Comments Add Comment
No ads found for this position

बालबालिकाको सिकाईः सफल बन्ने कि सक्षम ?

‘पढेर ठूलो मान्छे बन्नुपर्छ’ अक्सर बालबालिकाको हामी यसरी नै विद्यालय जान प्रेरित गर्छौ । विद्यालय किन जाने ? किन पढ्ने ? यावत् कुरा बुझाउनका लागि हामीसँग भएको जवाफ हो, ‘ठूलो मान्छे बन्न, असल बन्न ।’

बच्चाहरु पढ्न थाल्छन् । अक्षर चिन्छन् । विस्तारै विद्यालयमा अभ्यस्त हुन थाल्छन् । कक्षाकोठाको वातावरणमै भिज्न थाल्छन् ।

अब उनीहरु आफ्नो जीवनलाई पढाईसँग लयवद्ध गर्छन् । शिशु कक्षादेखि सुरु भएको पढाई-यात्रा किशोर र युवाअवस्था हुँदासम्म अविछिन्न जारी रहन्छ । उनीहरु नर्सरी/प्ले ग्रुप हुँदै विद्यालय तह सकाएर स्नातक/स्नातकोत्तरसम्म पढ्छन् । यतिबेला उनीहरुको हातमा उच्च शिक्षाको प्रमाणपत्र हुन्छ ।

अब के गर्ने ?

काखीमा प्रमाणपत्र च्यापेर उनीहरु रोजगारका लागि आवेदन दिन थाल्छन् । कोही लोक सेवा आयोगको तयारीमा लाग्छन्, कोही निजी क्षेत्रमा रोजगारका लागि धाउन थाल्छन् । त्यसमध्ये कतिले आफ्नै पेशा-व्यवसाय सम्हाल्छन् वा सुरु गर्छन् । कसैले मेहनत अनुसार राम्रै काम पाउँछन् । मनग्ये आर्जन गर्छन् । कोही काम खोज्दा-खोज्दै थाक्छन् । बेरोजगार हुन्छन् ।

यही मोडमा आइपुगेपछि उनीहरुले जीवनलाई पछाडि फर्केर हेर्छन् । पढाईका लागि बाल्यकाल गुजि्रयो, किशोरवय गुजि्रयो । अब काम खोज्दा-खोज्दै युवावय गुज्रदैछ । आखिर के पढियो ? किन पढियो ? पढाईंको औचित्य के रह्यो ?

आफु बच्चा छँदा कलिलो हातमा समातेर विद्यालयको प्राङ्गणमा पुर्‍याउँदा आमाबुवाले भनेका थिए, ‘पढेर ठूलो मान्छे बन्नुपर्छ । ज्ञानी बन्नुपर्छ । असल बन्नुपर्छ ।’

तर, आज पढाईका ति तमाम तह पुरा गरेपछि उनीहरुले आफुले पढाई प्रारम्भ गर्दाका क्षण विर्सन्छन् । उनीहरु त असल बन्न, ज्ञानी बन्न विद्यालय गएका थिए । तर, विद्यालयबाट निस्कदा उनीहरुमा जागिर एवं भविष्यको चिन्ता बोकेर निस्किए ।

‘पढेर ठूलो मान्छे बन्नुपर्छ’ भन्नेलाई उनीहरुले धेरै पैसा आर्जन गर्ने, प्रतिष्ठित पेशा-व्यवसाय अपनाउने भनेर बुझे । यहि बुझाईले उनीहरुमा जागिरे मानसिकता हावी हुँदै गयो । पढेपछि राम्रो जागिर गर्नुपर्छ, धेरै पैसा कमाउनुपर्छ भन्ने कुरामा बढी केन्दि्रत भए ।

अहिले धेरै युवा वेरोजगार छन् । शैक्षिक बेरोजगार छन् । उनीहरुको दुखेसो छ, ‘यत्तिका धेरै पढियो, प्रमाणपत्र आर्जन गरियो तर जागिर पाइएन ।’ यसको दोष अरुकै थाप्लोमा थोपरिन्छ । शिक्षित भएर पनि जागिर नपाउनुमा राज्यलाई दोषी देखाइन्छ । तर, असलमा दोषी त शिक्षाप्रतिको हाम्रो बुझाई र पढाईको विधी हो ।

शिक्षालाई हामी सोझै रोजगारसँग जोडेर हेर्छौं । धेरै आमाबुवा पनि छोराछोरीलाई यसकारण पढाउन चाहन्छन् कि उनीहरुले पढेर राम्रो जागिर पाउन सकोस् । वा भविष्य सुरक्षित गर्न सकोस् । अहिले धेरै युवा टुप्पी बाँधेर पढिरहेका छन्, राम्रो जागिरकै खातिर ।

पढाईंलाई जागिरसँग किन जोडिन्छ ? किनभने पढेका मान्छे शिक्षित हुन्छन् । सिपालु हुन्छन् । दक्ष हुन्छन् । उनीहरुसँग निर्धारित काम गर्ने कौशलता हुन्छ । सीप हुन्छ ।

धेरै अभिभावकले छोराछोरी यसकारण पढाउँछन् वा विद्यालय पठाउँछन् कि, उनीहरुको भविष्य सुनौलो होस् । सुरक्षित होस् । भोलि खान, लाउन वा जीवन जिउनका लागि कुनै किसिमको अभाव नहोस् । अर्थात अभिभावक पनि आफ्ना छोराछोरीको भविष्यप्रति चिन्तित छन् । उनीहरु छोराछोरीलाई पढाएर, राम्रो पेशा-व्यवसायमा आवद्ध गराएर निश्चिन्त हुन चाहन्छन् ।

अभिभावकको अपेक्षा, विद्यार्थीको बुझाई र शिक्षा प्रणाली नै जागिरमुखी छ । अर्थात माछा मार्ने सीप सिकाउने भन्दा पनि माछा मारेर दिने कथन जस्तै छ । त्यही कारण त हाम्रो शिक्षाले विद्यार्थीलाई अंकको पछाडि दौडाउँछ । उत्तिर्ण वा सफल बन्न प्रेरित गर्छ ।

जबकी शिक्षाले सफल भन्दा पनि सक्षम बनाउनुपर्छ । शिक्षा किन लिने, शिक्षाको ध्येय के हो, किन पढ्ने भन्ने कुराको जवाफ ‘सफल बन्न’ होइन । बरु, सक्षम बन्नु हो ।

भनिन्छ नि, सक्षम बन सफलता तिम्रो पछि लाग्नेछ । सफलताको पछाडि दौडने होइन, सक्षम बन्ने हो । सक्षम बनेपछि सफलता त त्यसैपनि मिल्छ ।

तर, हाम्रो शिक्षा प्रणाली, अभिभावक र स्वयम् विद्यार्थी पनि सक्षम बन्ने भन्दा बढी सफल बन्ने दौडमा लागेका हुन्छन् । पढ्नुको अर्थ सफल हुनु होइन, सक्षम हुनु हो भनेर हाम्रो शिक्षाले भन्दैन । अभिभावकले सम्झाउँदैन । विद्यार्थीले बुझ्दैन ।

अर्थात आफुले के पढ्दैछु, किन पढ्दैछु भन्ने कुरा बुझेपछि मात्र बालकालिकाले त्यसको सार्थकता थाहा पाउँछन् । जब पढाईको सार्थकता थाहा पाउँछन् उनीहरु आफै जान्नेछन् कि, कसरी पढ्नुपर्छ ? के पढ्नुपर्छ ?

जबसम्म बच्चालाई पढाईको सही अर्थ बुझाईदैन, यसको सार्थकता र महत्वबारे प्रष्ट पारिदैन, तब मात्र उनीहरु पढाईप्रति प्रेरित हुन्छन् । पढ्ने शैली एवं तौर-तरिका सही ढंगले अपनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment