Comments Add Comment
No ads found for this position

प्रकृति र परम्पराको संगमस्थल नार्च्यांङ

नार्च्यांङ यस्तो गाउँ हो जहाँ प्रकृतिसँग मानिसको मिठो सम्बन्धको सुवास भेटिन्छ । परम्परा र संस्कृतिको जीवन्त रुप देखिन्छ । अनि धनुषबाण र भीरमौरीको मह काढ्ने परम्परासँग साक्षात्कार गर्न सकिन्छ ।

हो, हामी म्याग्दी जिल्लामा पर्ने यही सुन्दर गाउँको यात्रामा जाँदैछौं । पहिलो दिन पोखरातर्फ अघि बढ्यौं ।

पोखरामा रहेको होटल ग्रान्डेमा हाम्रो पहिलो दिनको बास भयो । त्यस होटलको आकर्षक सजावट, मिठो भोजन र आरामदायी बसाईंले हाम्रो त्यस दिनको थकान मेटियो ।

भोलिपल्ट बिहान हामी पोखरा हेली सर्भिसको सहयोगमा अन्नपूर्ण बेस क्याम्पसम्म जाने भयौं । सबैजना निकै उत्साहित छौं ।

सेतो हिउँ नै हिउँको बीचमा, हिमालको चिसो हावाले एकछिन मनै शान्त भयो । नजिकैबाट हिमाल देख्न पाउँदा मन तरंगित भयो ।

फेरि पोखरा फर्केपछि हामीले मुख्य यात्रा सुरु गर्‍यौं । नार्च्यांङसम्मको यात्रा ।

बेनी कटेपछि एक्कासी पानी पर्न थाल्यो । हामी एउटा चिया पसलमा ओत लाग्यौं । पानी रोकिएपछि हामी अघि बढ्यौं । बाटो पुरै हिलो भएको थियो । बल्लतल्ल हामी नार्च्याङ पुग्न सफल भयौं । झमक्कै साँझ पर्‍यो । राति मिठो भोजनसँगै, कोठामा आराम गर्न गयौं । भोलि कहाँ-कहाँ घुम्ने भनेर छलफल गर्‍यौं ।

बिहानको कलिलो घाम नार्च्यांङ बेंसीमा पर्दा एउटा नयाँ जीवनको सुरुवात भएको महसुस हुन्छ ।  हाम्रो पहिलो यात्रा नार्च्याङ लेकसम्मको थियो । उकालो बाटो ।  बाटोमा हामीले बोटबिरुवा, जडिबुटीहरु अवलोकन गर्‍यौं ।

हामी पुग्ने बेलामा हिमाल खुल्न थाल्यो । उपल्लो नार्च्याङ देखेर हामी छक्क पर्यौं । यति धेरै उकालो चढेर आउँदा पनि ठुला-ठुला फाँटहरु त्यहाँ थिए । खेती गर्नलायक, हरिया, पहेंला रंगीन फाँटहरु । सबै गाउँलेहरु आफ्नो दिनचर्यामा व्यस्त थिए ।

खेतमा गाउँलेहरुसँगको रमाइलो क्षणपछि हामी पुरानो गुफा हेर्न तल गयौं । गुफा अलिक फरक किसिमको थियो । यो अनौठो खालको ढुंगाले बनेको रहस्यमयी गुफामा चमेराहरु बस्ने गर्दा रहेछन् ।

पानी बेस्सरी परेकाले हामी एकछिन छानामुनि ओत लाग्यौं । धेरै बेरसम्म पानी नरोकिएपछि हामी छाता लिएर त्यस गाउँको एक बृद्ध व्यक्तिसँग भेट गर्न गयौं । हामीलाई उहाँले नार्च्याङको किम्बदन्तीहरु सुनाउनुभयो ।

नार्च्याङका मानिसहरु अझै पनि पुराना हस्तकलामा ब्यस्त देखिन्छन् ।  उनीहरु उकाली-ओराली गर्दै छहारीमा बास बस्ने गर्छन् ।

हामी बिस्तारै तल बेसीतिर झर्‍यौं । साँझ परेपछि भान्सामा गएर तातो उसिनेको आलु खायौ । भोलिपल्ट बिहान नजिकैको झरना हेर्न गयौं । यो झरनालाई नार्च्याङका गाउँलेले निकै पवित्र मान्दा रहेछन् । त्यो चिसो पानीको पवित्रताले हाम्रो मन द्रविभूत भयो ।

त्यसपछि हामी गाठ्पार गाउँ हुँदै रुप्से झरना पुग्यौं । त्यहाँदेखि नजिकै संसारको सबैभन्दा गहिरो गल्छी पनि पर्दो रहेछ । यसलाई अन्ध गल्छी भनिदो रहेछ ।

दिउँसो स्वादिलो खाना खाएपछि, हामी त्यहाँ रहेको मगर समुदायको संस्कृतिक कार्यक्रम हेर्न गयौं । एक अनौठो किसिमको नृत्यको तयारी हुन थाल्यो । त्यहाँको आमा समूहले त्यस कार्यक्रमका लागि हामीलाई अतिथिका रुपमा सम्मान गर्‍यो । पुरुषले महिलाको पहिरन लगाएर नाचिने यस नाचलाई सोरठी तथा मारुनी नाच भनिदो रहेछ । यो नौलो संस्कृति हामी पहिलोपल्ट अवलोकन गरिरहेका थियौं । हामीलाई यो नाच निकै रोचक र शक्तिशाली लाग्यो ।

केहीबेरमा हामी त्यहाँको पुरानो धनुष बाण हान्ने खेल हेर्न गयौं । धनुषबाण हान्दा एकदम धैर्य र सटिक हुनुपर्ने रहेछ । जब निशाना लाग्छ तब मन गदगद महसुस हुन्छ ।

त्यो अन्तिम दिन साँझ त्यहाँ गाउँको परम्परागत बाजाहरु सुन्न गयौं । ती विभिन्न बाजाहरुको संगीतले हामीलाई तरंगित बनायो । त्यो संगीतको तालमा हामी खुब नाच्यौं ।

हामी निकै थाकिसकेका थियौ । त्यसैले नजिकैको तातोपानीमा गएर केहीबेर बस्यौं । प्राकृतिक तातोपानीमा बसेर हामीले आफ्नो दुख केहीबेर बिसायौं ।

कहिले नपुगेको नसुनेको नार्च्याङ गाउँमा तीन दिन बिताउँदा हामीले पनि प्रकृतिसित निकै नजिक भएको अनुभव गर्‍यौं ।

तस्वीरः केशव दुलाल, रञ्जीत श्रेष्ठ, सुदन बुढाथोकी, विजय खाम्चा मगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment