष्ट्र फुटाएर भिन्नै प्रदेश बनाउँन उनको ठूलो भूमिका रहृयो । डाँगेले २ पटक बम्बे शहरबाट लोकसभा सदस्यको चुनाव जिते । उनकी छोरी रोजा देशपाण्डेले एक चुनाव जितिन् । तर ‘भारत छोडो’ आन्दोलनका वेलाको संदिग्ध भूमिकाका कारण डाँगे भारतीय राजनीतिमा विवादास्पद व्यक्तित्व बन्न पुगे ।

चार समूह

त्यसरी गठन भएको भारतीय कम्युनिष्ट पार्टी दर्जनौं समूहमा विभाजित छ । त्यसमध्ये ४ वटा समूह मुख्य छन । पहिलो- सिपिआई, दोस्रो- सीपीएम, तेस्रो- सीपीआई माले लिवरेशन चौथो- माओवादी युनिटी सेन्टर ।

१९२५ मा विधिवत् गठन भए पनि सन् १९३३ सम्म पार्टी खासै संस्थागत हुन सकेन । सन् १९३३ मा पीसी जोशी पहिलो महासचिव भए । उनले लामो समय एकीकृत कम्युनिष्ट पार्टीको नेतृत्व गरे, यसलाई ‘पीसी इरा’ भन्ने गरिन्छ ।

सन् १९४० पछि भारतीय कम्युनिष्ट पार्टीमा गम्भीर सैद्धान्तिक मतभेद उत्पन्न भए । डाँगे सोभियत संघको नजिक थिए । यता स्वतन्त्रता संग्राम चर्किदै थियो । उता डाँगे गान्धी र नेहरुलाई बुर्जुवाका रुपमा चित्रण गर्दै बुर्जुवा आन्दोलनले स्वतन्त्रता नदिने भाषण गर्थे । भारत स्वतन्त्र हुने दिन डाँगे मस्कोमा थिए । अर्कोतिर सी. राजेश्वरा चीनको माओ लाइनको समर्थन गर्थे । जोशीपछिका महासचिव विटी रणदिपेलाई पार्टीभित्र कार्यनीतिक सन्तुलन मिलाउँन हम्मेहम्मे पर्दै गयो ।

स्वतन्त्रतापछि बंगाल, केरला, पञ्जाब, उत्तरप्रदेश, महाराष्ट्र आदि राज्यमा कम्युनिष्ट पार्टी महत्वपूर्ण पार्टीका रुपमा देखा पर्‍यो । तर, सन् १९६४ मा पार्टी विधिवत् फुट्यो । डाँगे समर्थकहरु सोभियत लाइनबाट प्रभावित भइ कांग्रेस र नेहरुप्रति नरम नीति अपनाउने भएका थिए ।

अर्कोतिर केरला र बंगालमा माओविचारधारा वा चिनियाँ लाइन समर्थकहरुको अभिवर्द्धि भइरहेको थियो । त्यो विभाजनमा ज्योति बसू एक युवा नेता थिए जसले सिपिएम समूहको महाधिवेशन कलकतामा सम्पन्न गर्न ठूलो भूमिका गरे । पछि वंगालमा उनकै उदय भयो । डाँगे समूहको महाधिवेशन भने बम्बेमा भयो । कलकत्ता सम्मेलनवालाहरुलाई आज सिपिएम र बम्बे सम्मेलनवालाहरुलाई सिपिआई भनिन्छ ।

सीपीएममा सन् १९६७ मा अर्को फुट भयो, त्यसको नेतृत्व सिलीगुडी जिल्ला कमिटीका सचिव चारु मजुम्दारले गरे । मूल सिपिएमले चुनाव लड्ने नीति लियो । करिब ३४ वर्ष बंगालमा शासन गर्यो । चारु समूहले शसस्त्र संघर्ष गर्ने नीति लियो जसलाई नक्सलवादी आन्दोलन भनिन्छ । नक्सलवादीहरु माथिको दमनमा कांग्रेस र सिपिएमवालाहरुको सहकार्य थियो ।

नक्सलवादी समूहलाई सन् १९९२ पछि विनोद मिश्रले शान्तिपूर्ण आन्दोलनमा फर्काए । तर, हृदयघात भएर मिश्रको असामयिक निधन भयो । आज त्यो समूहको नेतृत्व दीपंकर भटट्ाचार्यले गर्दछन । त्यसलाई सीपीआई माले लिवरेशन भनिन्छ । चौथो समूह भने सन् १९९० यता शसस्त्र संघर्षलाई जारी राख्ने ‘माओवादी केन्द्र’ हो जसले बिहार, आन्ध्र, झारखण्ड आदी प्रदेशमा शसस्त्र संघर्ष जारी राखेको छ । यी चार मध्ये अघिल्ला ३ ले चुनाव लड्छन ।

चुनावी संलग्नता

भारतीय कम्युनिष्ट पार्टीले सन् १९५२ को पहिलो लोकसभा निर्वाचनदेखि नै चुनावमा भाग लिन थालेको हो । पहिलो चुनावमा करिब ३.५ प्रतिशत भोट प्राप्त गरी १६ सीट जितेको थियो । एकीकृत भाकपाले सबैभन्दा बढी सन् १९६२ को तेस्रो लोकसभा निर्वाचनमा २९ सीट र करिब १० प्रतिशत भोट प्राप्त गरेको थियो । सन् १९६४ मा पार्टी विभाजनपछिको सन् १९६७ को चौथोे लोकसभा निर्वाचनमा सिपिआईले २३ र सिपिएमले १९ गरी जम्मा ४२ सीट जितेका थिए । सन् १९९१ को दशौं लोकसभा निर्वाचनपछि सिपिआई निरन्तर घट्दो क्रममा छ । भरखरै सम्पन्न १७ औं लोकसभा निर्वाचनमा यसले २ सीट र ०.७८ प्रतिशत भोट मात्र प्राप्त गरेको छ ।

सन् १९७१ को पाँचौं निर्वाचनमा सिपिआईले २३ र सिपिएमले २५ गरी ४८ सीट जितेका थिए । सन् १९८० को निर्वाचनमा सिपिएमले मात्र ३७ सीट प्राप्त गरेको थियो । सिपिएम भने सन् २००४ को पन्ध्रौं लोकसभा निर्वाचनपछि उल्लेखनीय रुपमा घट्न थालेको हो । भरखरै सम्पन्न १७ लोकसभा निर्वाचनमा सिपिएमले केरलाबाट १ र तमिलनाडुबाट २ गरी जम्मा ३ सीट जितेको छ । त्यो पनि कांग्रेस र डिएमकेको सहयोगमा । १.७५ प्रतिशत मात्र मत पाएको छ ।

सीपीआई माले लिवरेशनले भने सन् १९९६ को निर्वाचनमा लोकसभामा १ सीट जितेको थियो । त्यसबाहेक लोकसभामा प्रतिनिधत्व गर्न सकेको छैन । यो समूह मूलतः बिहार केन्दि्रत छ । बिहार विधानसभामा ६ सीटसम्म जितेको यो समूहको हाल ३ सीट छ ।

तीन राज्य

भारतमा कम्युनिष्टका मुख्य ३ वटा गढ राज्यहरु थिए । बंगाल, त्रिपुरा र केरला । बंगालमा उनीहरुले सन् १९७७ देखि सन् २०११ सम्म करिब ३४ वर्ष र त्रिपुरामा १९९३ देखि २०१८ सम्म २५ वर्ष निरन्तर शासन गरे । केरलामा भने कम्युनिष्ट पार्टी सत्तामा जाने प्रतिपक्षमा झर्ने क्रम बारम्बार भएको छ । कम्युनिष्टहरुको एकछत्र निरन्तर शासन भएको छैन । अहिले पनि त्यहाँ प्रदेश सरकार सिपिएमका मुख्यमन्त्रीले चलाइरहेकाछन ।

रमाइलो कुरा बंगालमा कुनै समय सिपिएमले एक्लै करिब ३८ % भोट प्राप्त गरी ३७ सीट सम्म जितेको थियो, यसपाली शून्य सीट र करिब ६ % प्रतिशत भोट मात्र पाएको छ । १ निर्वाचन क्षेत्रमा बाहेक उसका सबै उम्मेद्वारहरुले जमानत गुमाएकाछन भने सिपिएम उम्मेद्वारहरु चौथो, पाँचौं स्थानमा धकेलिएकाछन । त्रिपुरामा कम्युनिस्ट उम्मेद्वारहरु प्रतिस्पर्धाको छेउछाउमै छैनन् । बिहारमा जम्मा २ निर्वाचन क्षेत्रमा उनीहरुले दोस्रो स्थान हासिल गरेका छन ।

तमिलनाडुबाट उनीहरुले प्राप्त गरेको ४ सीट गठबन्धनका कारणले मात्र संभव भएको हो । त्यो मूलतः डिएमकेको क्षेत्र हो । यस अर्थमा केरलाबाट जितेको १ सीटलाई मात्र उनीहहरुको भरपर्दो विजय मान्न सकिन्छ । केरलामा भने अझै कम्युनिष्ट उम्मेद्वारहरु निकट प्रतिस्पर्धामा छन । उनीहरुले सबैजसो निर्वाचन क्षेत्रमा सम्मानजनक भोट ल्याएका छन । गत निर्वाचनमा बंगालको अवस्था ठीक यस्तै थियो । धेरै सिट जित्न नसके पनि सीपीएम उम्मेद्वारले टिएमसी उम्मेद्वारलाई कडा चुनौति दिएका थिए । बंगालमा यसपटक विजेपीले आश्चर्यजनक प्रगति गर्‍यो । ४ सीटबाट १८ मा पुग्यो । वंगालका सबैजसो निर्वाचन क्षेत्रमा टिएमसी र विजेपीको प्रतिस्पर्धा देखिन्छ । जित्न नसके पनि कांग्रेस उम्मेद्वारहरुले तेस्रो मत पाएका छन ।

यसको ठीक उल्टो केरलामा कांग्रेस र कम्युनिष्ट उम्मेद्वारबीच प्रतिस्पर्धा देखिन्छ भने विजेपी उम्मेद्वारहरु अधिकांश हाराहारीको तेस्रो स्थानमा देखिन्छन । यसले के संकेत गर्छ भने केरला पनि कम्युनिष्टहरुका लागि सुरक्षित छैन । यसपटक बंगालमा झैं अर्कोपटक केरलामा विजेपीले आफ्नो स्थिति सुधार गर्‍यो भने केरलाको शक्ति सन्तुलनमा परिवर्तन आउने छ ।

किन असफल ?

लोकतान्त्रिक निर्वाचनमा पार्टीहरु बीच हारजीत भइरहन्छ, दल कहिले सानो हुन्छन कहिले ठूलो । यसलाई असफलता नै भन्न मिल्ला र ? यस्तो तर्क निसन्देह जायज हुन्छ । तर, भारतीय कम्युनिष्टहरुको असफलता यस भन्दा अझ गम्भीर मानकमार्फत् व्यक्त गर्न सकिन्छ । ती हुन-

एक-पार्टी निर्माण भएको १०० वर्ष थोरै समय हैन । यति लामो समय पाएर पनि भारतीय कम्युनिष्टहरुले न त साम्यवादको शास्त्रीय सिद्धान्तमा भनिएझैं ‘समाजवादी क्रान्ति’ वा ‘नयाँ जनवादी क्रान्ति’ नै सम्पन्न गर्न सके नत लोकतान्त्रिक सहभागितामार्फत् निर्वाचनमा बहुमत हासिल गरी केन्द्रीय सरकार नै संचालन गर्न पाए ।

दुई-पार्टीको स्थापनाकालिन दशकको प्रभाव पनि निरन्तर खुम्चिदै गयो । भारतीय कम्युनिष्ट पार्टी ३० र ४० को दशकमा उत्तरप्रदेश, महाराष्ट्र, आन्द्र, मध्यप्रदेश, तेलंगाना, पंजाबजस्ता राज्यहरुमा पनि प्रभावशाली थियो । ६० को दशकमा बंगाल, त्रिपुरा र केरलामा सीमित हुँदै गयो ।

तीन-बंगाल, त्रिपुरा र केरलामा लालामो शासन गरे पनि ती प्रदेशहरु गैरकम्युनिष्ट पार्टीहरुले शासन गरेका प्रदेशभन्दा विकसित भएनन् बरु बंगाल र त्रिपुरा झनै कमजोर र गरिब भए । कम्युनिष्ट शासित प्रदेश नमुना बनेर अरु प्रदेशमा सकारात्मक प्रभाव पार्न सकेन ।

चार-लोकसभा निर्वाचनमा भारतीय कम्युनिष्टहरुको सीट संख्या सन् २०१० यता निरन्तर घट्दो क्रममा छ । यसपटक ५ सीट मात्र छ । यो क्रम जारी रहे अर्को निर्वाचनसम्म भारतीय लोकसभामा कम्युनिष्टहरुको प्रतिनिधित्व शून्य हुने देखिन्छ ।

पाँच- भारतजस्तो ठूलो र शक्तिशाली राष्ट्रको कम्युनिष्ट पार्टी भएर पनि भारतीय कम्युनिष्टहरुको अन्तर्राष्ट्रिय भूमिका उल्लेेखनीय छैन ।

असफलताका कारणहरु

आर्ची ब्राउनकै एक वाक्य- ‘बुर्जुबा बिरुद्ध सर्वहारा बर्गको मुक्तिका लागि भनेर कम्युनिष्ट शासन अस्तित्वमा आए । अन्ततः एउटा यस्तो विश्वस्थिति आयो कम्युनिष्टहरु आफै नवबुर्जुवा बने र सर्वहारा वर्गले उनीहरुकै विरुद्ध क्रान्ति गर्नु पर्‍यो

भारतीय कम्युनिष्टहरुको असफलताका मुख्य कारणहरु निम्न अनुसार देखिन्छन् ।

एक- भारतीय स्वतन्त्रता आन्दोलनको समय विशेषतः भारत छोड आन्दोलनबारे गलत कार्यनीति अलम्बन र जनमानसमा पर्न गएका नकारात्मक छाप ।

दुई- भारतीय कम्युनिष्ट पार्टीको जन्म नै कोमिन्र्टनबाट प्रवर्धित हुनु । भारतीय समाजको यथार्थसंग जोडिनु भन्दा बढी रुस र चीनका राजनीतिक लाइनमा अल्झिने प्रवृति हुनु ।

तीन- कम्युनिष्ट सिद्धान्तको वैश्विक संकट र त्यसको पुनर्भाष्यबारे कुनै प्रष्ट धारणा नहुनु । सिद्धान्त, कार्यक्रम, कार्यनीति र कार्यशैलीमा दब्बु र घिसेपिटे हुनु ।

चार- बंगाल, त्रिपुरा र केरलाको शासनलाई आदर्श र नमुना शासनका रुपमा विकास गर्न नसक्नु ।

पाँच- नेतृत्व गतिशील नहुनु । युवा नेतृत्वको विकासप्रति खासै ध्यान नदिनु । एमएन रोय, अमृत डाँगे, विटी रणदिपेआदि नेताहरुको राजनीतिक जीवन संदिग्ध हुनु । हरकिसन सिंह सुरजित, नम्बुदरीपाद र ज्योति बासुलाई छोडेर मास अपिल गर्न सक्ने नेताहरुको उदय नहुनु । यस दृष्टिकोणबाट प्रकाश कारात, सीताराम यचुरी, दीपंकर भट्टाचार्य कमजोर देखिनु । निष्ठा र निरन्तरता देखिए पनि कौशल र क्षमता नदेखिनु ।

छ-युपिए गठबन्धनका नाममा कांग्रेसको पिछलग्गु बन्नु । संघीय सरकारमा सामेल भएर प्रभावकारी काम पनि नगर्नु, प्रतिपक्षको भूमिका पनि नगर्नु । फलतः कांग्रेसको शासनबाट विरक्तिएको जनमत प्रादेशिक दल र विजेपीतिर ढल्किनु ।

सात- ट्रेडयुनियनिज्म र क्याडरिज्मको प्रभाव आवश्यकताभन्दा ज्यादा हुनु । पुँजीपतिहरु गैरकम्युनिष्ट शासित प्रदेशमा पलायन हुनु र कम्युनिष्ट शासित प्रदेशमा सत्तारुढ पार्टीका कार्यकर्तामा स्थानीय दादागिरी र भ्रष्ट आचरण विकास हुनु ।

आठ- वैचारिक मतभेद समाप्त भइसक्दा पनि कम्युनिष्ट समूहहरु एकीकृत नहुनु । हिजोका पूर्वाग्रह कायमै रहनु ।

नौं- चुनावी गठबन्धन निर्माणको पहलकदमी र कौशल अन्य दलको तुलनामा कमजोर र फितलो हुनु ।

भारतीय कम्युनिष्ट पार्टी र नेताहरुको ‘ट्रेन्ड’ हेर्दा यी कमजोरी सच्चिने संभवना न्यून छ । कुनै करिश्मायुक्त नयाँ नेता निस्किएर विचार, आन्दोलन र संगठनलाई नयाँ भाष्य, छवि र मोड दिए भने भिन्नै कुरा । अन्यथा आगामी दशकमा कम्युनिष्ट पार्टी भारतीय राजनीतिको परिदृष्यबाट गायब हुने निश्चित छ ।

अन्त्यमा आर्ची ब्राउनकै एक वाक्य- ‘बुर्जुबाबिरुद्ध सर्वहारा बर्गको मुक्तिका लागि भनेर कम्युनिष्ट शासन अस्तित्वमा आए । अन्ततः एउटा यस्तो विश्वस्थिति आयो कम्युनिष्टहरु आफै नवबुर्जुवा बने र सर्वहारा वर्गले उनीहरुकै विरुद्ध क्रान्ति गर्नु पर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment