Comments Add Comment
No ads found for this position

प्रश्नको कठघरामा गुठियार आन्दोलन

‘गुठी’ सामूहिकताको परिचय हो कि सामन्ती संस्कृतिको ?

ओली सरकारले ल्याएको गुठी विधेयकलाई लिएर अहिले पक्षविपक्षमा नेपाली जनमत विभाजित भएको छ । सुरुमा भावनात्मक आवेगसित गाँसिएको यो सन्दर्भ अब आएर वैचारिक विश्लेषण र विमर्शमा केन्द्रित हुन थालेको छ । अवश्य पनि सबै गुठी सन्दर्भलाई एउटै आधारमा हेर्न नमिल्ला । गुठी संस्थानसित जोडिएका कतिपय गुठीहरूको एउटा सन्दर्भ छ भने पशुपति गुठीजस्ता गुठीहरूसित जोडिएको सन्दर्भ केही फरक छ ।

गुठी सन्दर्भसित जोडिएर यतिखेर थुप्रै प्रश्नहरूको उठान भएको छ ।

‘गुठी’ सामूहिकताको परिचय हो कि सामन्ती संस्कृतिको ? यसको राजनीतिक अर्थशास्त्र ( political economy) के हो ? यो काठमाडौँको मात्रै समस्या हो कि बाहिरको पनि ? यो खास समुदायसित सम्बद्ध समस्या हो कि सार्वभौम ? गुठीका नाममा सन्त-महन्तले आर्जन गरेका अकूत सम्पति र भ्रष्टाचारलाई कसरी हेर्ने ? पशुपति गुठीका नाममा मोहीहरूमाथि भएको शोषण, चर्को कुतबाली के हो ? पशुपति गुठी सामन्तवादको परिचायक, नयाँ जमिन्दारको परिचायक हो कि होइन ? पशुपति गुठीका नाममा आर्जित सम्पतिको कहाँ छ अभिलेख ? यत्रो सम्पति कहाँ जान्छ ? महादेवले मात्रै हसुरेर सिध्याउछन् की मोदी देशमा पुग्छ ? मोहीबाट उठेको रकम र सरकारी कोष ‘नागा बाबाका नाममा’ किन खर्च गरिन्छ ? त्यसको लेखापरीक्षण किन हुँदैन ? यी सबै प्रश्नको चित्तबुझ्दो उत्तर समयले खोजेको छ ।

पशुपति गुठीलाई मात्रै हेर्ने हो भने पनि यो भनेको सामन्तवादवाद र जमिनदारी प्रथाकै द्योतक हो ।  यहाँ त झन् दोहोरो लुटतन्त्र छ ।

अहिलेको गुठी प्रकरणले विगततिर पनि फर्किन बाध्य गराउँछ ।

योगी नरहरिनाथले पशुपतिको मुख्य पुजारी नेपाली नै हुनुपर्छ भनेर आर्यघाटमा धर्ना कसे । सत्ताधारीहरू भारतलाई खुसी पार्न टसमस भएनन् । तारतम्य मिलाउने कुरामा  ढङ्ग पुर्याउन नसके पनि गोपाल किराँती संस्कृति मन्त्री हुँदा पशुपतिको मुख्य पुजारी हुन योग्य पात्रहरू नेपालमै छन् र नेपाली नै छन् भनेर जोड गरे ।  यो निर्णयका विरुद्ध काङ्ग्रेसलगायत नेपालका कथित हिन्दू धर्मका संरक्षक,भारतका हिन्दूवादीहरू सबै एकजुट भए । उत्तरप्रदेशका ‘समाजवादी’ पार्टीका नेता  मुलायम सिंह त्यसको विरोध गर्न नेपाल नै आए-भारतीय संदेश लिएर  । माओवादीहरूले धर्म र संस्कृति मास्न थाले भनेर उखरमाउलो मच्चाइयो । वसन्तपुरमा मासुभात, छोइला र ऐला खान अर्थ र संस्कृति मन्त्रालयले गुठियारलाई हजारौँ रकम उपलब्ध गराएन भनेर काङ्ग्रेसी नेता नवीन्द्रराज जोसीका नेतृत्वमा आन्दोलन गरियो ।

यतिखेर फेरि पशुपतिको त्यत्रो सुन र  सम्पति कहाँ गयो भनेर समाचार छापिएका छन् जताततै ।  पशुपतिमा नयाँ पुजारी राख्ने कुरामा किराँती मन्त्रालयको उद्देश्य देशको सम्पति देशमै रहोस् भन्ने थियो । भारतीय पुजारीले भारत लाने सुन र सम्पति नेपालकै ढुकुटीमा रहोस् भन्ने चाहना थियो ।तर धर्म र संसकृतिका ठेकेदारहरूले माओवादीमाथि प्रहार गर्ने मौका यही हो भनेर भारत गुहारे । माओवादी पार्टीमाथि विष वमन गरे ।

जो हिजो पशुपति गुठी र पुजारी सन्दर्भलाई लिएर वैज्ञानिक किसिमले व्यवस्थापन गर्नुपर्छ भनेर लागेको शक्तिलाई बत्रदनाम गर्न लागेका थिए, आजै तिने नयाँ किसिमले फेरि गुठियार प्रकरणलाई उछालेर बडो धर्म र संस्कृतिको रक्षाको वकालत गरिरहेका छन् ।

अहिले कांग्रेस नेता गगन थापाले “पशुपति काण्डले  प्रचण्ड उडायो,  गुठियार काण्डले ओली उडाउँछ” भनेर होहल्ला गर्न थालेका छन्  । गुठी समस्यालाई दमन त दबावले नभएर सही किसिमले हल गर्नुपर्छ भन्ने कुरामा विवाद छैन, तर धर्म, संस्कृति र गुठीका नाममा एक थरी ठेकेदारहरू वर्षौँदेखि गर्दै आएको लुटतन्त्र बचाउन चाहन्छन् भन्ने कुरा पनि त्यत्तिकै सत्य हो । यो भनेको भू-माफियाका नाममा मोही हकको  दमन हो  ।

अवश्य पनि विधेयकका कतिपय सन्दर्भप्रति प्रश्न उठाउन सकिन्छ र नियतका कुरा पनि हुन सक्छन् । ओली सरकारले गुठी सन्दर्भलाई वैज्ञानिक किसिमले हल गर्न यो विधेयक ल्याएको हो अथवा खासखास सन्दर्भ र व्यक्तिसित जोडिएका समस्या र सन्दर्भलाई ‘व्यवस्थित’ गर्न यस किसिमको विधेयक ल्याएको हो भनेर सोच्नु पर्ने अवस्था पनि छ  । तर, प्रमुख र आधारभूत कुरा गुठीको प्रश्न हो । यो सरकारले नगरे अरू कुनै सरकारले यो समस्या हल गर्नुपर्छ । अब यो बोझ नेपाली समाजले सहाना र बोक्न सक्तैन l

गुठी के हो ? नेपालको विशिष्ट सन्दर्भमा गुठीको विशिष्ट पक्ष के हुन सक्छ ? यसको ऐतिहासिक तथा राजनीतिक-अर्थशास्त्रीय पक्षको अध्ययन-विश्लेषण हुनु जरूरी छ । यसो गर्दा कुनै खास समुदाय खुस हुन्छ अथवा रिसाउँछ भन्ने प्रश्न प्रमुख हुन सक्तैन । गुठी समस्या र समाधानको यसको मार्क्सवादी अध्यन र समाधान  हुनु आवश्यक हुन्छ । यो काम सही अर्थका मार्क्सवादी–क्रान्तिकारीहरूले गर्छन् र गर्नुपर्छ ।

यसका सन्दर्भमा सत्ताधारी सांसद मेटमणि चौधरीले ‘अनलाइन खबर’ मा व्यक्त गरेका भनाइहरू निकै गम्भीर प्रकृतिका छन्, उनले विषयवस्तुको सही उठान गरेका छन्  । उनका भनाइले गम्भीर किसिमले ध्यानाकर्षण गराइरहेको अवस्थामा नेपालको क्रान्तिकारी शक्तिका रूपमा आन्दोलनरत पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) समेत जसरी भावनामा बगेको देखियो, यसले गम्भीर प्रश्नको उठान गरेको छ । यो भावनात्मक पक्ष तथा भोटको राजनीतिको कुरा नभई विचार र विश्लेषणको प्रश्न हो । जे गर्दा यो सरकारको विरोध हुन्छ र गर्न सकिन्छ, आँखा चिम्लेर त्यही गर्ने हो भन्ने हो भने आफूलाई मार्क्सवादी र क्रान्तिकारी भन्नुको अर्थ छैन ।

गुठी, सामन्तवाद, मोही र वैज्ञानिक निष्कर्ष सँगसँगै गाँसिएर आउँछन् । पशुपति गुठीले त जमिनदारी प्रथा, तल्सिङ र बाली बुझाउने सामन्ती प्रथाकै पक्षपोषण गर्छ भने अन्य गुठी र गुठियार प्रवृत्ति र प्रथाले पनि भिन्नै स्वरूपमा त्यसैको निरन्तरताको निर्वाह गर्छन् । २१औँ शताब्दीको विज्ञानसम्मत चिन्तन र व्यवहारकाक सन्दर्भमा गुठीलाई अहिलेकै स्थितिमा निरन्तरता दिनु पर्छ भन्ने  मतसित सहमत हुने ठाउँ छैन । गुठीयार प्रवृत्ति धर्म , परम्परा र संस्कृतिका नाममा मासुभात, छोइला र ऐला खाने भोजभतेर गर्ने संस्कृतिमा रूपान्तरित भएको छ भन्ने मत पनि जोडदाररूपमा उठेको छ l

गुठी सन्दर्भलाई ‘परम्परा र संस्कृति’ का रूपमा मात्र नहेरी राजनीति र अर्थशास्त्रीय कोणबाट पनि हेरिनु आवश्यक छ । मोही मारेर मासुभात, छोइला र ऐलामा रमाउने संस्कृति नेपाली संस्कृति होइन, अबको समयमा गुठीसम्बन्धी धरान र व्यवहारको परिमार्जन आवश्यक छ । पशुपति गुठी र अन्य गुठियार लगायतका समस्यालाई आयोग बनाएर आजको आवश्यकता अनुसार वैज्ञानिक किसिमले हल गर्नुपर्छ । धर्म र संस्कृतिका नाममा शोषण, विकृति र पाखण्डपन मान्य हुन सक्तैन ।

भुरेटाकुरे प्रवृत्तिसित गाँसिएका प्रवृत्तिहरू इतिहास र संस्कृतिका नाममा यथारूपमा जोगाइराख्नुको कुनै आवश्यकता र औचित्य छैन । परिवर्तनको क्रममा सबैले परिमार्जित हुनु आवश्यक छ । अनेक तुक्का जोडेर भावनात्मक आवेग उत्पन्न गर्ने र वितण्डा मच्चाउने कामका पछाडि निहित स्वार्थको पनि अर्थ खोज्नु आवश्यक छ । ज्ञानेन्द्र शाहको गुठीप्रतिको ‘चिन्ता’ पनि बाहिर आइसकेको छ सबैले बुझ्ने गरी ।

राजनीतिक अर्थशास्त्रीहरू, मार्क्सवादी संस्कृतिविदहरू, इतिहासविदहरू र विषय विशेषज्ञहरू सम्मिलित आयोग बनाएर यसबारे सही वैज्ञानिक निष्कर्ष निकाल्नु र निर्णय लिनु आवश्यक छ । पूर्व तयारीबिना, सम्बद्ध विशेषज्ञ र सरोकारवालाहरूसित विचारविमर्स नगरी ओली सरकारले हतारोमा यो विधेयक ल्याएको कुरामा विवाद छैन । तर, इमानदारीपूर्वक गुठी (गुठी संस्थान तथा पशुपति गुठीसमेत) लाई वैज्ञानिक किसिमले व्ववस्थापन गर्न ल्याएको हो भने पछि हट्नु उसका लागि घातक नै हुन्छ । इमानदारीपूर्वक सामन्तवादका अवशेषहरू हटाउँदै जाने सन्दर्भमा नेपाली जनताको साथ र सहयोग हुन्छ नै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment