Comments Add Comment
No ads found for this position
साहित्य सम्वाद :

जीवा लामिछानेलाई के मनपर्छ ? को मनपर्छ ?

३२ जेठ काठमाडौं । जीवा लामिछाने मूलतः उद्यमी(व्यवसायी हुन् । उनको परिचयमा विदेशमा बस्ने नेपालीहरुको संगठनकर्ता एवं गैरआवासीय नेपाली संघको पूर्वअध्यक्ष पनि जोडिएको छ । केही वर्षयता उनले साहित्यकारको पनि पहिचान बनाएका छन् ।

पत्रपत्रिकामा फाट्टफुट्ट सामायिक लेख लेख्ने लामिछानेले दुई वर्षअघि नियात्रा सङ्ग्रह ‘सरसर्ती संसार’ प्रकाशन गरेपछि लेखकका रुपमा आफूलाई स्थापित गरेका हुन् । अहिले उनी दोस्रो सङ्ग्रहको तयारी गरिरहेका छन् ।

एक दशकदेखि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानमार्फत साहित्यिक गतिविधिमा संलग्न भएका उनले स्थापना गरेको पद्मश्री पुरस्कार र सम्मान नेपाली साहित्यमा मदन पुरस्कारपछिको महत्वपूर्ण पुरस्कार र सम्मान मानिन्छ ।

नेपाली साहित्य र साहित्यकारलाई नजिकबाट नियालेका लामिछाने अध्ययनशील मानिन्छन् । यो साता हामीले साहित्यकारको परिचय थपेका लामिछानेसँग साहित्यसम्वाद गरेका छौं । हामीले लामिछानेलाई १० वटा प्रश्न सोधेका छौं, जसमा उनलाई मनपर्ने ५/५ कुराहरु छन् ।

ती पाँच पुस्तक कुन–कुन हुन्, जसलाई तपाईं बारम्बार पढ्न रुचाउनुहुन्छ ?

विश्वेश्वरप्रसाद कोइरालाको ‘सुम्निमा’, धच गोतामेको ‘उत्तोरत्तर’, शंकर लामिछानेको ‘एब्स्टाक चिन्तन प्याज’, पर्ल एस वकको ‘द गुड अर्थ’ र हर्मन हेस्सेको ‘सिद्धार्थ’ ।

सुम्निमाले नेपालका दुई फरक जातको इतिहास र यसको गहिरो दर्शन बताउँछ । धच गोतामेको संस्मरणात्मक निबन्धको भाषा शैली मोहित पार्ने खालको छ । शंकर लामिछानेको निबन्धले दर्शनलाई अक्षरहरुमा कसरी बाँध्न सकिन्छ भन्ने कला सिकाउँछ । र, मलाई मनपर्ने पर्ल वकको ‘द गुड अर्थ’ र हर्मन हेस्सेको ‘सिद्धार्थ’ पनि हुन् ।

ती पाँच चलचित्र कुन हुन्, जसलाई प्रत्येक पटक हेर्दा पुस्तक पढेको महसुस हुन्छ ?

भारतीय टेलिभिजनमा प्रदर्शित महाभारत टेली शृंखला बडो रुचिका साथ हेरेँ । त्यसमा ठूलो जीवन दर्शन निहीत छ । त्यसै गरी ‘लाइफ अफ पाई’ हेर्दा मलाई मानिसको जीजिविषाको उत्कर्ष अनुभव भयो । स्लम डग मिलेनियरमा झुपडपट्टी बस्तीको सचिव चित्रण गरिएको छ ।

मलाई मनपरेको अर्को चलचित्र ‘सतरञ्जके खिलाडी’ हो । यो चलचित्रमा लखनऊका राजाका उच्च तहका दुई कर्मचारीहरुले चेस खेल्दाखेल्दै कसरी एक अर्काको ज्यान लिए भन्ने कुरो देखाइएको छ । चर्चित निर्देशक सत्यजित रायको निर्देशनमा बनेको यो चलचित्रमा भारत कसरी अंग्रेजको हातमा गयो भन्ने कुरालाई पनि अर्थपूर्ण तरिकाले प्रस्तुत गरिएको छ । दुई व्यक्तिको चेसको लतमार्फत दुनियाँदारी देखाउन सक्ने खुबीकै कारण हुन सक्छ, यो सिनेमा सत्यजित रायको उत्कृष्ट सिनेमा मध्ये पर्छ ।

र, मलाई मनपरेको अर्को चलचित्र हो, गाइड । चलचित्र देवानन्दका कारण मात्र दर्शनीय भएको होइन, यसको कथा र पटकथामा झण्डै सय वर्षअघिको ग्रामीण भारतीय समाजको आस्था र विश्वासलाई कलात्मक तरिकाले देखाइएको छ ।

अर्को कुरा, यी सबै चलचित्रहरु चर्चित पुस्तक, उपन्यास वा कथामा आधारित छन् । वेदव्यासदेखि आरके नारायणसम्मका लेखकहरुले लेखेका कथाहरु भएका कारण पनि यी चलचित्रहरुको विशेष महत्व छ भन्ने लाग्छ ।

पाँच व्यक्ति, जसलाई भेट्दा पुस्तक पढेको अनुभव हुन्छ

डा.ध्रुवचन्द्र गौतम, कृष्ण धरावासी, मदनमणि दीक्षित, कृष्णप्रकाश श्रेष्ठ र अमर न्यौपाने यस्ता श्रष्टा हुन्, जसलाई म पटक–पटक भेट्न चाहन्छु । मलाई उहाँहरुका कुराहरु सुनिरहुँ लाग्छ । कृष्ण धरावासीका कुरा मेरा लागि सुन्दर कथा झैँ लाग्छन् ।

रुस बसाईका अधिकांश वर्ष म कृष्णप्रकाश श्रेष्ठसँग नजिक थिएँ । उहाँले नेपाली र रुसी पाठकका लागि रुसी र नेपाली साहित्य अनुवादमा धरै काम गर्नु भएको छ । एक व्यक्तिका रुपमा पनि उहाँ असाध्यै सरल र असल व्यक्ति हुनुहुन्छ ।

पछिल्लो पुस्तामा सबैभन्दा नजिक म अमर न्यौपानेसँग छु । मलाई उनका कुरा सुनिरहुँ झैँ लाग्छ ।

ती पाँच समय जसलाई तपाई लेख्न चाहनुहुन्छ ?

मलाई मेरा जीवनका केही कुराहरु लेख्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ । तपाईंले पाँच समय भन्नु भएकाले म यसैमा बाँधिएर सोचिरहेको छु ।

जस्तो कि, मेरो बाल्यकालको समय । मुल्कराज आनन्दको ‘सात साल’ नामक स्मरण पढेपछि त्यसैगरी आफ्नो बाल्यकालका बारेमा लेख्न पाए हुन्थ्यो भन्ने लागेको थिया ।

दोस्रो मलाई लेख्न मन लागेको मैले रुसमा इन्जिनियरिङ् पढ्दाको समय । त्यसै गरी मैले रुसको संंक्रमणकालीन राजनीतिलाई नजिकबाट देखेँ । आफ्नैअघि सोभियन संघ कसरी पतन भयो र त्यहाँको समाज नयाँ इतिहासमा प्रवेश गर्‍यो भन्ने कुरा पनि लेख्दा राम्रै होला भन्ने लाग्छ ।

त्यसै गरी मेरी आमाको जीवनगाथाका विषयमा पनि लेख्ने चाहाना छ । पाँचौं चाहीँ मलाई मनपर्ने विधा नियात्रा हो । यही विधालाई समय मिलेसम्म निरन्तरता दिने इच्छा छ ।

ती पाँच नियात्रा, जसलाई तपाईंले लेख्नु त भयो, तर सोचेजस्तो न्याय गर्न सक्नु भएन 

जहाँसम्म लेखेको कुरामा न्याय गरे कि गरिनँ भन्ने प्रश्न छ, फर्केर हेर्दा ‘सरसर्ती संसार’ मा संकलन भएका केही नियात्रालाई हतारमा फाइनल गरेँ कि जस्तो लाग्छ । जस्तो, इस्टोनियामा म जम्मा पाँच घन्टा मात्र थिएँ । ती पाँच घन्टा आफैँमा महत्वपूर्ण भए पनि त्यसलाई पुस्तक प्रकाशन गर्ने क्रममा राम्रोसँग उतार्न नसकिए झैँ लाग्यो । त्यसै गरी अस्ट्रेलिया जस्तो विशाल भूमिका बारेमा जसरी लेख्नुपर्दथ्यो, लेख्न सकिनँ कि ?

‘सरसर्ती संसार’ मा समाविष्ट भएका स्वीजरल्याण्ड, सिंगापुर र भारतका विषयमा पनि अझै राम्रो लेख्न सक्थेँ कि भन्ने लाग्छ । कुन पाँच लेख थिए, जुन पत्रिकामा छापेर तपाईंले लेखक हुनुको भरपूर आनन्द उठाउनुभयो ?

गत वर्ष जुरिचमा उत्पादन भएकोे ‘बीरेन्द्र’ नामक बियरका विषयमा लेखेपछि पाठकहरुको राम्रो प्रतिक्रिया पाएँ । त्यसै गरी अफ्रिकाको रुवान्डामा भएको जातीय हिँसासम्बन्धी लेख, डा.बाबुराम भट्टराईका विषयमा लेखिएको लेख, बुबाको स्मृति दिवशमा लेखिएको स्मरण र बर्मा यात्रापछि त्यहाँका नेपालीभाषी र गोर्खा सैनिकका विषयमा लेखिएको लेखबाट पाठकको राम्रो प्रतिक्रिया पाएको थिएँ ।

ती पाँच श्रष्टा को हुन्, जसका लेखनले तपाईंलाई आकर्षित गर्छ ?

मलाई मनपर्ने नेपाली लेखकहरु ५/६ मात्र होइन, धेरै छन् । पाँच जनाको मात्रै नाम लिँदा मलाई मनपर्ने अरु लेखक साहित्यकारप्रति अन्याय हुन्छ । यद्यपि, तपाईंले पाँचै जनामा बाँध्नुभएका कारण मैले त्यहीँभित्र बसेर हेर्दा सबैभन्दा बढी विश्वेश्वरप्रसाद कोइरालाको लेखनले मलाई आकर्षित गरेको पाउँछु ।

अर्का लेखक हुन्, डा. ध्रुवचन्द्र गौतम । त्यसैगरि शंकर लामिछानेको लेखन शैलीबाट म साह्रै प्रभावित छु । हिन्दीमा हरिवंश राय बच्चन मलाई साह्रै मन पर्छन् । जीवनभरि मदिरा नपिएका बच्चनको मदिरासम्बन्धी कविता कृति र उनका आत्मकथाका पुस्तकहरुले मलाई निकै प्रभावित बनाएका छन् ।

पछिल्लो पटक विश्वप्रशिद्ध लेखक युवल नोवा हरारीका तीनवटै कृति पढेपछि त्यसबाट निकै प्रभावित भएको छु । मानव सम्यताको इतिहास, वर्तमान र सम्भावित पतनलाई उनले ती पुस्तकमा राम्रोसँग ब्याख्या गरेका छन् ।

ती पाँच व्यक्ति, जो व्यवसायिक लेखक होइनन् तर उनीहरुको साहित्यप्रतिको लगाव र लेखन देख्दा तपाईंलाई प्रेरणा दिन्छ ।

उद्योगी–व्यवशायीद्वय बसन्त चौधरी र द्वारिका श्रेष्ठ । चिकित्सकद्वय डा. रामेश कोइराला र डा. रबीन्द्र समीर । पाँचाैँ लेखक सम्झँदा राजनीतिज्ञ तथा सिक्किमका पूर्व मुख्यमन्त्री पवनकुमार चाम्लिङ ।

म सामाजिक सञ्जालमा बसन्त चौधरीलाई नियमति फलो गर्छु । आमा बुवाका नाममा उहाँले साहित्य कलाको सेवा गरिरहनुभएको छ । धेरै साहित्यिक पत्रिकाहरुलाई उहाँले भरथेग गरिरहनु भएको पनि थाहा पाएको छु ।

त्यसै गरी उद्यमी द्वारिका श्रेष्ठले व्यस्त व्यवसायिक जीवन हुँदाहुँदै पनि साहित्यमा ठूलो योगदान पुर्‍याउनु भएको छ ।

डा. रामेश कोइराला र रवीन्द्र समीर व्यस्त समयका बीचमा पनि विभिन्न विधामा निरन्तर लेखिरहेको देख्छु । अर्का व्यक्ति सम्झनु पर्दा मलाई सिक्किमका पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङको याद आउँछ । नेपाली श्रष्टाहरुलाई सिक्किम आमन्त्रण गर्ने, उनीहरुका विचार र सिर्जना सुन्ने, विभिन्न किसिमका सम्मान गर्ने र सिक्किममा नेपाली साहित्यको विकास गर्न नेपाली श्रष्टाहरुको सहयोग लिने काम आजपर्यन्त जारी देखिन्छ ।

यो पटक सिक्किमको उहाँको दलले निर्वाचनमा उति राम्रो गर्न सकेन । फलस्वरुप उहाँको राजनीतिक व्यस्तता पनि सायद अब कम होला । अब उहाँले लेखनमा आफूलाई सक्रिय राख्नु हुनेछ भन्ने आशा राखेको छु ।

साहित्य प्रवद्र्धनमा समर्पित यस्ता कयौं व्यक्ति हुनुहुन्छ । कतिपय चुपचाप काम गरिरहनु भएकाले मलाई जानकारी नहुन पनि सक्छ । यति चाहिँ भन्न सकिन्छ, यस्तै साहित्यप्रेमीहरुकै कारण यो क्षेत्र मलिलो भएको छ ।

तपाईंको दख्खल नियात्रामा देखिन्छ । यस अर्थमा ती पाँच ठाउँ कुन कुन हुन्, जसलाई जति लेखे पनि लेखेर सकिँदैन ?

दख्खल चाहिँ नभनौं, रुचिको विषय भने हो । फेरि पनि पाँच ठाउँको नाम लिन भन्नुभयो । हरेक व्यक्तिलाई मनपर्ने आफ्ना स्थानहरु हुन्छन् । म पुगेका ठाउँहरु मध्ये रुसको सांस्कृतिक सहर सेन्ट पिटर्सबर्ग, पोखरा, सिंगापुर, इटलीको राजधानी रोम, अफ्रिकी द्वीप सेसेल्स जस्ता ठाउँका बारेमा धेरै कुरा लेख्न सकिन्छ भन्ने लाग्छ ।

तपाईंले पढ्ने गरेका ती पाँच व्यक्ति को–को हुन्, जसको अध्ययनको दायरा देखेर छक्क पर्नुहुन्छ ?

राजनीतिज्ञ प्रदीप गिरी, प्राध्यापक राम लोहनी, राजनीतिक विश्लेषक हरि शर्मा, डा. अभि सुवेदी र पत्रकार अनुवादक अच्युत कोइरालाको अध्ययनको फराकिलो दायरा देखेर म चकित हुन्छु ।

यी पाँचैजना श्रष्टाको एकै खालको विशेषता के हो भने उहाँहरु नियमित लेख्नुहुन्छ वा बोल्नुहुन्छ । यसरी बोल्दा वा लेख्दा छेऊमा बसेको व्यक्ति वा पाठकले धेरैखालको नयाँ सूचना पाइरहेको हुन्छ । मलाई
सामाजिक सञ्जालमा अध्ययन र चिन्तनका कुरा गर्ने कुनै व्यक्तिहरुबारे जानकारी भयो भने उहाँहरुलाई पछ्याउन मन लाग्छ । त्यस्ता विद्वान मित्रहरुलाई म नियमित फलो गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment